२००६ सालमा काठमाडौं उत्रिएको पहिलो विमान जो धान ओसार्ने प्रयासका लागि बोलाइएको थियो

वि.सं २००६ बैशाख ११ तदअनुसार अप्रिल २३ १९४९ का दिन काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा चार सिटे विचक्राफ्ट बोनान्जा विमान अवतरण गर्यो जुन काठमाडौंमा अवतरण गरेको पहिलो विमान थियो । उक्त विमानका चालक भारतिय वायुसेनाबाट सेवानिवृत दलीपसिंह मजीठियाका काका सुरजीतसिंह मजीठिया नेपालका लागि तत्कालीन भारतीय राजदूत रहेका थिए । उक्त विमानको स्वागतार्थ राजा त्रिभुवन गौचरण पुगेका थिए (मुल तस्वीर) ।

त्कालीन प्रधानमन्त्री श्री ३ मोहनशम्शेर जंगबहादुर राणाको अनुरोधमा सो विमान काठमाडौंमा उत्रेको थियो । काठमाडौंमा वर्षापछिको खाद्य र अन्य बन्दोबस्तीका सामग्रीका अभाव बढेपछि मोहनशम्शेरले विमानबाट खाद्यान्न भित्र्याउन भारतीय राजदूतलाई भनेका थिए ।

तत्कालीन भारतीय राजदूत सुरजीतसिंह मजीठियालाई लेखेको पत्रमा भनिएको थियो- ‘डाकोटा लागि अवतरणस्थल चाहिने र यो  तयार हुन कठिन हुने थाह पाएपछि वर्षापछि काठमाडौंमा धान ल्याउनका लागि साना विमान ढुवानीका विमान प्रयोग गर्न सकिन्छ कि भन्ने मैले सोचिरहेको छु । यस विषयमा तपाईले राय दिनु भएमा म आभारी हुनेछु, यदि प्रस्ताव योग्य लागेमा के तपाईं यसका लागि तयारी गर्नसक्नु हुन्छ ? आवश्यक व्यवस्था, गुणास्तर, लागत र आवश्यक सूचनासहितको प्रस्ताव म कहाँ पठाइदिनु होला ।’ भारतीय राजदूत सिंह यो प्रस्तावबाट उत्साहित भए र आफ्ना भतिजा दलीपसिंहलाई नेपाल उडानका लागि ७ जुन १९४८ मा पत्र पठाए । उनले पत्रमा काठमाडौंको भूगोलका पूरै वर्णन गरेका छन् ।

पुनः १६ जुन १९४८ मा लेखिएको पत्रमा नक्शासहित कोरेर पशुपतिनाथ मन्दिरको छेउको खाली गौचरणमा कसरी अवतरण गर्ने भन्ने लेखेका थिए । पछि अर्को पत्रमा प्रधानमन्त्री मोहनशम्शेरसँग भेटेर उडानका समय निश्चित भएको विस्तृत विवरण उल्लेख गर्दै मुजफ्फपुरबाट काठमाडौंसम्म आइपुग्न धेरै उचाइमा पनि उड्नु नपर्ने लेखे । राजदूत सुरजीतसिंह आफै पनि फाइटर जहाजका पाइलट रहिसकेका कारणले उनले प्राविधिक पक्षको सूचनासमेत दिन सकेका थिए । १ सय १ वर्षमा टेकेका भारतका पुराना फाइटर विमान चालक दलीपसिंह मजीठियाले पुराना कुरा सम्झँदै भनेका छन्- ‘मेरा काका (सुरजीतसिंह मजीठिया) राजदूत हुनुहुन्थ्यो र उहाँ मेरा लागि प्रधानमन्त्रीसँग भेट्न निकै उत्सुक हुनुहुन्थ्यो ।’

काठमाडौं अवतरणका स्मरण गर्दै दलीपसिंह भन्छन्- ‘(अवतरण) अगाडि मैले राम्ररी हेरेँ, अवतरणका लागि जमिनमा केही पनि सहायता थिएन, मेरा काकाले मेरा लागि विन्डस्क्रिन लगाइदिनु भएको थियो, मसँग यतिमात्रै थियो ।’ उनका अनुसार दोस्रो प्रयासमा मात्रै विमान अवरण भएको थियो । ‘पहिलो प्रयास त्यति राम्रो भएन, किनकी अप्रिलका अन्त्यमा काठमाडौंमा बाक्लो बादल थियो, तर दोस्रो प्रयासमा काठमाडौंको वरिपरि चक्कर लगाएँ र अवतरण गरेँ ।’ मुजफ्फपुरबाट सीधै गौचरणस्थित घाँसे मैदानमा विमान सकुशल अवतरण भयो । ‘सौभाग्यबस जमिनमा कोही पनि थिएन । मेरा काका आएर मलाई उठाउनुभयो, ’ मजीठियाले भनेका छन् ।

यसअघि राजा त्रिभुवनलाई पहिलोपटक हृदयघात हुँदा उपचारका लागि नेपाल आएका बेलायती डाक्टर कर्णेल डनहम ह्वाइट स्वदेश फर्कने क्रममा काठमाडौंबाट पैदल तथा रेलमा सिमरा पुगेपछि उनलाई लिन वि.सं. १९९९ भदौमा सिमराको घाँसे मैदानमा सानो तीन सिटको पुश मथ (Push Moth) विमान अवतरण गरेको थियो ।

नेपाली आकाशमा वि.सं.१९८९ चैत्र २१ गते दुइ युद्धक विमान Westland PV-3 र Westland PV-6 स्वरूप परिवर्तन गरि उडाइयो जुन सर्वोच्च शिखर सगरमाथाको चक्कर काट्न प्रयोग भएको थियो ।

सर्वोच्च शिखर सगरमाथा माथिको आकाशमा Westland PV-3 र Westland PV-6
सर्वोच्च शिखर सगरमाथा माथिको आकाशमा Westland PV-3 र Westland PV-6

यसपछि दोश्रो विमान पटना विश्व विद्यालयका भि.सी. चन्द्रेश्वरप्रसाद नारायण सिंह नेपालको लागि दोश्रो भारतीय राजदुत नियुक्त भएपछि महावीरशम्शेर राणाको निजी विमान कम्पनी हिमालयन एभिएशनको डाकोटा चार्टर्ड गरी वि.सं. २००६ को जेठमा काठमाडौं आएका थिए । यसपछि वि.सं. २००६ फागुन २२ मा मोहनशम्शेरको नातिनीको विवाह समारोहमा जम्मु काश्मिरका युवराज करणसिंह जन्तीको साथ चार्टर्ड गरिएको डाकोटामा काठमाडौं आएका थिए ।

त्यसपछि काठमाडौं विमानस्थलबाट वि.सं. २००७ असोज २६ बाट व्यवसायिक उडानको शुरूवात भयो ।

गौचरणमा पहिलो ब्यबसायिक विमान अवतरण हुँदा सेनाको टुकडीले बाजा गाजा सहित स्वागत गर्दै । 

पटनाबाट यात्रुहरू बोकेर पहिलो विमान काठमाडौं गौचरणमा अवतरित भयो । वि.सं. २००७ को कार्तिक २२ मा नेपाली आकाशमा एकैचोटी चारवटा विमान देखियो । मोहनशम्शेरले केहीदिन देखी लगाएको एयरस्ट्राईकका बाबजुदपनि भारतिय सेनाको विमानले राजपरिवारलाई रेस्क्यू गरेर नयाँदिल्ली पुर्यायो ।

वि.सं. २०१२ मा गौचरण हवाई अड्डाको नाम त्रिभुवन विमानस्थल भयो । वि.सं २०१५ असारमा अमेरिकी सरकारले दोश्रो विश्व युद्धपछि उपयोग विहिन भएका ३ वटा डकोटा विमान यातायात मन्त्री गणेशमान सिंहलाई हस्तान्तरण गरेपछि शाही नेपाल वायुसेवा निगमको जन्म र आफ्नै सरकारी स्वामित्वको विमान उडाउन सफल भयो । वि.सं २०२३ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट बोइङको सफल उडान परिक्षण भयो

वि.सं. २०४४ साल असोज २५ गते ब्रिटिस एयरक्राफ्ट करपोरेसनको कनकर्ड जहाज काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भिडियो

सन्दर्भ सामाग्री
https://www.ndtv.com/
न्यूजकारोबार
सुनिल उलक
SIKH HERITAGE OF NEPAL
विकिपिडिया
पहर
https://rarehistoricalphotos.com/

अनि जन्मियो ‘दशैं नै हो कि यो मेरो दशा…’

जब जब दशैं चाड नजिकिन्छ तब एउटा गीत गुञ्जन थाल्दछ, ‘दशैं नै हो कि यो मेरो दशा…’

यो गीत अहिले दशैंको ‘आईडी सङ’ जस्तै भएको छ । तर, यो गीत भन्नासाथ धेरैको मानसपटलमा गायक योगेश्वर अमात्यको अनुहार आउँछ । संगीतकार न्ह्यू बज्राचार्यको नाम पनि कहीँकतै आउँछ । तर, गीतको शब्द लेख्ने व्यक्ति भने गुमनाम सरह छन् । को हुन् त उनी ?

यो गीतका सर्जक प्रेम बहादुर बस्न्यात बारे सार्वजनिक रुपमा खासै चर्चा सुनिँदैन जो नेपालको पहिलो रंगीन चलचित्र कुमारी (०३३) का निर्देशक हुन् । उनले ५७ वर्षअघि (वि.संं २०२१) पटकथा तथा निर्देशनमा स्नातक उत्तीर्ण गरेका थिए ।

प्रेमबहादुर बस्न्यात एक बिहान चाबहिलस्थित घरबाट गुह्येश्वरीतिर मर्निङ वाकमा निस्किएका थिए । दशैं नजिकिँदै गरेको समय थियो । उनीभन्दा अगाडि दुई जना मानिस आपसमा कुरा गर्दै हिँडिरहेका थिए । उनीहरु एउटै गाउँका छिमेकी रहेछन् ।

तीमध्ये एक जनाले दशैंमा गाउँकै अर्का मान्छेसँग खसी आधा-आधा बाँडेर खाने गरेको रहेछ । तर, त्यो वर्ष आधा खसी लिने मान्छेको घरमा जुठो पर्‍यो । एक्लै सिंगै खसी खाने हैसियत भएन् । त्यो बह उनी साथीसँग पोखिरहेका थिए । दुवैको कुरा खुब चाखले सुनिरहेका प्रेमलाई झ्वास्स लाग्यो, दशैं मान्न चाहिँ नेपालीहरुलाई गाह्रै पर्दो रहेछ !

आम नेपालीलाई चाडबाडले थिचेको पीडा कहाँ कसरी पोखूँ भनेर उनलाई छटपटी भइरह्यो ।

घर आएर चिया खाँदै उनले गीत लेखे, ‘दशैं नै हो कि यो मेरो दशा…’

त्यो बिहान गीत लेखि सक्नासाथ योगेश्वर अमात्य उर्फ योगीलाई फोन गरे । जागिरे जीवनमा प्रेमको बानी थियो, संगीतकर्मीहरुलाई क्लबमा भेला गराएर बार्बिक्यु गर्दै गीतको महफिलमा रम्ने । त्यसै क्रममा योगीसँग चिनजान र निकटता भएको रहेछ ।

लेख्दालेख्दै उनलाई यो गीत योगेश्वर अमात्यलाई फिट हुन्छ भन्ने लाग्यो । आफैंले गुनगुनाउँदै लेखिरहँदा ‘टाउको खाएको’ भन्ने उच्च पीडा योगेश्वर अमात्यकै गलाले दर्शाउन सक्छ भन्ने सोच आयो । तुरुन्तै फोन गरे ।

– ‘मैले तिमीलाई आज भेट्नुपर्‍यो’, उनले योगेश्वर अमात्यलाई भने, ‘एउटा गीत लेख्या छु ।’
– ‘के रे ? दाइले गीत लेख्या रे !,’ योगेश्वर अमात्य छक्क परे ।
– ‘तिमीले नपत्याको ? इनिग्मा (कान्तिपथमा रहेको रेष्टुरेन्ट)मा आऊ तिमी ।’ इनिग्मा त्यतिबेला उनीहरुको जक्सन जस्तै थियो ।

बिहान ११ बजे भेट्ने समय तय भयो । योगेश्वर अमात्यले संगीतकार न्ह्यू बज्राचार्यलाई पनि भनेर सँगै ल्याएछन् । ‘मैले गीत पढेर सुनाएँ, दुवैले एकदम मन पराए’, उनले सम्झिए । गीतभित्र संवादहरु देखेर उनीहरु झन् दंगै परे ।

त्यसपछि नजिकै रहेको न्ह्यूको डोरेमी संगीत पाठशालामा पुगे तीनै जना । न्ह्यूले पाँच मिनेटमै धुन तयार पारे । हुन पनि जम्मा दुई लाइनको थियो गीत । अरु त संवादहरू थिए ।

‘यस्तो फरक खालको स्वादमा संगीत गरेको पहिलो र एकमात्र गीत यही हो,’ संगीतकार न्ह्यूले अनुभव बताए ।

कतिपयले यसलाई ‘न्यारेटिभ पप सङ’ को उपमा दिए पनि न्ह्यू त्यस्तो कुनै नाम दिन चाहँदैनन् । यो गीतमा संयोगै संयोग जोडिएको छ । न्ह्यूले योगेश्वरसँग काम गरेको पहिलो गीत यही रहेछ । प्रेमको पनि रेकर्ड भएको जीवनको पहिलो गीत यही हो ।

गीतमा योगेश्वर अमात्यले गायन सम्हाले भने संवादको भाग हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले पूरा गर्ने भए ।

‘अनौठो संयोग छ यो गीतको,’ प्रेमले रोचक सन्दर्भ सुनाए, ‘त्यही दिन लेखिएको गीत त्यही दिन संगीत भरेर त्यही दिन रेकर्ड भयो ।’

गीत रेकर्ड चाहिँ जेम्स प्रधानको स्टुडियो म्युजिक वर्क्समा गरियो ।

मुख्य दुई हरफ रहेको गीतभित्र अरु ‘फिल इन’ हरु छन् । जसमा एउटा परिवारभित्र श्रीमती र छोराछोरीहरूका एकपछि अर्को ‘दशैं-फर्मायश’ सुनेपछि घरमुली हैरान भएर सुस्केरा पोख्छ ।

उनलाई गीतको बीचमा संवाद हाल्ने विचार कसरी आयो त ?

‘खै, कसरी आयो, मलाई नै थाहा छैन । मैले कहिल्यै गरेको काम पनि होइन । अनुभव नभए पनि दशैंको पीडा दर्शाउने क्रममा संवाद आए होलान्’, प्रेमले उतिबेलाको सन्दर्भ सम्झिने प्रयास गर्दै भने ।

गीत रेकर्ड भएर आएपछि निकै लोकप्रिय भयो । दशैंको बेला त एफएम रेडियोहरुबाट बजिरहने गीत बन्यो । तर, गीत चले अनुसार प्रेमबहादुर बस्न्यात को कुनै नाम सुनिँदैन् । दशैंमा दीनदुःखी नेपालीको पीडा झल्काउने गीतका गीतकार उपेक्षामा परेर आफैं पीडित भए जस्तो लाग्छ ।

यसमा पनि उनलाई कुनै गुनासो रहेनछ । ‘मैले यसबाट केही चाहेकै होइन । म जस लिएर हिँड्ने खालको मान्छे होइन । एउटा मुडमा लेखेर सुनाउँदा गायक र संगीतकारलाई मन पर्‍यो । रेकर्डिङ भएर सुन्न पाइयो । यतिमै खुशी छु’ ।

सन्दर्भ सामाग्री
रंगसंसार
अनलाइनखबर
जोतारे धाइबा
कान्तिपुर साप्ताहिक