स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल

ताहाचलको घर मेरा बाले म जन्मिएपछि किन्नुभएको हो।
मेरा बा पाटनबाट ताहाचल आउँदा सुरूमा डेरा बस्नुभएको थियो। मेरो जन्म त्यही डेरामा भयो। दाइ र दिदी दुवै वीर अस्पतालमा जन्मेका हुन्। सायद त्यस बेलाका नामुद स्त्री तथा प्रसूति विशेषज्ञ डा. सावित्री गुरुङको निगरानीमा। म भने घरमै जन्मेँ।

बिहान गर्भवती श्रीमती छाडेर गएका मेरा बाले दिउँसो खाना खान आउँदा सुत्केरी श्रीमती भेट्नुभयो। खबर गर्ने उपाय थिएन। मोबाइल त जेम्स बोन्डको फिल्ममा समेत देखिएको थिएन। फोन पनि दुर्लभ।

म जन्मेको घरको नाम थियो – मेरो महल।

टंकेश्वरको विष्णुमती पुलबाट पश्चिम लागेपछि छाउनी–ताहाचल छुट्टिने मोड आउँछ। त्यो मोडबाट पाँच सय मिटर ताहाचलतर्फ बढेपछि ‘टुरिस्ट क्याम्प’ भन्ने लज थियो। त्यसको अगाडि बल्ने ग्यास मिसिएको पानीको फोहोरा थियो। त्यहाँबाट पश्चिम लागेपछि सडकको दक्षिणतिर वासुदेव लुइँटेलको ‘मेरो महल’ आउँथ्यो।

त्यही घर बाले भाडामा लिनुभयो। त्यहीँ आफ्नो व्यवसाय पनि गर्नुभयो।

हाम्रो आफ्नो घर भने सन् १९७३ मा बन्यो। लुगा धुने व्यवसाय भएकाले होला, बाले घर बनाउन दक्षिण मोहडाको पारिलो पाखो रोज्नुभयो। सुरूमा रोपनीको ५ हजार रूपैयाँमा किनेको सुनेको हुँ। पछि जग्गा थप्दै जाँदा डेढ लाखसम्म परेको थियो रे।

त्यही पाखाको टुप्पोमा हाम्रो दुईतले घर थियो, ‘अस्बेसटस’ सिटले छाएको। बेसीमा लुगा धुने कारखाना, पाखाभरि लुगा सुकाउने डोरी।

‘फोहोरा’ अघिको लुगा सुकाउने पाखो भनेपछि पूरै ताहाचल र ताहाचल हुँदै सहर छिर्ने बाफल, स्यूचाटारका सबैले हाम्रो घर चिन्थे।

घरको भित्तामा सानो चारपाटे टिन ठोकिएको थियो, जहाँ कालो पृष्ठभूमिमा सेतो अक्षरले लेखिएको थियो – टंकेश्वर ८/२०, ताहाचल गा.प.। अर्थात्, काठमाडौं जिल्ला, टंकेश्वर ताहाचल गाउँ पञ्चायत, वडा नम्बर ८, ब्लक नम्बर ८/२०।

वडामा दर्ता भएको बीसौं घर भएकाले हाम्रो घरको ब्लक नम्बर ८/२० भएको होला भन्ने म अनुमान गर्छु।

नगर पञ्चायतअन्तर्गत आएपछि हामी वडा नम्बर १३ का बासिन्दा भयौं। घर नम्बर भयो – का.न.प. वडा १३, ख २-२७२, काठमाडौं- ४।

यो नम्बरको पूरा अर्थ मैले बुझेको छैन, सायद त्यस बेला काठमाडौंलाई क्षेत्रगत विभाजन गर्दा ताहाचल ४ नम्बर क्षेत्रमा परेको हुनुपर्छ।

२०४६ को राजनीतिक परिवर्तनपछि नगर पञ्चायत नगरपालिका बन्यो, वडा नम्बर भने त्यही कायम रह्यो।

त्यसपछि मेट्रिक प्रणाली भनेर हाम्रो घरको नम्बर फेरि परिवर्तन भयो – ६६८ ताहाचल मार्ग।

यो नम्बर दुरीमा आधारित छ। विष्णुमती पुलबाट सोल्टी होटल पछाडिको गेट हुँदै बाफल पुग्ने बाटोलाई ‘ताहाचल मार्ग’ भनिन्छ। यसको सुरुआती विन्दुबाट हाम्रो घर ६६८ मिटर दुरीमा पर्ने भएकाले उक्त नम्बर राखिएको हो। दुरी र मार्गको दायाँ-बायाँ हेरेर घर नम्बर जोर-बिजोर हुन्छ।

ताहाचल त्यो बेला गाउँ नै थियो। टंकेश्वर विष्णुमती पुलदेखि सोल्टी होटल पछाडिको गेटसम्म हामीलाई आफ्नै टोलजस्तो लाग्थ्यो। त्यो बाटोमा पर्ने सबै घर परिचित। त्यहाँ बस्ने सबै मान्छे परिचित।

विष्णुमती पुलको पश्चिम मोडमा एउटा सानो पसल थियो- ध्रुव दाइको पसल। ताहाचलभरि ‘कोक’ पाउने पसल त्यही एउटा थियो। त्यस बेलाको आधुनिक कोल्ड स्टोर। ‘टुरिस्ट क्याम्प’ लज र स्वयम्भुतिर बस्ने हिप्पीहरूलाई लक्ष्य गरेर होला, ध्रुव दाइले विदेशी बिस्कुट, टिन फिस लगायत सबै बेच्थे। प्याकेटका ती सबै चिज झिलिमिली देखिन्थे।

सडकबाट दुई खुड्किला मुनि झर्नुपर्ने त्यो पसल सामानले खचाखच भरिएको हुन्थ्यो। हामी त्यसलाई ‘मोडको पसल’ भन्थ्यौं।

गर्मी यामको सुरूआतसँगै त्यो पसलअगाडि बाले गाडी रोक्दा हामी केटाकेटी दंग पर्थ्यौं। भारतबाट आयातीत एक क्रेट कोकाकोला गाडीमा लोड हुन्थ्यो। काठको अर्को क्रेटमा सुन्तला रङको ‘स्टार अरेन्ज’, कागतीको झोल रङको ‘स्टार लेमु’ र पानी रङको ‘स्टार अक्वा’ (सोडा) भरिएका हुन्थे।

तीमध्ये कोक, सुन्तला र कागती रङका पेय हामी केटाकेटी र पाहुनाका लागि हुन्थ्यो भने पानी रङको सोडा बाले राति ‘इगर्यान्ड’ ह्विस्कीसँग मिसाएर खानुहुन्थ्यो।

हामी एकपटकमा एउटा बोतल खोल्थ्यौं। तीन-चार जनाले बाँडेर खान्थ्यौं। बोतल सानो हुन्थ्यो, दुई सय मिलिलिटरको। आफ्नो भागमा पर्ने त्यही ४०-५० एमएलको गुलियो स्वादले संसार जितेको आभाष दिन्थ्यो।

केही वर्षमा कोक पाइन छाड्यो। त्यसको सट्टा ‘डबल सेवेन’ भन्ने कोकजस्तै बोतल आउन थाल्यो। नेपालमै कोक बन्न थालेको त २०३५ सालतिर मात्र हो, जब म तीन-चार कक्षा पढ्थेँ।

त्यो पसलबाट पश्चिमतिर हल्का उकालो लागेपछि छाउनी जाने दोबाटोमा झुरुप्प सानो बस्ती थियो, जहाँ नेवार खड्गी समुदायको बसोबास छ। अझ पश्चिम लागेपछि दायाँतिर सानो गणेश मन्दिर थियो भने त्यसको आडमा बज्र पोतेको दुईवटा ठूला सेता घरमा चित्रकार परिवार बस्थे। त्यससँगै जोडिएको घर लामिछाने परिवारको थियो।

त्यसपछि आउँथ्यो त्यस बेलाको प्रख्यात प्राथमिक विद्यालय – कान्ति ईश्वरी। मैले नर्सरी र केजी त्यहीँ पढेको हुँ। गौरी केसी प्रिन्सिपल हुनुहुन्थ्यो।

युवराजधिराज दिपेन्द्र भर्ना भएपछि त्यस स्कुलको ख्याति चुलियो। कान्ति ईश्वरीपछाडि दली परिवार बस्थे। त्यही परिवारका हिरण्य दली हिसाब ट्युसन पढाउन त्यस भेगका नामुद मास्टर थिए। दली सरसँग ट्युसन नपढी एसएलसी दिने व्यक्ति भेट्न गाह्रो हुन्थ्यो हाम्रो पालासम्मै।

कान्ति ईश्वरीपछि हाम्रो घरसम्म पुग्दा १२-१४ वटा अरू घर थिए। हाम्रो घरदेखि सोल्टी पछाडिको गेटसम्म अर्को १२-१४ वटा घर भएको मलाई याद छ।

सोल्टीको पर्खाल सुरू हुने ठाउँमा एउटा अर्को पसल थियो। गुलाबी रङको दुईतले घरको भुइँतलामा रहेको त्यो पसल हाम्रो पिप्लामेट, तितौरा, गुच्च्चा आदिको स्रोत थियो।

‘मोडको पसल’ बाट सोल्टी पछाडिको गेटसम्म करिब एक किलोमिटर दुरीमा यही एक मात्र पसल थियो।

पसलमा एक जना बूढा साहु बस्थे, कृष्णलाल श्रेष्ठ। उनी आफ्नो वास्तविक नामले भन्दा टोलले राखिदिएको नामबाट बढी परिचित थिए- टकटके साहु। उनको पसल नै ‘टकटके साहुको पसल’ भनेर चिनिन्थ्यो। उनको अगाडि भने यो नाउँ लिन हुन्थेन। गाली गर्दै लखेट्न आउँथे।

कृष्णलालको नाउँ ‘टकटके साहु’ रहनुको पनि कारण थियो। उनी सामान पोको पार्न कागज टिप्थे र हरेक कागजलाई औंलाले टकटकाएर मात्र त्यसमा सामान पोको पार्थे।

उनी सामान बेच्ने मात्र होइन, पुराना सिक्का, तामा, पित्तल सबै किन्थे। हामी घरमा कतै तार फालेको भेट्यौं भने बोकेर दौडिहाल्थ्यौं। उनी त्यसबाट तामा झिकेर जोख्थे र त्यसबापत् हामीले तितौरा, पिप्लामेट पाउँथ्यौं।

एकचोटि ताहाचलको एउटा छिमेक घरमा बिहे परेछ। सबै छिमेकलाई कार्ड लेख्ने क्रममा पसलका ती साहुजीलाई पनि निम्तो गएछ। निम्तो गर्नेले कार्डमा आदरपूर्वक लेखिदिएछन् – ‘श्री टकटके साहुजी’। उनले कार्ड पुर्याउन जानेलाई झन्डै मारेका थिएनन् रे।

म एक कक्षा हुँदा हाम्रो छिमेकमा पाउरोटी कारखाना खुल्यो– पन्ना पाउरोटी। त्यहाँ दिउँसो तीन-चार बजेतिर पूरै टोल नै बसाउने गरी पाउरोटी पाक्थ्यो। बास आउनेबित्तिकै हामी एक रुपैयाँ लिएर दौडन्थ्यौं।

दाउरे भट्टीबाट पाउरोटी निकाल्नेबित्तिकै तात्तातै कागजको थैलामा राखेर दिइन्थ्यो। हामी घर ल्याएर तातो पाउरोटी तातो चियामा चोपेर खान्थ्यौं। हुन त पाउरोटी डब्बा रिक्सामा पनि घुमाउँथे, तर कुर्ने धैर्य कसको?

पन्ना पाउरोटीको गल्ली जाने बाटोमा ताहाचलका पुराना रैथाने ‘ठूली दिदी’ को घर थियो। ठूली दिदीको आँगनमा नासपातीको ठूलो रूख थियो। मौसममा बाटोसम्मै हाँगा लत्रने गरी हरिया नासपाती फल्थे। त्यो बोटको नासपाती चोरेर नखाने ताहाचलमा विरलै होलान्।

ठूली दिदी असल हुनुहुन्थ्यो, बच्चाहरूले चोरेको देखे पनि गाली नगर्ने। बरू नदेखेझैं गर्ने। कहिलेकाहीँ त टिपेर राखेको आफैं दिने। यति भएपछि हाम्रा लागि उनी निकै ठूलो मनकारी भइहालिन्।

सोल्टीको सिमानाअगाडि सडकभन्दा उत्तरपट्टि खाल्डोमा एक लाइन फाट्टफुट्ट घर थिए। त्यसपछि उता छाउनीको ढिस्कोसम्मै खाली सिम थियो, जहाँ बर्खाको पानी जम्मा हुन्थ्यो। हिउँदमा त हाँसका हुल बास बस्न आइपुग्थे। त्यो सिमक्षेत्र अहिलेको गाईबाच्छा पाटीसम्मै फैलिएको थियो। अचेल पूरै फाँट दुई-चार आनामा बनेका घरले छरपस्ट ढाकिसक्यो।

यता अहिलेको ताहाचल बगैंचा पनि स्याल कराउने ठाउँ थियो। ताहाचलबाट कालिमाटी निस्कने कच्ची बाटो ताहाचल बगैंचा भएर पनि जान्थ्यो। साँझ परेपछि हामी त्यो सुनसान बगैंचा हिँड्न डराउँथ्यौं।

त्यस बेला ताहाचल गाउँको आकर्षण भनेकै सोल्टी होटल थियो।

सोल्टी भन्नेबित्तिकै अहिले पनि मेरो स्मरणमा सेतो रङको साततले भवन आउँछ। ताहाचलको जहाँबाट हेरे पनि देखिने त्यो ‘ल्यान्डमार्क’ होटलको व्यवस्थापन भारतको ओबरायले सम्हालेका थिए। त्यसैले ‘सोल्टी ओबराय’ भनेर चिनिन्थ्यो।

होटलको नाम ‘सोल्टी’ किन रहेको होला भनेर मनमा कौतूहल हुन्थ्यो। पछि थाहा पाएँ, सोल्टी होटलका प्रारम्भिक प्रवर्द्धक राजा महेन्द्रका भाइ अधिराजकुमार हिमालयविक्रम शाह र प्रभाकर राणा साइनोमा ‘सोल्टी’ थिए रे। त्यसैबाट यो नाउँ जुरेको रहेछ।

यो होटल म जन्मनुभन्दा चार वर्षपहिले सन् १९६६ मै खुले पनि ओबरायको व्यवस्थापन १९६९ देखि सुरू भयो। अहिले देखिने पूर्व-पश्चिम लम्बिएको भवन त हाम्रै आँखाअगाडि १९८० तिर बनेको हो।

म एक कक्षा पढ्दाको तस्बिरमा हाम्रो घरबाट एक्लो सेतो भवन मात्र देखिन्छ। १९८० मा मेरो ब्रतबन्धताकाको फोटोमा भने नया इँटावाला भवन थपिएको छ। धेरै समयसम्म सोल्टीको पुरानो भवन सेतो र नयाँ भवन इँटावालाकै रूपमा रह्यो। पछि पुरानो सेतो भवनलाई नयाँकै रूपमा ढालियो।सोल्टी भनेको ताहाचलको मुटुझैं थियो। ताहाचलवासीको रोजगार केन्द्र ।

म नौ-दस कक्षा हुँदा सोल्टी र काठमाडौंमै ठूलो हलचल छायो। यो सन् १९८५ तिरको कुरा हो। अमेरिकाबाट निकालिएपाछि ओशो रजनीशको टोली सोल्टीमा आएर बसेको थियो। रजनीशले पूरै तल्ला ‘बुक’ गरेर बसेको छ भन्ने खुब हल्ला थियो।

रजनीशको अमेरिकामा जफत भएको ‘रोल्स रोयज’ गाडीदेखि उनका वरिपरि झुम्ने भक्त र विशेषगरी साधिकाहरूको निकै चर्चा हुन्थ्यो। उनको हिराको घडी, हिरा जडिएको टोपी … यस्तै यस्तै।

कति दिन त स्कुलबाट साढे तीन बजे छुट्टी भएपछि म जावलाखेलबाट साइकलमा घर आएर, लुगा फेरेर चार बजे सोल्टी होटल पुग्थेँ। कुनै धार्मिक वा आध्यात्मिक आकर्षणले होइन। करिब चार बजे ओशो सोल्टीको द्वारबाट बाहिर विहारका लागि निस्कन्थे। टेनिस कोर्टतिर जान्थे। एकछिन घुमेर फर्कन्थे।

हामी साथीभाइको ध्यान उनले दिनहुँ परिवर्तन गर्ने पहिरन, टोपीमा जडिएको हिरा, हिरा जडिएको घडी र उनी वरिपरि घुम्ने साधिकाहरूमा हुन्थ्यो।

त्यस बेला हाम्रो ‘टिनएज’ दिमागले ओशो बुझ्ने कुरै थिएन। ओशो भनेपछि खुला यौनका प्रवर्द्धक भनेर बुझेका थियौं। अहिले उनको खरानी रङको आँखाको चमक, हिँडाइको चाल, उनी देखेपछि लठ्ठिने र बेपरवाह झुम्न थाल्ने अनुयायी सम्झँदा उनी साधारण मानव थिएनन् जस्तो लाग्छ।

त्यति बेला हाम्रो उमेरले जे दियो, हामीले त्यही देख्यौं। अहिले ओशो रजनीशलाई प्रत्यक्ष देख्न र दर्शन गर्न पाएकोमा रमाइलो अनुभूति हुन्छ।

रजनीशको बसाइपछि सोल्टीमा भएको अर्को ठूलो उपलब्धी सन् १९८७ मा सार्क सम्मेलन हुँदा राष्ट्र प्रमुखहरूलाई राख्न बनाइएका ‘सुइट’ हुन्। त्यसपछि हालसम्मै सोल्टीमा खासै ठूलो परिवर्तन आएको महशुस हुँदैन। ‘आइकोनिक’ क्यासिनो नेपाल भएको ठाउँ भत्काएर ‘मेघा-मल्हार’ भन्ने ‘पार्टी प्यालेस’ बनेको बाहेक।

अचेल सोल्टी होटल वरिपरिका कति घर सोल्टीभन्दा अग्ला छन्। कुनै समय यस्तो थियो, सोल्टीभन्दा अग्लो घर काठमाडौंमा बन्ला भनेर हामी कल्पना पनि गर्न सक्दैन थियौं।

सधैं आँखासामु उभिने त्यो सोल्टी अब त हाम्रो घरबाट देखिनै छाड्यो।

सोल्टी मात्र होइन, चन्द्रागिरी डाँडा सधैं अगाडि छर्लंग उभिएझैं लाग्थ्यो। कीर्तिपुरको ‘स्काइलाइन’ सधैं प्रस्ट देखिन्थ्यो। अचेल प्राय: ती सबै दृश्य धूमिल हुन थाले। म हुर्केको टोलको अस्तित्व, त्यो छिमेक, ती छिमेकी सबै धूमिल सम्झनामा सीमित हुँदै गए।

‘एभ्री थिङ ह्याज अ प्राइस’ भन्छन्। यो अस्तव्यस्त विकासको मोल हामी काठमाडौंका रैथानेले मज्जाले चुकाएका छौं। यहाँका प्राकृतिक, सामुदायिक लगायत सम्पदा गुमाएर हामीले साँचेको भनेकै यही धूमिल सम्झना हो।

अब त हाँस, बकुल्ला आउने त्यो सिममा काग मात्र आउने गर्छन्। चराहरूको चिरबिर सबै काँ… काँ… काँ… मा सीमित भए।

जग्गाको भाउ पाँच हजार रूपैयाँ रोपनीबाट पाँच करोड रोपनी पुग्यो। घर संख्या २०-३० बाट असंख्य पुगे। गाउँले पारिवारिक वातावरण बिरानो छिमेकमा परिवर्तन हुँदै गयो।

हुँदा हुँदा अचेल त ताहाचल हिँड्दा रैथाने मुहारको दर्शन नै दुर्लभ भइसक्यो।

हाम्रो घर नम्बर ८/२० भने अझै खडा छ। फरक यत्ति हो, पहिले डाँडाको टुप्पोको त्यो घर सडकबाटै प्रस्ट देखिन्थ्यो, अचेल त्यो घर हेर्न आफ्नै आँगनमा उभिनुपर्छ। –प्रस्तुती किरणकृष्ण श्रेष्ठ

सन्दर्भ सामाग्री
किरणकृष्ण श्रेष्ठ
सेतोपाटी, जेठ ०५, २०७६
Old photo of Nepal, फेसबुक ग्रुप
डउग हल

पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो

यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट भएर ‘ल माग् के माग्छस्, तँलाई वरदानमा नेपालभित्रको कुनै एउटा घर दिने भएँ, कहाँको घर माग्छस्?’ भनेर सोधे तपस्वीले सायद आँखै नखोली जवाफ दिन्छ, ‘भगवान्, उसो भए काठमाडौं न्युरोडको एउट घर वरदान पाउँ न!’ न्युरोड अहिले नेपालको त्यस्तो महँगो ठाउँ बनिसकेको छ जसका बारे सर्वसाधारण नेपाली जनताले केवल सपनामात्रै देख्न सक्छन्।

नेपालको मुटु काठमाडौं भनिन्छ। काठमाडौंको पनि मुटु हो-न्युरोड। म त्यही न्युरोडको एक रैथाने बासिन्दा हुँ। वा भनौं, थिएँ। किनभने अहिले न्युरोडमा हाम्रो केही पनि छैन। सिवाय न्युरोडवासी स्थानीय मानन्धरहरूको स्थानीय गुठीमा एउटा हिस्साबाहेक। मेरा बा म जन्मिनुअघि नै न्युरोडको घर बेचेर अन्तै बसाइँ सरिसक्नुभएको थियो। तर, न्युरोडमा बा नभए पनि उहाँका भाइहरू अर्थात् मेरा काकाहरू भने अझै त्यहीँ बसिरहनुभएको छ, हाम्रो पुर्खाको विरासत थामेर।


बा अलि सन्की हुनुहुन्थ्यो। जिद्दी। र, जँड्याहा पनि। न्युरोडस्थित हाम्रो मानन्धर गुठीभित्र चिन्न सजिलो होस् भनेर विभिन्न उपनाम भएका समूहहरू बनाइएका छन्। जस्तो तःजः, सुर्ती, सखापा आदि। त्यसमध्ये एउटा समूह हो -भलंद्यः। ‘द्यः’ भन्नाले बुझिन्छ-यो कुनै भगवान् हो। तर ‘भलंद्यः’ एउटा अनौठो भगवान् हो। यो सायद ३३ कोटी देवताभित्र नपर्ने भगवान् हो। कुनै काम नगर्ने, खालि बाहिर-बाहिर ‘शो’ मात्रै गरिने भगवान्लाई ‘भलंद्यः’ भनिन्छ।

हामी त्यो ‘भलंद्यः’ समूहका हौं। हामीलाई किन ‘भलंद्यः’ भनियो त्यो त थाहा भएन। तर, बा भने हाम्रो समूहको यो उपनामलाई मिल्ने चरित्रका हुनुहुन्थ्यो। उहाँका समकालीन मित्रहरूका अनुसार, चुरोट सल्काउँदा अगाडि सलाई भेटिएन भने उहाँ दसको नोट बालेर सल्काउनुहुन्थ्यो रे। त्यतिबेला रञ्जना हलमा जे फिल्म लाग्छ, त्यो फिल्म उहाँ आफ्ना साथीहरूसँग हाल भत्काइएको क्रिस्टल होटेलमा प्रोजेक्टर लगाएर हेर्नुहुन्थ्यो रे। हलको भीडभाडमा फिल्म हेर्न उहाँलाई मन पर्दैनथ्यो। उहाँको नाम रामप्रसाद मानन्धर भए पनि टोलवासीका माझ उहाँ ‘भलं साहू’ का नामले चिनिनुहुन्थ्यो।

अहिले जुन ठाउँलाई हामी ‘न्युरोड’ भन्छौं, १९९० सालको भूकम्पअघिसम्म त्यो न्युरोड थिएन। यो ठाउँको नाम ‘पाको पुखुद्यां’ अर्थात् ‘पाको पुखुलद्याङ’ थियो। १९९० सालको भूकम्पले यो ठाउँ कायापलट गरिदियो। त्यो भूकम्प अरूका लागि महाविनाश भए पनि ‘पाको पुखुलद्याङ’ को लागि भने वरदान सावित भएको विश्लेषण केही विज्ञहरूको धारणा छ। किनभने, महाभूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराले पाको पुखुलद्याङ टोललाई बीचमा पारेर त्यसको चारैतिर अत्यन्त फराकिला सडकहरू निर्माण गरे।

चोकको बीचमा चाहिँ आफ्नै सालिक खडा गरे। सालिकको उत्तरतिर इन्द्रचोक जोड्ने सडक, दक्षिणतिर पुरानो भन्सार जोड्ने सडक, पूर्वतिर टुँडिखेल पुग्ने सडक र पश्चिमतिर कुमारीघर जाने सिधा र फराकिला सडकहरू बनाए। त्यतिबेला यो सडक कति फराकिलो थियो भने मानिसहरूले ‘यति फराकिलो सडक बनाउने जुद्धशमशेर बौलाएछन्’ सम्म भनेका थिए रे। सडक पिच गर्दा पनि आधी भागमात्रै कालोपत्रे परिएको थियो। पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्छ भनेर आधा गाडी जाने पिच र आधा घोडा लाने ग्राभेल बनाइएको थियो। त्यसपछि भूकम्पमा परी मरेका, घाइते भएका सबैको सम्झनामा त्यहीँनेर एउटा पार्क पनि बनाइएको थियो।

अब आइन्दा पृथ्वी फेरि हल्लिन नपाओस् भनेर पृथ्वीमाथि महादेव आसीन भएको एउटा मूर्ति पनि त्यहाँ स्थापना गरियो। मूर्ति स्थापना भएको केही समयसम्म उक्त ठाउँलाई महादेवथान पनि भन्ने गरिएको थियो। पछि ‘भूगोलपार्क’ नामकरण गरियो। नेपालको पहिलो व्यवस्थित पार्क पनि यही नै थियो। जुद्धशमशेरले यही ठाउँको छेउमा नेपालको पहिलो बैंक ‘नेपाल बैंक’ खोले। उत्तरपूर्वी कुनातिर एउटा सभाहल बनाए।

नगरपालिकाको कार्यालय पनि त्यहीं अलि पर खडा गरे। जुद्ध वारुणयन्त्र पनि यही ठाउँमा राखे। सरकारी प्रेस पनि यहीँ चलाए। सालिकको चारै दिशामा तीन तल्लासम्मको एउटै डिजाइन देखिने लहरै घर बनाए। ती घरमा पसल कबलहरू पनि निकाल्न लगाए। यसरी यो ठाउँ विस्तारै गुल्जार हुन पुग्यो। एक हिसाबले भनुँ भने यो क्षेत्रलाई जुद्धशमशेरले एउटा व्यवस्थित टोल नै बनाइदिए। त्यो वास्तवमै राजधानी काठमाडौंको नयाँ सडक थियो। तर, नयाँ बनाइएको उक्त सडकले नै पछि टोलको नाम लिन पुग्यो। नयाँ सडकको निर्माण नै यो ठाउँको त्यो मोड हो जहाँबाट पाको पुखुलद्याङ क्रमशः ‘न्युरोड’ मा रूपान्तरित हुँदै गयो र अन्ततः देशकै मुटु बन्न सफल भयो।

न्युरोड र मेरा बाको प्रसंग एक सन्दर्भमा आएर जोडिन पुग्छ। त्यो के हो भने नयाँ सडकको विकास र बाको जन्म एकैपटक भएको थियो। वि.सं. १९९० सालको महाभूकम्प आउँदा बा पाँच महिनाको मात्रै हुनुहुन्थ्यो। १९९० सालकै भदौमा उहाँको जन्म भएको थियो। माघ २ गते भूकम्प आउँदा हजुरआमा आफ्नो माइती डल्लुमा सुत्केरी स्याहार्न गइरहनुभएको थियो। अतः पाँचमहिने बुबा पनि त्यतिबेला आफ्नो मामाघरमै हुनुहुन्थ्यो। भूकम्पमा न्युरोडका पनि धेरै घर ढले। धेरै मानिस भत्किएका घरमुनि पुरिए। पुरिएका कोही मरे, कोही घाइते भए। तर, कसको अवस्था के छ कसलाई थाहा?

भूकम्प थामिएपछि मानिसहरू आफ्ना परिवारका सदस्यहरू को-कहाँ छन् खोज्नतिर लागे। तर, त्यो खोजतलासमा बाका पनि बा (मेरा हजुरबा) एकजना भने गायब रहेको पाइयो। कत्ति खोज्दा पनि उहाँको अत्तोपत्तो भएन। महाभूकम्पको त्यस्तो विनाशकारी अवस्थामा यदि परिवारका कुनै सदस्य जति खोज्दा पनि भेटिएन भने त्यसको के अर्थ हुन्छ होला? सायद कत्तिले त्यो अर्थ निकालिसकेको हुँदो हो। तर, हजुरबा त साँझतिर टुप्लुक्क देखा पर्नुभएछ। सबैजना चकित ! उहाँ त वास्तवमा भूकम्प आउनेबित्तिकै घरमा कसैलाई केही नभनी पाकोदेखि हुत्तिएर एकै सासमा डल्लुस्थित ससुराली पो पुग्नुभएको रहेछ, आफ्नो छोरालाई केही भएछ कि भन्ने पीरले।

भलै परिवारको कुल थाम्न धेरैपछि जन्मिएका शिशु हुनुुहुन्थ्यो मेरा बा। बाको शैशवसँगै न्युरोडको विकास पनि क्रमशः बढ्दै जान थाल्यो। ५९ वर्ष बाँचेर बा त बित्नुभयो, तर न्युरोडको विकास भने रोकिएन। त्यो अझै बढ्दो छ।
..
नयाँ सडकको यही नयाँ चौखटभित्र बाले आफ्नो जमानामा एउटा अत्यन्त नयाँ काम सुरु गर्नुभएको थियो। त्यो हो, मोटरसाइकल भाडामा दिने नितान्त नयाँ व्यवसाय। त्यतिबेला काठमाडौंमा साइकल चलाउनुसम्म पनि ठूलो कुरा हुन्थ्यो। त्यस्तो अवस्थामा उहाँले न्युरोड पीपलबोटनेर मोटरसाइकल भाडामा दिने पसल चलाउनुभएको थियो। त्यतिबेला भोटाहिटीमा एउटा पाउदानीवाला साइकल जस्तै सन साइकल भाडामा दिन थालिएको थियो।

न्युरोडमा साइकल भाडामा दिने बाको पसल पहिल्यै थियो। काठमाडौंमा साइकल भाडामा दिने पहिलो पसल भोटाहिटीमा खोलिएको थियो भने दोस्रो पसल बाले न्युरोडमा खोल्नुभएको थियो। भोटाहिटीमा पसल खोल्नेहरू पनि नाताले बाको काका नै पर्नुहुन्थ्यो। पछि बाले न्युरोडकै पञ्चनारायण मानन्धर भन्ने साथीसँग मिलेर मोटरसाइकल पनि भाडामा लगाउनुभयो। त्यसका लागि उहाँहरूले काठमाडौंको मंगलघरबाट रु. १३ सयमा एउटा बेलायती मोटरसाइकल किन्नुभएको थियो। त्यस मोटरसाइकलको नम्बर थियो-२६९। पछि पञ्चनारायणले पार्टनरसिप छोडेकाले त्यो मोटरसाइकल बाको एकलौटी भयो।

त्यसबेला मोटरसाइकल भाडामा दिनुको पनि आफ्नै व्यथा छ। काठमाडौंमा चल्ने भनेको साइकलमात्रै हो। मोटरसाइकल न कसैसँग थियो, न कसैलाई चलाउनै आउँथ्यो। दरबारमा काम गर्ने केही उपल्ला कर्मचारी र नगरका केही धनाढ्यबाहेक अरूसँग मोटरसाइकल थिएन। मोटरसाइकल भाडामा लिन आउनेहरूलाई चलाउनसमेत सिकाइदिनुपथ्र्यो। घन्टाको पाँच रुपैयाँ भाडा। चलाउनलाई सडक पनि उति बनिसकेको थिएन। त्यसैले चउरतिर लगेर सिकाउनुपर्थ्यो।

मोटरसाइकल चलाउन नजान्ने र सिक्ने उमेर पनि नभएका अधबैंसेहरूलाई चाहिँ मोटरसाइकलको पछाडि राखेर आफैंले चलाई उनीहरूको गन्तव्यसम्म पुर्‍याइदिनु पर्थ्यो। त्यसबापत भाडा लिने गरिन्थ्यो। त्यो एक किसिमले अहिलेको ट्याक्सी सेवाजस्तै हो। त्यतिबेला न्युरोडमा एकजना डिट्ठा साब बस्थे। उनलाई सधैं मोटरसाइकलमा राखेर जावलाखेलसम्म पुर्‍याउने र साँझ लिन जाने काम बाको थियो। त्यसबापत एक खेपको तीन मोहर भाडा पाइन्थ्यो।

त्यहीबेला बेलायतका लागि तत्कालीन नेपाली राजदूतावासका सेक्रेटरी रामप्रसाद मानन्धर आफ्नो कार्यकाल सकाएर नेपाल फर्किनुभएको थियो। बाको जस्तै नाम भएका रामप्रसाद मानन्धर बाका फुपूको श्रीमान् हुनुहुन्थ्यो। नेपाल फर्कंदा उहाँहरूले ‘जेम्स एक्सल्सर’ नामक दुइटा मोटरसाइकल पनि लिएर आउनु भएको रहेछ। ती दुईमध्ये एउटा मोटरसाइकल बाले किन्नुभयो, रु. २५ सयमा।

अर्को मोटरसाइकलको मूल्य २८ सय ८० रुपैयाँ राखिएको थियो। तर, त्यो किन्ने ग्राहक भने पाइएको थिएन। त्यहीबीच रामप्रसाद मानन्धर बेलायतको राजदूत नियुक्त हुनुभयो। उहाँले बेलायत जानुअघि नै उक्त एउटा मोटरसाइकल बेचेर जाने विचार गर्नुभएको थियो तर सक्नुभएन। पछि उहाँले आफ्नो भाइलाई उक्त मोटरसाइकल जिम्मा लगाएर बेलायत जानुभयो। धेरै प्रयास गर्दा पनि किन्ने कोही नपाएपछि अन्ततः त्यो मोटरसाइकल पनि बाले नै किन्नुभयो।

यहीबीच बा घरबाट अंश लिई छुट्टिनुभयो। न्युरोडमा लहरै चारवटा घर थियो, हजुरबाको। त्यसमध्ये एउटा बाको अंशमा पर्‍यो। पछि बाले त्यो घर बेचेर पुरानो भन्सारमा अर्को घर किन्नुभयो। बा छुट्टिएर गएपछि मोटरसाइकल पसल मेरा माइला काका हरिप्रसाद मानन्धरको जिम्मामा आइपुग्यो। काका हरिप्रसाद भने बाभन्दा भिन्नै चरित्रका हुनुहुन्थ्यो। उहाँ अत्यन्त मेहनती र जिम्मेवार हुनुहुन्थ्यो।

त्यसमाथि जेठो दाजु अंश लिएर छुट्टिएपछि परिवारको पूरा जिम्मेवारी उहाँको काँधमा आइपरेको थियो। उहाँले मोटरसाइकल भाडाको व्यवसायलाई अझ अगाडि बढाउनुभयो। त्यतिबेला द्वारिकाज् होटेलका मालिक द्वारिकादास श्रेष्ठको पुरानो होटल पारस पनि न्युरोडमै थियो। द्वारिकादाससँग दुइटा सिलिन्डर भएको एउटा अजंगको मोटरसाइकल पनि रहेछ। काकाले ३१ सय रुपैयाँमा त्यो मोटरसाइकल किनेर आफ्नो व्यवसायमा थप्नुभयो।

यो त्यहीबेलाको कुरा हो। राजा महेन्द्रको शुभराज्याभिषेक हुँदा त्यसकै लागि भनेर बेलायतबाट २५० सिसीका पाँचवटा बीएसए मोटरसाइकल नेपाल झिकाइएको थियो। राज्याभिषेकपछि ती मोटरसाइकलहरू जम्मै सेनाका जर्नेलहरूलाई बाँडिएको थियो। त्यसमध्ये एउटा मोटरसाइकल दरबारका पारिवारिक चिकित्सक डा. सुशीलचन्द्र हल्डरले पनि पाएका थिए। काकाले हल्डरको त्यो मोटरसाइकल पनि ६२ सय रुपैयाँमा किन्नुभयो। त्यस्तै राजा महेन्द्रका दिदीका छोरा कुमुद राणाको २५० सिसीको अर्को एउटा मोटरसाइकल पनि ६८ सय रुपैयाँमा किन्नुभयो।

यसरी काकाको मोटरसाइकल व्यवसाय चम्कँदै गइरहेको थियो। त्यसबेलासम्म पेट्रोल ग्यालन (पाँच लिटर) को मूल्य थियो-सात मोहर। नेपाल आयल स्टोर नामको पेट्रोलपम्प पनि न्युरोडमै थियो। त्यतिबेला अहिलेजस्तो नोजलबाट पेट्रोल बेचिँदैनथ्यो। पाँच लिटरको ग्यालनमा पम्फुले तानेर भर्ने र त्यही पेट्रोल मोटरसाइकलको ट्यांकीमा खन्याउने गरिन्थ्यो। नेपाल आयल स्टोर सम्भवतः नेपालकै पहिलो पेट्रोलपम्प हुनुपर्छ।

काकाले मोटरसाइकल त थप्नुभयो, तर काम गर्ने तरिका भने उस्तै थियो। भाडामा लिन आउने ग्राहकलाई पहिले सिकाइदिनुपर्ने। उहाँले पनि धेरैजनालाई मोटरसाइकल सिकाइदिनुभयो। तर, यसरी सिकाइरहँदा कहिले दुर्घटना हुने, कहिले ट्राफिक नियम उल्लंघन हुने र त्यसको सजायचाहिँ आफूले पाइने भएकाले एक दिन हैरान भएर काकाले मोटरसाइकल भाडाको त्यो व्यवसाय त्याग गर्नुभयो। त्यतिबेलासम्म काठमाडौंका अरू पनि एक–दुई ठाउँमा मोटरसाइकल भाडाको पसल खुलिसकेका थिए।

जुनबेला न्युरोडमा ‘न्युरोड’ बनिसकेको थिएन, त्योबेला यो पूरै क्षेत्र एउटा पोखरी थियो। १९९० सालको भूकम्प अघिसम्म यहाँ बाटो पनि थिएन। नेपाल बैंक, भूगोल पार्क, न्युरोड केही थिएन। खिचापोखरीबाट न्युरोड पीपलबोट हुँदै फसिकेब जाने एउटा साँघुरो बाटोमात्रै थियो। ‘फसिकेब’ भनेको फर्सी फल्ने बारी हो। यो बारी सम्भवतः भिरालो ठाउँमा रहेको हुनुपर्छ। भिरालोलाई नेपालभाषामा ‘पाः’ भनिन्छ।

त्यो ‘पाः’ को मुनि अर्थात् ‘क्वय्’ अवस्थित ठाउँ भएकैले यो ठाउँको नाम ‘पाको’ हुन पुगेको हो। भिरालो ठाउँ भएकोले नै त्यहाँ फर्सीको बारी लगाइएको हुनुपर्छ। यो बारी करिब-करिब आजको इन्द्रचोकदेखि पुरानो अमेरिकन लाइब्रेरी रहेको ठाउँसम्म फैलिएको थियो। त्यो भिरालो ठाउँको मुनितिर एउटा पोखरी पनि थियो। सायद भिरालोबाट आउने पानी त्यही पोखरीमा जम्मा हुन्थ्यो। पोखरी भएपछि त्यसको डिल अर्थात् द्याङ हुने नै भयो। त्यो पोखरीको द्याङलाई नै नेपालभाषामा ‘पुखुद्यां’ भनिएको हो जसलाई पछि ‘पुखुलद्याङ’ भन्न थालियो। यो पाको, पुखुलद्याङ र फसिकेबजस्ता टोलको नाउँबाटै पनि त्यतिबेलाको यो ठाउँको भूगोल स्पष्ट हुन्छ।

महाभूकम्प अघिसम्म पाकोमा एक लहरमात्रै घर थियो। भूकम्पपछि बाटो बनाउँदा पोखरीको द्याङमाथि समेत घर बनाउन थालियो। यो पोखरीको डिल भएर जाने एउटा बाटो (हाल गोरखापत्र संस्थान रहेको) त्यतिबेला सर्वसाधारणले चलाउने चल्तीको बाटो थियो। बाको विवाह हुँदा झोछेँ बस्ने मेरी आमाको डोली यही बाटो भएर पाको पुर्‍याइएको थियो भनेर पछिसम्म भनिन्थ्यो। आमाको विवाह हुँदासम्म न्युरोडभन्दा पनि यही बाटो चल्तीमा थियो। त्यतिबेला न्युरोडमा कसैको घरमा धारा थिएन। पानी लिन फसिकेबको सार्वजनिक धारासम्म पुग्नुपथ्र्यो। साँझ एकदमै सुनसान हुने भएकोले पाकोदेखि फेसिकेब (हाल रञ्जना हल) सम्म जान पनि साथी लिएर जानुपर्थ्‍यो।

भूकम्पपछि ‘पुखुलद्याङ’ को पोखरी पुर्ने काम गरियो। र, त्यसमाथि नेपाल बैंकको भवन खडा गरियो। बैंकको भवन बन्नुअघि अवस्थित त्यहाँको पोखरीमा काकाले पनि केही समय खेल्न पाउनुभएको थियो। पोखरी छेउछाउकै ठाउँमा भूगोलपार्क बनाइयो, सरकारी छापाखाना बनाइयो।फराकिलो बाटो र व्यवस्थित भएकोले मानिसहरू भेट्न र जमघट गर्न यस ठाउँलाई रोज्न थाले। २००५ सालमा ‘जनसेवा हल’ बनेपछि यहाँ हल्का घुइँचो पनि हुन थाल्यो। हल बनिसकेपछि हाल ‘फोटो कन्सर्न’ रहेको घरमा मेरा हजुरबाले आफ्नो मिल्ने साथी सानु स्थापित (पूर्वमेयर केशव स्थापितका ठूलो बुबा। स्थापितको कुलघर पनि पाको पुखुलद्याङ नै हो) सँग मिलेर चिया पसल खोल्नुभएको थियो।

यो ठाउँमा हालसम्म उभिइरहेको पीपलबोट कहिलेदेखि यहाँ छ त्यो मेरो हजुरबालाई पनि थाहा छैन। यही पीपलबोट पछि सबैको भेट्ने ‘प्वाइन्ट’ बन्न थाल्यो। सरकारी छापाखाना यहीँ भएकाले त्यस सँगसँगै अरू छापाखाना पनि खुल्न थाले। र, ती छापाखानामा छापिने पत्रपत्रिकाहरू बेच्ने पहिलो ठाउँ पनि पीपलबोट नै बन्न थाल्यो।

मानिसहरू पत्रपत्रिका किन्न, एकआपसमा भेट्न र गफ गर्न यही ठाउँमा जम्मा हुन थाले। यही ठाउँमा भएको भेटका आधारमा कति योजना बने, कति कार्यान्वयन भए, कति नयाँ विचारहरू आए, कति आन्दोलनहरू भए, त्यसको सायद छुट्टै अध्ययन गर्न सकिन्छ। यसरी कुनै बेलाको पाको–पुखुलद्याङ अहिले पूरै नयाँ कलेवरमा यसरी सजिएको छ जसलाई चिन्न पनि अहिले गाह्रो भइसकेको छ।

पुखुलद्याङको पोखरी पुरेर बनाइएको त्यही नेपाल बैंकमा आफ्नो नातिको खाता खोल्न काका अस्ति जानुभएको रहेछ। ‘नातिको अभिभावक आफैं बन्छु’ भनेर काकाले आफ्नो नागरिकताको फोटोकपी पेस गर्नुभयो। बैंक कर्मचारीले उहाँको पुरानो नागरिकतामा लेखिएको जन्मस्थान पढेर सोधेछन्-‘बाजे, यो पाको पुखुलद्याङ भनेको कहाँ पर्छ हँ? मैले त आजसम्म नामै सुनेको छैन।’ साँच्चै, जुन पुखुलद्याङको पोखरीमाथि बैंक उभिएको छ, त्यही बैंकले समेत आज ‘पाको पुखुलद्याङ’ लाई चिन्न छोडिसकेछ !

प्रस्तुती- सुरेश किरण 

सन्दर्भ सामाग्री
अन्नपुर्णपोष्ट, २४ असार २०७४
स्टीभ रिचर्ड ड्वेल, सन् १९६२
रोन र्यान्सन्
The Changing Townscapes of the Kathmandu Valley
Doug Hall