टुँडिखेल, एसियाकै ठूलो परेड मैदान !
पृथ्वीनारायण शाहले नेपाल (काठमाडाैं उपत्यका) विजय गरेपछि सैनिकहरूको परेड खेल्ने मैदान बन्यो, टुँडिखेल।
त्यही बेलादेखि टुँडिखेल सैनिक प्रयोजनकै लागि प्रयोग भएको मानिन्छ ।
सुरुमा टुँडिखेलको आकार ठूलो थियो। सँस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः त्रिपुरेश्वरको दशरथ रंगशालादेखि जमल, रानीपोखरीसम्मको क्षेत्रलाई टुँडिखेल भनिने गरेको सुनाउनुहुन्छ । पहिलाको समय रानीपोखरीदेखि दशरथ रंगशालामासम्म टुँडिखेलको घेरा करिब ३ देखि ५ किलोमिटर लामो र ३ सय मिटर चौडा थियो। कतिपयले यसलाई एसियाकै ठूलो परेड मैदान समेत भन्थे।
त्यस्तै, त्यसबखतको नेपाल पुस्तकमा सरदार भीम बहादुर पाँडे लेख्नुहुन्छ फराकिलो टुँडिखेलमा खरीको चाैतारो सिवाय अरू कुनै घर र मञ्च बनेका थिएनन् बिहान बेलुका टुँडिखेलको बीचबाट मानिस हिँडे पनि, बिहान १० देखी अपरान्ह ४ बजेसम्म सिपाहीले कसैलाई छिर्न दिंदैनथे तर गाई भने दिनभरि चर्न पाउँदथे ।
रानी पोखरीदेखि त्रिपुरेश्वरसम्म तन्किएको टुँडिखेललाई खाली मोटर चल्ने पूर्व-पश्चिम तन्केका सडकले मात्र काटेका थिए ।
टुँडिखेलको बीच ठिङ्ग फगत खरीको बोट उभिएको थियो । त्रिपुरेश्वरनिरको क्षेत्रलाई सानो टुँडिखेल भनिन्थ्यो त्यहाँ दुई कमलपोखरी थिए ।
साँझतिर काठमाण्डाै निवासी युवाहरू पलेँटी कसेर टुँडिखेलको हरियो चउरमा बस्दथे । जहाँ पनि टुसुक्क अथवा थचक्क बस्ने, पिच्च थुक्ने, बाटोमा कताकति मोटर चढेर आएको मानिसलाई चिनोस्-नचिनोस् अति झुकी चट्ट सलाम, स्वस्ति गर्ने, साथीले चुरोट खाएको देखे दश हात परबाट हान्निएर आई मागेर दम खिंचेर तीन-चार जनाले धीत मर्ने गरेर तान्ने र आपसमा भेट्दा ल्वाङ, सुपारी माग्ने त एकप्रकारले धेरै मानिसमा त्यस बेला आदतै बसेको थियो – पश्चिमी राष्ट्रमा भेट्दा ‘गुड मर्निङ’ भनी हात मिलाएझैं…..”
भौतिक संरचना निर्माणसँगै पछिल्लो समय यसको क्षेत्रफल आधाभन्दा बढी खुम्चिएको छ। अहिले त्रिपुरेश्वर क्षेत्रमा रंगशालापछाडि आर्मी अफिसर्स क्लब छ। उत्तरतिर रत्नपार्क र खुलामञ्च रहेको क्षेत्र पनि टुँडिखेलको हैसियतबाट अलग्गिएको छ। गणतन्त्र प्राप्तिपछि टुँडिखेलको अस्तित्व अझै फेरिएको छ।
सेनाले प्रयोग गर्दै आएको टुँडिखेलको भागमै अहिले विभिन्न जातजाति, धर्म र सँस्कृतिका कार्यक्रम हुन थालेका छन्। दोस्रो जनआन्दोलनपछि राजनीतिक परिवर्तनसँगै टुँडिखेलमा सामान्य नागरिकले पनि प्रवेश पाउन थाले। टुँडिखेलमा नेवार समुदायको देवाली हुने गरेको पनि ग्वंगः सम्झनुहुन्छ ।
रंगशाला, सैनिक मुख्यालय, अफिसर्स क्लब, सैनिक मञ्च, खुल्लामञ्च (पछिल्ला वर्षमा पार्किङ स्थलका रूपमा रूपान्तरित), रत्नपार्क, महानगरीय प्रहरी परिसर आदीको निर्माणले वास्तविक टुँडिखेलको आकार पुराना तस्वीरमा मात्रै सिमित हुन पुगेका छन् ।
सन्दर्भ सामाग्री
नागरिकन्युज
अनलाइनखबर
विभिन्न अनलाइनहरू
मदन पुरस्कार पुस्तकालय
विभिन्न सामाजीक सञ्जाल

