प्रेरणादायी यथार्थ, २०२० सालमा आरनमा फलाम पिट्ने दलवीर सिंहले भेरी नदीमाथि ४३५ फुटको पुल बनाए

दैलेख जिल्लाका दलवीर सिंह जन्मले कामी थिए । अक्षर केही चिन्न सक्ने तर आफ्नो मेहनतमा बाँचेका । बाजे बराजुका पालदेखी सञ्चालनमा रहेको उनको आफ्नो आरन थियो । जहाँ दलवीर फलामका कामहरु गर्दथे । उनको कामप्रति लगन र मिहेनत थियो ।


दलवीरको आरन
वि.सं २०१९ सालतिर उनलाई भेरी नदीमा झोलुङ्गे पुल बनाउन इच्छा जाग्यो । उनि धनी भएर झोलुङ्गे पुल बनाउन लागेका थिएनन् । वर्षातमा उर्लेर आउने भेरीको भेललाई देखेका थिए । यसैले उनलाई एउटा पुलको आवश्यकता महशुस भयो । उनले आफ्नो सीप र ज्ञानको उपयोग गर्दै आवश्यक सामग्रीहरु आफैँले तयार गर्न थाले । लामो फलामे तार तथा अन्य सामग्रीको सहयोगले पुलको तयारी गर्न थाले । गाउँलेले पुलको खाँबो गाड्न तथा पुलको भार थेग्नको लागी मोटो तारलाई ठूलो खाल्डोमा पर्याप्त ढुङ्गाहरु राखेर बाँध्नमा सहयोग गरे । हिँड्नको लागी काठका साना साना फल्याकहरु लहरै बाँधे । दायाँ बायाँ मानिस पुलबाट नखसुन भनेर त्यहाँ पनि बलियोसँग तारहरु बाँधे ।

सुर्खेत क्षेत्रमा पुल बनाउँदै  सब-ओभरसियर दलवीर सिंह
वि.सं. २०२० सालमा सुर्खेत जिल्लाको उत्तरगंगाको भेरी नदीमा करिब ४३५ फुट लामो झोलुङ्गे पुल तयार भयो ।


दलवीरले बनाएको ४३५ फुट लामो पुल । 

पुल तयार भएपछि मानिसहरुलाई धेरै सहजता भयो । सुर्खेत जिल्लाको उत्तरगंगामा भेरी माथि बनाइएको यो पुलको बारेमा राजा महेन्द्रलाई पनि सुनाइएछ । वि.संं २०२१ सालमा राजा महेन्द्रको सुर्खेत भ्रमणका क्रममा राजाले दलवीर सिंहलाई भेटे । राजा महेन्द्रले उनको कामको निकै प्रशंसा गर्दै तत्कालै रु. ४०० बक्सिस दिए, साथमा दलवीर सिंहलाई जागिर दिन आदेश पनि ।

सुर्खेतमा आफ्नै घर अगाडि श्रीमती, काखमा छोरा श्यामलाल, सानो छोरा तिर्थबहादुर, दलवीर तथा अगाडि आफन्त छोराहरु

केबल ३ कक्षासम्म पढेका दलवीरलाई राजाको आदेशपछि उनको काम र सीप अनुसारको काम दैलेख जिल्ला पञ्चायतले सब-ओभरसियरको जागिर दियो । पुल बनाउने राम्रो ज्ञान भएको हुँदा उनको जिम्मामा झोलुङ्गे पुल सम्बन्धी कामको थियो । सबै काममा केबल पढाइले मात्र हुँदैन, अनुभव र ज्ञान पनि हुनुपर्छ जुन दुवै दलवीरको साथ थियो । थिएन त केबल पढाइ थिएन । कनीकुथी अक्षर पढ्न र लेख्न जानेकै थिए । तर इञ्जिनियर पढेकै थिएनन् । तर पनि सब-ओभरसियरको रुपमा जागिर पाए, पाैरख देखाएर ।


खेतीकिसानी गर्दै सब-ओभरसियर दलवीर सिंह

जागिरे भए पछि उनको निरिक्षणमा दैलेख जिल्लाका लोहोरी खोलाको चुप्रा पुल र छमघाट खोलाको झोलुङ्गे पुल बनाइएको थियो । छमघाट खोलाको झोलुङ्गे पुल बनाउने सामग्री खरिदको लागि भने दलवीर कानपुर पनि पुगेका थिए । यहाँ प्रस्तु गरिएका तस्बिरहरूमा दलवीर सिंहले काम गर्दै गरेका क्षणहरूका छन्, सबै तस्बिर अमेरिकी स्वयंसेवी दल पिसकोरका सदस्य एलन फेयरबैंकले कैद गरेका हुन् ।


रावतकोटको छमघाट खोलाको झोलुङ्गे पुल उद्घाटनको सामुहिक तस्बिर, बायाँपट्टी छाता बोकेर पुलसँगै उभिएका दलवीर सिंह ।

प्रस्तुती सुनिल उलक

 

नेपालको झण्डा पनि चन्द्रमा पुर्याइएको थियो

चन्द्रमामा मानिसले पहिलोपटक पाइला टेकेको ५२ वर्ष पुरा भएको छ । निल आर्मस्ट्रंग सन् १९६९ को जुलाई २०-२१ मा एपोलो ११ अन्तरिक्षयान मार्फत अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रंग, बज एल्ड्रिनले चन्द्रमामा पाइला टेकेका थिए भने उक्त दलका सदस्य माइकल कोलिन्सले चन्द्रमामा पाइला राखेनन् ।

अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको ६ घण्टा ३९ मिनेटपछि निलले चन्द्रमामा पाइला टेकेका थिए । निल आर्मस्ट्रंग चन्द्रमामा पाइला टेक्ने पहिलो मानव हुन् ।

उनले चन्द्रमामा पाइला टेकेको १९ मिनेटपछि एल्ड्रिनले चन्द्रमामा पाइला टेकेका थिए । उनीहरुले सवा दुई घण्टा अन्तरिक्षयान बाहिर चन्द्रमामा बिताएका थिए । उनीहरुले साढे २१ किलो चन्द्रमाको माटो तथा ढुंगासहितका सामग्री पृथ्वीमा ल्याएका थिए ।

मानवले चन्द्रमामा पाइला टेक्दा जुलाई २१ भएको थियो, तर एपोलो ११ जुलाई २० मै चन्द्रमाको सतहमा अवतरण भएको थियो । नेपाली समय अनुसार सन् १९६९ को जुलाई २१ को बिहान ९ बजेर २१ मिनेट जाँदा नील एपोलोबाट बाहिर निस्केर चन्द्रमाको सतहमा आफ्नो पाइला राखी इतिहास बनाएका थिए । तत्कालीन सोभियत युनियनसँगको अमेरिकाको शितयुद्धका कारण सुरु भएको चन्द्र यात्राले अन्ततः विश्व इतिहास बनेर कायम रहन सफल भयो ।

एपोलो-११ मिसन तथा एपोलो-१७ मिसनमार्फत नेपालको झण्डा पनि चन्द्रमाको सतहमा पुर्याइएको थियो । जुन राजा महेन्द्र तथा वीरेन्द्रको जुनाफमा तत्कालीन अमेरिकी प्रतिनिधिले चन्द्रमाको चट्टान सहित उपहार चढाएका थिए । चन्द्रमाको सतहको चट्टान तथा चन्द्रमामा पुर्याएर फर्काइएको नेपालको झण्डा हाल राष्ट्रिय संग्राहलयमा प्रदर्शनीमा राखिएको छ ।

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
नेपाली फ्ल्याग फेसबुक पेज