कुनै बेला गाउँघरमा हुलाकीको छुट्टै सम्मान हुन्थ्यो

विश्वमा सञ्चारको सुरुवात हुलाकबाटै भएको हो । परापुर्वकालदेखि नै एक ठाउँबाट अर्को ठाउँमा खबर आदान-प्रदान गर्न चिठ्ठीपत्रको प्रयोग भएको पाइन्छ । तिनताका खासगरी राजा महाराजाहरुको दरबारमा समाचार तथा सूचना आदान-प्रदान गर्न परेवा, बाज, घोडा जस्ता पशु पंक्षीहरुको प्रयोग भएको किंवदन्ती पढ्न पाइन्छ । संस्थागत रूपमा हुलाकको स्थापनासँगै चिठ्ठीपत्र पुर्याउने कार्य प्रणालीगत रूपमा हुलाकबाटै हुँदै आएको देखिन्छ । सन् १६६० मा बेलायतका तत्कालीन राजा चार्लस् द्वितीयले General Post Office स्थापना गरेको इतिहास भेटिन्छ ।

नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोद्विप सिंहको पालामा (विक्रम संवत् १९३५) ‘नेपाल हुलाक घर’ बाट सुरु भएको सेवा कुनै बेला खबर आदानप्रदान गर्ने एकमात्र साधन बनेको थियो ।

१९३८ मा पहिलोपल्ट ‘हुलाक टिकट’ चलनमा आयो । २००० साल पछि हुलाक सेवालाई केही व्यवस्थित बनाइयो । राणाकालमा पनि हुलाकको इतिहास रहेको पाइन्छ । त्यतिबेला ‘थाप्ले र कागत्या हुलाक’ थिए । तिनले शासकहरूका ‘आदेशपत्र’ बोक्ने काम गर्थे । सूचना प्रविधिको तीव्रतर विकासले हुलाक अहिले कमैमात्र प्रयोग गरिन्छ । इन्टरनेटबाट इमेल, मोबाइलबाट एसएमएस पठाउने र पार्सल गरी निजी क्षेत्रका कुरियर सर्भिसबाटै काम हुन थालेपछि हुलाक हुलाक सेवा लिनेहरू घटेका हुन् । बदलिँदो परिस्थितिसँगै सेवा फेरिन नसकेको हुलाक संकटमा परेको छ ।

लामो लौरोको टुप्पोमा सानो घण्टी, खैरो रङ्गको पोसाक लगाएर काँधमा हुलाकको लाहाछाप लगाएको खैरो रङ्गकै पोको बोकेका मान्छे । घण्टी बजाउँदै गाउँघरमा हुलाकी दाइ हिँडेपछि कसैले रोक्ने, छेक्ने, हिम्मत हुने थिएन । बरु पर्खाइ रहन्थ्यो– कतै मेरो पनि चिठी–पाहुर पो आएको छ कि ? भनेर ।

मुग्लान वा सहर गएका परिवारका सदस्यले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको नै प्रयोग गर्थे। चिठीपत्र पुर्याउन गाउँगाउँमा हुलाकी वा हल्करा/हलकरा खटिन्थे जसको सम्मान गाउँमा बेग्लै हुन्थ्यो। अघिल्ला पिँढीसम्म हुलाक सेवाको विशेष महत्व थियो। गाउँमा चिठी ल्याउने हुलाकी आएपछि विशेष अर्थात् सहर पसेका आफन्तका चिठी ल्याए भनेर आँखामा पाल लगाइलगाई हेर्ने गरिन्थ्यो। बास बस्नुपर्ने अवस्था आए हुलाकीलाई विशेष किसिमको मानमर्यादा गरिन्थ्यो। ताकि उसले समयमै चिठी घरमा ल्याइदियोस्, अब समय बदलिएको छ, सबैको हातहातमा मोबाइल छ, छिनछिनमा आफन्तसँग कुरा हुन्छ। नेपालमा विस्तारै हुलाकसँगै हल्कराको अस्तित्व समेत संकटमा परेको छ ।

चिठीपत्र पुर्याउने हुलाकी, हल्कराको सम्मानमा सन् १९९७ देखि हरेक साल जुलाइ १ गतेका दिन विश्व हुलाकी दिवस मनाउने गरिन्छ भने अक्टोबर ९ गतेका दिन विश्व हुलाक दिवस मनाउने गरिन्छ ।

तस्विरमा, वि.संं २०२३ साल ताका दाङ जिल्लामा गन्तव्यतर्फ लाग्दै गरेका हुलाकी । उनको हातमा रहेको लठ्ठीमा घण्टी तथा धारिलो हतियार देख्न सकिन्छ । पिठ्यूमा चिठीपत्र तथा बायाँ हातमा पानी बोक्ने काठको भाँडो ।

सन्दर्भ सामाग्री
हुलाक सेवा विभाग
विभिन्न अनलाइनहरू
डउग हल

त्रिपुरेश्वरनिरको क्षेत्रलाई सानो टुँडिखेल भनिन्थ्यो, त्यहाँ दुई कमल पोखरी थिए

“फराकिलो टुँडिखेलमा खरीको चाैतारो सिवाय अरू कुनै घर र मञ्च बनेका थिएनन् बिहान बेलुका टुँडिखेलको बीचबाट मानिस हिँडे पनि, बिहान १० देखी अपरान्ह ४ बजेसम्म सिपाहीले कसैलाई छिर्न दिंदैनथे तर गाई भने दिनभरि चर्न पाउँदथे ।

रानी पोखरीदेखि त्रिपुरेश्वरसम्म तन्किएको टुँडिखेललाई खाली मोटर चल्ने पूर्व-पश्चिम तन्केका सडकले मात्र काटेका थिए । टुँडिखेलको बीच ठिङ्ग फगत खरीको बोट उभिएको थियो । त्रिपुरेश्वरनिरको क्षेत्रलाई सानो टुँडिखेल भनिन्थ्यो त्यहाँ दुई कमल पोखरी थिए ।

साँझतिर काठमाण्डाै निवासी युवाहरू पलेँटी कसेर टुँडिखेलको हरियो चउरमा बस्दथे । जहाँ पनि टुसुक्क अथवा थचक्क बस्ने, पिच्च थुक्ने, बाटोमा कताकति मोटर चढेर आएको मानिसलाई चिनोस्-नचिनोस् अति झुकी चट्ट सलाम, स्वस्ति गर्ने, साथीले चुरोट खाएको देखे दश हात परबाट हान्निएर आई मागेर दम खिंचेर तीन-चार जनाले धीत मर्ने गरेर तान्ने र आपसमा भेट्दा ल्वाङ, सुपारी माग्ने त एकप्रकारले धेरै मानिसमा त्यस बेला आदतै बसेको थियो – पश्चिमी राष्ट्रमा भेट्दा ‘गुड मर्निङ’ भनी हात मिलाएझैं…..”

सन्दर्भ सामाग्री
हिमाल खबर
मदन पुरस्कार पुस्तकालय