इतिहासः अरनिको राजमार्ग निर्माणका क्रममा १२ चिनियाँ सैनिकले ज्यान गुमाए

पढ्न लाग्ने समय : १ मिनेट
इतिहासः अरनिको राजमार्ग निर्माणका क्रममा १२ चिनियाँ सैनिकले ज्यान गुमाए

तत्कालीन भोट (तिब्बत) का लागि नेपाली वकिल (राजदूत) नयनबहादुर खत्रीले आफ्नो संस्मरणमा लेखेअनुसार उनलाई काठमाडौंबाट कोदारी पुग्न १२ दिन लागेको थियो । २१ जेठ ००६ शुक्रबार काठमाडौंबाट हिँडेका उनी ४ असारमा कोदारी (नेपाल–तिब्बत सीमा) पुगेका थिए । बाटो बिराउँदै, आराम गर्दै उनी तीन महिनापछि अर्थात् २२ भदौमा तिब्बतको राजधानी ल्हासा पुगेका थिए । त्यतिन्जेल तिब्बतमा चीन नियन्त्रित शासन थिएन । त्यसवेला तिब्बत जोड्ने कोदारी राजमार्ग बनेको थिएन । छालाभित्र सामान पोको पारेर घोडा चढेर खत्री ल्हासा गएका थिए । खत्री घोडामा ल्हासा गएको १८ वर्षपछि नेपाल–तिब्बत जोड्ने कोदारी राजमार्ग ०२४ मा निर्माण भयो । तातोपानी नाका खुल्यो ।

चीनले खोजेको करिडोर
सन् १९५९ मा तिब्बत औपचारिक रूपमा चीनमा गाभियो । जानकारहरूका अनुसार सुरुमा चुम्बी भ्यालीको मुख यादोंग बन्दरगाहलाई सिक्किमको नाथुला हुँदै भारतको कोलकातासम्म जोड्ने करिडोर निर्माण गर्ने चिनियाँ योजना थियो । हिमाली अधिराज्य सिक्किम भारतमा नगाभिँदैको यो चिनियाँ योजना अघि बढ्न सकेन । किनभने भारतसँग उसको टक्कर बढिरहेको थियो, जसले सन् १९६२ मा गएर सीमायुद्धको रुप लियो । नेपालले पनि चीनसँग सम्पर्क विस्तार चाहेकै थियो । यही संयोगबीच कोदारी राजमार्गको अवधारणाले गति लियो ।

चीनलाई तिब्बत भएर दक्षिण एसिया जोड्ने च्यानल चाहिएको थियो । आफ्नो भूपरिवेष्ठित अवस्था र सार्वभौम एवं स्वतन्त्र हैसियत बचाउनुपर्ने आवश्यकताका कारण नेपालले चीनसँग सम्बन्ध राख्न चाहेको छ भन्ने चिनियाँ बुझाइ थियो । सुरक्षामा चीन आश्वस्त भएपछि नेपाल र चीनबीच कोदारी राजमार्ग निर्मााण गर्ने सहमति भयो । यही सिलसिलामा आएका बाह्य दबाबबारे राजा महेन्द्रले रोचक कूटनीतिक जवाफ दिएका थिए, ‘नेपालमा कार चढेर साम्यवाद आउँदैन ।’

बेइजिङमा सम्झौता
नेपाल र चीनबीच कोदारी राजमार्ग बनाउने सम्झौता सन् १९६१ अक्टोबर १५ मा भयो । बेइजिङमा परराष्ट्रमन्त्री डा. तुल्सी गिरी र उनका चिनियाँ समकक्षी चेङ यीले राजमार्ग निर्माण गर्ने समझदारी–पत्रमा हस्ताक्षर गरे । १ जुलाई १९६२ देखि निर्माण कार्य सुरु भयो । ३० जुन १९६६ मा सम्पन्न हुनुपर्नेमा नेपालले भनेजस्तो सडक तयार गर्नुपर्ने भएकाले एक वर्ष धकेलियो । चीन सरकारले ३५ लाख पाउन्ड स्टर्लिङमा सडक बनाएको थियो ।

त्यसबेलासम्म चीनले तिब्बतको राजधानी ल्हासाबाट कुती (न्यालम) सम्म ७ सय १४ किलोमिटर सडक विस्तार सम्पन्न गरिसकेको थियो । कुतीबाट ४० किलोमिटर सीमावर्ती कोदारीसम्म बाटो निर्माण गर्नुपर्ने थियो । चिनियाँहरूले कुतीदेखि कोदारी र कोदारीदेखि काठमाडौंसम्म ११४ किलोमिटर सडक निर्माण गर्ने तयारी सुरु भयो । सर्भे डिजाइन र निर्माणका लागि चीनले इन्जिनियरको टोली आफैँ पठायो । प्रशासनको सहयोगमा स्थानीय कामदार भर्ना भए । कोदारीबाट बाह्रबिसेसम्मको १२ किलोमिटर डरलाग्दो भिर छिचोल्न गाह्रो थियो । राजा महेन्द्र र चिनियाँ नेता माओत्से तुङको छलफलपछि चीनले सादा पोसाकमा सैनिक पठाएर बाटो खनेको थियो ।

यसरी आए चिनियाँ सैनिक
चिनियाँ सेना नेपालमा प्रवेश गरे भन्ने विदेशी मिडियाको सम्भावित हल्लाखल्ला र त्यसले बाह्य संसारमा सिर्जना गर्न सक्ने असमझदारीलाई ध्यानमा राख्दै नेपाल र चीनले यो विषय गोप्य राखे । बरु बाटो बनाउने चिनियाँ टोलीको नाम चाइनिज रोड कन्स्ट्रक्सन बटालियन राखियो । सैनिकका लागि सादा कपडा लगाउने व्यवस्था गरियो । कुनै सैन्य फर्मेसन र तहगत व्यवहार नहुने तय भयो । उनीहरूले हातहतियार ल्याएनन्, केवल सडक खन्ने सामग्री मात्रै ल्याए ।

त्यसवेला सडक खन्न खटाइएका चिनियाँ सेनाका कमान्डरका नेपाली अनुवादक रहेका चेङ सुयोंग (पछि नेपालका लागि चिनियाँ राजदूत) ले ‘वी एन्ड अस’ भन्ने किताबमा यो प्रसंग उल्लेख गरेका छन् । कुनै समय नेपाल तिब्बतको व्यापारिक केन्द्र कुती थियो । चार हजार मिट उचाइको हिउँले घेरिएको कुती चिनियाँ सेनाको तिब्बत मिलिटरी एरिया कमान्डमा पर्छ । खासा बजार तयार भएपछि र कोदारी राजमार्ग निर्माण भएपछि कुतीबाट व्यापारिक केन्द्र खासामा सर्‍यो ।

चिनियाँ टोलीले लगेज, टेन्ट, पकाउने भाँडाकुँडा, सडक खन्ने उपकरण ल्याएको थियो । नेपाल–खासा जोड्ने भोटेकोसीमा पहिला काठको पुल थियो । सडक बनाउँदा डाँडामाथिबाट ढुंगा र माटो झरेर भोटेकोसी सेताम्य भएको थियो । चिनियाँ कन्स्ट्रक्सन बटालियनको हेडक्वार्टर कोदारीमा थियो । त्यहाँ नेपाली सेनाले चिनियाँ टिमको सुरक्षा दिएको थियो । चारवटा सेता पालमा सेनाका मुख्य अधिकारीहरू बसेका थिए । पूर्वराजदूत चेनका अनुसार बाँसका खाटमा ओछ्यान लगाइएको थियो ।
चीनबाट कमान्डर लेफ्टिनेन्ट कर्णेल लीको नेतृत्वमा टोली खटिएको थियो । ली चिनियाँ आर्मीको इन्जिनियर्स कप्र्सका राजनीतिक कमिसार पनि थिए । वांग नामका सेक्रेटरी पनि कार्यरत थिए । नेपाल आउनासाथ चिनियाँले चार भागमा विभाजन गरेर काम सुरु गरे । जम्मा पाँच सय व्यक्ति काममा खटिएका थिए । अधिकांश गैरसैनिक थिए । असाधारण भिरमा मोटो डोरीले बाँधेर बाटो खनिएको थियो ।

चार वर्षमा १२ सैनिक मारिए
‘काम कठिन र खतरापूर्ण थियो । माथिबाट ढुंगा उछिट्टिएका थिए । एक वर्षभन्दा कम अवधिमा चारजना सैनिकले ज्यान गुमाए । उनीहरूलाई खासामा गाडिएको थियो,’ चेनले उल्लेख गरेका छन्, ‘सडक निर्माण अवधिभरि १२ जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।’ भोटेकोसी दक्षिण तटमा सडक निर्माण हुँदै थियो । एक टन क्षमताभन्दा ठूला विस्फोटक पदार्थ प्रयोग गरिए । जसले आठ घनमिटर ढुंगा काट्थ्यो । एउटा खण्ड पूर्ण रूपमा चट्टान छेडेर बनाइएको थियो । दरबारको निर्देशनमा कार्की र शाह थरका सेनाका मेजरको कमान्डमा एउटा सैनिक युनिट कोदारी खटाइएको थियो । नेपाली सैनिक चिनियाँ सैनिक क्याम्पबाट १०० मिटको दूरीमा बस्थे । चिनियाँ अनुभवमा नेपाली कमान्डरहरू मित्रवत् र सहयोगी थिए ।

पूर्वराजदूत चेङका अनुसार सडक निर्माणमा आएका चिनियाँ लेफ्टिनेन्ट कर्नेल ली भन्थे, ‘हाम्रा वरिष्ठतम् नेताहरूको निर्देशनमा बाटो बनाउन आएका हौँ । समयमै सम्पन्न गर्न प्रतिबद्ध छौँ । केही गल्ती भयो हाम्रो तर्फबाट भने भन्नुहोला ।’ नेपाली कमान्डर भन्थे : ‘नेपाल गरिब छ । यातायातमा समस्या छ । हामी चीनको सहयोगप्रति आभारी छौँ । कठिन पहाडमा चिनियाँ सैनिकले गरेको काम प्रशंसनीय छ ।’

चिनियाँ अधिकारीका अनुसार नेपालीहरूसँग खाना सँगै खाने, एक अर्काको देशको वस्तुस्थितिबारे एकअर्कालाई जानकारी दिनेलगायतका काम भए । तीन अनुशासन र आठबुँदे ध्यानाकर्षणका आधारमा चिनियाँ सैनिकले काम गरेका थिए । चिनियाँ सरकारको निर्देशन उल्लंघन भएन । उनीहरूले जनतालाई कहिल्यै ‘डिस्टर्ब’ गरेनन् । नेपाली पुरुष र महिला खोलामा नुहाउँथे । तर, चिनियाँ सेना कहिल्यै खोलामा नुहाउन गएनन् । स्थानीय बजारमा पनि गएनन् । बम विस्फोट गर्दा स्थानीय बासिन्दालाई असर होला कि भनेर हमेसा सावधानी अपनाइएको पूर्वराजदूत चेनको अनुभव छ । चिनियाँ सैनिकले स्थानीय आपूर्तिमा समस्या नहोस् भनेर काठमाडौं नजिकबाट तरकारी किने, स्थानीय बजारमा गएनन् ।

चेङ अनुवादक भएका कारण पनि नेपालीमाझ सक्रिय थिए । उनले आफ्नो संस्मरणमा लेखेका छन्, ‘रणनीतिक महत्वको पुलमा काम गर्न पाउनु मेरो अहोभाग्य थियो । निर्माण कार्य सकिएपछि अरनिको राजमार्ग नाम राखियो । १९६७ जुनमा बाटोको उद्घाटन भक्तपुरमा भयो । राजा महेन्द्रले राजमार्ग उद्घाटन गरे ।’

माओत्से तुङले चाहेपछि….
चीनले ३५ लाख पाउन्ड आर्थिक सहायता पहिले नै घोषणा गरे पनि नेपालले विकट भौगोलिक बनावटका कारण राजमार्ग बनाउन सकेको थिएन । विशेषतः २० किलोमिटर बाटो विकट थियो । पहरा फुटाएर बाटो बनाउनु कठिन भयो । राजा महेन्द्रको आग्रहपछि चिनियाँ नेता माओत्से तुङले बाटो निर्माणको पहल लिए । उनले ‘हाइवे बिल्डिंग ब्रिगेड’ पठाउन निर्देशन दिए । त्यही ब्रिगेडअन्तर्गतको चिनियाँ फौजले आएर राजमार्ग निर्माण गरेको थियो । चेङका अनुसार माओत्से तुङले त्यसवेला भनेका रहेछन् : हामी छिंघाई–तिब्बत रेलवे पनि बनाउँछौँ । त्यसपछि नेपाल र चीनको सम्पर्क थप सुविधाजनक हुनेछ ।’ माओले भनेको त्यही रेलमार्ग हो : सिगात्से–केरुङ–काठमाडौं जोड्ने तिब्बत रेलमार्ग ।

सन्दर्भ सामाग्री
पर्शुराम काफ्ले
नयाँ पत्रिका, २०७६ असार ७ शनिबार
डउड हल
विकिपिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *