“आहै, भन मेरा भाइ हो” – देउसुरे ! “हे राम्ररी भन” – देउसुरे !

पढ्न लाग्ने समय : २ मिनेट
“आहै, भन मेरा भाइ हो” – देउसुरे ! “हे राम्ररी भन” – देउसुरे !

तिहार सांगीतिक पर्व पनि हो । यतिबेला नाचगान गर्ने परम्परा छ । र, रमाइलो त के भने तिहारको आफ्नो विशिष्ट गीत छ । त्यसलाई पेश गर्ने कौशल पनि आफ्नै किसिमको छ । गोरू तिहारका दिन/साँझ पुरूषहरू समुह मिलाएर देउसी भन्दछन् भने गाइ तिहार/लक्ष्मी पूजाका दिन महिलाहरू समुह मिलाएर भैलेनी भन्दछन् ।

समुहमा मिलेर गाइने गीत देउसी भैलेनी हो जुन तिहारको बेलामा मात्र गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घरघरमा गएर गीत गाउँछन । देउसी भैलेनी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरूले देउसी रे घन्काउँदै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा

यस घरको मन ठूलो छ,

दान पनि ठूलै हुन्छ,

भैलोलाई मुठीखोलेर दान दिन्छन्,

मिठामिठा परिकार दिन्छन्,

छानामाथि घिरौला,

के के दिन्छन् हेरौला

भन्दै खुब फुर्क्याउने गरिन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

यो गीत गाउँदा साधारणत: एक जना मुख्य हुन्छन् र समूहका अरू व्यक्तिहरू मुख्य व्यक्तिको देउसुरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन।

देउसीको यो लोकभाका खुब मिठो छ। यस्तै मिठासपूर्ण स्वर घन्काउँदै तपाईं हाम्रो दैलोमा देउस्याहरू आइसकेका छन्। वास्तवमै देउसीमा यति धेरै तमासा, मनोरञ्जन छ कि, जोकोही देउसी खेल्न रौसिन्छन्। देउसीको सुरुवातबारे अहिलेसम्म पनि इतिहासमा फरकफरक लेख छन्। इतिहासमा जे लेखिए पनि उहिलेदेखि नै चलेको देउसी–भैलो आजसम्म खेलिदैछ।

देउसी-भैलोको सुरुवातबारे फरक–फरक श्रुति परम्परा छन् । भौगोलिक क्षेत्र, विभिन्न जाति, जनजाति अनुसार देउसी–भैलो खेल्ने शैली फरक छ । यसले पनि जनाउँछ देउसी-भैलोमा विविधता छ । देउसी–भैलो जहाँबाट सुरु भए पनि तिहारसँग जोडिएको सबैभन्दा रमाइलो पाटो हो देउसी । बिना देउसी र भैलो तिहार निरस हुन्छ । अन्य संस्कार–संस्कृति समयको परिवर्तनसँगै बद्लिँदा छन्, देउसी पनि यसबाट अछुतो छैन् । सुरिलो स्वरमा देउसी भट्याउने, मादल र खैंजडीको तालमा नाच्दै देउसी खेल्ने समूहको बिउ देख्न मुस्किल छ । साँच्चिकै रमाइलो गरिने मौलिक देउसी–भैलो हराइसक्यो क्यासेट प्लेयर घन्काउँदै आउँछन् देउस्याहरू । यो देउसीको मौलिकता हराउँदै गएको संकेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *