तीन गजजति गुलाफी रंगको कपडाको व्यवस्था गरेर ज्ञानेन्द्रको शिरमा बेरेपछि बल्ल श्रीपेच अडियो

‘वि.सं. २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र शाह दोस्रोपटक मुलुकको राजा बनेका थिए । टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्दा उनले बेलाबेला आफ्ना दुवै हातले श्रीपेच समातेर मिलाएजस्तो देखिन्थ्यो । ००७ सालमा उनले पहिलोपटक श्रीपेच पहिरेको देखेका हाम्रा लागिचाहिँ उनको त्यो व्यवहार अनौठो थिएन । बरू, नाबालक अवस्थामा श्रीपेच लगाएको घटनाले उनलाई झस्काएको थियो कि !

तत्कालीन शाहज्यादा ज्ञानेन्द्र सानै उमेरदेखि बोलक्कड र चलाख थिए । टाउको हल्लाउने र आफूलाई गम्भीर भावमा देखाउने गर्थे । उनको त्यस्तो व्यवहार मोहनशमशेरले सिंहदरबारमा भित्र्याएदेखि नै देखिएको हो ।

२१ कात्तिक ००७ मा सपरिवार भारतीय दूतावासको शरणमा गएका राजा त्रिभुवन २४ कात्तिकमा भारतीय सुरक्षा फौजको विशेष निगरानीमा विमानस्थल हुँदै नयाँदिल्ली प्रस्थान गरे । उनी भारत जानुअगावै श्री ३ मोहनशमशेरले मामाघर बागदरबारमा छाडिएका राजा त्रिभुवनका माहिला र कान्छा नाति ज्ञानेन्द्र र धीरेन्द्र शाहलाई सिंहदरबारमा ल्याए । कारण थियो, नाबालक ज्ञानेन्द्रलाई गद्दीमा बसालेर राजकाज चलाउने उनको अठोट ।

दुवै शाहज्यादालाई सिंहदरबारमा ल्याइसकेपछि २२ कात्तिकमा भारदारी सभा डाकियो । त्यो, सेनातर्फका मेजरदेखि माथिका र कर्मचारीतर्फ मीरसुब्बादेखि माथिका केही गन्यमान्यको मात्र उपस्थिति रहेको सभा थियो । त्यही सभाले ‘नेपालको कानुन विधानको अपहेलना गर्दै प्राइममिनिस्टरको राय नलिई विदेशी दूतावासमा शरण लिएकोमा’ राजा त्रिभुवनलाई राज्यच्यूत गरिएको घोषणा गर्‍यो । साथै, परम्परा अनुसार ‘राजगद्दी खाली राख्न नहुने भएकाले नाबालक ज्ञानेन्द्रलाई राजगद्दीमा आसिन गराउनु उयुक्त हुने’ ठहर पनि गर्‍यो ।

मोहनशमशेरले त्यो सभालाई सम्बोधन गर्दै देखावटी या औपचारिकताका लागि ‘सबैको के राय सल्लाह छ ?’ भनेर सोधेका थिए । किनभने, नाबालक ज्ञानेन्द्रलाई राजा बनाउने मनसुवाले नै मामाघरमा छोडिएका दुई शाहज्यादालाई दरबारमा भित्र्याइएको थियो । सिंहदरबारको दोस्रो तलाबाट ठूलठूलो स्वरमा ‘हामीले यस्तो निर्णय गरेका छौँ, सबैको के राय छ’ भनेको सिंहदरबारको पहिलो चोकमा समेत प्रस्टसँगै सुनिएको थियो । धेरैले ‘त्यसै गर्नुपर्छ सरकार !’ भन्दै होमा हो मिलाए । तर, गयाप्रसाद शाहले फरक मत प्रस्तुत गरे । उनले ‘एकपटक भारतीय दूतावासमा कसैलाई पठाएर सरकारको फिर्ती सवारीका लागि बिन्ती गर्नु मनासिब होला कि’ भनेका थिए ।

तर, उनको कुरा कसले सुन्ने ? राजा त्रिभुवनलाई गद्दीच्यूत गरी ज्ञानेन्द्रलाई राजा बनाउन एकछिन पनि ढिला गर्नु हुँदैन भन्ने मेघराजशमशेरहरूका अगाडि शाहको आवाज फिका साबित भइहाल्यो । त्यसबीचमा मोहनशमशेरले भारतीय दूतावासमा छोरा विजयशमशेरलाई पठाएर राजा त्रिभुवनलाई फिर्ता बोलाउने प्रयास नगरेका पनि होइनन् । तर, राजाले विजयशमशेरलाई भेट्नै चाहेनन्, यस घटनाले पनि मोहनशमशेर रिसले आगो भएका थिए ।

२३ कात्तिकको बिहान राजकाजसम्बन्धी जरुरी काम गर्नुपरेकाले भाइ–भारदार र सम्बन्धित कर्मचारीलाई सिंहदरबारमा उपस्थित हुन विशेष प्रकारको उर्दी जारी गरिएको थियो । हामी त्यस दिन सबेरै सिंहदरबार पुग्यौँ । अघिल्लो दिन नै पाटनका सूचीकार बोलाएर नाबालक ज्ञानेन्द्रका लागि तासको सेरबानी र त्यही सुहाउँदो सुरुवाल सिलाउन लगाइएको थियो । गद्दी आरोहणमा जाने बेला ज्ञानेन्द्र त्यही पोसाकमा थिए ।


मोहनशमशेर आफ्नो बैठककक्षबाट तल पहिलो चोकमा झरे र ज्ञानेन्द्रलाई चोर औँला समाउन लगाएर डोर्‍याउँदै सिंहदरबारको चोकमा ल्याए । ज्ञानेन्द्रका लागि पहिले नै बग्गी सजाएर राखिएको थियो । त्यही बग्गीमा पहिले मोहनशमशेर चढे र हात दिएर ज्ञानेन्द्रलाई माथि ताने । सेनाले सलामी दियो । मोहनशमशेरले सलामी ग्रहण गर्ने तरिका पनि त्यहीँ सिकाए । त्यसपछि दुवै जना ‘सेरेमोनियल प्रोसेसन’का साथ त्यही बग्गीमा सँगसँगै बसेर हनुमानढोकातर्फ लागे । हामी पनि सवारीको पछिपछि हनुमानढोकातर्फ लाग्यौँ ।

सिंहदरबारदेखि हनुमानढोकासम्म दुवैतिर लहरै सेनाको पहरा थियो । बाटो चकमन्न र सुनसान थियो । भद्रकालीबाट त्रिपुरेश्वरतर्फ जाने, धरहरातर्फ लाग्ने र नयाँ सडकमा केही मानिस जम्मा भएर बग्गी र पछिपछि लागेका हाम्रा गाडी नियालिरहेका थिए । तर, कसैले पनि नाराबाजी गरेको सुनिएन । हनुमानढोका पुगेपछि शाहज्यादा ज्ञानेन्द्रलाई सिंहासनमा बसाइयो । बालकमा हुने स्वाभाविक चञ्चलता उनमा देखिएन । गम्भीर मुद्रामा थिए उनी ।

विशेष साइतमा राज्याभिषेकको काम अगाडि बढ्यो । पण्डितहरूले मंगलोच्चारण र अन्य विधि सम्पन्न गरेपछि नायब बडागुरुज्यू हेमराज पाण्डेले श्रीपेच लगाइदिए । तर, त्यो श्रीपेचले ज्ञानेन्द्रका आँखा मात्र होइन, नाक–मुख पनि छोपिदियो । उनी केही अत्तालिए । नायब बडागुरुज्यूले त्योश्रीपेच झिक्न खोजे । तर, कसैले लगाइसकेको श्रीपेच झिक्नु अपशकुन हुन्छ, तसर्थ माथि सारेर हातले समातेर बस्न सल्लाह दिएपछि एकछिन नायब बडागुरुज्यू श्रीपेच समातेरै बसे । त्यहीबीचमा हतारहतार तीन गजजति गुलाफी रंगको कपडाको व्यवस्था गरेर ज्ञानेन्द्रको शिरमा बेरियो र त्यसपछि बल्ल श्रीपेच अडियो । वास्तवमा त्यतिबेला बालक ज्ञानेन्द्रले टुलुटुलु हेरेको दृश्य ज्यादै मर्मस्पर्शी थियो ।

ज्ञानेन्द्रले त्यसरी श्रीपेच लगाएको झन्डै चार महिनापछि ७ फागुन ००७ मा मुलुकमा प्रजातन्त्र आयो । राजा त्रिभुवनलाई स्वदेश फर्काइयो र राजगद्दीमा पुन: आसिन गराइयो । तर, ती नाबालक राजाको इतिहास स्वर्ण अक्षरले लेखियो कि कालो अक्षरले, इतिहासका विद्यार्थीले जान्ने कुरा हो । तर, इतिहास त इतिहास नै हो ।’ लक्ष्मणप्रसाद रिमालकाे स्मरण

सन्दर्भ सामाग्री

विभिन्न सामाजीक सञ्जाल
नेपाल साप्ताहिक
Historical Images

यसरी बनेथ्यो सिंहदरबार

१९औँ शताब्दीको विशिष्ट वास्तु नमुनाका रूपमा चित्रित सिंहदरबार विक्रम संवत् २०३० साल असार २५ गते आगलागी हुनुपुर्व एसियाकै सबैभन्दा ठुलो प्रशासनिक भवन थियो ।

१७ सय कोठा तथा विभिन्न चोकहरू भएको भव्य दरबार बनाउन १ वर्ष लागेको थियो । हालको पश्चिमी मोहडा निर्माण गरिएकै बखतको संरचना हो । सिंहदरबार भित्रको १ नम्बर चोक भित्रका भागहरू पछि निर्माण गरिएका हुन् । आगलागीले ध्वस्त भएको मुलुकको प्रशासनिक केन्द्रको पुनःनिर्माणका लागि देशभरका हरेक घरबाट १०-१० रूपैँया संकलन गरी प्रधानपञ्चहरूले  काठमाण्डाै पठाएका थिए भनिन्छ ।

वि.सं. १९५८ असार १० गते बुधबारका दिन चन्द्रशमशेर जबरा सत्तामा आए। सत्तामा आउनासाथ उनले आफ्ना निमित्त एक दरबारको आवश्यकता महसुस गरि प्रति रोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे। सुरूमा चन्द्रशमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए। तर, बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। जे जत्रो दरबार बने पनि खर्च चाहिँ तत्काल ५० लाख रुपैयाँभन्दा बढी चन्द्रशमशेरको त्यस दरबारको निर्माणमा खर्च भएन किनकी त्यसमा प्रयोग भएका सम्पूर्ण काठ काठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरियो र ढुवानीको काम पनि बेगारीद्वारा गराउँदथे, जसलाई पेटभरि ढिडो र नुन खर्चमात्र दिनु पर्दथ्यो। सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा, तथा कैदीहरुद्वारा गराउँथे।

ज्यालामा जसलाई काम लगाइयो तिनलाई पनि दैनिक चार पैसादेखि छ पैसा भन्दा बढी दिइएको थिएन। बीचबीचमा राँगो खानेलाई राँगो, खसी खानेलाई खसी काटेर भोज भने अवश्य खुवाउने गरिन्थ्यो। चन्द्रशमशेरको लागेको खर्च भनेकै किला, काँटा रेलिङ, पाइप, फलाम आदिमा भयो जुन सोझै भारतबाट किन्नुपर्थ्यो।

सिंहदरबार निर्माण भइसकेपछि एक दिन चन्द्रशमशेरले आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगे। त्यहाँबाट बाघदरबार देखियो। चन्द्रशमशेरले भने, ‘ऊ बाघदरबार’ भन्दै हातले औल्याएर बालकुमारी देवीलाई देखाए। बालकुमारी देवीले, ‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला?’ भनिन् । उनको प्रस्ताव चन्द्रशमशेरलाई उचित लाग्यो र नवनिर्मित दरबारको नाम ‘सिंहदरबार’ राखियो !

सिंहदरबार निर्माण कार्य सम्पन्न भएपछि चन्द्रशमशेरले एकदिन ‘भारदारी सभा’ गठन गरी सबै समक्ष प्रस्ताव राख्दै भने कि-‘आज उप्रान्त श्री ३ महाराज, प्रधानमन्त्री जो हुन्छ, उनी यसै दरबारमा बस्नेछन्। तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ।’ चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट २ करोड रूपैयाँ झिके। यसरी चन्द्रशमशेरलाई सिंहदरबार निर्माण गरी बिक्री गर्दा डेढ करोड नाफा भयो। जंगबहादुरले वि.सं. १९२५ मा भाइ, छोरा, भतिजा, भारदार जंगी, निजामती, गुरु, पुरोहित, सन्त, महन्त, साहस–महाजन, शिक्षक, भलाद्मी, रैती, दुनियाँ सकललाई जम्मा गराउनका लागि ठाउँ ठाउँमा सूचना टाँस गरे, इस्तिहार जारी गरे, ढ्याङ्ग्रो पिटाए र टुँडिखेलको त्यो ऐतिहासिक खरीको रुखको चौतारामुनि ठूलो भेला गराए। उक्त जनभेलालाई सम्बोधन गर्दै जंगबहादुरले भनेका थिए, ‘देशमा संकटकालीन अवस्था आई परेमा, दैवी प्रकोप परेमा मात्र राष्ट्रको ढुकुटीको प्रयोग गर्नु अन्यथा नगर्नू, बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानू। मैले आजका मितिमा यो ढुकुटीमा जम्मा ११ करोड रूपैयाँ राखिदिएको छु भन्दै सार्वजनिक घोषणा गरे।

त्यतिबेला त्यो ढुकुटीलाई (कौसी तोखाखाना) भनिन्थ्यो। त्यसै कौसी तोखाखानाबाट चन्द्रशमशेरले २ करोड रुपैयाँ झिकेका थिए।

युरोपेली शैलीमा बनेको छ। चन्द्रशमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए। बत्ती तथा अन्य श्रृंगारका वस्तुहरू युरोपबाट मगाईएको थियो।

चन्द्रशमशेरको २९ वर्षे शासनकालमा २८ वर्ष सिंहदरबारमै बित्यो र वि.स. १९८६ मंसिर ३० गते सोमबार उनको मृत्यु सिंहदरबारमै भयो। त्यसपछि भीमशमशेर प्रधानमन्त्री भएर उनी टंगाल दरबारबाट सिंहदरबारमा सरे। वि.स. १९८९ भाद्र ११ गते भीमशमशेरको पनि सिंहदरबारमै मृत्यु भएपछि जुद्धशमशेर प्रधानमन्त्री भएर जाउलाखेल दरबारबाट सिंहदरबार सरे।

यसै दरबारबाट जुद्धशमशेरले दशरथचन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालको मुद्दाको सुनुवाइका लागि विशेष अदालत गठन गरी उनीहरुको मृत्युदण्डको फैसला गरिएको थियो जुन पछि सदर भयो अर्थात उनीहरुलाई मृत्युदण्ड दिइयो ।

वि.स. २००२ मंसिर १४ गते जुद्धशमशेर आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्मशमशेर नियमानुसार सिंहदरबार सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे। वि.स. २००४ फागुन १८ गतेका दिन पद्मशमशेर औषधि उपचारका निमित्त भारततर्फ लागे। उनी भारततर्फ हुँदा याने वि.सं. २००५ वैशाख १ गतेका दिन मोहनशमशेर प्रधानमन्त्री हुनु अगावै याने ‘मुख्तियारी’ कै पदमा उनी सिंहदरबार सरे।

वि.स. १९६० मा मोहनशमशेरकै बुवा चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गर्दा जो श्री ३ महाराज तथा प्रधानमन्त्री हुन्छ ऊ सिंहदरबारमा बस्न पाउनेछ भन्ने नियम बनाएका थिए तर त्यो नियम चन्द्रशमशेरकै पुत्र मोहन शमशेरले तोडे। उनी महाराज तथा प्रधानमन्त्री नबन्दै मुख्तियारी पदमा हुँदै पद्मशमशेर भारततर्फ औषधि उपचारमा गएको मौका छोपी उनी जबरजस्ती महाराजगञ्जस्थित आफ्नो निवासबाट सिंहदरबार सरे।

वि.स. २००५ वैशाख १६ गते पद्मशमशेरले भारतको राँचीबाट राजीनामा गरी पठाए। पछिमात्र मोहनशमशेर सिंहदरबारका वैध उत्तराधिकारी भए।

वि.सं. २००९ फागुन ७ गतेपछि सिंहदरबार तत्कालीन ‘श्री ५ को सरकार’को स्वामित्वमा आयो र मोहनशमशेरलाई शीघ्रातिशीघ्र सिंहदरबार छाड्नुपर्ने आदेश दिइयो। त्यसपछि मोहनशमशेर महाराजगञ्जस्थित आफ्नै लक्ष्मी निवासमा फिर्ता गए। त्यतिबेलादेखि सिंहदरबार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो। वि.सं. २०३० असार २५ गते सोमबारका दिन सिंहदरबारमा आगो लाग्यो।

आगलागीबाट बचाउनका लागि भगीरथ प्रयास गरिए पनि त्यो प्रयास सफल भएन। त्यसपछि अगाडिको भागमात्रै भएपनि बचाउनका लागि तोप हानीहानी पछाडिको भाग भत्काएर अगाडिको भाग जोगाइयो, बाँकी सिंहदरबार जलेर खरानी भयो। अगाडिको भागसँगै जोडेर अलिकति पछि निर्माण कार्य गरियो। सिहंदरबार हाताभित्र प्रधानमन्त्रीको कार्यालय सहित अधिकांश मन्त्रालय राखिएका छन् ।

वि.संं २०७२ को प्रलयकारी भुकम्पले क्षत विक्षत बनाएको सिंहदरबारको पुननिर्माण जारी छ ।

सन्दर्भ सामाग्री

सेतोपाटी
पुरूषोत्तम शमशेर जबरा
www.bilder-aus-nepal.de
संजीव शाह