वि.संं २००४ सालको स्थानीय निर्वाचन

पढ्न लाग्ने समय : १ मिनेट
वि.संं २००४ सालको स्थानीय निर्वाचन

वैशाख ३० मा सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले काठमाडौँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । तर, सरकारले नै यस्तो उद्देश्य राखेर नेपालमा पहिलो स्थानीय तह निर्वाचन सम्पन्न गरेको कुरा धेरैलाई थाहा नहुन सक्छ । ७५ वर्ष बितिसक्दा पनि काठमाडौँको फोहोरको अवस्था भने ज्यूँका त्यूँ छ ।

काठमाडौँ सहरको स्वास्थ्य र सफाइको मुख्य उद्देश्यका निम्ति २००४ साल जेठ २९ गते पहिलो स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत काठमाडौँ म्युनिसिपलिटी नामकरण गरिएको थियो । म्युनिसिपलिटी गोश्वाराले निर्वाचन सम्पन्न गरेको थियो । हुन त छेभडेल सफाइ अड्डाले सरसफाइ गर्ने गरेको थियो तर तत्कालीन प्रधानमन्त्री पद्मशमशेर राणाले गर्नुभएको सुधारको घोषणाअन्तर्गत स्थानीय तह निर्वाचन गरिएको थियो र त्यसलाई सरसफाइको जिम्मेवारी दिइएको थियो ।२००४ साल जेठ २७ गते गोरखापत्रले म्युनिसिपलिटी निर्वाचन शीर्षकमा सम्पादकीय लेखेको थियो, ‘स्वास्थ्य र सफाइ नै जीवनको सुखशान्तिको जग हुनाले मुलुकको सुख र शान्ति पनि म्युनिसिपलिटीकै जिम्मामा छ ।’

२००३ साल फागुन २ र २००४ साल जेठ ३ गते तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले ऐतिहासिक भाषण गरी सुधारको घोषणा गर्नुभएको थियो । सुधार समितिले २००४ साल वैशाख १५ गतेबाट काम थालिसकेको थियो । जेठ २४ गते इस्तिहार प्रकाशित गरिएको थियो– आगे जागिरे ढाक्रे साहु महाजन रैती दुनियाँ गै¥हके यथोचित, उप्रान्त हाम्रो मुलुकको सुधारबारे २००४ साल जेठ ३ गते हामीबाट बक्सेको भाषणबमोजिम सुधारको पहिला किस्तास्वरूप भरमुलुकमा निर्वाचित म्युनिसिपलिटीहरू खडा गर्ने निकासा बक्सेको छ ।

सबै ठाउँमा एकै चोटी निर्वाचनको काम गर्न नभ्याउने र मुस्किल पर्ने समेत हुनाले पहिले काठमाडौँ म्युनिसिपलिटीको निर्वाचन अर्थात प्रतिनिधि छान्ने गरिबक्सेको छ । उत्तर महाराजगन्ज, दक्षिण बागमती, पूर्व धोवीखोला र पश्चिम विष्णुमती हाल तोकिएका यी चार किल्लाभित्र काठमाडौँ म्युनिसिपलिटी रहने भएकोले सो चार किल्लाभित्रको क्षेत्रफल यो पहिलापटक साविकबमोजिम २१ वडामा विभाजित गरी सो १-१ वडाबाट दुनियाँले १/१ सदस्य छान्ने गरिबक्सेको हुनाले सदस्य छान्दा २५ वर्ष पुगिसकेका लोग्ने मानिसहरूलाई मात्र छान्ने र सो छान्ने मानिसहरूमा पनि २१ वर्ष नाघिसकेका लोग्ने मानिसहरूले मात्र भोट गर्न पाउनेछन् ।

काठमाडौँ म्युनिसिपलिटीको निर्वाचन गर्ने काम यही जेठ २९ गते बुधबारका दिन ११ बजेदेखि ३ बजेतह गर्ने मुकर्रर भएको छ । यस काममा तिमीहरूका मद्दतका निमित्त खटिएका कर्मचारीहरूको रेखदेखमा म्युनिसिपलिटीको काम गर्नसक्ने तिमीहरूको प्रतीतको असल, लायक, अनुभवी प्रतिनिधि छानी पठाउने काम गर । निज छानिएका प्रतिनिधिहरूले हालसाललाई अहिले भैराखेको नियम सवालबमोजिम काम चलाइ निर्वाचनसम्बन्धी नियम म्युनिसिपलिटीका इलाका र वडा छुट्याउने भोटरहरूको नामावली तयार गर्ने र अरू चाहिएका आधुनिक नियमसमेत तयार गरी जाहेर गर्नेछन् ।

त्यसबखत काठमाडौँ नगरमा १३ हजार ४४९ घरधुुरीको जनसङ्ख्या ६८ हजार ११८ थियो । सबैभन्दा बढी घर वडा नम्बर ९ मा ९५८ र सबैभन्दा बढी जनसङ्ख्या वडा नम्बर ११ मा छ हजार ६०३ थियो । वडा नम्बर १ मा थापाथली, डिल्लीबजारलगायत टोल, वडा नम्बर २ मा त्रिपुरेश्वर, पचली, टेकुदोभानलगायत टोल, वडा नम्बर ३ मा मुसुबहाल, गोफले, नायपाचोलगायत टोल, वडा नम्बर ४ मा ज्याबहाल, लगनटोल, इतुनतीलगायत टोल, वडा नम्बर ५ मा वसन्तपुर, झोछेँ, चिकमुगललगायत टोल, वडा नम्बर ६ मा जुद्धसडक, टेबहाल, खिचापोखरीलगायत टोल, वडा नम्बर ७ मा मरुटोल, जैसीदेवल, लाखेननीलगायत टोल, वडा नम्बर ८ मा मखन, यट्खा, प्युखा, इन्द्रचोकलगायत टोल, वडा नम्बर ९ मा केलटोल, असन, बाङ्गेमुढा, नरदेवीलगायत टोल, वडा नम्बर १० मा भोटाहिटी, महाबौद्ध, वटु, दुगम्बहिललगायत टोल पर्थे ।

त्यस्तै, वडा नम्बर ११ मा कमलाक्षी, ठमेल, ट्यौड, ज्याठा आदि टोल, वडा नम्बर १२ मा न्हैकतला, न्ह्योखा, नघल, क्षेत्रपाटी आदि टोल, वडा नम्बर १३ मा धोबीचौर, कुस्लेचौर, नौमुगल आदि टोल, वडा नम्बर १४ मा मरुप्याफल, दमाई टोल, मरुबहिल आदि टोल, वडा नम्बर १५ मा पकनाजोल, नयाँबजार, कालधारा, खुसिबुँ आदि टोल, वडा नम्बर १६ मा गल्कोपाखा, लैनचौर आदि टोल, वडा नम्बर १७ मा लाजिम्पाट, टङ्गाल, बालुवाटार, महाराजगञ्ज आदि टोल, वडा नम्बर १८ मा लैनपानीपोखरी, धोबीधारा, लैनरानीबारी आदि टोल, वडा नम्बर १९ मा भाटभटेनी, विशालनगर, नक्साल, हाँडीगाउँ, मालीगाउँ आदि टोल, वडा नम्बर २० मा कमलपोखरी, ज्ञानेश्वर, नारायणहिटी आदि टोल र वडा नम्बर २१ मा बागबजार, धोबीधारा, टुँडिखेल आदि टोललाई समावेश गरिएको थियो ।

२००४ साल जेठ २४ गते शुक्रबार सरकारले अर्काे सूचना गोरखापत्रमा सार्वजनिक गरेको थियो– काठमाडौँ म्युनिसिपलेटीको सदस्यहरू छान्ने बारे प्रकाशित भएको इस्तिहारबमोजिम सदस्यहरूको निर्वाचन बुधबार जेठ २९ गते हुने भएकाले आगामी सोमबार ४ बजेसम्म हर एक वडाबाट खडा हुने उम्मेदवारहरू चार जनासम्मको नाम वडाको प्रतिष्ठित मानिसहरूको राय मिलाइ म्युनिसिपल गोश्वारामा पेस गर्नु । सो कागतमा उम्मेदवारको मन्जुरी र प्रतिष्ठित मानिसहरू १५ जनासम्मको सही छाप हुनुपर्छ । २१ वडाबाट १-१ सदस्यका हिसाबले छानिनेछ । जस सदस्यले सबभन्दा बर्ता भोट पाउनेछन् उही सदस्य मुकर्रर हुनेछन् । सदस्यका निर्वाचनमा भोट दिन पाउनेहरूलाई घरघरमा टिकट बाँड्न सोमबार मंगलबार विहान ७ बजेदेखि १० बजेसम्म र साँझमा ३ बजेदेखि ७ बजेसम्म सर्कारी कर्मचारीहरू आउनेछन् ।

जेठ २९ गते निर्वाचन सम्पन्न भयो । ठाउँ–ठाउँमा ट्याङ्कर (मतपेटिका) राख्ने व्यवस्था गरिए । जेठ ३१ गते निर्वाचन परिणाम सार्वजनिक गरियो । निर्वाचन रेखदेख गर्न अर्थात् निर्वाचन अधिकृतका रूपमा त्रिचन्द्र क्याम्पसका प्राध्यापक वा विद्यालयका शिक्षकलाई मात्र खटाइयो । वडा नम्बर १ मा गेहेन्द्रनाथ पण्डित, वडा नम्बर २ मा पं. भेषराज शर्मा, वडा नम्बर ३ मा मोहनबहादुर डङ्गोल, वडा नम्बर ४ मा मा. विष्णुलाल डङ्गोल, वडा नम्बर ५ मा हरिकृष्ण श्रेष्ठ, वडा नम्बर ६ मा त्रिपुवरसिंह प्रधान, वडा नम्बर ७ मा कर्णबहादुर श्रेष्ठ, वडा नम्बर ८ मा पन्नाप्रसाद जोशी, वडा नम्बर ९ मा पूर्णबहादुर श्रेष्ठ, वडा नम्बर १० मा साहु उदयलाल श्रेष्ठ, वडा नम्बर ११ मा भुवनलाल प्रधान निर्वाचित हुनुभयो ।

त्यस्तै, वडा नम्बर १२ मा पुष्करलाल मास्के, वडा नम्बर १३ मा कृष्णबहादुर मानन्धर, वडा नम्बर १४ मा शेषराज दली, वडा नम्बर १५ मा प्रो. यदुनाथ खनाल, वडा नम्बर १६ मा प्रकाशमान प्रधान, वडा नम्बर १७ मा ईश्वरीप्रसाद रिमाल, वडा नम्बर १८ मा तेजशङ्कर उपाध्याय, वडा नम्बर १९ मा शारदाप्रसाद उपाध्याय, वडा नम्बर २० मा रामजीप्रसाद शर्मा र वडा नम्बर २१ मा पं. शङ्करदेव पन्त निर्वाचित हुनुभयो ।

सरकारका तर्फबाट चिकित्सक, इन्जिनियर, साहुमहाजन आदिबाट १० जना मनोनीत सदस्य थप गरियो । काठमाडौँ म्युनिसिपलिटीको चेरयरम्यानमा मनोनीत गरिनुभएका लेफ्टिनेन्ट कर्णेल गेहेन्द्रशमशेर थापालाई बनाइयो भने भाइस चेयरम्यान जनताबाट निर्वाचित शङ्करदेव पन्त बन्नुभयो । साउन ३ गते प्रधानमन्त्री पद्मशमशेरले भाषण गर्नुभयो– यो निर्वाचनको सिद्धान्त नेपालमा पहिलो पटक प्रयोग भएकाले पूरा सन्तोषजनक भयो होला भन्ने विश्वास छैन तापनि जुनसुकै कामको पनि एक पटक सुरु गराइदिएपछि सिलसिला बस्दै जाने बुझेकै छौ ।साउन ६ गते काठमाडौँ म्युनिसिपलिटीको पहिलो बैठक सम्पन्न भयो । साताको एक दिन बैठक बस्ने, विधान उपसमिति गठन गर्नेलगायतका आठ निर्णय बैठकले गरेको थियो ।

सन्दर्भ सामाग्री

गोरखापत्र
प्रकृति अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *