बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा

पढ्न लाग्ने समय : १ मिनेट
बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा

दसैँ टीकाको ठीक भोलिपल्ट ०५६ साल। साँझ पर्नै लागेको थियो। नुवाकोटको ककनी हुँदै काठमाडौँ छिर्ने सडकमा सार्वजनिक यातायातका गाडी त्यति गुडेका थिएनन्। एकाधमध्ये सबै साधन दसैँ मान्न जाने-आउने यात्रुले ठेलमठेल थिए। गन्तव्यमा पुग्न सार्वजनिक सवारी साधन कुरेर बसेका यात्रुका लागि ठाउँ पाउन मुस्किल थियो।

यस्तैमा एउटा कार ककनी हुँदै ओशो तपोवन रहेको गोलढुंगा भञ्ज्याङ आइपुग्यो। गाडीमा तीन यात्री थिए। एक जना चालक, सँगैको सिटमा उनकी श्रीमती अनि पछिल्तिरको सिटमा सैनिक बर्दी लगाएका अर्का एक पुरुष। कार चालकको आँखा गाडी नपाएर निराश र हतास मुद्रामा अघि बढिरहेको एक दम्पतीतिर पर्‍यो। तीमध्ये पतिले एक बालक बोकेका थिए भने बाँकी केटाकेटी हिँड्दाहिँड्दा थकित भइसकेकी पत्नीले समाइरहेकी थिइन्।

गाडी नपाएर यस्तो सास्ती भोगिरहेको दम्पतीका अघिल्तिर कार रोकियो। चालकले लोग्नेमान्छेसँग सोधे, “कहाँ पुग्ने हो ?” उनले जवाफ दिए, “भक्तपुरको सुडाल।” चालकले बच्चासहितका दम्पतीलाई कारमा बस्न अनुरोध गरे। अनि, बालाजु बाइपाससम्म ल्याएर छाडिदिए। त्यस कारका चालक अरू कोही होइन, राजा वीरेन्द थिए। साथमा थिइन्, रानी ऐश्वर्य। कारको पछिल्तिरका सैनिक बर्दीवाल राजा वीरेन्द्रका एडीसी महासेनानी सुन्दरप्रताप राना थिए। यो थियो, राजा वीरेन्द्रको सहृदयताको नमुना, जो ठीक १४ वर्षअघि १९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डमा आफ्नो पूरै वंशसहित मारिएका थिए।

राजा वीरेन्द्रका बारेमा अक्सर कल्पना हुन्छ, उनको जीवनशैली, भव्य र विलासी थियो होला। उनी बस्ने दरबार पनि त्यस्तै भव्य थियो होला, जस्तो राणा शासकहरूको हुने गथ्र्यो। बोलीचाली त्यस्तै रवाफिलो थियो होला। तर, यस्ता सोचाइ र अनुमान विपरीतका थिए, राजा वीरेन्द्र। उनी सहृदयी र कोमल प्रकृतिका थिए। यो कुरा बुझ्न काफी छ गाडी नपाएर असिनपसिन बनेको त्यो दम्पतीलाई लिफ्ट दिएको घटना।

सन्दर्भ सामाग्री

नेपाल साप्ताहिक
सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *