एउटा तक्माको कथा

पढ्न लाग्ने समय : १ मिनेट
एउटा तक्माको कथा

झट्ट हेर्दा यो तक्मा कुनै मुस्लिम शासकका हुन कि जस्तो लाग्दछ किनकी यसमा उर्दु भाषा मात्र प्रयोग भएको छ । तर एक तर्फ भने राजा सुरेन्द्रको तस्बिर अंकित छ । जसले गर्दा नेपालसँग यस तक्माको सम्बन्ध त पक्कै छ भन्ने सहजै अनुमान गर्न सकियो। एक हिन्दु मुलुकको हिन्दु राजाले केबल उर्दुमा लेखिएको तक्मा किन र कसलाई दियो होला भन्ने निकै रोचक कथा छ । यसमा लेखिएको उर्दुको नेपाली अनुवाद यस प्रकारको छः

(समर्पित) श्री महाराजाधिराजा सुरेन्द्र विक्रम शाह बहादुर र श्री जंगबहादुर राणा महाराजाको आदेशमा १५ वर्ष देखि तिब्बती कैदमा रहेका जम्मुका खालसा सिपाहीहरूलाई संवत् १९१२ (सन् १८५५-५६) को भोटसँगको युद्धमा मुक्त गराए।

यसले के देखाउँछ भने जंगबहादुरको शासनकालमा नेपाल र नेपालीहरुको लागि मात्र होइन कैदमा रहेका जम्मुका सेनाहरुको लागि पनि महत्वपूर्ण कार्य गरेका थिए । करिब १५ वर्षदेखि तिब्बती सेनाको अधिनमा कैदमा रहेका ५६ खालसा सैनिकहरुको रिहाइ गराएका थिए । ती ५६ सैनिकहरु प्रत्येकलाई आफ्नो पूनर्जीवनको याद दिलाउन यो तक्मा दिइएको थियो । ती ५६ सैनिक को थिए वा कहाँ छन् भन्ने खोजी गरिएको छैन । तर ती सैनिकहरुले प्राप्त गरेका केही तक्मा भने भेटिएका छन् ।

हालको भारतको हिमाञ्चल प्रदेशमा कुनै बेला डोगरा राज्य थियो । विशाल जम्मु काश्मिर राज्यका राजा गुलावसिंह थिए । गुलावसिंहको राज्य विस्तारको सपनासँगै लद्दाखमा गवर्नर रहेका सैनिक जनरल जोरावर सिंहको नेतृत्वमा सन् १८४१ मा भोट आक्रमणको लागि पठाएका थिए । तर भोटसँगको युद्ध सहज थिएन । जोरावर सिंह युद्धमा मारिए । युद्धमा पुगेका सैनिकहरु कति मारिए कतिपय युद्धबन्दीका रुपमा ल्हासा पुर्याइए । यी युद्धबन्दीहरू मध्ये ३४ जनाले दक्षिण तिब्बतमा नै बस्न चाहे भने १०६ युद्धबन्दीहरु भने जङ्गबहादुरको समयको नेपाल भोट युद्ध समाप्तिपछि भोट सरकारले नेपाल सरकारलाई हस्तान्तर गरिएको थियो । ती नेपाल पुगेका १०६ युद्धबन्दीमा पनि केबल ५६ जनाले मात्र जम्मु फर्कने इच्छा व्यक्त गरेपछि राजा सुरेन्द्र तथा श्री ३ जङ्गबहादुरले यो तक्मा पहिराइ बिदाइ गरेका थिए ।

नेपाल भोट युद्ध

बि.सं. १९०९ साउनको अन्त तिर जङ्गबहादुरले लेफ्टिनेन्ट भीमसेन कुँवरको नेतृत्वमा एक प्रतिनिधी मण्डल चीन पठाएका थिए । नयाँ सम्राट होङ झियाउक्विनको कार्यकाल सफल रहोस भन्ने शुभकामना तथा चीन नेपाल सम्बन्ध दरिलो बनाउने उद्धेश्य सहित गएको सो टोली पेकिङको लागि गएको सो टोलीको बारेमा कुनै पनि जानकारी जङ्गले करिब २ वर्षसम्म पाएनन् । सामान्य रुपले ८ महिनामा फर्कनु पर्ने सो टोली नफर्कँदा चिन्तित रहेकै समय अचानक टोलीका प्रमुख भीमसेन कुँवर मात्र फर्किए । उनको जानकारी अनुसार बाटोमा तिब्बतीहरुले सामान लुट्नुको साथै अन्य सदस्यको हत्या गरिदिएको जानकारी पनि दिए । उनको हातमा चीनका सम्राटको सन्देश भएको हुँदा उनलाई जीवित फर्कन दिइएको भन्ने जानकारीको साथ उनले भोटमा रहेका नेपालीलाई पनि यसरी नै लुटपाट तथा हत्या गर्ने गरेको जानकारी पनि दिए ।

यसरी आफ्नो प्रतिनिधि मण्डलको हत्या र लुटपाटको साथै भोटमा रहेका नेपाली माथि पनि अत्याचार भएको सुनेका जङ्गले तत्कालै भोटमाथि आक्रमण गर्ने तयारी गरे । जङ्गले युद्धकै लागि भनेर १४००० पैदल सेना, १२०० घोडचढी सेना नयाँ भर्ना गरेका थिए । साथै ८० वटा बाह्र पाउण्डर तोप, २४ वटा ६ पाउण्डर टोप, साथै मोर्टार र हाउइट्जर गन पनि काठमाडौमा नै ढाल्न लगाएका थिए । गोला बारुद लगायत युद्धको लागि आवश्यक जंगी सामाग्रीहरु तयार बनाउन कालीगढहरु तयार बनाएर राखे । भोटमा अत्यधिक जाडो हुने हुँदा जाडोको लागि भनेर बक्खु, दोचा र भोटे टोपीहरु पनि हजारौंको संख्यामा बनाउन लगाए । यसको साथै सेना तथा अन्य सहयोगीहरुको लागि आवश्यक रासनपानीको व्यवस्था तराईका जमिन्दारहरुलाई गर्न लगाए ।

वि.सं. १९११ फागुन १४ गते जङ्गबहादुरका छोरा जीतजङ्गको राजा सुरेन्द्रको छोरी नरेन्द्रलक्ष्मीसँग भएको विवाह समारोहमा भाग लिन भोटको प्रतिनिधि मण्डल काठमाडौ आइपुगेको थियो । यहि अवसरमा भोटका प्रतिनिधि मण्डललाई देखाउने गरि जङ्गबहादुरले सैनिक परेड गराए । जसमा भोटे लुगा लगाएका २८ हजार पैदल सैनिक, १६०० घोडचढी सैनिक, ६० वटा १२ पाउण्डर टोप, ३५ वटा ६ पाउण्डर टोप, सयौ मोर्टार गन तथा हाउइट्जर गनको प्रदर्शन गराएका थिए । भोटका प्रतिनिधि सामु जङ्गले युद्ध तयारीमा लागेको खर्च तथा भोटमा भएको लुटपाटको समेत गरेर एक करोड नेपाली रुपैयाँ क्षतिपूर्ति दिएमा युद्ध रोकी सन्धि गर्न तयार रहेको जानकारी गराए । अन्यथा युद्ध शुरु हुने र तयारीमा रहन समेत सचेत गराए । तर ति प्रतिनिधि मण्डलले भोटमा लुटिएको मुल्यांकन बराबर केबल ५ लाख मात्र दिन सकिने जानकारी गराए पछि जङ्गले युद्धको घोषणा गरे ।

वि.सं. १९११ फागुन २४ गते थापाथलीमा सैनिक कमाण्डरहरुलाई भेला गरि जङ्गबहादुरले सम्बोधन गरे । उनले सैनिकहरु सामु जोशका साथ भने, “बहादुर सैनिक जवानहरु हो । भोटेले हामीलाई हेला गर्यो । हाम्रो तागतलाई कम ठहर्यायो । हाम्रो देशबासीहरुको धनसम्पति लुटेर केहीको हत्या समेत गर्यो । हाम्रो यो बेइज्जती सहेर बसेमा तिनीहरुले अरु अत्याचार गर्ने साहस गर्नेछन् । तसर्थ हाम्रा देशबासीहरुमा पनि कति शक्ति छ भन्ने कुरा तिनले बुझ्न भन्न खातिर र हाम्रो देशको इज्जत नगरी हेला गरेको हुँदा तिनलाई बदला लिनका खातिर म तिमीहरुलाई युद्धमा खटाउँदैछु ।” भन्दै बडो जोशका साथ युद्धका लागि बिदा गरे ।

झण्डै एक वर्ष लामो लडाँइमा भोट तर्फको ठूलो क्षतिको साथै हार भए पछि वि.सं. १९१२ को पुसमा सन्धिको प्रस्ताव लिएर भोटको प्रतिनिधि मण्डल काठमाडौँ आइपुग्यो । एक वर्ष लामो नेपाल भोट युद्धमा नेपाली सेना तर्फ अफिसर र जवान गरि करिब ३५०० को मृत्यु भयो । भोटतर्फ करिब ७ हजार सैनिकको मृत्यु भयो । भोट तर्फबाट सन्धिको प्रस्ताव आएको र नेपाल सरकारको ढुकुटी पनि युद्धका कारण रित्तिन थालेको हुँदा जङ्गबहादुर पनि उपयुक्त प्रस्तावमा सन्धि गर्न तयार हुने मनसायमा बसेका थिए ।

अन्ततः लामो छलफल पछि वि.सं. १९१२ चैत्र १३ गतेका दिन दुई देशबीच सन्धिपछि भोट नेपाल युद्ध अन्त्य भयो । सन्धि अनुसार भोटले सालाना दश हजार रुपैयाँ उपलब्ध गराउने, भोटमा व्यापार गरि बसेका कुनै पनि नेपाली व्यापारीसँग कुनैपनि कर नलिने, एकअर्को देश बीच युद्ध नगर्ने तथा कुनै तेश्रो देशले कसैलाई पनि आक्रमण गर्न आएमा एक अर्कोलाई सहयोग गर्ने, भोटमा कैद रहेका सिख सिपाही, तथा नेपाली सिपाहीका साथै तिनका परिवार र भोटको अधिनमा रहेको नेपाली तोप तथा अन्य गोलीगट्ठाहरु पनि फिर्ता गर्ने । साथै नेपाली सेनाले पक्रि राखेका भोटका सैनिकहरुलाई पनि फिर्ता पठाउने । ल्हासामा नेपाल सरकारका तर्फबाट प्रतिनिधिका रुपमा भारदार राख्ने । ल्हासामा नेपालीहरुले खुशीले चाहेको व्यापार गर्न छुट दिने । भोटमा रहेका नेपालीहरुमा लुटपाट भएमा भोटकाहरुबाट रकम भराउने । भोटे व्यापारी माथि नेपालीले लुटपाट गरेमा नेपालीहरुबाट नै रकम भराइ लिने ।

यस सन्धिलाई थापाथली सन्धिका नामले चिनिन्छ । यस सन्धि पछि भोट सरकारले नेपाललाई क्षतिपूर्ति स्वरुप २ लाख ३३ हजार नेपाली रुपैयाँ उपलब्ध गराएको थियो । साथै यो सन्धि अनुरुपको सालाना १० हजार रुपैया नेपाल सरकारले १०० वर्षसम्म वि.सं. २०१२ सम्म पनि पाइरहेकै थियो ।

यस सन्धिमा नेपालका तर्फबाट श्री ३ जङ्गबहादुरले हस्ताक्षर गरेका थिए भने भोटका तर्फबाट तत्कालिन पोटाला दरबारका ११औ दलाई लामाको निधन भएको तर नयाँ दलाई लामाको नियुक्ति नभइ सकेको हुँदा पोटाला दरबारको लामाको प्रतिनिधिका रुपमा छेन मेर डा वाङ ले हस्ताक्षर गरेका थिए ।

यसरी जङ्गबहादुरले भोटमा नेपाली माथि भएको अन्याय र अत्याचारको बदला लिएका थिए । पछि वि.सं. १९४० मा रणोद्वीपको समयमा पनि भोटको अन्याय विरुद्ध लडाँइको तयारी भएको थियो ।

तस्बिरमा देखाइएको तक्मा ५६ भोटमा रहेका डोगरा युद्धबन्दीमा बाँडिएको भए तापनि २ थान मात्र भेटिएको छ । चाँदीको यो तक्मा ४२ मिमी गोलाइको तथा झण्डै २५ ग्राम तौलको रहेको छ । केही वर्ष अगाडी यी तक्मा  सुरूवाती मुल्य ४ हजार पाउण्डमा लिलामीमा राखिँदा ९००० पाउण्डमा बिक्री भएको थियो ।

सन्दर्भ सामाग्री

सुनिल उलक
numisbids

Leave a Reply

Your email address will not be published. Required fields are marked *