जंङ्गबहादुर राणाको प्रिय हात्ती जङ्गप्रसाद

नेपालमा जहानियाँ राणा शासन अन्त्य भएको सात दशक पार गरिसकेको छ । यद्यपी राणाकालको चर्चा अहिलेपनि कायमै छ । राणाका दरबार, जीवन शैली, शिकार लगायतका विभिन्न किस्साहरूका कारण । जङ्गबहादुरबाट शुरु भएको राणाका भित्री र बाहिरी कथा र अकथाहरुले अझै पनि ठेलीका ठेली किताबहरु तैयार गर्न सकिन्छ ।

नेपालमा राणा शासनको श्रीगणेश गर्ने जङ्गबहादुर राणाका पनि विभिन्न कथा छन् । कहिले उनको वीरताको कथा गुनगुनाइन्छ भने कहिले उनको विलासिताको कथा पढिन्छ । राणाकालमा उनको हात्तीको पनि निकै चर्चा हुन्थ्यो ।

जंङ्गबहादुरको प्रिय हात्तीको नाम “जङ्गप्रसाद” थियो । जङ्गबहादुरको समयको सबैभन्दा ठूलो हात्ती नै जङ्गबहादुरको प्रिय हात्ती भएको हुँदा नामै जङ्गप्रसाद राखिएको थियो । सन १८७६ को शुरुवातमा प्रिन्स अफ वेल्स (जो पछि राजा एडवर्ड सातौं ) को शिकार भ्रमणमा जङ्गप्रसादको निकै उपयोग गरिएको थियो । हुन त त्यस समयको शिकारमा अर्को हात्ती बिजुलीप्रसाद पनि थियो । प्रिन्स अफ वेल्सले फर्कँदा चारवटा एशियाली हात्ती पनि साथ लगेका थिए । जसमा एक जङ्गप्रसाद पनि थियो ।

जङ्गप्रसाद करिब १० फिट उचाइको थियो भने एउटा दाह्रा थिएन । जङ्गप्रसादको साथ जङ्गबहादुरको विभिन्न किस्साहरु पनि जोडिएको छ । तर बेलायती राजकुमारको शिकार भ्रमण पछि यो हात्ती सन १८७६ मे १७ (वि.सं. १९३३ जेठ ६) मा बेलायत पुगेको देखिन्छ । शायद जङ्गबहादुरले यो हात्तीलाई बेलायती राजकुमारलाई नै उपहारमा दिएको हुनुपर्छ । सोही वर्ष युवराजले आफ्नी पत्नी अलेक्जान्ड्रालाई जङ्गप्रसाद क्रिसमस उपहारका रूपमा दिएका थिए ।

बेलायत पुगेपछि जङ्गप्रसाद त्यहाँको लण्डन चिडियाखानाको आकर्षणको रुपमा रह्यो । लण्डन चिडियाखानामा रहेको यस भाले जङ्गप्रसादको जोडीको रुपमा अर्को हथिनी सुफा कुली (Suffa Kulli) संग राखियो । तर हथिनी गर्भवती हुन सकिनन् । जङ्गप्रसादको नयाँ सन्तानको सपना लण्डन चिडियाखानाले पुरा गर्न सकेन ।

करिब २० वर्ष लण्डन चिडियाखानामा रहेको जङ्गप्रसादको पेरिटोनाइटिसको कारणले सन १८९६ मार्च ८ (१९५२ फागुन २६ )मा मृत्यु भयो । मृत्युपछि जङ्गप्रसादको भित्री अङ्ग निकालेर बाहिरी छालालाई सुरक्षित राख्दै त्यतिबेलाका प्रख्यात taxidermist एडवार्ड गेरार्डले जङ्गप्रसादको प्रतिमुर्ति (taxidermy) बनाएर नेचुरल हिस्ट्री म्यूजियमको सेन्ट्रल हलमा राखेका थिए ।

प्रस्तुती सुनिल उलक

सन्दर्भ सामाग्री

रोयल कलेक्सन ट्रष्ट
विभिन्न अनलाइनहरू

“जुत्ता भएको भए स्वर्ण पदक नै जित्ने थिएँ, खाली खुट्टा दाैडँदा साताैं भएँ”- भुपेन्द्र सिलवाल

खेलकुद नतिजा मात्र होइन । कुनै यस्तो क्षणको दृश्यले कहिलेकाँही जीवनभर बिर्सन नसक्ने बनाइदिन्छ। यो क्षण कुनै खेलाडीका लागि मात्र नभई पूरै खेलकुदमै अमर रहन्छ।

सन् १९५८ (वि.संं २०१५ जेठ) को टोकियो एसियाली खेलकुदमा म्याराथनमा प्रतिस्पर्धा गर्नुभएका नेपालका धावक भुपेन्द्र सिलवालको तस्वीर आज पनि निकै अर्थपूर्ण मानिन्छ ।

एसियाका विभिन्न २० देशका १ हजार ८ सय २० खेलाडी सम्मिलित यस खेल उत्सवमा नेपालबाट ७ जना खेलाडीले सहभागिता जनाएका थिए । एथलेटिक्स अन्तर्गत म्याराथन दाैडमा नेपालका भुपेन्द्र सिलवाल र नरबहादुर गुरुङले प्रतिस्पर्धा गर्नुभएको थियो ।

टिठलाग्दो कुरा यो थियो कि करिब ६० जना धावकहरूले भाग लिएको उक्त प्रतिस्पर्धामा सम्मिलित नेपाली धावकद्वयको खुट्टामा जुत्ता थिएन्, अर्थात दुवै नेपाली धावकहरू खाली खुट्टा ४२ किलोमिटर लामो दाैडमा सम्मिलित हुनुभयो ।

खाली खुट्टाले दौड्दा रापले पोलिएको सिलवालको पैतालामा एक जापानी महिलाले पानि खन्याइदिएर मलम लगाइदिइन्। त्यही तस्वीर नेपाली खेलकुदकै चर्चित तस्वीर बन्यो। उक्त स्पर्धामा सिलवाल नांगो खुट्टा दौडिएर सातौं हुनुभयो ।

त्यस क्षणको स्मरण गर्दै दिवंगत सिलवालले नेपाली खेल पत्रकारहरूलाई भन्नुभएको थियो “तातो घामको रापले खाली खुट्टामा पूरै अलकत्रा टाँसिए पनि सातौं भएँ, डाक्टरलाई मेरो खुट्टाको अलकत्रा निकाल्न कति गाह्रो परेको थियो। उनीहरूले सुइराले घोपेर मेरो खुट्टाको अलकत्रा निकालिदिए। जुत्ता भएको भए स्वर्ण पदक नै जित्ने थिएँ। मेरो भाग्य नै अहिले अर्कै हुन्थ्यो। खाली खुट्टा दौडिएपछि जुत्ता किनिदेलान् भनेको त झन सेनाको मान्छे खालीखुट्टा दौडिन पर्छ भनेर पो भन्छन्।’

घुम्दै फिर्दै ६ वर्षपछि उहाँ टोकियो नै पुग्नुभयो यसपटक ओलम्पिक म्याराथन दाैड्न । सन् १९६४ को ओलम्पिक नेपाली खेलाडीका लागि विशेष थियो। नेपाली खेलाडी पहिलोपटक ओलम्पिक खेल उत्सवमा सहभागी हुँदै थिए। सिलवालसहित ६ जनाको नेपाली खेल ओलम्पिकमा खेल्ने पहिलो नेपालीका रूपमा इतिहास बनायो। त्यो भाग्यमानी नेपाली दलमा थिए म्याराथनमा दुई धावक गंगाबहादुर थापा मगर र भुपेन्द्र सिलवाल तथा बक्सिङमा नमिसंह थापा, ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा ।

टोकियो ओलम्पिक उद्घाटनमा नेपालको मार्चपास र सिलवालको सहभागिताको भिडियो

नेपाली खेलकुदका पहिलो पुस्ताका धरोहर सिलवालको २०६९ असोज महिनामा निधन भयो ।

सिलवालको निधनसँगै नेपाली खेलकुदको सम्भवत् सबैभन्दा पाको पुस्ताको अन्त्य भयो ।

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
नेपाल ओलम्पिक संग्राहलय