सोह्रखुट्टे पाटीको कथा

पढ्न लाग्ने समय : १ मिनेट
सोह्रखुट्टे पाटीको कथा

वि.सं. १८५५ मा नेपाल–भोट (तिब्बत) युद्ध भयो । नेपालले तिब्बतलाई जित्दै गएपछि चीनले युद्धविराम गर्न र सहमति गर्न सुझायो । केरूङमा भएको सहमति बमोजिम तिब्बतले नेपाललाई ५० हजार रुपैयाँ बुझाउनुपर्ने भयो तर उनीहरू उक्त रकम बुझाउन आनाकानी गर्न थाले । त्यसपछि वार्ता गर्ने कुरा भयो । तर कुराकानी भएन, फेरि युद्ध भयो । सुरूवाती चरणमा पुनः नेपाल भोटमाथि हावी भयो तर कालान्तरमा भोटले चीनको सहयोग लिएपछि नेपाली सेना पछि हट्यो अर्थात नेपालले युद्ध हार्यो र बेत्रावतीमा सन्धी भयो ।

युद्धमा नेपालका भोटु पाण्डेलाई तिब्बती सेनाले समातेर बन्दी बनाए ।

पाण्डेले यो अवस्थाबाट छुटकारा पाउन नरदेवीको आराधना गरेका रहेछन्। त्यसको केही समयपछि उनी छुटे।

युद्धबाट बाँच्न सफल भएपछि भोटु कीर्ति राख्ने अभियानमा लागे। उनले नेपाल आएर देवीलाई खुसी बनाउन मठमन्दिर, पाटीपौवा, ढुंगेधारा बनाए। पकनाजोल मा भएको पुरानो पाटीलाई थप बलियो बनाउन सोह्र वटा खुट्टा (थाम) हाले भन्ने एकाथरि इतिहासकारहरूले बताएका छन् भने अर्काथरि इतिहासकारहरूका अनुसार लडाइँ लड्दालड्दै उनी भोटको कुनै ठाउँमा बेहोस भएका थिए ।

दैवको कृपाले आँखा खुल्दा भोटु पाण्डेले आफूलाई पकनाजोलमा पाएको र त्यही कारण पाटी बनाउन लगाएको भन्ने मत पनि छ । तर भोटमा बेहोस भएको मान्छे होस खुल्दा पकनाजोलमा हुने भन्ने कुरा त अलि वैज्ञानिक भएन ।

अर्काथरि इतिहासकारहरू यस्तो तर्क गर्छन्, नेपाल भोट लडाइँको क्रममा बेहोस भएका भोटु पाण्डेलाई भोटमा व्यापार गर्न गएका नेपालीहरुले बोकेर ल्याएका रहेछन् । यसरी ल्याउने क्रममा पकनाजोलमा आइपुग्दा होस खुलेको थियो । त्यसको केही वर्षपछि उनले सोह्रखुट्टे पाटी जिर्णोद्धार गर्न लगाएको देखिन्छ ।

इतिहासकारहरूले जे जसरी व्याख्या गरेपनि सोह्र खुट्टे पाटीसँग भोटु पाण्डेको प्रत्यक्ष साइनो रहेको चाँही पुष्टी भयो । नयाँबजारमा भेटिएको शिलालेख अनुसार यो पाटी वि.सं. १८६४ सालमा बनेको बताइन्छ ।


पाटी अर्थात त्यसबखतका गेष्ट हाउस

प्रताप मल्लकै पालादेखि नेपाल र भोटबीच व्यापारिक सम्बन्ध सुरु भएको थियो । मध्यकालदेखि नै नेपालीहरू ल्हासामा गएर व्यापार गर्थे । ल्हासा जाने प्रमुख दुई वटा बाटा थिए, एउटा केरुङ र अर्को कुतीको ।

भक्तपुर, पाटन (ललितपुर) र कान्तिपुर (काठमाडौं) अर्थात तीन वटै जिल्लाबासीले कुतीको बाटो प्रयोग गर्थे । केरुङको बाटो भने विशुद्ध रुपमा कान्तिपुरबासीले मात्रै प्रयोग गर्थे । किनकी पाटन र भक्तपुरबासीलाई केरुङको बाटो टाढा पर्थ्यो ।

केरुङ हुँदै भोट जाने व्यापारीहरूका लागि छोराछोरी, श्रीमतीहरूले पुर्‍याउन आउने ठाउँ पकनाजोलको त्यही सोह्रखुट्टे पाटी थियो । भोटबाट फर्केका व्यापारीलाई लिन पनि आफन्तहरू सोह्रखुट्टेमै जान्थे ।

बहादुर शाहको पालादेखि हरेक पाँच वर्षमा एक पटक नेपाली मिसन चीनतर्फ पठाउन थालियो । मिसनमा ४०-४५ जना हुन्थे र, उनीहरुलाई बिदाई गर्न कर्मचारीहरू सोह्रखुट्टे नै आउँथे । चीनबाट फर्केको मिसनलाई पनि सोह्रखुट्टे पाटीमै स्वागत गरिन्थ्यो । कहिलेकाँही चाहिँ बालाजुसम्म पनि लिन गएको देखिन्छ ।

पहिला-पहिला काठमाडौं बाहिरबाट (शिखरबेंसीबाट) धान, चामल आउँथ्यो । त्यसरी धान, चामल बोकेर आउने भरियाहरूले पनि सोह्रखुट्टे पाटीमै विश्राम लिन्थे । कतिपय बटुवामा त्यहीँ बास बस्थे ।

यो पाटीसँग नुवाकोटको भगवतीको पनि सम्बन्ध छ । भगवतीलाई हरेक वर्षयता पकनाजोलमा ल्याएर जात्रा गर्ने र फेरि नुवाकोट नै पर्काउने गरिन्थ्यो । जात्राका लागि ल्याउँदा भगवतीलाई सोह्रखुट्टे पाटीमै राखेर पूजा गरिन्थ्यो ।

ध्यान दिएर हेर्ने हो भने काठमाडौं शहर अलि अग्लो ठाउँमा छ । शहर पस्ने चार वटा नाका छन् । पूर्वबाट डिल्लीबजार, पश्चिमबाट नरदेवी, दक्षिणबाट त्रिपुरेश्वर र उत्तरतर्फ पकनाजोल हो । उत्तरतर्फको प्रमुख नाकामा बनाइएको थियो, सोह्रखुट्टे पाटी ।

नेपाल भाषामा ‘पकनाजो’ को अर्थ पकनाको गणेशथान हो । त्यसैले सुरुसुरुमा ‘पकनाजोल’ भनियो । तर विस्तारै मानिसहरुले सोह्रवटा खुट्टा भएको पाटीका कारण ‘सोह्रखुट्टे’ भन्न थाले ।

त्यसैले सोह्रखुट्टे पाटी पकनाजोलको पहिचान नै थियो । तर सडक विस्तारका क्रममा त्यो पाटीलाई नै नामेट पारियो । यातायातको बढ्दो चापले गर्दा पहिला भएको साँघुरो बाटोले धानेन । त्यो कुरा सही नै हो । तर बाटो विस्तार गर्दा ऐतिहासिक सोह्रखुट्टे पाटीलाई जोगाउनु पर्दथ्यो । चाहेको भए पाटीलाई जस्ताकोतस्तै राखेर दायाँ-बायाँबाट बाटो लान सकिन्थ्यो । अन्ततः भोटु पाण्डेले बनाएको सोह्रखुट्टेका सबै खुट्टा काटिए, बाटो फराकिलो बनाइयो वि.संं २०७१ मा ।

नयाँ सोह्रखुट्टे पाटी/फल्चा
काठमाण्डाै महानगरपालिका १६ पकनाजोलमा स्रोहखुट्टे पाटी पुनःनिर्माणको भइसकेको छ । अहिले निर्माण भएको पाटीको स्वरूप केही बदलिएको छ। पहिला माटोले लिपेर पाटी बनाइएको थियो, खरको छानो, टायल हुन्थ्यो।

सन्दर्भ सामाग्री

अनलाइनखबर
उकेरा
सेतोपाटी
काठमाण्डाैपोष्ट
विकिपिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *