साथीहरूले सोधे ‘जहाज उड्दा भुईंमा त कति ठूलो आवाज आउँछ, जहाजभित्र तिमेरुका कान फुटेनन् ?’

पढ्न लाग्ने समय : २ मिनेट
साथीहरूले सोधे ‘जहाज उड्दा भुईंमा त कति ठूलो आवाज आउँछ, जहाजभित्र तिमेरुका कान फुटेनन् ?’

वि.सं. २०१० सालतिर हवाईजहाज दुर्लभ थियो । नेपाल वायुसेवा निगम स्थापना भएकै थिएन । भारतीय विमान कम्पनीले विराटनगर–काठमाडौं डेकोटा जहाज चलाउँथ्यो। संस्कृत छात्र संघको संगठन विस्तार गर्न म र साथी मणिराम पोखरेल पूर्वी नेपाल गएका थियौं।

धनकुटाको ब्यारेकमा सैनिक रहेका मेरो कान्छा मामा शिवप्रसाद ढुंगाना र विराटनगरको मोरङ हाइड्रो इलेक्ट्रिक कम्पनीका जागिरे माइलो मामा बलराम ढुंगानाले बाटो खर्च दिनुभएको थियो । बगलीभरि पैसा भएपछि पाइन्ट र ह्याट किनेर ठाँटिएँ। जहाजबाटै काठमाडौं जान बिहानै विमानस्थल गयौं । त्यसबेला विराटनगर–काठमाडौंको हवाई भाडा ३३ रुपैयाँ थियो।

गौचरणमा पहिलो  व्यवसायिक विमान अवतरण हुँदा सेनाको टुकडीले बाजा गाजा सहित स्वागत गर्दै । 

जहाज आउला–नआउला, कत्रो धुकचुक थियो ! धन्न टिकट पाइयो र जहाज पनि आयो । सवा घण्टामा गौचर हवाई अड्डा (हालको त्रिभुवन विमानस्थल, जसलाई पशुपति गौचर पनि भनिन्थ्यो) मा ओर्लियो । त्यही नै मेरो पहिलो हवाई यात्रा थियो।

हामी तीनधारा पाकशालामा बस्थ्यौं/खान्थ्यौं र संस्कृत वाल्मीकि विद्यापीठमा पढ्थ्यौं । जहाज चढेर आएपछि अब पाकशालामा हाम्रो फूर्ति नै बेग्लै भयो । हवाई यात्राको बयान सुन्न साथीहरूले घेरिहाले । थरीथरीका प्रश्न ओइरिन थालेः

– ‘डर लागेन ?’
– ‘जहाज उड्दा भुईंमा त कति ठूलो आवाज आउँछ, जहाजभित्र तिमेरुका कान फुटेनन् ?’
– ‘जहाज यसो घुम्दा लडिएन ?’

जहाजको सिटमा बाँध्ने फित्ता हुन्छ, साउण्ड प्रुफ हुन्छ भन्ने जस्ता कुरा त्यो समयमा जोकोहीलाई थाहा नहुनु स्वाभाविकै थियो । हामीले चाहिं भन्ने मौका पाएपछि एक–डेढ घण्टा लगाएर सबै बेलीविस्तार लगायौं । जहाज तल–माथि गर्दा डर र रमाइलो मिसिएको त्यो अनुभव बेजोडा किसिमको थियो।

जहाज चढ्ने राजाको रहर

उतिबेला हवाईजहाज नेपाली सर्वसाधारणका लागि मात्र दुर्लभ र रुचिको कुरा थिएन, राजाको लागि समेत रहरको विषय रहेछ। पूर्व राजदूत एवम् परराष्ट्र सचिव मदनकुमार भट्टराईबाट सुन्न पाएको एउटा प्रसंग यहाँ दृष्टान्तको रूपमा राख्छु।

नेपालका लागि भारतीय राजदूत सुरजित सिंह मजेठियाका भतिजाले कलकत्ता (हाल कोलकाता) बाट चार्टर गरी २००६ सालमा काठमाडौंमा डेकोटा जहाज ल्याएका रहेछन् । त्यो जहाज हेर्न राजा त्रिभुवन र श्री ३ मोहनशमशेर समेत गौचर हवाई अड्डा पुगेछन्।

त्रिभुवनले त्यो जहाज चढेर एकपल्ट काठमाडौं खाल्डो परिक्रमा गर्ने इच्छा गरेछन् । तर, मोहनशमशेरले मानेनछन् । राजाको रहर त्यस बेला थाती रह्यो।

हवाईजहाज चढ्ने त्रिभुवनको इच्छा २००७ साल कात्तिक २६ गते मात्र पूरा भयो । त्यो दिन उनी भारतको शरण लिने क्रममा जहाजबाट सपरिवार दिल्ली गएका थिए।


वि.सं २००६ बैशाख ११ तदअनुसार अप्रिल २३ १९४९ का दिन काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा चार सिटे विचक्राफ्ट बोनान्जा विमान अवतरण गर्यो जुन काठमाडौंमा अवतरण गरेको पहिलो विमान थियो । उक्त विमानका चालक भारतिय वायुसेनाबाट सेवानिवृत दलीपसिंह मजीठियाका काका सुरजीतसिंह मजीठिया नेपालका लागि तत्कालीन भारतीय राजदूत रहेका थिए । उक्त विमानको स्वागतार्थ राजा त्रिभुवन गौचरण पुगेका थिए ।

इज्जत जाने चिन्ताले ढाँट्यौं

राजा महेन्द्रले ८ साउन २०१८ मा पूर्व–पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा गरेका थिए । त्यो सडक बनाउन आर्थिक रूपमा नेपालले मात्र नपुग्ने भएपछि मित्रराष्ट्रहरूसँग सहयोग माग्ने ठहर भएछ । तत्कालीन सोभियत संघले ढल्केवरदेखि नारायणघाटसम्मको सडक निर्माणमा सहयोग गर्ने इच्छा देखाएछ । त्यसका निम्ति पहिले हवाई सर्वेक्षण गर्ने तय भयो।

सर्वेक्षणका लागि सोभियत संघबाट विशेषज्ञहरूको टोली आयो । त्यो टोलीमा पत्रकार पनि हुनुपर्छ भनी मैले आवाज उठाएँ । त्यतिबेला मेरो बोली बिक्थ्यो । सगरमाथा संवाद समितिबाट म र नेपाल संवाद समितिबाट गोपालराज राजभण्डारी दुई जना पर्‍यौं । साथै, भारतको समाचार एजेन्सी हिन्दुस्तान समाचारबाट श्रीकण्ठ शर्मा पोख्रेल गएका थिए।

हवाई सर्वेक्षण जनकपुरदेखि नारायणघाटसम्म गरियो । यद्यपि सडक बनाउँदा सोभियत संघले धनुषाको ढल्केवरदेखि पथलैयासम्म मात्र निर्माण गर्‍यो । सर्वेक्षण टोलीमा सहभागी श्रीकण्ठजीलाई ‘जहाज लाग्यो’, उनले निकै पल्ट बान्ता गरे । अरु पनि कति जनाले बान्ता गरेका थिए । हामीलाई भने अप्ठेरो लाग्यो । कसैले केही भनेको त थिएन, तर बुद्धि लगाउँदै चोखिने उद्देश्यले भन्यौं, ‘अघिपछि त्यतिका पल्ट प्लेन चढ्दा कहिल्यै बान्ता भएको थिएन, यस पल्ट चाहिं किन यस्तो भो ?’

तर हाम्रो स्पष्टीकरणको जहाजभित्रका कसैले वास्तै गरेन । खास कुरो त, श्रीकण्ठजीको त्यो हवाई यात्रा पहिलो थियो । हवाई यात्रामा बान्ता गर्दा असभ्य र जङ्गली भन्लान् कि भनेर हामीलाई मनको बाघले खायो । तर, हामीले गरेको अक्किलको प्रभाव परेन, औचित्य पनि देखिएन।

– वरिष्ठ पत्रकार भैरव रिसालको सम्झना र भोगाई

मुल तस्बिरमा विराटनगर विमानस्थलमा ध्वजावाहक शाही नेपाल वायुसेवा निगमको जहाज वरपर जम्मा भएका यात्रीहरू, वि.संं २०२८ ।

सन्दर्भ सामाग्री
हिमाल खबर
https://www.ndtv.com/
पहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *