नेपालमा रेडियो

केही दशक पहिलेसम्म सामाजिक रूपले सम्पन्नता प्रस्तुत गर्ने रेडियो आज आमरूपमा भनौँ भने हराउँदै गएको छ । अझ मोबाइलको व्यापकताले गर्दा व्यक्तिको साथमा रहने घडी समेत हराएको छ । तथापी नेपालमा अचेल तीव्र रूपले एफएफ स्टेशनहरूको संख्यामा भएको वृद्धिले रेडियोको महत्वलाई कायम राख्न मद्दत गरेको छ ।

अंग्रेज सरकारले इन्डियन ब्रोडकास्टिङ कम्पनीलाई अनुमति दिए पछि १९८४ को साउन ८ मा बम्बैबाट र भदौ १० मा कलकत्ताबाट प्रसारण शुरू भएपछि नै नेपालमा पनि रेडियोको प्रवेशको थालनी भएको देखिन्छ । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा होल्याण्डबाट उत्पादित फिलिप्सको रेडियोहरू बेलायतबाट नेपालमा प्रवेश भयो । त्यसबेला रेडियो हुनु भनेको सम्पन्नताको प्रतिक थियो । अझ रेडियो सेट बजाउन घरमा एन्टेना ठड्याउनु पर्ने हुँदा रेडियो लुकाएर सुन्न मिल्दैनथ्यो । तसर्थ रेडियो सेट राख्न राणा सरकारसँग अनुमति लिनुको विकल्प थिएन् । अनुमति नलिइ रेडियो सुनेमा जेल सजाय समेत हुन्थ्यो । आधिकारिक जानकारीमा मदनमणि दीक्षितका अनुसार १९८६ मा देवमणि दीक्षितले बेलायतबाट मगाएको रेडियो सातौँ थियो । दोश्रो बिश्वयुद्ध ताका बेलायतमा रेडियो कमि भए पछि अमेरिकाबाट उत्पादित फिलिप्सकै Philco ब्रान्डका रेडियोहरू भित्रिन थालेको थियो ।

१९९२-९३ मा जुद्धशम्शेरले इलेक्ट्रिक इञ्जिनियर काशिराज पाण्डेलाई विदेशी रेडियो सुनेर समाचारको संगालो “द न्यूज रिल” तैयार गराई राणा दरबारमा उपलब्ध गराउन लगाएका थिए । यसरी रेडियोका समाचारलाई अप्रत्यक्ष रूपमा प्रसार गर्न थालिएको थियो । यो नै नेपालमा रेडियोको महत्वको शुरूवात थियो । यसरी जनतालाई रेडियो सुन्ने बनाउने राणा सरकार दोश्रो विश्वयुद्धको समयमा अंग्रेज विरूद्धको समाचारले चर्चा पाउँदा जनतालाई रेडियो सुन्न बन्देज लगाउन पुग्यो । १९९८ को दशैँ अगाडी जुद्धशम्शेरले देश (काठमाडौ) मा भएका सम्पूर्ण रेडियो सेट जफत गराउदा यसको संख्या ४०० वटा थियो ।

कमलमणि दीक्षित “बिर्सेको सम्झेको”

कमलमणि दीक्षितले आफ्नो पुस्तक “बिर्सेको सम्झेको” मा रेडियो सम्बन्धी आफ्नो अनुभव नै लेखेका छन् । १९९५ मा ठूलो घर अर्थात ठूलो कान्छा बुबाको मा रेडियो सुन्न उहा पुल्चोक देखि गैरीधारा हिडेर पुग्नु हुन्थ्यो । विश्वयुद्धको समाप्तीपछि सबैले रेडियो फिर्ता पाए । साथमा कमलमणिको बाबाले पनि रेडियो राख्ने अनुमति पाउनुभयो । त्यसपछि घरमै रेडियो सुन्न पाउनुभयो । तर पछि पद्मशम्शेरको समयमा बिजुलीअड्डाबाट प्रसारित रेडियो भने वँहा बनारसमा पढ्न जानुभएकोले सुन्न पाउनु भएन ।

नेपालबाट प्रसारित पहिलो रेडियो कार्यक्रम

जुद्धशम्शेरले जफत गराएका रेडियो सेटलाई विश्वयुद्धको समाप्तीपछि फिर्ता गरिदिए । यसपछि प्रधानमन्त्री बनेका पद्मशम्शेरले रेडियो राख्न फुकुवा गरिदिए । साथै काठमाडौमा नै रेडियो प्रसारणको शुरूवात नै गराए । समाचार संकलनको कार्यमा शुरूमा राखिएका काशिराज पाण्डेले २००३ माघ १४ गते देखी दिउँसो १ बजेबाट १:३० सम्म बागबजार बिजुली अड्डाबाट नेपाल ब्रोडकास्टिङ नामबाट रेडियो प्रसारणको आरम्भ गरेका थिए । दोश्रो विश्वयुद्धबाट फर्केका सैनिकले बोकेर ल्याएका वायरलेस सेटबाट रेडियो प्रसारण गरेका थिए । ठूला ठूला लाउड स्पिकरबाट रामायणका श्लोकहरू बजाएर रेडियो प्रसारणको आरम्भ गरिएको थियो । पछि यो प्रसारण काठमाडौ उपत्यका बाहिर पनि सुनिएको समाचार छापिएको थियो । यो रेडियो प्रसारणको समय बिस्तारै १०:०० देखी ३:०० बजे सम्म बनाइएको थियो ।

पहिलो रेडियो प्रस्तोता

वि.सं. २००३ माघ १४ गते प्रसारण आरम्भ भएको नेपाल ब्रोडकास्टिङमा काशीराज पाण्डेले प्रसारण आरम्भ गरी नेपालको पहिलो रेडियो उद्घोषक बनेका थिए । उनका साथमा अर्का उद्घोषक त्यतिबेलाका गोरखापत्रका सम्पादक प्रेमराज शर्मा थिए । नेपाल ब्रोडकास्टिङबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविता वाचन गरेका थिए ।

पहिलो प्रत्यक्ष प्रसारण

पहिलो पटक राणा प्रधानमन्त्री पद्मशम्शेरको विशालनगर दरबारमा भएको भाषणलाई रेडियोबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । ठूला ठूला स्पिकर जोडिएकाले नजिकका सबैले राम्ररी सुन्न पाए साथमा रेडियोबाट पनि प्रसारण जोडिएकोले चारभञ्ज्याङ भित्र सबैले सो भाषण सुन्ने अवसर पाएका थिए । यसरी शुभारम्भ भएको रेडियो प्रसारण पद्मशम्शेरको पतनसँगै २००४ सालमा बन्द भयो । मोहनशम्शेरले व्यवस्थित रूपमा रेडियो शुभारम्भ गर्ने उद्धेश्यले ट्रान्समिटरहरू झिकाएका थिए तर सो सामग्री २०१३ मा मात्र काठमाडौ आइपुग्यो ।

पोखरामा रेडियो

बडाहाकिम धनशम्शेरले पोखरामा २००४ सालतिर रेडियो ल्याइसके पनि रेडियो सुन्न सक्नुभयो या भएन भन्ने यकिन हुन सकिएन । तर २००५ मंसिर १८ मा कलकत्ताबाट प्रसारण हुने गोर्खाली प्रोग्राममा महात्मा गान्धीको हत्या सम्बन्धि समाचार सुन्न साहु महाजन तथा सर्वसाधारणलाई आफ्नो मोहरीया टोलस्थित सेतो दरबारमा बोलाएका थिए । पोखरेलीले पहिलो पटक रेडियो सुनेको यहि नै हो । यस पछि पोखराका अर्का साहु चन्द्रबहादुर भारीले राणा बडाहाकिम भन्दा म के कम भन्दै कानपुरबाट रेडियो बोकेर आएका थिए । यसरी पोखरामा रेडियोको प्रवेश भयो । यसपछि श्याम साहू (कर्माचार्य) ले पनि रेडियो ल्याए । २००७ सालको आन्दोलनको समयमा पोखरामा रेडियोको संख्या निकै बढी सकेको थियो । क्रान्तीको समाचार सुन्न मानिसहरू रेडियो भएको घरमा जम्मा हुने गर्दथे ।

२००५ को साउन १८ गते मोहनशम्शेरको समयमा पनि मोहन आकाशवाणीबाट केहि सामग्री प्रसारण गरि आकाशवाणीबाट पनि रेडियो प्रसारण गर्न सकिने सफलता हासिल भएको थियो । यसरी नै २००७ मा राणाविरोधी प्रचारको लागी उपयोग गर्दै २००७ मंसिर २५ देखी माघ १९ गते सम्म भोजपुरमा नारदमुनि थुलुङले ग्रीसबाट लिएर आएको आकाशवाणीका सामग्रीबाट जयन्द्रबहादुर थपलियाले रेडियो उद्घोषण गरि थालनी गरेका थिए । यस कार्यका लागी नारदमुनि थुलुङले टेक्निकल सहयोग गरेका थिए । नारदमुनि थुलुङ जो भारतिय सेनाको गोरखा राइफलमा भर्ति भइ दोश्रो विश्वयुद्धमा ग्रीस पुगेका थिए । युद्धको समाप्तीपछि उनले ग्रीस रेडियोबाट विश्वमा शान्तिको आबश्यकता र अपरिहार्यताका बारेमा बोलेका थिए । उनको यहि अनुभवले नै भोजपुरबाट “स्वतन्त्र नेपाल रेडियो” उद्घोषणको शुभारम्भ भएको थियो । बिहान साझ दुईपटक क्रान्तिकारी समाचार प्रसारण गर्ने गरेकोमा एक दिन अचानक समाचारमा जयन्दबहादुर थपलियाले धनकुटा आक्रमण गर्ने समय र स्थान नै समाचारमा पढिदिए पछि राणापक्षीय सैनिकले पाख्रीबासमा सातजना भोजपुरे योद्धालाई हत्या गरेपछि सो ट्रान्समिटरलाई रातारात बिराटनगरस्थित रघुपती जुट मिलमा लगिएको थियो । जहाँबाट तारिणीप्रसाद कोइरालाले नेपाल प्रजातन्त्र रेडियो नामबाट २००७ माघ २० गते दिउसो २ बजे “यो प्रजातन्त्र रेडियो हो, हामी मुक्ति सङ्ग्रामको कुनै अज्ञात मोर्चाबाट बोलिरहेका छौ” भन्ने शव्दबाट उद्घोषण थालेका थिए । विराटनगरबाट नियमित प्रसारण हुन थालेपछि काठमाडौमा समेत यसको प्रभाव पर्न थालेको थियो । जसले गर्दा मोहनशम्शेरले बिजुली अड्डाबाट साँझ सात बजेबाट साढे सात सम्म भजन तथा समाचार प्रसारित गरेका थिए । देशमा प्रजातन्त्रको लहर चलेको समय केही समय जुट मिलबाट पनि प्रसारण बन्द भयो । केही समय अन्यत्रबाट प्रसारण भए पनि नियमित हुन सकेन । प्रजातन्त्र आए पछि पुन नियमित प्रसारणको थालनी भयो । रेडियो स्टेशन राजधानी ल्याउने सहमतीपछि मोहन आकाशवाणी रहेको सिंहदरबारको भवनबाट मोहन आकाशवाणीकै पुरानै ट्रान्समिटरबाट नै ४१ मिटर शर्टवेभमा नेपाल प्रजातन्त्र रेडियो आरम्भ भयो । पछि भारतीय प्रसारण संस्था आकाशवाणी रेडियोको सहयोगले प्रसारण क्षमतामा वृद्धि भयो । २००७ चैत्र २० गते प्रजातन्त्र नेपाल रेडियोको नियमित प्रसारण आरम्भ भयो । पहिलो दिन बिहान ८ बजे “यो प्रजातन्त्र नेपाल रेडियो हो” भन्ने वाक्य सहित रश्मीराज्यलक्ष्मीले कार्यक्रम शुभारम्भ गरे । तारिणीप्रसाद कोइराला रेडियो नेपालको प्रथम कार्यकारी प्रमुख नियुक्त भएका थिए, यसैले बाँकी कार्यक्रम तारिणीप्रसाद कोइरालाले सञ्चालन गरे ।

यसरी शुभारम्भ भएको “प्रजातन्त्र नेपाल रेडियो” को नाम पछि “नेपाल रेडियो” हुदै “रेडियो नेपाल” भयो । जुन नाम हालसम्म नै कायम रहेको छ । पहिलो दिन मात्र एक घण्टा प्रसारण भएको रेडियो प्रसारण समय बढाउँदै लैजाने क्रममा अचेल २४ घण्टा नै प्रसारण हुनुको साथै पाचै विकास क्षेत्रबाट पनि प्रसारणको थालनी भइसकेको छ ।

तारिणीप्रसाद कोइराला केवल ९ महिना स्टेशन डाइरेक्टरको रुपमा सेवा गर्नुभएको थियो । २००८ पुसमा उहाँलाई पदबाट बर्खास्त गरिएको थियो । तर, नेपालमा रेडियोको ईतिहास लेखिँदा तारिणीप्रसादलाई उचाईमा पुर्याईन्छ । जबकि काशिराज पाण्डे तथा नारदमुनि थुलुङको चर्चा नै गरिँदैन ।

एफएम रेडियोको सुरूवात

संसारमा पहिलो एफएम सञ्चालन भएको ४५ वर्ष पछि नेपालमा पहिलो पटक २०५२ कार्तिक ३० मा रेडियो नेपालले एफएम सञ्चालन गरेको थियो भने निजी स्तरमा २०५२ चैत्र २० गते रेडियो सगरमाथाले एफएम प्रसारणको परिक्षण गरेको थियो । त्यसको २ वर्षपछि २०५४ जेठ ९ गते आधिकारिक रूपमा सरकारको अनुमतिमा नेपालको पहिलो एफएम स्टेशनको रूपमा प्रसारणको आरम्भ गर्न थाल्यो । एफएमबाट पहिलोपटक सरकारी एकाधिकार तोड्दै घमराज लुइँटेलको आवाजमा “नमस्कार एफएम ब्याण्डको एक सय दुई थोप्लो चार मेगाहर्जमा यो दक्षिण एशियाकै पहिलो नाफा तथा विज्ञापन रहित स्वतन्त्र सार्वजनिक प्रसारण सेवा हो” भन्दै प्रसारण आरम्भ गरेका थिए । आज सञ्चार मन्त्रालयबाट अनुमति लिएका एफएमको संख्या ९६२ भन्दा बढि पुगिसकेको छ । यीनमा कति सञ्चालित छन् भन्ने यकिन तथ्यांक प्राप्त हुन नसके पनि यसले आमसञ्चारमा रेडियोको भुमिका प्रशस्त बढेको स्पष्ट देख्न सकिन्छ ।

प्रस्तुती सुनिल उलक

सन्दर्भ सामाग्री   

रेडियो नेपालको सामाजिक इतिहास – मार्टिन चाैतारी
बिर्सेको सम्झेको – कमलमणी दीक्षित
आनन्दमय आकाश – मदनमणी दीक्षित
पत्रकारिताको इतिहासमा दोहोरिएको खोट – गणेश राई  (कान्तिपुर)
साथमा विभिन्न व्यक्तिहरूसँगको कुराकानी

लामू अमात्य, नेपालकी पहिलो

भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकाता। जहाँ ५० को दशकमा काठमाडौंका एक नेवार रैथाने भुवनेश्वर अमात्य दाँतको डाक्टरी पढ्न गएका थिए।
कोलकातामै अध्ययनरत रहँदा एकदिन अचानक उनको खुट्टामा चोट लाग्यो। र, उनी उपचारका लागि कोलकाताको प्रख्यात कलकत्ता मेडिकल कलेजमा भर्ना भए।जतिबेला उनी अस्पतालमा उपचारार्थ थिए, उनको आँखा त्यही अस्पतालमा कार्यरत एक नर्समाथि पर्‍यो।

ती नर्स थिइन्, लामू पाल्देन। जो नेपाली भए पनि कोलकाता जस्तो ठूलो ठाउँमा नर्सिङ पढिरहेकी थिइन्। एकदिन कलेजकै सांस्कृतिक कार्यक्रममा लामूको कत्थक नृत्य हेरेपछि भुवनेश्वर यति लट्ठ परे, उनले त्यति बेलै सोचिसकेका थिए, चाहे घरपरिवारसँग बिद्रोह नै किन गर्नु नपरोस्, बिहे चाहिँ उनीसँगै गर्ने।

भुवनेश्वर राणाकालमा काठमाडौंमा कहलिएका भाडा व्यापारी पूर्णप्रसाद अमात्यका छोरा थिए। आमा सीतादेवी चन्द्र शमशेर राणाको पालामा काजी पद पाएका नारायणभक्त माथेमाका छोरी थिइन्।

त्यति बेलाको नेपाली समाज निकै ‘कन्जरभेटिभ’ थियो। यसमा पनि काठमाडौंमा हैसियत बनाएको परिवारको कुरा बेग्लै हुने नै भयो।

तर, कोलकातामा भेटघाटसँगै बाक्लिएको हिमचिम विस्तारै बिहेमा परिणत हुने तरखरमा थियो। भुवनेश्वरले छुट्टिमा नेपाल आएको बेला डराउँदै आफ्नो कुरा आमासँग राखे। उनलाई लागेको थियो–आमाले समाजको लोकलाजले गर्दा ठाँडै अस्वीकार गर्लिन्। किनभने भुवनेश्वर काठमाडौंका रैथाने नेवार थिए भने लामू अर्के जातिकी।

तर, उनको आशंका बिपरित आमाले बिहेको लागि स्विकृत प्रदान गरिन्। यसपछि जे भयो, त्यो सारा नेपालीलाई थाहा भएकै विषय हो। लामू अमात्य, नेपालकी पहिलो नर्स अर्थात ‘नेपाली फ्लोरेन्स नाइटिङ्गल’। जसको जन्म १९८८ साल माघ १४ गते दार्जीलिङमा भएको थियो। उनको बुवा सरदार कर्म पाल्देन, बेलायती पर्वतारोहीलाई विश्वको सर्वोच्च हिमाल सगरमाथा चढ्न सहयोगीको भूमिका निर्वाह गर्थे।

लामूको वास्तविक घर सोलुखुम्बु हो। सन् १९२४ मा सगरमाथा आरोहण गर्न आएका पहिलो बेलायती पर्वतारोही जर्ज मेलोरी र एन्ड्रयु इर्भिनलाई सामानहरू बोक्न पोर्टरको व्यवस्था कर्मले नै गरेका थिए। दुर्भाग्य यो ‘एक्सपीडिसन’ मा दुबैको निधन भयो।

तर, बेलायती पर्वतारोहीहरू कर्मलाई खुब विश्वास गर्थे। उनले नै पहिलो सगरमाथा चढ्ने नेपालीको इतिहास बनाएका तेन्जिङ शेर्पालाई बेलायती पर्वतारोहीसँग भेट गराएका थिए।

कर्मलाई बेलायतीहरूले नै सरदारको उपाधि दिएका हुन्। त्यतिबेला बेलायती तथा जर्मनी पर्वतारोहीहरू दार्जीलिङ हुँदै सगरमाथा चढ्न नेपाल प्रवेश गर्थे। अर्थात पर्वतारोहणका लागि दार्जीलिङ मुख्य नाका थियो।

पछि बेलायतीहरूसँग कर्म पनि दार्जीलिङ आएर बस्न थाले। यसैले लामूको जन्म दार्जीलिङमा भएको थियो। आफ्नी आमाको सानैमा निधन भएपछि बुवाले अर्को बिहे गरे। बेलायतीहरूसँगको संगतले गर्दा कर्मलाई पनि आफ्नो छोरीलाई अध्ययन गराउनु पर्छ भन्ने चेत आएको थियो। त्यसैले उनले कोलकातामा राखेर लामूलाई पढाएका थिए। कालान्तरमा यो नै नेपाली नर्सिङजगतको इतिहास कोर्ने घटना बन्यो।

ब्रिटिशकालमा नेपालका हुनेखानेका छोराछोरी अध्ययनका लागि कोलकाता जाने गर्थे।

लामूको बिहे सन् १९५३ सालमै भयो। तर, उनको अध्ययन पुरा नभएको हुनाले थप एक वर्ष उनी कलकत्ता मेडिकल कलेजमै अध्ययनरत थिइन। नर्सको पढाई सकेपछि यो जोडी सन् १९५४ मा नेपाल फर्कियो। नेपालमा त्यतिबेला नर्सको पढाई गर्ने कोही थिएनन्। फेरि नेपालमा मातृशिशु मृत्यु दर दयनीय अवस्थामा थियो। तत्कालिन राजा महेन्द्रको पहिलो श्रीमती इन्द्रराज्य लक्ष्मीदेवी शाहको पनि सुत्केरीको प्रसव पीडाका कारण निधन भएको थियो।

राजा महेन्द्र यस विषयमा निकै संवेदनशील थिए। यसैले नेपालमा नर्सिङ गरेर आएकी लामूको कुरा दरबारमा पुगेपछि राजा महेन्द्र उत्साही नहुने कुरै भएन। उनले तत्कालै लामूलाई भेट्न बोलाएर नर्सिङ स्कुल खोल्न अनुरोध गरेका थिए। राजाबाटै यस्तो अनुरोध आएपछि लामूले २०१२ साल फागुन ३० गते काठमाडौंको क्षेत्रपाटीमा श्रेष्ठ थरका दुई व्यक्तिको घर भाडामा लिएर नेपालको पहिलो नर्सिङ स्कुलको स्थापना गरिन्।

उनलाई त्यही दिनराजा महेन्द्रको निर्देशनअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गर्ने नियुक्ति दिइयो।

‘आमाको तलब नै ४ सय ५० रुपैयाँ थियो। जबकी अन्य डाक्टरको तलब ४ सय रुपैयाँ हुँदा,’ आफ्नो आमाले भनेको कुरा सुनाउँदै नेपालका चर्चित गायक योगेश्वर अमात्य भन्छन्।सन् २०१२ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अन्तर्गत नेपालमा सुरु भएको ३ वर्षे ‘मिडवाइफ’ परियोजनामा पनि रहेर लामूले काम गरेकी थिइन। यो कार्यक्रमका लागि विदेशबाट मिस रोज नेपाल आएकी थिइन। ‘उहाँ जीवनको उत्तराद्र्धमा पनि नर्सहरूलाई पढाउन जानुछ भन्नु हुन्थ्यो। उहाँमा आफ्नो कामप्रति यति ठूलो लगाव थियो, अल्जाइमर्स हुँदा सबै कुरा बिर्सिसक्नु भएको थियो। तर, बेलाबेलामा खोई पढाउन जानुपर्ने भन्नु हुन्थ्यो,’ योगेश्वर सम्झन्छन्।

उनीसँग नपढेका पहिलो पुस्ताका नर्स भेट्न गाह्रो छ। उनी आफूसँग पढ्ने नर्सहरूलाई तलबको केही पैसा जोगाएर सुन किन्न प्रोत्साहित गर्थिन। ‘आमाको भनाई हुन्थ्यो। भोली गाह्रो परेको अवस्थामा पैसा माग्न कहाँ जाने। यही सुनले काम बन्छ भनेर आफ्ना विधार्थीलाई प्रोत्साहित गर्नुहुन्थ्यो,’ योगेश्वर भन्छन्, ‘आमासँग पढेका थुप्रै नर्सहरू हिजोआज म भेट्ने गर्छु। उहाँहरू भन्नु हुन्छ–हामीलाई सुन किन्न सिकाएकै तपाईको आमाले हो।’

लामूकै नेतृत्वमा नेपाल नर्सिङ संघको पनि स्थापना भएको थियो। २०१८ सालमा एउटा षड्यन्त्रअन्तर्गत जनसेवा हलमा आगो लाग्यो। त्यतिबेला आफूलाई छोप्न आएका केही व्यक्तिलाई थप्पड हानेकी लामूलाई पछि त्यही षड्यन्त्रअन्तर्गत सरकारी जागिरबाट राजीनामा मागियो। यद्यपि उनले सरकारी जागिरबाट राजीनामा गरे पनि नर्सिङ पेशालाई लामो समय अनवरत जारी राखिन्। उनको २०६९ साल जेठ १९ गते अल्जाइमर्सकै कारण निधन भयो।