तातोपानी स्नान मेला (वि.संं २०२५ सालको स्नान मेला भिडियोसहित)

पढ्न लाग्ने समय : ३ मिनेट
तातोपानी स्नान मेला (वि.संं २०२५ सालको स्नान मेला भिडियोसहित)

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तातोपानी धारामा एकमहिने स्नानमेला सुरु भएको छ । प्राकृतिक रुपमा ४४ डिग्री सेन्टिग्रेड तापक्रमको पानी यहाँ निरन्तर बग्ने गरेको छ । तातोपानी धाराको पानीमा गन्धक नामक लवण मिसिएका हुनाले छाला सम्बन्धी रोगहरु निको हुने जनविश्वास रहिआएको छ ।

वि.संं २०२५ सालमा तातोपानीमा स्नान गर्दै श्रद्धालुहरूः 

त्रेतायुगमा श्रृंगी ऋषि तपस्याका लागि कैलाश पर्वत जाने क्रममा कार्तिक शुक्ल पूर्णिमाका दिन त्रिशुलले भित्तामा खोपेर तातोपानी उत्पन्न गरी स्नान गरेको हिन्दुधर्म शास्त्रको हिमवत् खण्डमा उल्लेख छ । हिमालय पर्वतमा तपस्या गरिरहेकै बेला अयोध्यामा भगवान रामचन्द्रको जन्म भएको खबर पाउनसाथ यसै बाटो भएर फर्किने बेला ऋषिले पुनः चैत्रशुक्ल नवमीका दिन यसै धारामा स्नान गरेकाले प्रत्येक वर्षको कार्तिक र चैत्र महिनाभर स्नान मेला लाग्ने परम्परा बसालेको किम्वदन्ती पाईन्छ ।

काठमाडौबाट १ सय ११ किलोमिटरको दुरीमा रहेको तातोपानीधारामा महिला तथा पुरूषलाई छुट्टाछुटै स्नान कक्षमा सामूहिक रुपमा स्नान गर्ने व्यवस्था मिलाइएको छ । तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक महत्वकै कारण पछिल्लो समय यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

धार्मिक तथा आकर्षक पर्यटकीयस्थलको रुपमा परिचित तातोपानी धारामा पछिल्लो समय बाथरोगीको हितलाई ध्यानमा राखी स्वीमिङपुल, पारिवारिक वातावरणमा नुहाउनेका लागि अतिरिक्त शुल्कमा नुहाउने कक्षका साथै सामूहिक रुपमा नुहाउन सर्वसाधारणलाई सात धाराको व्यवस्था मिलाएको तातोपानी धारा व्यवस्थापन समितिका विष्णु श्रेष्ठले बताउनुभयो । कात्तिक महिनाभर लाग्ने सो मेलामा पुगेर स्नान गरेमा रोगव्याधीबाट छुटकारा पाइने धार्मिक विश्वास छ ।

सन्दर्भ सामाग्री

निक डिउल्फ
रेडियो सिन्धु

तातोपानी धारामा स्नान गर्दै श्रद्धालुहरू, वि.सं. २०३० । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *