चण्डासुर मारिएको खुशीयालीमा बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा (दुर्लभ भिडियो सहित)

‘ल्हाकाः पालुं हाः पाः लाक हाः हाकनं छकः हाः …. अर्थात सबैले एकैचोटी उचालौं, मिलाएर उचालौं………’ यस्तै उत्साहजनक एवं उल्लासपूर्ण स्वरहरु सुन्न सकिन्छ बनेपाको जात्रामा ।

बनेपा, जसलाई नेवार भाषामा भोंत भनिन्छ । काठमाडौंबाट २६ किलोमिटर टाढा काभ्रे जिल्लाको सुन्दर शहर हो– बनेपा ।

जहाँ हरेक वर्ष बुद्ध पूर्णिमाको दिन प्रसिद्ध चण्डेश्वरी माईको जात्रा सुरु हुन्छ । विशेष उत्सवको रुपमा मनाइने चण्डेश्वरी जात्राको धार्मिक तथा ऐतिहासिक महत्व छ ।

जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) निकालिन्छ । बनेपाका बासिन्दाले धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजा सहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लाय्कुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गरिन्छ । मत पूजासँगै औपचारिक रुपमा जात्रा शुरु भएको मानिन्छ ।

चण्डेश्वरी देवतालाई लसःकुस अर्थात स्वागत गर्ने प्रतीकको रुपमा मत पूजा गरिएको मान्यता रहिअाएको छ । यस दिन जसिगाः अर्थात जलेश्वर महादेवमा मेला नै लाग्ने गर्दछ । यहाँ स्नान गरेमा शुद्ध भइन्छ भन्ने धार्मिक मान्यता छ । पूर्णिमाकै दिन बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजा सहित स्थानीय सयौं युवाहरुले बोकेर ल्हाका पालुं हाः भन्दै चण्डेश्वरी पुर्‍याउने गर्दछ । ‘ल्हाकाः पालु हाः अर्थात सबैले एकैचोटी उचालौं’ खटमा बसेका द्वारेले जब रथ उचाल्नको लागि यसरी बोलिरहन्छन्, तब खट बोक्ने युवाहरु एकैसाथ खट उचाल्छन् र कराउन थाल्छन् ‘हाः……. ।’

चण्डेश्वरी मन्दिरसम्म खट लैजाने क्रममा शीर मेमोरियल अस्पताल नजिकको उकालोको दृश्य भने निकै रोमाञ्चक हुन्छ र यसलाई धेरैले हेर्न छुटाउँदैनन् । यस उकालोमा खटलाई कतै नबिसाई एकैपटक माथि पुर्‍याउनुपर्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । यसकारण ठाडो उकालोमा पनि खटलाई एकपटक पनि नबिसाई माथि पुर्‍याइन्छ । खटलाई मन्दिर नजिक पुर्‍याएपछि विधिपूर्वक पूजा गरि चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । देवीको मूर्तिलाई खटमा राखेपछि सबैभन्दा पहिला बनेपाका धलंछेँ साय्मि खलःबाट ल्याइएको पूजा गरेपछि मात्र अन्य भक्तजनहरुको पूजा लिने परम्परा रहिआएको छ । भोलिपल्ट बिहानसम्ममा सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको वकुटोलतर्फ ल्याइन्छ ।

खटलाई प्राचीन लाय्कू दरबारसम्म पुर्‍याइन्छ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याइन्छ । यस स्थानमा मासु छर्ने जात्रा जसलाई नेवारीमा कलंदान भनिन्छ, पूजा गर्ने परम्परा रहँदैआएको छ । कलंदान पछि मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिन्छ ।

जात्राको क्रममा चण्डेश्वरी मन्दिर भित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बली दिने गरिन्छ । १२ वटा बोका मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने चलन छ भने बाँकी बोकाको मासु कलंदान गरिन्छ । कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ ।

प्रायःजसो राति हुने यस जात्रामा कलंदान गरेको मासु समात्न तँछाड मछाड नै हुने गर्दछ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको छ । सबै समुदायसँग प्रत्यक्ष जोडिएको हुनाले यो जात्रालाई बनेपाका बासिन्दाले दशैं तिहारभन्दा ठूलो पर्वको रुपमा लिने गरेका छन् ।

धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे । स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भयो । देवताहरु ज्यान जोगाउनका लागि पन्छीको रुप धारण गरी वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन, चण्डासुरलाई मार्न प्रयास गरिन् तर असफल भइन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट हुन्छिन र चण्डासुरको बध गरेर देवताको रक्षा गर्छिन् । यही खुसीयालीमा जात्रा मनाइँदै आएको धार्मिक कथन रहेको इतिहासविद्हरूको तक रहने गरेको छ ।

अहिले पनि चण्डेश्वरी मन्दिर परिसरमा कुमारी चण्डेश्वरीको रुपमा दुई शिलास्तम्भ र त्यसमाथि दुई मयुर छन् भने भगवतीको रुपमा दुई शिलास्तम्भ र त्यसमाथि दुई सिंह रहेका छन् । यस मन्दिरसँग सम्बन्धित इसापूर्व ५११ को ताद्पत्र नै भेटिएकोले पनि चण्डेश्वरीको इतिहास धेरै पुरानो भएको मान्न सकिने इतिहासकारहरूको तर्क रहेको छ ।

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
स्टीभ रिचर्ड ड्वेल
डउड हल

बेलायत पुग्ने पहिलो नेपाली, भक्तपुरका मोतिलाल सिंह

थानकोट ।

वि.सं. १९०६ माघ ४ गते काठमाडौबाट बेलायत यात्राको लागी निस्केको जंगबहादुरको टोली निकै ठूलो थियो । १ हजार २०० सैनिकहरुको साथमा अन्य भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबलाई लगेका थिए, जंगबहादुरले बेलायत यात्रामा ।

यो टोली फागुन २ मा ढाका र फागुन २४ मा कलकत्ता पुगेपछि केही दिन त्यही घुम्नको लागी रोकियो । जगन्नाथ पुरीमा जंगबहादुरले ५००० रूपैंया मन्दिरलाई दान गरेका थिए । आजको रकममा परिवर्तन गर्ने हो भने यो करोडौ रूपैंया हुन आँउछ ।

चैत्र २७ गते बेलायतको लागी पानीजहाजमा यात्रा आरम्भ भयो । ५००० पाउण्ड रकममा भाडामा लिएको P & O Company को Haddington Steamer मा जंगबहादुरको यात्रा आरम्भ भए पछि बाह्र सय सैनिकले बिदाइ गर्दा सबै सैनिकहरू धेरै समयसम्म रूदैं समुन्द्र हेर्दै बसेका थिए । उनिहरूको सोचाइमा समुन्द्री यात्रा डरलाग्दो हुन्छ तसर्थ महाराजा अब कहिल्यै फर्केर आउने छैनन् ।

मद्रास, सिलोन (श्रीलंका), एडेन (यमन), स्वेज (इजिप्ट), काइरो (इजिप्ट), एलेक्जेन्ड्रिया, जिब्राल्टर हुँदै जेठ १४, १९०७ मा बेलायतको दक्षिण Southampton Harbour मा करिब साढे चार महिना पछि बल्ल पुग्न सफल भए ।

सबैको मान्यता जंगबहादुर यूरोप पुग्ने पहिलो नेपाली थिए । तर जंगबहादुर लण्डन पुगेको दुइ दिनमा नै सडकमा घुम्दै गर्दा अचानक सडकमा कुचो लगाएर माग्दै गरेको नेपाली माथी जंगबहादुरको आँखा पुग्यो । उनले बोलाएर सबैकुरा सोधे । त्यसपछि कहिले कसरी बेलायत पुगेको सबै सविस्तारमा वर्णन गरे उनले ।

उसको नाम मोतीलाल सिंह थियो, भक्तपुरमा जन्मेका सिंह १९ बर्षको उमेरमा अंग्रेज नेपाल युद्धमा घाइते भएकामा उनलाई अंग्रेज सेनाले कब्जामा लिएका थिए । उसको बहादुरीबाट खुशी भएका अंग्रेज सैनिक अधिकारीले उनलाई वि.सं . १८७१ मा गठन भएको 1st Gurkha Rifle मा सैनिकको रूपमा भर्ति गराइदिए । अंग्रेजी बाेल्न सिकेका उनले पछि कलकत्तामा विवाह गरेर बालबच्चा पनि भयो । यसरी खुशीसाथ बसेको उसलाई एक दिन एक ब्रिटिस क्याप्टेनले बेलायत जाने सपना देखाए । उनी क्याप्टेनको साथ वि.सं. १९०० तिर लण्डन पुगे । केही दिनमा भएको पैसा पनि चोरी भयो र लण्डनको सडकमा बेवारिसे भए । मागेर खाने र St. Paul चर्चमा बस्ने तथा कुचो लगाउने काम गर्न थाले ।

१९०७ जेठ १६ मा जंगबहादुरको नजर परेपछि जंगबहादुरले उनलाई उसको दुःखद परिस्थितिबाट मात्र मुक्त गरेनन् । उनलाई आफ्नो यात्रा भरी दोभाषेको रूपमा साथ राखे । आफू जहाँजहाँ गए सबै ठाँउमा सम्मान साथ उसलाई लिएर गए । मोतिलाल सिंहले जंगबहादुरलाई महत्वपूर्ण ठाउँ मात्र घुमाएनन् त्यहाँको सविस्तार वर्णन पनि गरे । बेलायत यात्रा सकिएपछि जंगबहादुरका साथ उनी पेरिस पुगे। तर जंगबहादुर नेपाल फर्कंदा मोतिलाल फर्कन मानेनन् ।

प्रस्तुतीः सुनिल उलक 

सन्दर्भ सामाग्री
इकान्तिपुर