नयाँ वर्ष वि.संं २०१३ को उपलक्ष्यमा राजा महेन्द्रको सम्बोधन (भिडियो सहित)

वि.संं २०१३ सालको नयाँ वर्षका अवसरमा तत्कालीन राजा महेन्द्रले देशबासीका नाममा सम्बोधन गर्नुभएको थियो । रेडियो नेपालमा प्रसारण भएको उक्त सन्देश नेपाल सम्बन्धी वृत्तचित्रमा अमेरिकी नागरिकले भिडियो रेकर्ड गरेका थिए । यस्तो थियो राजा महेन्द्रको सन्देश

“आगे प्यारा प्रजाहरुके यथोचित, आज यस नयाँ वर्षको पहिलो शुभ दिनमा सबै देशबासीहरूलाई  हर तरहबाट सुख शान्ती लव्य होस् भन्ने हार्दिक कामना सुनाउन पाउँदा हामीलाई ज्यादै खुसी लागेको छ। यस नव वर्ष प्रारम्भमा सबैले आफ्नो दिलबाट व्यक्तिगत तथा वर्गीय स्वार्थ पन्छाई  निःस्वार्थ देश सेवाको भावना जागृत गराई  सत्कार्यमा लाग्न सकुन् यहि हाम्रो आन्तरिक अभिलाषा र कामना छ, जय नेपाल ।”

सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो

काठमाडौं उपत्यकाभित्र दर्जनौं ऐतिहासिक दरबार छन् । ती दरबारमध्ये कतिपय भग्नावशेष भैसकेका छन् भने कतिपय संरक्षणविहीन अवस्थामा छन् । विश्वज्योति चलचित्र हलसँगै एउटा भव्य गेट देखिन्छ जुन गेट सेतो दरबारको हो ।

उक्त गेटभित्र कुनै बेला भव्य सेतो दरबार थियो । ३ सय ७५ रोपनी जमिनमा फैलिएको उक्त दरबारको झिनो अंश अहिले देख्न सकिन्छ जमल क्षेत्रमा । दरबार भएको क्षेत्रमा त्यहाँ अहिले दर्जनौं घर देखिन्छन् । वि.सं. १९४२ मा वीरशमशेरले आफ्ना छोरा गेहेन्द्रशमशेरका लागि उक्त दरबार बनाउन लगाएको इतिहास छ । सेतो दरबार वि.सं. १९९० को बैशाखमा भएको आगलागी तथा माघमा आएको महाभूकम्पको चपेटामा परेको थियो । दरबारको प्रवेशद्धार हेरेर नै कल्पना गराैं दरबार कति भव्य हुँदो हो…

नेपालको श्री ३ महाराज भएपछि वि.सं. १९४२ मा सेतो दरबार अन्य थुप्रै दरबारहरू बनाउन लगाएका थिए जसमा फोहोरा दरबार, चारबुर्जा दरबार, लाल दरबार लगायत थिए ।

वि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री वीर शमसेरले प्रति रोपनी रु. ६० का दरले ३७५ रोपनी जग्गा खरिद गरी निर्माण गराएको यस दरबारमा ठूला ठूला क्रिस्टलका झालर र बार्दली बार, इटालियन मार्वलको टेबल, बेल्जियमका ऐनाहरु, बैठकमा २२ फिट अग्ला र १२ फिट गोलाकारका ८ वटा सेता स्फटिक खम्बा जडान गरिएका थिए । यूरोपबाट मगाइएका यी सामानहरू भारतको सोनपुरसम्म रेलद्वारा र सोनपुरबाट भीमफेदीसम्म गाडा, बग्गी, हात्ति र त्यहाँबाट भरियाद्वारा नै बोकाएर काठमाण्डौ ल्याइएका थिए ।

वि.सं. १९९० मा आगलागी भएर ध्वस्त हुनुपुर्व यस दरबारको अवलोकन गर्न विदेशी पाहुनाहरू पनि लालयित हुने गर्दथे र अवलोकनपछि यसको सजावट देखेर आश्चर्यचकित हुन्थे । १९९० साल बैशाखमा नेपालले ठूलो क्षति व्यहोर्‍यो । तोप हानेर दरबारको पूर्व भाग भत्काइदिएको भए सेतो दरबारका बैठकहरू बच्थे । तर पछिल्तिर श्री ५ महाराजाधिराजको दरबार (नारायणहिटी) भएकाले श्री ३ महाराज जुद्धशमशेरले तोप हान्ने आदेश दिइहाल्ने आँट गरेनन् ।

त्यहाँ आगलागी हुँदा जंगबहादुरले बेलायतमा बनाएर ल्याएका आफ्ना ठूलठूला मुहार चित्रहरू (पेण्टिङ) पनि जलेर खरानी भए । त्यहाँ रहेका अत्तर फुटेर बग्दा त्यसको वासनाले तीनै सहर मगमगाएको थियो भन्ने कथन रहेको छ। त्यही सेतो दरबार आगलागीमा परेपछि जुद्धशमशेरले नेपालमा पहिलोपटक जुद्ध वारुणयन्त्र (दमकल) झिकाएका हुन् । अहिलेपनि काठ उपत्यका भएका दमकलहरू जुद्ध बारूण यन्त्रका नामले चिनिन्छन् ।

आगलागीपछि ध्वस्त भएको यो दरबारको केही भागमा हाल एन.आई.डी.सी. विकास बैङ्कको कार्यालय रहेको छ । जमल–दरबारमार्ग ओहोर–दोहोर गर्दा विश्वज्योति हलको छेउमा देखिने पुरानो द्वार त्यसकै एउटा संरचना हो, जसभित्रको ३७५ रोपनी जमिनमा कुनै बेला कलकत्ताको वेल्भेडियर प्यालेस जस्तै भव्य सेतो दरबार र फोहोरा दरबार थिए ।

चारबुर्जा दरबारमा बाल्यकाल बिताएका इतिहासकार पुरुषोत्तम शमशेर जबरा १९९० बैशाखमा आगलागी र माघमा महाभूकम्पको चपेटामा परेको सेतो दरबारको मूल बैठक कक्षको पुनर्निर्माणमा मात्र ऊबेला रु.१ करोड लाग्ने अनुमान गरिएको सम्झनुहुन्छ ।

सन्दर्भ सामाग्री

कमल दीक्षितको स्मरण
मजलिसको आँखा
नेपाल हिमाल
शिव रेग्मीको स्मरण
नेपाल साप्ताहिक
ब्रिटिश लाइब्रेरी
मदन पुरस्कार पुस्तकालय
विकिपिडिया