टुँडिखेलमा रेलका डिब्बामा बनेको प्यारापिट
काठमाडौंकाे टुँडिखेल पश्चिमतिर राखिएको यो रेलको डिब्बा वि.सं. २०२५ सालसम्म देख्नेहरू धेरै नै पाइन्छन् । पछिल्लोपटक देख्नेहरूले यस भाँडोलाई शाैचालयको रूपमा पनि देखे होलान् । सार्वजनिक शाैचालयको अभाव भएको काठमाडौंमा यसलाई धेरैले शाैचालय नै बनाइदिएका थिए । त्यसपछि बालाजु उद्यानमा लगेर मिल्काइयो । र, त्यहीँ नै यसको अस्तित्व पनि हरायो ।
रेलको डिब्बा टुँडिखेलको पश्चिमतर्फ राणा प्रधानमन्त्री जुद्धशमशेरको समयमा राखिएको थियो । सुरुमा यस प्रकारको डिब्बा ७ वटा थियो । यो डिब्बा रेलको डिब्बा नै थियो तर आवश्यकता अनुरूप केही परिवर्तन गरिएको थियो ।
जुद्धशमशेरको समयमा नरशमशेरको नेतृत्वमा बेलाबेला फुटबल खेल भइरहन्थ्याे । मदनशमशेरको नेतृत्वमा क्रिकेटका खेलहरू हुने गर्थे । त्यो समयको निकै चर्चित फुटबल तथा क्रिकेटको खेल हेर्न जुद्धशमशेर आफ्नी रानी तथा परिवारका अन्य सदस्यहरूसहित टुँडिखेल पुग्दथे । प्रधानमन्त्री तथा अन्य पारिवारिक सदस्य तथा विशिष्ट व्यक्तिहरू यही डिब्बामा घामपानीबाट सुरक्षित भएर फुटबल हेर्थे ।
बबरमहल टिम, श्रीदरबार ११ टिम तथा जावलाखेल टिमका क्रिकेट म्याच तथा फुटबलमा राम जानकी कप प्रतियोगिता नै हुन्थ्याे । यसरी यी खेलहरू हेर्न राणा परिवारका महिला सदस्यहरू पनि पुग्थे । यी राणा परिवारका महिला सदस्यहरूको लागि पनि सुरक्षित भएर खेल हेर्न सहजता यही भित्र नै हुन्थ्याे ।
सातवटा डिब्बाहरू जमिनमा ओछ्याइएको लिकमा नै राखिएका हुन्थे । यस लिकको प्रयोजन उत्तर र दक्षिणतर्फ सार्नका लागि प्रयोग गरिन्थ्यो । खासै लामो लिक ओछ्याइएको थिएन तर पनि लिक मार्फत दायाँबायाँ सार्न भने सहज हुन्थ्यो । सायद फुटबल तथा क्रिकेट खेलको समय वा स्थान चयन गर्दा यसलाई पायक पर्ने ठाँउमा सार्नका लागि पनि लिक राखिएको हुन सक्छ ।
अब प्रश्न आउँछ यी रेलका डिब्बा काठमाडौंमा अन्य प्रयोजनका लागि ल्याइए पनि उपयोग विहीन भएपछि फुटबल तथा क्रिकेट हेर्नका लागि बनाइएको त होइन ? वा भनौँ काठमाडौं उपत्यकामा गुड्ने मातातीर्थ रेलवेका डिब्बा त होइनन् ? मातातीर्थमा रोपवे ले ल्याउने सामान ओसार्न प्रयोग भएको मोटर ट्रलिमा यस्ता खालका डिब्बाहरू थिएनन् भन्ने स्थानीय ज्येष्ठ नागरिकहरूले बताए । त्यसैले नेपालमै कतै ल्याइएका रेलको डिब्बा आवश्यकता भन्दा बढी संख्यामा ल्याइएपछि बढी भएका डिब्बालाई परिवर्तन गरी यस प्रकारको प्रयोजनका लागि परिमार्जन गरी टुँडिखेलको पश्चिममा लहरै राखिएका हुन् कि !
नेपाल सरकारका पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेलको अनुमानमा यी डिब्बाहरू नेपालमा रेल चल्न थालेपछि शासकहरूले जनतालाई रेल भनेको यस्तो हुन्छ भनेर देखाउनका लागि काठमाण्डाै ल्याएका हुनसक्छन् । ढुंगेलले आफुहरू स्कुले विद्यार्थी हुँदा यी डिब्बाहरूमा पानी पर्दा ओत लागेको स्मरण गर्नुभयो ।
सन्दर्भ सामाग्री
डा. द्वारिकानाथ ढुंगेल
सुनिल उलक
ब्रिटिश लाइब्रेरी
मदन पुरस्कार पुस्तकालय

