नागरिकले रेडियो प्रसारण सुन्न शासकसँग अनुमति लिनु पर्थ्यो

पढ्न लाग्ने समय : ० मिनेट
नागरिकले रेडियो प्रसारण सुन्न शासकसँग अनुमति लिनु पर्थ्यो

नेपालमा एक समय रेडियो तथा क्यासेट वैभव र सम्पन्नताको प्रतिक थियो । तराई क्षेत्रमामा बिहेबारी हुँदा दाइजोमा नगदसहित रेडियो पनि माग्ने चलन थियो भनिन्छ ।
समाचार सुन्नकै लागि मानिसहरू रेडियो भएको घरमा भेला हुने गरेको, बिहेबारीमा बाजा बजाउन सामर्थ नहुनेहरूले क्यासेट बजाउँदै बेहुली लिन जाने गरेको, विभिन्न उत्सवहरूमा रेडियो तथा क्यासेट बजाइ नाचगान गर्ने गरेको हामीले अनुभव गरेकै विषय हो ।

विश्वमा औपचारिक रूपमा रेडियो प्रसारण अमेरिकाको पेन्सलभेनिया सहरबाट सन् १९२० मा भएको थियो। सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनीको स्थापना भयो जुन सन् १९२७ मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनमा परिणत भयो जसले अहिले २७ भाषामा सेवा दिइरहेको छ ।

विश्वमा रेडियो प्रसारणको ३० वर्षपछि नेपालमा रेडियो प्रसारण सुरु भयो । नेपालमा सन् १९४६ पहिलोपटक रेडियो प्रसारण भएकोमा  औपचारिक रुपमा १९५० बाट (२००७ साल मंसिर २८ गते) प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भयो । यसप्रकार नेपालको रेडियो प्रसारणले सात दशक पूरा गरिसकेको छ । गोरखापत्र प्रकाशन (वि.सं. १९५८ बैशाख २४) को पाँच दशकपछि वि.सं.२००७ सालमा रेडियो प्रसारण आरम्भ भएको थियो ।रेडियो नेपाल प्रसारण हुनुपूर्व राणाकालमा भारतबाट रेडियो सेट किनेर भारतबाटै प्रसारण हुने रेडियो सेवा सुन्नुपर्ने अवस्था थियो ।

वि.संं २०१६ पाैष १३ गतेको नेपाल गजेट भाग ३ मा घरमा रेडियो यन्त्र राख्ने सँग रु. १०, विक्रेतासँग रु. १०० र रेडियो मेकानिक भई काम गर्नेसँग रु. ५० वार्षिक दस्तुर लिने व्यवस्था वि. सं २०१६/९/१३ देखि लागू हुने सूचना जारी गरिएको थियो ।

वि.सं २०३० को दशकसम्म नेपालमा नागरिकले रेडियो प्रसारण सुन्न शासकसँग अनुमति लिनुपर्ने व्यवस्था थियो । सरकारसँग इजाजत लिएर रेडियो सेट किन्नुपर्ने अवस्थाबाट हामी निकै अघि बढिसकेका छौँ । रेडियो प्रसारण प्रविधि एफएम रेडियो हुँदै अनलाइन रेडियोमा प्रवेश गरेसँगै यसमा आएको परिवर्तनको आकलन गर्न सकिन्छ ।

नेपालमा ०५४ देखि सामुदायिक र व्यापारिक रेडियो प्रसारण सुरु भए पनि विशेष गरी लोकतन्त्र स्थापनासँगै ०६३ देखि एफएम रेडियो स्थापनाको लहर चल्यो । हाल देशका ७७ वटै जिल्लामा एफएम रेडियो सञ्चालनमा छन् । जसबाट लेखपढ गर्न नसक्ने नागरिकले समेत स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तु र घटनाको जानकारी प्राप्त गरिरहेका छन् । हिजो सीमित आमसञ्चारमाध्यमको असीमित प्रभाव र पहुँच थियो । आज बहुल सञ्चारमाध्यम सञ्चालनमा छन् । राज्यका साथै, व्यापारिक लगानी र समुदायको स्वामित्वमा सञ्चालनमा रहेका सञ्चारमाध्यमका प्राथमिकताका र विषयवस्तु पनि फरक–फरक छन् । नागरिकको सहज पहुँचमा भएको स्थानीय माध्यम रेडियो प्रसारणमा विविधता छ ।

रेडियो प्रसारणमा पनि सामुदायिक प्रसारणलाई आवाजविहीनहरूको आवाजका रूपमा चित्रित गरिएको छ । समाजको विविधता र बहुलताको आवाजलाई उचित स्थान दिनका निम्ति यस्ता वर्ग र समुदायको प्रतिनिधित्वसमेत रेडियोको संगठनात्मक संरचनामा देख्न सकिन्छ । समाजको विविधता र बहुलतालाई प्रभावकारी रूपमा रेडियोले अभिव्यक्त गर्न सक्छ । रेडियोले सांस्कृतिक विविधतालाई सम्बोधन गर्न र सामाजिक सद्भाव बढाउन सहयोग गर्दै आएको छ ।

रेडियोले समाजको सांस्कृतिक, भाषिक र मौलिककला संस्कृतिको प्रवर्द्धनमा समेत योगदान दिइरहेको छ ।

नेपालमा सञ्चालित सामुदायिक रेडियोले ६० भन्दा धेरै भाषामा समाचार र कार्यक्रम प्रसारण गरिरहेका छन्, जुन आफैँमा अभूतपूर्व हो । सार्वजनिक संवाद र बहसलाई लोकतन्त्रको आधारभूत पक्ष मान्ने हो भने समाजका लागि रेडियो शक्तिशाली माध्यम हो  भन्दा फरक नपर्ला ।

सन्दर्भ सामाग्री

सुभाष खतिवडा
नयाँ पत्रिका
डउग हल
बीबीसी रेडियो
विभिन्न सामाजिक सञ्जाल
विकिपिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *