जनतालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री रोए र रेडियो नै बन्द हुनपुग्यो

महाराज (श्री ३ पद्मशमशेर) बाट जनतालाई रेडियोबाट विक्रम संवत् २००४ को अन्त्यतिर एक दिन भाषण दिने भनी प्रचार भएको थियो। महाराजधिराज (श्री ५ त्रिभुवन) लाई पद्मशमशेरले अगाडि नै यो खबर बिन्ति चढाइसक्नुभएको थियो। त्यसदिन महाराजधिराज मलाई पनि कार्यालयमै राखी बक्सी रेडियो खोलेर राज होइबक्सेको थियो। भाषण सुन्नका लागि रेडियो भएकाहरु सबै रेडियो खोली बसेका थिए। रेडियो नभएका जनताका लागि बिजुली अड्डा अगाडि टुँडिखेलमा लाउडस्पिकर जडान गरिएको थियो। महाराजको भाषण सुन्न टुँडिखेलमा जनताको ठूलो भीड एकत्रित भएको थियो।

ठीक समयमा रेडियोमा महाराजको भाषण सुरु भयो। पद्मशमशेरले ‘मेरा प्यारा प्रजा’ मात्र के भन्नुभएको थियो, महाराज रुनुभएको आवाज रेडियोमा आयो र रेडियो बन्द भयो। महाराजाधिराजबाट मलाई हुकुम भयो, ‘महाराज केही गर्न खोज्छ, तर धेरै डरपोक छ। भाइहरुदेखि डराएर बोल्न सकेन जस्तो लाग्छ। भाइहरुले निकै तर्साइराखेको छ।‘ मोहनशमशेरको गुटबन्दी बलियो हुँदै गएको सबैलाई थाहा थियो।

दोस्रो विश्वयुद्धको बेला
—————————

त्यसबेला दोस्रो विश्वयुद्ध भइराखेको थियो। अङ्ग्रेज सरकारले युद्ध जितेको खबर पाउनासाथ काठमाडौँमा जुवा खोलिदिने गरिन्थ्यो। उक्त महायुद्धमा नेपालले अङ्ग्रेज सरकारलाई सैनिक मद्दत पठाएको थियो। लडाइँको समयमा बजारमा कुनै चिजको अभाव हुन दिइएको थिएन।

सरकारबाट तोकिएकै मोलमा बजारमा भाउ बसेको थियो। शिक्षातिर पनि ठाउँठाउँमा विद्यालय खोल्न स्वीकृति दिइएको थियो। महाराज जुद्धशमशेर दिनहुँ साँझतिर हात्तीमा टुँडिखेल घुम्न जानुहुन्थ्यो। सहरतिर पनि घुम्न जानुहुन्थ्यो। तरकारी बजारका लागि ठाउँ तोकी बन्दोबस्त मिलाइएको थियो।

भूइँचालोबाट क्षति भएका सबै भवनको मर्मत मन्दिरको जिर्णोद्वार र पुनर्निर्माण गरिएको थियो। हाल नेपाल बैँक भएको ठाउँमा रिसल्लाको तबेला थियो। उक्त तबेला हटाई त्यहाँ उद्योग प्रदर्शनी स्थल बनाइएको थियो। सोही ठाउँमा पछि तरकारी बजार निर्माण गरियो। जनतामा बजार जाने बानी बसाउन महाराज आफै हात्ती चढी तरकारी खरिद गर्न आउनुहुन्थ्यो। त्यसबाट मानिसहरुमा ठूलो प्रभाव परेको थियो।

सलाम हैन नमस्ते गर्नू
————————

(राजा त्रिभुवन परिवारसहित दिल्लीमा शरण लिएको बेला)

दिल्लीमा श्री ५ त्रिभुवनको राजकीय सम्मानका लागि राम्रो बन्दोबस्त गरिएको थियो। भारतका प्रधानमन्त्रीले विमानस्थलमा मौसुफको स्वागत गर्नु भएको थियो।

त्यहाँबाट श्री ५ महाराजाधिराज हैदरावाद हाउसमा सवारी भयो। श्री ५ महाराजाधिराको दिल्ली सवारी हुने खबर पाउनासाथ भुवन र म पनि दिल्ली जान हवाइजहाजको टिकट लियौँ।

जनरल सुवर्ण, महाविर हिरण्यहरु सबै बिहानको फ्लाइटमा दिल्ली गइसक्नुभएको थियो। भुवन र म बेलुकाको फ्लाइटमा गयौँ। दिल्ली पुगेर हामी दुबैजना सोझै हैदरावाद हाउसमा पुग्यौँ।

त्यहाँ ढोकामा कडी कडाउ थियो। हाम्रो हाजिर पुर्‍याउने पालेलाई भनेँ । म आएको जाहेर हुनासाथ सरकारले भित्र बोलाइ बक्सियो। हैदरावाद हाउसको लबीमा जनरल हिरण्य र सूर्यप्रसाद उपाध्याय पनि महाराजाधिराजको दर्शनका लागि पर्खिरहनु भएको थियो। जनरल हिरण्यप्रसाद र सूर्यप्रसादसँग मेरो चिनजान थिएन त्यहाँ हामीबीच परिचय भयो।

एकैछिनमा भित्रबाट मलाई मात्र बोलावट भयो। भित्र बैठकमा श्री ५ त्रिभुवन तीन छोराका साथ होइबक्सन्थ्यो। भित्र पुग्नासाथ सरकारहरुमा नेपाली रिती अनुसार दुइ हातले झुकेर सलाम गरेँ। श्री ५ त्रिभुवनबाट हुकुम भइबक्सियो ‘दयाराम! अब सलाम गर्ने होइन नमस्ते गर्ने।’

मौसुफबाट बाहुली जोडी नमस्ते गरी देखाइ बक्सियो। हुकुम भए अनुसार सबै सरकारमा नमस्कार गरी दर्शन गरेँ।

(विक्रम संवत् १९९५ देखि २०१७ सालसम्म नारायणहिटी राजदरबारमा मीर सुब्बा रहेका दयारामभक्त माथेमाले लेखेको अप्रकाशित दस्तावेज दया फाउन्डेसनले ‘अनुभव र अनुभूति : जीवनयात्राका ऐतिहासिक मोड’ शीर्षकको पुस्तकका रुपमा लोकार्पण गरेको छ। माथि उद्धृत अंशहरु पुस्तकबाट लिइएको सामाग्री)

हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर

जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरले नेपालका प्रधानमन्त्रीलाई हल्का हरियो रङको १९३६ मोडलको डेमरल बेन्ज कार उपहार पठाएका थिए । उक्त कार नं. ४४ को थियो जुन जुद्धशमशेरको प्रिय गाडी भयो कार मनपर्नुको प्रमुख कारण जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरबाट उपहारमा पाएको हुँदा पनि खास विशेष हुने नै भयो।

चन्द्रशमशेरका छोरा सिंहशमशेर बेलायतका लागी राजदुत रहँदा जुद्धशमशेरले हिटलरलाई भेट्न पठाएका थिए । एक प्रकारले जुद्धशमशेर हिटलरका शुभचिन्तक बनिसकेका थिए । दौत्यसम्बन्धको तयारी हुँदै थियो । हिटलरले यहि भेटपछि खुशी भएर जुद्धशमशेरलाई आफ्नो कार उपहारमा पठाएका थिए । हुन त त्यतिबेला हिटलरले जुद्धशमशेरलाई अन्य वस्तु पनि उपहारमा पठाएको भनिन्छ । जसमध्ये एउटा Astronomical Telescope पठाईएको जानकारी पाउन सकिन्छ । शक्तिशाली Veb Carl Zeiss Jena Telescope भने हाल दार्जिलिङको हिमालयन माउन्टेनरिङ इन्स्टिच्युटको संग्रहालयमा प्रदर्शन गरि राखिएको छ । जुद्धका छोरा बहादुरशमशेरले यस इन्स्टिच्युटलाई उपहारमा दिएका थिए ।

वि.सं. १९९४ मा जर्मनका कन्सुलेट जनरल Count Von Podewils Durnitz नेपालमा तीन दिने भ्रमणमा आँउदा उनको भव्य स्वागत गरिएको थियो । सिंहदरबारमा रहेको ग्यालरी बैठकलाई भव्य सजाइएको थियो । यहि हलमा जर्मन सरकारको रेडक्रसले जुद्धशमशेरलाई ९० सालको महाभुकम्प पछि देशको विषम परिस्थितिमा भुकम्प प्रभावितको राम्रो उद्दार एवं पुनःनिर्माणमा राम्रो काम गरेकोमा अर्डर अफ दि स्टार्ट अफ जर्मन रेडक्रसको सम्मान गरेको थियो । साथै पद्मशमशेरलाई पनि सम्मान गरेको थियो । नेपालको तर्फबाट कन्सुलेट जनरललाई प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु र उनका सहायकलाई प्रबल गोरखा दक्षिण बाहु प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस् जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो

तर यस्तैमा जुद्धशमशेर प्रधानमन्त्री रहँदै जर्मनमाथि बेलायतले युद्धको तैयारी गर्यो । बेलायत सरकारले जुद्धशमशेरलाई निकै फकायो । विदेशमन्त्री लर्ड हालिफेक्स र प्रधानमन्त्री च्याम्बरलिन पनि नेपाली सैनिकलाई आफ्नो तर्फबाट दोस्रो विश्वयुद्धमा सहभागी बनाउन प्रयत्नरत रह्यो । अन्ततः युद्ध शुरु भईसकेपछि नेपालका तर्फबाट जनरल बहादुरशमशेर र बेलायतका तर्फबाट भारत सरकारको जनरल ई.डी बर्घ बीच सम्झौता भयो । नेपाल दोस्रो विश्वयुद्धमा सहभागी भयो ।

जुद्धशमशेर बेलायतलाई पनि दुःखी बनाउन चाहन्नथे भने हिटलरलाई पनि दुःख पाएको देख्न चाहन्नथे । बढी बेलायतको नजिक रहेको हुँदा उनले बेलायतलाई युद्धमा सहयोग गरे । तर नेपाल भित्र जर्मनको हिमायती झैं देखाए । भारतबाट प्रसारण हुने रेडियोमा जर्मनको हारको एकोहोरो समाचार र बेलायतको मात्र प्रशंसा भइरहँदा नेपालमा रेडियो माथि प्रतिबन्ध लगाए । सबै रेडियो सुन्न र बजाउन नपाउने भन्दै मुलुकभरका रेडियो नियन्त्रण गरेर सिंहदरबारमा थुपारे । जुन रेडियो दोश्रो विश्वयुद्धको समाप्ती पछि मात्र फिर्ता भए ।

जुद्धशमशेरले उपहार पाएको दुरबिन ।
जुद्धशमशेरले उपहार पाएको दुरबिन ।

अब ४४ नं.को तस्विरमा देखाईएको कारको ईतिहासमा जाँउ । वि.सं. २००२ को मंसिर १४ मा भतिजा पद्मशमशेरलाई राजकाज सुम्पेर आफू सन्यासी हुने भन्दै राजधानी छाडे । तर काठमाडौंबाट पश्चिम हुँदै रिडी लागेनन् । भिमफेदी हुँदै अमलेखगञ्ज लागे । त्यहाँबाट वीरगञ्ज गए, दुई दिन मुरली दरबारमा बसे । उनको साथ परिवारको सदस्य र सैनिकहरु पनि थिए । कर्णेल गजराज जङ्ग, सुब्बा मणिराम, क्याप्टेन नरबहादुर, क्याप्टेन गुप्तबहादुर तथा केही जवानहरु पनि थिए । यहाँबाट जुद्धशमशेर रेलमा नौतनवा हुदै रिडी तर्फ लागे । तर परिवारको अन्य सदस्य देहरादूनतर्फ लागे । देहरादूनतर्फ लाग्दा यो बेन्ज कार पनि देहरादून पुग्यो । जुद्धशमशेरको छोरी जनक राज्यलक्ष्मी शाहका अनुसार यो कार देहरादून लगिएको थियो । यो कार शुरुमा छोरी जनक राज्यलक्ष्मी र पछि छोरा शशीशमशेरले देहरादूनको सडकमा गुडाएका थिए । पछि मुम्बईका कुनै संग्रहकले आफ्नो संकलनको लागी किनेर लगे । तर अहिले राजा त्रिभुवनको अन्य कारलाई हिटलरले उपहार दिएको कार भन्दै मिथ्या प्रचार गर्ने गरिएको छ ।

प्रस्तुतीः सुनिल उलक 

सन्दर्भ सामाग्री
ब्रिटिश लाइब्रेरी
बेञ्जइनसाइडरडटकम