फर्पिङ हाइड्रो, एसियाकै ऐतिहासिक धरोहर
वि.सं १९६४ मा तत्कालीन श्री ३ चन्द्रशमशेर बेलायत यात्रा गरेर फर्किएपछि नेपालमा पनि विद्युत गृह स्थापनाको सोँच बनाए। बेलायती र नेपाली इन्जिनियरको सहयोगमा इस्टिमेट तयार पारियो नेपालमा विद्युत गृह स्थापनाका लागि । र २० महिनाको अथक प्रयासपछि नेपालमा पहिलोपटक बिजुली बल्यो । काठमाण्डौंबाट झण्डै १२ (कतै १७ किलोमिटर पनि भनिएको पाइन्छ) किलोमिटर दक्षिणमा पर्ने फर्पिङ क्षेत्रका कुटली खोला सातमुले र शेषनारायण समेत गरी तीन ठाउँको पानीलाई एक ठाउँमा जम्मा गरेर यो विद्युत गृह बनाइएको थियो । राणाहरुले व्यक्तिगत प्रयोजनका लागि यो विद्युत गृह बनाएका थिए तथापी केहि उद्योग कलकारखाना चलाउन यो गृहको बिजुली प्रयोग गरिन्थ्यो ।
फर्पिङ जलविद्युत् गृहको उद्घाटन तत्कालीन राजा श्री ५ पृथ्वी वीरविक्रमले विक्रम संवत् १९६८ साल जेठ ९ गते साँझ ६ः ३० बजे टुँडिखेलमा बिजुलीको स्वीच दबाएर गरेका थिए। यस केन्द्रबाट उत्पादित विद्युत वितरण नियमित गर्न ‘बिजुली अड्डा’को नामले एउटा अड्डा स्थापना गरिएको थियो। जलविद्युत केन्द्रमा उत्पादित विद्युतलाई ११ के.भी वितरण प्रणालीद्वारा काठमाडौं उपत्यकामा आपूर्ती गरिएको थियो ।

फर्पिङ विद्युत गृहबाट उत्पादन भएको बिजुली पहिलो पटक वि.सं १९६८ जेठ ९ गते सोमबारका दिन नारायणहिटी दरबारमा बालिएको थियो । झण्डै ९ लाख ५० जना मानिसले २० महिना १५ दिन काम गरेर फर्पिङ विद्युत गृह बनाइएको थियो । जसका लागि त्यतिबेला ७ लाख १३ हजार २ सय त्रिहत्तर रूपैँया ८२ पैसा खर्च भएको थियो । पानी संकलन गर्ने रिजरभ्वायरबाट करिब ५०० मिटर तल २ वटा विद्युत गृहबाट वर्षायाममा ५ सय किलोवाट र हिउँद याममा ४५० किलोवाट विद्युत उत्पादन हुने हुने गर्थ्यो । यसरी उत्पादन भएको बिजुली काठमाण्डौं उपत्यकाका प्रमुख तीन शहर भक्तपुर ललितपुर र काठमाण्डौंमा पुग्ने गरेको थियो ।
२४ सै घण्टा विद्युत उत्पादन हुने यो गृह अहिले बन्द छ । काठमाण्डौमा खानेपानीको अभावका कारण वि.सं.२०३८ सालमा यो विद्युत गृह बन्द गरी पोखरीमा जम्मा भएको पानी ललितपुरको जाउलाखेल, कुपण्डोल लगायतका क्षेत्रमा वितरण गर्न थालियो । खानेपानीको हाहाकार भएपछि विद्युत गृहका लागि जम्मा गरिएको यो पोखरीको पानी अहिले पिउनको लागि प्रयोग गरिन्छ । विद्युत गृह बन्द भएकाले अहिले खण्डहर जस्तो भएको छ, एसियाकै ऐतिहासिक धरोहर ।

विद्युत गृह बनाउन प्रयोग भएका फलामे पाइपहरु अहिले जिर्ण बन्दै गएका छन् । विद्युत गृहमा रहेका मेसिनहरु केही बिग्रीसकेका छन भने केही अझै चलिरहेका छन् । त्यतिबेला चन्द्रशमशेर निरन्तर फर्पिङ आउने जाने गर्दथे, तत्कलीन प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गर्न लगाएको हुनाले यस केन्द्रबाट उत्पादित बिजुलीलाई ‘श्री चन्द्रज्योति प्रकाश’ भन्ने गरिन्थ्यो । वास्तवमा फर्पिङको विद्युतले नेपालमा विकासको ढोका खोलिदिएको थियो राणा प्रधानमन्त्री र तत्कालिन दरबारको प्रयोजनका लागि नै स्थापना भएकै किन नहोस् फर्पिङको बिजुली त्यतिखेरका उद्योगग धन्दामा पनि प्रयोग गरिन्थ्यो ।
चन्द्रशमशेरले स्थापना गरिदिएको फर्पिङ जलविद्युत गृहले राजधानीबासीलाई लगातार ६० वर्षसम्म उज्याले दियो । तर राजधानीमा खानेपानीको अभावसँगै स्वयं यसको भविष्य अन्धकार भयो ।
वि.संं २०६७ सालबाट नेपाल सरकारले यस विद्युत गृहलाई जीवित संग्राहलयमा रूपान्तरण गरेको छ ।

सन्दर्भ सामाग्री
विभिन्न अनलाइनहरू ।
रमेश भुषाल

