‘जन्मभूमिको उत्थानका लागि हाँसीहाँसी सहिद हुन आशीर्वाद दिनुहोस् बा’- गंगालाल श्रेष्ठ

वि.सं. १९७५ सालमा रामेछापको भँगेरीमा जन्मनुभएका गंगालाल श्रेष्ठले १९९४ मा दरबार हाईस्कूलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरि त्रिचन्द्र क्याम्पस आईएस्सी अध्ययन गर्नुभएको थियो ।

कलाकारितामा निकै रुचि राख्ने गंगालाल राण विरोधी संस्था महावीरका कार्यकर्ता समेत हुनुहुन्थ्यो । महावीर संस्थाले राणा शासन विरुद्ध जनचेतना जगाउन राणाविरोधी प्रवचन र क्रियाकलापहरू गर्थ्यो ।
१९९५ सालमा काठमाडौंको असन र ईन्द्रचोकमा राणा विरोधी सभाहरुको आयोजना भएको थियो । त्यही सभामा भाषणा गरेबापत उहाँलाई समेत प्रकाउ गरिएको थियो तर पछि उहाँ छुट्नुभयो । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिई उहाँ राणा शासन विरोधी गतिविधिमा पनि सक्रिय सहभागी हुनुभयो ।
राणा विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उहाँलाई १९९७ साल कात्तिक २ गते पक्राउ गरियो । त्यही वर्ष माघ १५ गते दशरथ चन्दसँगै केन्द्रीय कारागारबाट उहाँलाई लगेर बिष्णुमतीको बगरमा रहेको शोभाभगवतीमा गोली हानी हत्या गरियो ।

गंगालालई फाँसी दिइएको अघिल्लो दिन

राणा शासनको अन्त्य र नागरिक सर्वोच्चता प्राप्तिका लागि जीवन आहुति दिने महान् सहिदहरुमध्ये युवा गङ्गालाल श्रेष्ठको बलिदानी आममानिसका लागि अझ प्रेरणादायी छ । १९९७ साल माघ १४ गतेका दिन सेन्ट्रल जेलको गेटबाहिर गङ्गालालका बाबु भक्तलाल श्रेष्ठलगायत उनका भाइ–बहिनीहरुलाई बोलाइएको थियो ।

मुत्युदण्ड दिनुअघि ३ः३० बजे परिवारका सदस्यको छेवैमा आएर गङ्गालालले मुस्कुराउँदै सबैतिर हेरेर सम्झाउँदै भन्नुभएको थियो– ‘जन्मिएपछि मृत्यु निश्चित छ । मैले अत्याचारीसँग माफी मागेँ भने भोलि तपाईंंहरुले पनि धिक्कार्नुहुनेछ ।’ उहाँले आफ्नो पिता भक्तलाललाई ढोग्दै भन्नुभएको थियो– ‘बा, तपाईंं गीताका ज्ञाताले मेरो नाशवान् शरीरको नाश हुँदै गर्दा शोक गर्न सुहाउँदैन । जन्मभूमिको उत्थानका लागि हाँसीहाँसी सहिद हुन आशीर्वाद दिनुहोस् ।’ त्यसपछि माइला भाइ पुष्पलाल श्रेष्ठलाई सम्बोधन गर्दै भन्नुभयो– ‘माइला, यस जन्मभूमिमा प्रजातन्त्रका लागि हामीले बालेर गएको दियोलाई तिमीले कहिल्यै निभ्न नदिनू, यसलाई नेपालका कुनाकुनामा पुर्याउनू ।’

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
प्रकाश विकल्पको पुस्तक ‘देश किन बनेन’
विभिन्न सामाजीक सञ्जालहरू

यस्तो थियो नेपालले किनेको पहिलो पानीजहाज

नेपाल भूपरिवेष्ठित राज्य हुँदाहुँदै पनि एक समय पानीजहाज भित्र्याएर देशको उन्नति गर्ने सोच बनेको थियो। सन्दर्भ विसं २०२५ तिरको हो। त्यति बेला भारतमा पानीजहाजको क्षेत्रमा सिन्धिया स्टिम नेभिगेसन कम्पनी र इस्टर्न नेभिगेसन कम्पनी प्रख्यात थिए। भारतीय नीतिका कारण ती कम्पनीका जहाजले पाकिस्तान, बर्मा, चीनलगायतका मुलुकसम्म बिनारोकतोक आवतजावत गर्न पाएका थिएनन्। तर, चिनियाँ पानीजहाज भने आफ्ना मालसामानका साथ निर्बाध रूपमा पाकिस्तान, बर्मा हुँदै भारतसम्म सहज रूपमा पुग्थे।


कोलकाता बन्दरगाहमा नेपाली झन्डा फरफराउँदै पानीजहाज आइपुग्यो, २०२७ सालमा नेपालले पानीजहाज किनेको थियो .. पानीजहाजको नाम दिइएको थियो नरेन्द्रलक्ष्मी


नेपालको बाटो हुँदै चिनियाँ सामान भारत गइरहेको तर भारतीय सामान चीन, पाकिस्तानसम्म पुर्‍याउन कठिनाइ भइरहेको अवस्थामा भारतले आफ्नो व्यापार व्यवसायमा सुधार ल्याउने र नाफा कमाउने अभिप्रायले नेपाली झन्डा र लोगो प्रयोग भएका पानीजहाज चलाउने सोच बनाएछ। त्यसबापत नेपालले पनि केही आर्थिक सहयोग पाउन सक्ने उसको प्रस्ताव थियो।

त्यतिबेला कानुनी क्षेत्रमा कृष्णप्रसाद घिमिरे र मेरो एकाधिकारजस्तै थियो। तर, अंग्रेजी भाषामा घिमिरेको पकड कमजोर रहेकाले होला, उनीहरूले मलाई उपयोग गर्ने नीति बनाएछन्। र, यसै क्रममा देशाई परिवारको लगानी रहेको सिन्धिया कम्पनीकी डाइरेक्टर नेपाल आइन्। होटल सोल्टीमा बसेकी उनले मसँग लामो कुराकानी गरिन्। त्यतिबेला म होटल अन्नपूर्णको कानुनी सल्लाहकार पनि थिएँ। पानीजहाजसम्बन्धी ब्रिटिस र सिंगापुरका जानकारलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिएर लगानीकर्ता भए पनि आफूले सहयोगीको भूमिकामा काम गरेको उनले त्यस भेटघाटमा खुलाएकी थिइन्। उनले आफ्ना पानीजहाजमा नेपाली झन्डा र लोगो प्रयोग गरेबापत निश्चित रकम नेपाल सरकारलाई उपलब्ध गराउने र त्यसका निम्ति सहजकर्ताको भूमिका निर्वाह गरिदिन आग्रह गरिन्।

यसमा मैले नाइँ भन्नुपर्ने कुनै कारण देखिनँ। यसको कानुनी प्रक्रियाबारे अध्ययन गरेँ र प्रतिवेदन सरकारलाई बुझाएँ। काम अघि बढ्दै थियो। दरबारिया चलखेल सुरु भइहाल्यो। व्यापार व्यवसाय र प्रत्यक्ष आम्दानीका कुनै बाटो खुलेको देख्नासाथ दरबारको नजर परिहाल्थ्यो। फेरि दरबार पनि विभाजित थियो, युवराज्ञी ऐश्वर्य र अधिराजकुमार ज्ञानेन्द्रका रूपमा। दुवै आ–आफ्नो स्वार्थ पूरा गर्न खुलेर लाग्थे। राजा त्रिभुवनका कान्छा छोरा वसुन्धराको कानुनी सल्लाहकार भएर काम गर्ने क्रममा दरबारभित्रका कुरा जान्ने मौका पाएको थिएँ।

यसैबीच इस्टर्न नेभिगेसन कम्पनीका तर्फबाट योगेन्द्र झामार्फत तुलसी गिरीसँग सम्पर्क गरी दरबारमा यो कुरा पुर्‍याइएछ। त्यसपछि यस विषयमा दरबारले प्रत्यक्ष चासो देखाउन थाल्यो र अधिराजकुमार ज्ञानेन्द्र प्रत्यक्ष रूपमा यस प्रक्रियामा सरिक भए। त्यसपछि सिन्धिया ग्रुप प्रक्रियाबाट पछाडि हट्यो भने इस्टर्न नेभिगेसन कम्पनीले दरबारमार्फत प्रवेश पायो। र, यता म पनि त्यसबाट अलग भएँ। दरबारको प्रत्यक्ष चासो बढेपछि षड्यन्त्रका खेल पनि सुरु भए।
रोयल नेपाल सिपिङ कर्पोरेसन स्थापना गरी यसैमार्फत पानीजहाज किन्ने निर्णय गरियो। नेपालको ध्वजावाहक जलपोत अन्तर्राष्ट्रिय समुद्री इलाकामा तैरिने खबरले धेरै नेपाली रोमाञ्चित भए। आवश्यक विभिन्न स्तरका कामदारका निम्ति विज्ञापन पनि भयो। ब्रोसर बाँडियो, आवेदन मागियो। दरबारमार्गस्थित बहादुर भवनमा त्यसको कार्यालय लामो समयसम्मै रह्यो।
३० चैत ०२७ मा नेपाल पानीजहाज (प्रमाणपत्र र रोजनामचा) ऐन, २०२७ पारित गरी कानुनी रूपमा पानीजहाज किन्ने मार्गप्रशस्त गरियो। पहिलो किस्तास्वरूप बुझाएपछि कोलकाता बन्दरगाहमा नेपाली झन्डा फरफराउँदै पानीजहाज आइपुग्यो। तर, त्यहाँबाट अगाडि बढ्न नेपाली पक्षले खरिदको दोस्रो किस्ता बुझाउनु अनिवार्य थियो। दोस्रो किस्ता बुझाउन नसकेपछि नेपाल सरकारलाई जमानी बस्न गरिएको आग्रह अर्थ मन्त्रालयले अस्वीकार गरिदियो। झन्डै २२ दिनसम्म कलकत्ता बन्दरगाहमा रोकिन पुगेको नेपाली पानीजहाज त्यहीँबाट फिर्ता भयो। नाम दिइएको थियो नरेन्द्रलक्ष्मी, पृथ्वीनारायण शाहकी पत्नीको नाम । यसका प्रमुख लगानीकर्ता थिए रविशमशेर राणा ।

०३४ सालमा त्यही काण्ड बल्झियो। नेपालका नाममा पानीजहाज भित्र्याएर व्यापार व्यवसाय बढाउने दरबारिया चाहना फेरि सतहमा आयो। तर, नेपालमा पानीजहाज भित्र्याउनु कुनै पनि दृष्टिकोणले फाइदाजनक नरहेको र यसको उपादेयता पनि नरहेको कुरा गरेकै कारण भेषबहादुर थापा अर्थमन्त्री र देवेन्द्रराज पाण्डे उद्योग वाणिज्य सचिवबाट हटाइए। र, पानीजहाज ल्याउने दोस्रो प्रयास पनि तुहियो ।

सन्दर्भ सामाग्री
ईश्वरी ज्ञवाली
नेपाल साप्ताहिक
कमलरत्न तुलाधर
विभिन्न अनलाइनहरू तथा सामाजीक सञ्जाल