मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार २०३० सालमा आगलागी हुँदा खरानी भयो

पढ्न लाग्ने समय : १ मिनेट
मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार २०३० सालमा आगलागी हुँदा खरानी भयो

विक्रम संवत् २०३० असार २५ गते सोमबारका दिन सिंहदरबारमा भयानक आगलागी भयो । रातको करिब १० बजेबाट सल्केको आगोबाट देशकै प्रमुख प्रशासनिक केन्द्र बचाउनका लागि भगिरथ प्रयास गरिए पनि त्यो सफल भएन । सुरक्षाकर्मीहरुले रातभर आगो निभाउने असफल प्रयास गरेका थिए । उनीहरुकै प्रयासले सिंहदरबारको अग्रभाग मात्रै जोगियो, अरु सबै जल्यो । अहिले त राजधानीमा बारुण यन्त्रहरु चुस्त दुरुस्त छैनन्, त्यो बेला बालुवा र माटो हालेर आगो निभाउन सकिने कुरै थिएन । त्यसपछि अगाडिको भागमात्रै भएपनि बचाउनका लागि तोप हानीहानी पछाडिको भाग भत्काईयो, बाँकी सिंहदरबार जलेर खरानी भयो।

सिंहदरबारको अगाडीको भागमा दूरसञ्चारको पूर्वाधार थियो जुन बचाउन परराष्ट्र मन्त्रालयको कबलमा तोप हानेर भत्काइएको थियो । सिंहदरबारमा लागेको त्यो आगोको राप पुतलीसडक, थापाथली, बानेश्वर, घट्टेकुलो र भद्रकालीसम्म पुगेको थियो। कागजका टुक्राहरू कुपण्डोल, नक्साल, विजेश्वरी लगायतका क्षेत्रसम्म पुगेका थिए । भीषण आगलागीबाट बचेको अगाडिको भागसँगै जोडेर पछि अन्य संरचना निर्माण गरियो।

आगलागीमा भएको भौतिक सम्पतिको कुनै लेखाजोखा गरि साध्य नै थिएन् । सिंहदरबार आगलागी हुँदा ७० वर्षअघिको वास्तुकला मात्र ध्वस्त भएन् परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण कागजात तथा दस्तावेजहरू जलेर नष्ट भए । उक्त विपत्तीमा कतिले ज्यान गुमाए भन्नेबारे कुनै प्रमाणित तथ्य बाहिर आएनन् वा ल्याइएनन् तथापी केहि सुरक्षाकर्मी सहित कम्तीमा २० जनाले ज्यान गुमाएका थिए भनिन्छ ।

हालको पश्चिमी मोहडा श्री ३ चन्द्रकै शासनकालमा निर्माण गरिएकै बखतको संरचना हो । सिंहदरबार भित्रको १ नम्बर चोक भित्रका भागहरू पछि निर्माण गरिएका हुन् । १ नम्बर चोकमा तत्कालीन युवराजधिराज दिपेन्द्रको व्रतबन्ध गरिएको थियो । सिंहदरबारको पुनःनिर्माणका लागि देशभरका हरेक घरबाट १०-१० रूपैँया संकलन गरी प्रधानपञ्चहरूले काठमाण्डाै पठाएका थिए भनिन्छ । 

यस आगलागीको पछाडी कसैको हात त छैन भन्ने निकै अड्कल काटिए पनि सरकारी छानबिन टोलीले विद्युतको तारमा भएको सानो झिल्कोबाट नै भयानक घटना घटेको भनियो । सिंहदरबारको रक्षा हुन नसकेकोमा त्यसको जिम्मेवारी लिँदै प्रधानमन्त्री किर्तिनिधी विष्टले नैतिकताको आधारमा राजा विरेन्द्र सामु राजिनामा दिए । राजाले यो स्विकार्नु भएन तर पनि राजालाई आफू पदमा रहिरहनु नैतिकताले दिँदैन भन्दै विष्टले राजिनामा दिएरै छोडे । त्यतिबेला नेपालका लागी भारतीय राजदुत एलपी सिंहले बालुवाटारमा पुगेर किर्तिनिधी विष्टलाई राजिनामा फिर्ता लिन अनुरोध गरेका थिए ।

सन्दर्भ सामाग्री

भैरव रिसाल
ईश्वरी ज्ञवाली
संजीव शाह
हिमाल खबर
नेपाल साप्ताहिक
विभिन्न अनलाइनहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *