जंगबहादुरका केही किस्सा

नेपालमा राणाशासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने वीरनरसिंह कुँवर (पछि जंगबहादुर कुँवर, जंगबहादुर राणा) को निधन भएको डेढ सय वर्ष भइसकेको छ तथापी उनको चर्चा अहिलेपनि चलिरहन्छ ।

उनको शासन शैली, क्रुरता, शाैख तथा विभिन्न किस्साहरूका कारण । यहाँ जंगबहादुरका केही किस्साहरू प्रस्तुत गरिएको छः

  • वि.संं १८९८ सालको फाल्गुन महिनामा शिकारका लागि महाराजधिराज श्री ५ राजेन्द्र तराई लागेका थिए । शिकार दलले फेला पारेको जंगली हात्ती नियन्त्रणमा लिन राजा राजेन्द्रले खुब इच्छा देखाएतापनि कसैले समात्न सकेनन् । शिकार दलमा रहेका जंगबहादुरले त्यस हात्तीका दुवै खुट्टामा डोरी बाँध्न सफल भए, जस बापतको पुरस्कार श्री ५ राजेन्द्रबाट जंगबहादुरले नेपाली सेनाको कप्तान पद पाए ।
  • वि.संं १८९८ सालको चैत्र महिनामा बसन्तपुर दरबारमा मत्त राँगोको  पुच्छर पछिल्तिरबाट समाती जंगबहादुरले वशमा लिएका थिए ।यो पनि पढ्नुहोस् जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  • वि.संं १८९९ ताका काठमाण्डाको कुनै एक बस्तीमा आगलागी भएको खबर जंगबहादुरको कानसम्म पुग्यो । उनले उक्त आगलागीमा फसेका आमाछोरीको उद्दार गरे । सोही सालताका मनोहरा नदीमा भीषण बाढी आयो । जंगबहादुरले बाढीमा फसेका २ जना महिलाको चुल्ठोमा समातेर बचाए ।
  • एकबखत दहचोक (हाल चन्द्रागिरि नगर) मा चितुवा आतंकले स्थानीयमा हैरानी भएको जंगबहादुरले सुनेछन्, जंगबहादुरले उत्पात मच्चाउने चितुवा छप्काइदिएको खबर नेपाल खाल्डोमा निकैसम्म चर्चा भइरह्यो । यो घटना भएको केही दिनपछि राजाको हात्ती बहुलाएर आफ्नो माहुतेलाई नै मारिदियो । जंगबहादुरले महाराजको अनुमितिमा हात्ती आउने भनिएको बाटोको एउटा घरमा पसेर झ्यालबाट हात्तीको काँधमा हामफाले र हात्तीको घाँटीमा छुरी धसाई  नियन्त्रणमा लिन सफल भए ।
  • एकपटक युवराज सुरेन्द्र धरहराको बाटो हुँदै कतै सवार हुँदै थिए । जंगबहादुरले यो धरहराबाट फाल हाल्न सक्लान् कि नसक्लान भनि विचार गरि जंगलाई धरहराको टुप्पोबाट हाम फाल्न हुकुम दिए । जंगबहादुरले आफुले हाम फाल्न सक्ने तर सो काम दुई सातापछि मात्र गर्ने बताए । तर दुई सातामा युवराज सुरेन्द्रले उक्त कुरा बिर्सिए ।
  • जंगबहादुर बेलायतमा रहँदाका पनि अनेक किस्सा छन् । एक दिन उनी महारानीसंग बग्गीमा कतै जाँदै रहेछन् । अचानक फुटपाथको भीडबाट एक व्यक्ति फुत्त उफ्रेर आएर महारानीलाई थप्पड हानेर भागेछ । जंगबहादुर फुत्त तरबार कैँचेर त्यसको पछि लाग्न खोज्दा महारानीले ‘यहाँ त्यसरी मान्छे मार्न हुँदैन, प्रहरी छ, पक्राउ गरिहाल्छ’ भनेर रोकिछन् ।त्यसपछि कोही बेलायती ठूलो मान्छेसँग भेट भयो कि जंगले महारानीलाई थप्पड हान्नेलाई के कारबाही भयो भनेर सोध्थे रे । पछि त्यस व्यक्तिलाई दुई महिना कैद सजाय भयो भनेको सुन्दा जंगबहादुर छक्क परेछन् । त्यही घटनाबाट जंगबहादुरमा ऐन बनाउनु पर्छ भन्ने सोच आयो भन्नेहरू पनि छन् ।
  • जंगबहादुर बेलायत जाने बेला पानी जहाजको प्रयोग गरेका थिए । समुन्द्री डाँकुबाट बच्न उनले तोपहरु जडान गरेका थिए । उनले भ्रमण टोलीमा कट्टर हिन्दूहरुलाई भान्से, पिपलको बिरुवा भएको गमला, ४० वटा पित्तलका गाग्रीहरु, दुहुनो गाई र महिनौं सम्मलाई पुग्ने दाल, चामलपनि साथै लगेका थिए ।
  • बेलायतमा पुगि नेपाली अलग्गै बसी खाना खान्थे । गाई दुहुन पनि अरुले पाउँदैनथे । यो दृश्य देखेर बेलायतीहरु अचम्म मान्थे । ४२ जनाको भ्रमण दलले आफ्नो पोका–पन्तुरा बोकेर बेलायती होटलमा दौरा लगाएका जाँदा बेलायतीहरु रमिता मानेर हेर्थे ।सन्दर्भ सामाग्री
    विभिन्न अनलाइनहरू

जंगबहादुरका जेठा ज्वाँई थिए नेपालमा चियाको बोट रोप्ने पहिलो व्यक्ति

नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले तत्कालीन चिनियाँ सम्राटको हातबाट चिनिँया जातको चियाको बीउ उपहार पाएका थिए । सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका जेठा ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको मानिन्छ । त्यो त्यही दशक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो ।  थापाले चियाको बिजारोपण सुरु गरेपछि अहिलेको स्थितिमा यो राष्ट्रिय आयको साधन बनेको छ ।
तर, जहाँनिया राणाशासनको अगाडि नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन् । उता दार्जिलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवम् विकास हुँदै गयो ।

विसं १९२० मा गजराजसिंह थापाले राेपेकाे चियाकाे बाेट

वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो। फलस्वरूप वि.सं. २०१६सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो ।यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो ।

वि.सं. २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गर्यो । विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो ।चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई ह्रदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चियाक्षेत्र घोषणा गर्यो ।

चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।
नेपालमा हरेक बैशाख १५ गते चिया दिवस मनाइन्छ भने कफि दिवस चाँही हरेक मंसिर १ गते ।

तस्विरमा: जंगबहादुरका ज्वाइँ-छोरी – कर्णेल गजराज सिंह थापा क्षेत्री र साथमा उनकी पत्नी महाराजकुमारी बदन कुमारी (जंगबहादुरको पहिलो सन्तान र जेठी छोरी) । कर्णेल थापा पूर्वी क्षेत्रको गभर्नर जनरल थिए । भनिन्छ, जंगबहादुरले उनलाई बिर्तामा एउटा पुरै जिल्ला दिएर सम्मानित गरेका थिए ।

☕ चिया सर्वेक्षण २०७५ अनुसार सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला = झापा

☕ क्षेत्रफलका हिसाबले चियाखेती गरिएका प्रमुख जिल्ला = झापा, इलाम, पाँचथर

☕ धेरै किसान चिया खेतीमा संलग्न भएको जिल्ला = इलाम

☕ सबैभन्दा बढी चिया बगान भएको जिल्ला = इलाम

☕ नेपालमा हाल व्यावसायिक चिया खेती गरिएका जिल्ला = १४ (प्रदेश १ का १०, बागमती प्रदेशका ४ जिल्ला)

☕ नेपालमा चिया खेती सुरू भएको मिति = वि. सं. १९२०

☕ नेपालमा चिया खेती सुरूवात भएको जिल्ला= इलाम

☕ चियामा पाइने तत्व= टेनिन

☕ चिया विकास निगमको स्थापना = वि. सं. २०३३

☕ नेपालमा चिया दिवस = बैशाख १५

☕ नेपालमा चिया रोप्ने पहिलो व्यक्ति = गजराज सिंह थापा (जंगबहादुर राणाका ज्वाँई)

☕ विश्वको पहिलो नगदे बाली = चिया

☕ नेपालको पहिलो टि स्टेट = बुधकरण टि टेस्ट ( वि.सं. २०१६ मा स्थापना)

☕​​​​​​​ नेपालमा प्रथम पटक चिया गणना = वि. सं. २०७५ माघ २५

☕​​​​​​​ चिया क्षेत्र घोषणा भएका ५ जिल्ला = पाँचथर, इलाम,तेह्रथुम ,धनकुटा ,झापा

☕​​​​​​​ चिया क्षेत्र घोषणा गर्ने राजा = राजा वीरेन्द्र

☕​​​​​​​ चिया क्षेत्र घोषणा भएको मिति= वि.सं. २०३९

☕​​​​​​​ कालो चिया र दानादार चिया भनेर चिनिने चिया= सीटीसी

☕​​​​​​​ नेपालमा सबैभन्दा बढी उत्पादन हुने चिया = सीटीसी

☕​​​​​​​ हिमाली क्षेत्रमा पाईने चिया = अर्थोडक्स

☕​​​​​​​ तराई क्षेत्रमा पाईने चिया = सीटीसी

☕​​​​​​​ विश्वमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश = चीन

सन्दर्भ सामाग्री

गाैरव लुइँटेल
मदन पुरस्कार लाइब्रेरी
विभिन्न अनलाइनहरू
सुवोध राणा
​​​​​​​नेपाल वाच