‘कान्छो दरबार’ गोरखा तल्लो दरबारको कथा

पढ्न लाग्ने समय : १ मिनेट
‘कान्छो दरबार’ गोरखा तल्लो दरबारको कथा

वि.संं १८९६ सालमा बनेको गोरखास्थित तल्लो दरबारको मूलढोकामा काठमा कुँदिएको विष्णुको आकृति देख्न सकिन्छ । त्यही तोरणले नै बोलिरहेको छ दरबारको कथा ।

दरबार निर्माणको प्रयोजन राजेन्द्र विक्रम शाहका रानीहरु जेठी राम्राज्यलक्ष्मी र कान्छी लक्ष्मीदेवीको आफ्नै छोरालाई राजा बनाउने ढिपीसँग जोडिएको छ । वि.सं. १८९४ सालमा राजा राजेन्द्र विक्रमले भीमसेन थापालाई अपदस्थ गरेपछि सिर्जना भएको अन्योलको वातावरणले नै राजगद्दीमाथिको चलखेल बढेको थियो ।

रानीहरुबीचको त्यही लडाइँका बीचमा कान्छी महारानीले राजगद्दी उत्तराधिकारीको परम्परागत नियमलाई तोडेर आफ्नो छोरालाई देशको बागडोर दिन प्रपञ्च रच्न थालेकी थिइन् । उनले आफू हाबी भएको अवस्थामा छोरा रणेन्द्रबिक्रम शाहलाई राजा बनाउने र स्वभाविक राजगद्दीको उत्तराधिकार सुरेन्द्रविक्रम शाहलाई व्यवस्थापन गर्नका लागि नै पुर्ख्याैली थलो गोरखामा लगेर राख्ने भन्ने योजनाका साथ यो दरबार बनेको हो ।

कान्छी महारानीको षड्यन्त्र सफल हुन भने सकेन । वि.सं. १९०३ सालमा कोत पर्व भएपछि घटनाक्रम फरक ढंगले विकसित हुने परिस्थिति देखापर्‍यो र सुरेन्द्रविक्रमलाई राजा नबनाउने प्रपञ्च तुहिएसँगै गोरखा तल्लो दरबार निर्माणको प्रयोजन पनि सकियो ।

१९०३ सालमा शक्तिमा आएका जङ्गबहादुर युरोप भ्रमणमा गएर फर्किएपछि उनले युरोपेली शैलीकै दरबारलाई नेपालमा बनाउन प्रोत्साहित गरे । त्यसपछि नै नेपालमा परम्परागत शैलीका दरबार नबनेका कारण गोरखा तल्लो दरबार नै नेपालको वास्तुकलाको इतिहासमा परम्परागत शैलीको सबैभन्दा कान्छो दरबार हो ।

जब सुरेन्द्र विक्रमलाई राख्ने प्रयोजनले बनाइएको दरबारको प्रयोजन सकियो तब राणा कालमा प्रमुख प्रशासनिक अड्डाका रुपमा प्रयोग गरियो । वि.सं. २०४२ सालमा गोरखा दरबार संरक्षण परियोजना सञ्चालन नहुँदासम्म दरबारमा जिल्लाका महत्वपूर्ण सरकारी अड्डाहरु रहेका थिए । त्यसैले कतिपय स्थानीय बासिन्दा अहिलेसम्म पनि तल्लो दरबारलाई अड्डाकै नामले चिन्छन् । अफिसहरु विस्तारै बाहिर सार्दै लगेपछि दरबारको मौलिक स्वरुप बचाइराख्न मद्धत पुगेको थियो ।

त्यसले गर्दा नै दरबारले आफ्नो मौलिकता गुमाउने डर बढिरहेको थियो । गोरखा दरबार संरक्षण परियोजनाको कामपछि दरबारको मौलिकता जोगाउन सहयोग पुग्यो । गोरखा दरबार संरक्षण परियोजनाले माथिल्लो दरबारका साथै तल्लो दरबारसम्मको काम वि.सं. २०५८ सालमा पूरा गर्‍यो । परियोजनाको काम सकिएपछि नै पृथ्वी स्मृति संग्रहालयका रुपमा विकास गर्ने काम अघि बढेको थियो । तर राजनीतिक घटनाक्रमका कारण नाममा उठेका सवालले गोरखा संग्रहालयका नाममा सर्वसाधरणका लागि समेत ०६५ सालमा दरबार खुला भयो ।

यो पनि पढ्नुहोस् केही राणाकालीन दरबारहरू

सन्दर्भ सामाग्री
विकिपिडिया
अनलाइनखबर
ऋग्वेद शर्मा
फोटो म्यूजियम नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *