अनि जन्मियो ‘दशैं नै हो कि यो मेरो दशा…’

पढ्न लाग्ने समय : २ मिनेट
अनि जन्मियो ‘दशैं नै हो कि यो मेरो दशा…’

जब जब दशैं चाड नजिकिन्छ तब एउटा गीत गुञ्जन थाल्दछ, ‘दशैं नै हो कि यो मेरो दशा…’

यो गीत अहिले दशैंको ‘आईडी सङ’ जस्तै भएको छ । तर, यो गीत भन्नासाथ धेरैको मानसपटलमा गायक योगेश्वर अमात्यको अनुहार आउँछ । संगीतकार न्ह्यू बज्राचार्यको नाम पनि कहीँकतै आउँछ । तर, गीतको शब्द लेख्ने व्यक्ति भने गुमनाम सरह छन् । को हुन् त उनी ?

यो गीतका सर्जक प्रेम बहादुर बस्न्यात बारे सार्वजनिक रुपमा खासै चर्चा सुनिँदैन जो नेपालको पहिलो रंगीन चलचित्र कुमारी (०३३) का निर्देशक हुन् । उनले ५७ वर्षअघि (वि.संं २०२१) पटकथा तथा निर्देशनमा स्नातक उत्तीर्ण गरेका थिए ।

प्रेमबहादुर बस्न्यात एक बिहान चाबहिलस्थित घरबाट गुह्येश्वरीतिर मर्निङ वाकमा निस्किएका थिए । दशैं नजिकिँदै गरेको समय थियो । उनीभन्दा अगाडि दुई जना मानिस आपसमा कुरा गर्दै हिँडिरहेका थिए । उनीहरु एउटै गाउँका छिमेकी रहेछन् ।

तीमध्ये एक जनाले दशैंमा गाउँकै अर्का मान्छेसँग खसी आधा-आधा बाँडेर खाने गरेको रहेछ । तर, त्यो वर्ष आधा खसी लिने मान्छेको घरमा जुठो पर्‍यो । एक्लै सिंगै खसी खाने हैसियत भएन् । त्यो बह उनी साथीसँग पोखिरहेका थिए । दुवैको कुरा खुब चाखले सुनिरहेका प्रेमलाई झ्वास्स लाग्यो, दशैं मान्न चाहिँ नेपालीहरुलाई गाह्रै पर्दो रहेछ !

आम नेपालीलाई चाडबाडले थिचेको पीडा कहाँ कसरी पोखूँ भनेर उनलाई छटपटी भइरह्यो ।

घर आएर चिया खाँदै उनले गीत लेखे, ‘दशैं नै हो कि यो मेरो दशा…’

त्यो बिहान गीत लेखि सक्नासाथ योगेश्वर अमात्य उर्फ योगीलाई फोन गरे । जागिरे जीवनमा प्रेमको बानी थियो, संगीतकर्मीहरुलाई क्लबमा भेला गराएर बार्बिक्यु गर्दै गीतको महफिलमा रम्ने । त्यसै क्रममा योगीसँग चिनजान र निकटता भएको रहेछ ।

लेख्दालेख्दै उनलाई यो गीत योगेश्वर अमात्यलाई फिट हुन्छ भन्ने लाग्यो । आफैंले गुनगुनाउँदै लेखिरहँदा ‘टाउको खाएको’ भन्ने उच्च पीडा योगेश्वर अमात्यकै गलाले दर्शाउन सक्छ भन्ने सोच आयो । तुरुन्तै फोन गरे ।

– ‘मैले तिमीलाई आज भेट्नुपर्‍यो’, उनले योगेश्वर अमात्यलाई भने, ‘एउटा गीत लेख्या छु ।’
– ‘के रे ? दाइले गीत लेख्या रे !,’ योगेश्वर अमात्य छक्क परे ।
– ‘तिमीले नपत्याको ? इनिग्मा (कान्तिपथमा रहेको रेष्टुरेन्ट)मा आऊ तिमी ।’ इनिग्मा त्यतिबेला उनीहरुको जक्सन जस्तै थियो ।

बिहान ११ बजे भेट्ने समय तय भयो । योगेश्वर अमात्यले संगीतकार न्ह्यू बज्राचार्यलाई पनि भनेर सँगै ल्याएछन् । ‘मैले गीत पढेर सुनाएँ, दुवैले एकदम मन पराए’, उनले सम्झिए । गीतभित्र संवादहरु देखेर उनीहरु झन् दंगै परे ।

त्यसपछि नजिकै रहेको न्ह्यूको डोरेमी संगीत पाठशालामा पुगे तीनै जना । न्ह्यूले पाँच मिनेटमै धुन तयार पारे । हुन पनि जम्मा दुई लाइनको थियो गीत । अरु त संवादहरू थिए ।

‘यस्तो फरक खालको स्वादमा संगीत गरेको पहिलो र एकमात्र गीत यही हो,’ संगीतकार न्ह्यूले अनुभव बताए ।

कतिपयले यसलाई ‘न्यारेटिभ पप सङ’ को उपमा दिए पनि न्ह्यू त्यस्तो कुनै नाम दिन चाहँदैनन् । यो गीतमा संयोगै संयोग जोडिएको छ । न्ह्यूले योगेश्वरसँग काम गरेको पहिलो गीत यही रहेछ । प्रेमको पनि रेकर्ड भएको जीवनको पहिलो गीत यही हो ।

गीतमा योगेश्वर अमात्यले गायन सम्हाले भने संवादको भाग हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले पूरा गर्ने भए ।

‘अनौठो संयोग छ यो गीतको,’ प्रेमले रोचक सन्दर्भ सुनाए, ‘त्यही दिन लेखिएको गीत त्यही दिन संगीत भरेर त्यही दिन रेकर्ड भयो ।’

गीत रेकर्ड चाहिँ जेम्स प्रधानको स्टुडियो म्युजिक वर्क्समा गरियो ।

मुख्य दुई हरफ रहेको गीतभित्र अरु ‘फिल इन’ हरु छन् । जसमा एउटा परिवारभित्र श्रीमती र छोराछोरीहरूका एकपछि अर्को ‘दशैं-फर्मायश’ सुनेपछि घरमुली हैरान भएर सुस्केरा पोख्छ ।

उनलाई गीतको बीचमा संवाद हाल्ने विचार कसरी आयो त ?

‘खै, कसरी आयो, मलाई नै थाहा छैन । मैले कहिल्यै गरेको काम पनि होइन । अनुभव नभए पनि दशैंको पीडा दर्शाउने क्रममा संवाद आए होलान्’, प्रेमले उतिबेलाको सन्दर्भ सम्झिने प्रयास गर्दै भने ।

गीत रेकर्ड भएर आएपछि निकै लोकप्रिय भयो । दशैंको बेला त एफएम रेडियोहरुबाट बजिरहने गीत बन्यो । तर, गीत चले अनुसार प्रेमबहादुर बस्न्यात को कुनै नाम सुनिँदैन् । दशैंमा दीनदुःखी नेपालीको पीडा झल्काउने गीतका गीतकार उपेक्षामा परेर आफैं पीडित भए जस्तो लाग्छ ।

यसमा पनि उनलाई कुनै गुनासो रहेनछ । ‘मैले यसबाट केही चाहेकै होइन । म जस लिएर हिँड्ने खालको मान्छे होइन । एउटा मुडमा लेखेर सुनाउँदा गायक र संगीतकारलाई मन पर्‍यो । रेकर्डिङ भएर सुन्न पाइयो । यतिमै खुशी छु’ ।

सन्दर्भ सामाग्री
रंगसंसार
अनलाइनखबर
जोतारे धाइबा
कान्तिपुर साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *