“काठमाण्डाैमा हवाईजहाज उड्दा भूकम्प आयो भन्दै भागाभाग भयो”- भैरव रिसाल

पढ्न लाग्ने समय : १ मिनेट
“काठमाण्डाैमा हवाईजहाज उड्दा भूकम्प आयो भन्दै भागाभाग भयो”- भैरव रिसाल

काठमाडौं उपत्यकाको आकाशमा पहिलो पटक हवाईजहाज कहिले उड्यो ? मैले सम्झेसम्म २००४ सालमा हो जस्तो लाग्छ। कति ठूलो आवाज आएको थियो भने, मानिसहरू आत्तिंदै कराएका थिए । गाईभैंसी उफ्रिंदै दाम्लो चुँडाएर, किला उखेलेर बुर्कुशी मारेका थिए।

त्यस बेला मेरो बसोबास भक्तपुरको दधिकोटमा थियो । १९९० सालको भूकम्प भोगेकाहरूलाई लागेछ, फेरि भूकम्प आयो! गाउँलेहरू साना लालाबाला च्यापेर ‘राम राम’ भन्दै दधिकोटको चौरमा भेला भएका थिए । केटाकेटी डाँको छोडेर रोइरहेका थिए । ७४ वर्ष अघिको नेपालको शब्दचित्र हो यो।

त्यसपछि २००७ सालको कात्तिकमा राजा त्रिभुवन सपरिवार दिल्ली गएपछि राणाशासनको विरुद्ध पर्चा छर्न काठमाडौंको आकाशमा जहाजले चक्कर लगाएको थियो। जहाजको गर्जन ठूलै थियो । त्यसबेला भने मानिसहरू आतंकित भएनन्।

जहाजकै प्रसङ्गमा अर्को एउटा रोचक घटना पनि छ । सुर्खेत उपत्यकामा जहाजको उडान हुन थालेपछि शुरुआतका झण्डै दुई वर्ष यात्रुका सामान जहाजबाट निकाल्न र राख्न मजदूर राख्नै परेन । विमान हेर्न आउने मानिसहरूले नै निःशुल्क झिक्ने–राख्ने काम गरे । चार्टर गरेका जहाजमा पनि उनीहरूले चामलका बोरा राखिदिए।

वीरेन्द्रनगर विमान अड्डामा  हवाइजहाज हेर्नेको घुँइचो, वि.संं २०२५ । 

सित्तैंमा किन काम गरेको भनेर मैले ती मानिसलाई सोधेको थिएँ । जवाफ दिए, ‘पैसो नतिरी जहाजभित्र जान पाइयो भने त्यति सामान किन नराखिदिनु ? गाउँमा गएर म पनि जहाज चढेको छु भन्दा कत्रो इज्जत !’

मुल तस्बिरमा, टुँडिखेलमाथिको आकाशमा उडेको हवाइ जहाज हेर्नेको भीड ।

सन्दर्भ सामाग्री

भैरव रिसाल
हिमालखबर
भिन्टेज नेपाल
फोटो म्युजियम नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *