फर्पिङ हाइड्रो, एसियाकै ऐतिहासिक धरोहर

वि.सं १९६४ मा तत्कालीन श्री ३ चन्द्रशमशेर बेलायत यात्रा गरेर फर्किएपछि नेपालमा पनि विद्युत गृह स्थापनाको सोँच बनाए।  बेलायती र नेपाली इन्जिनियरको सहयोगमा इस्टिमेट तयार पारियो नेपालमा विद्युत गृह स्थापनाका लागि । र २० महिनाको अथक प्रयासपछि नेपालमा पहिलोपटक बिजुली बल्यो । काठमाण्डौंबाट झण्डै १२ (कतै १७ किलोमिटर पनि भनिएको पाइन्छ)  किलोमिटर दक्षिणमा पर्ने फर्पिङ क्षेत्रका कुटली खोला सातमुले र शेषनारायण समेत गरी तीन ठाउँको पानीलाई एक ठाउँमा जम्मा गरेर यो विद्युत गृह बनाइएको थियो । राणाहरुले व्यक्तिगत प्रयोजनका लागि यो विद्युत गृह बनाएका थिए तथापी केहि उद्योग कलकारखाना चलाउन यो गृहको बिजुली प्रयोग गरिन्थ्यो ।

फर्पिङ जलविद्युत् गृहको उद्घाटन तत्कालीन राजा श्री ५ पृथ्वी वीरविक्रमले विक्रम संवत् १९६८ साल जेठ ९ गते साँझ ६ः ३० बजे टुँडिखेलमा बिजुलीको स्वीच दबाएर गरेका थिए। यस केन्द्रबाट उत्पादित विद्युत वितरण नियमित गर्न ‘बिजुली अड्डा’को नामले एउटा अड्डा स्थापना गरिएको थियो। जलविद्युत केन्द्रमा उत्पादित विद्युतलाई ११ के.भी वितरण प्रणालीद्वारा काठमाडौं उपत्यकामा आपूर्ती गरिएको थियो ।

फर्पिङ विद्युत गृहबाट उत्पादन भएको बिजुली पहिलो पटक वि.सं १९६८ जेठ ९ गते सोमबारका दिन नारायणहिटी दरबारमा बालिएको थियो । झण्डै ९ लाख ५० जना मानिसले २० महिना १५ दिन काम गरेर फर्पिङ विद्युत गृह बनाइएको थियो । जसका लागि त्यतिबेला ७ लाख १३ हजार २ सय त्रिहत्तर रूपैँया ८२ पैसा खर्च भएको थियो । पानी संकलन गर्ने रिजरभ्वायरबाट करिब ५०० मिटर तल २ वटा विद्युत गृहबाट वर्षायाममा ५ सय किलोवाट र हिउँद याममा ४५० किलोवाट विद्युत उत्पादन हुने हुने गर्थ्यो । यसरी उत्पादन भएको बिजुली काठमाण्डौं उपत्यकाका प्रमुख तीन शहर भक्तपुर ललितपुर र काठमाण्डौंमा पुग्ने गरेको थियो ।

२४ सै घण्टा विद्युत उत्पादन हुने यो गृह अहिले बन्द छ । काठमाण्डौमा खानेपानीको अभावका कारण वि.सं.२०३८ सालमा यो विद्युत गृह बन्द गरी पोखरीमा जम्मा भएको पानी ललितपुरको जाउलाखेल, कुपण्डोल लगायतका क्षेत्रमा वितरण गर्न थालियो । खानेपानीको हाहाकार भएपछि विद्युत गृहका लागि जम्मा गरिएको यो पोखरीको पानी अहिले पिउनको लागि प्रयोग गरिन्छ । विद्युत गृह बन्द भएकाले अहिले खण्डहर जस्तो भएको छ, एसियाकै ऐतिहासिक धरोहर ।

विद्युत गृह बनाउन प्रयोग भएका फलामे पाइपहरु अहिले जिर्ण बन्दै गएका छन् । विद्युत गृहमा रहेका मेसिनहरु केही बिग्रीसकेका छन भने केही अझै चलिरहेका छन् । त्यतिबेला चन्द्रशमशेर निरन्तर फर्पिङ आउने जाने गर्दथे, तत्कलीन प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गर्न लगाएको हुनाले यस केन्द्रबाट उत्पादित बिजुलीलाई ‘श्री चन्द्रज्योति प्रकाश’ भन्ने गरिन्थ्यो । वास्तवमा फर्पिङको विद्युतले नेपालमा विकासको ढोका खोलिदिएको थियो राणा प्रधानमन्त्री र तत्कालिन दरबारको प्रयोजनका लागि नै स्थापना भएकै किन नहोस् फर्पिङको बिजुली त्यतिखेरका उद्योगग धन्दामा पनि प्रयोग गरिन्थ्यो ।

चन्द्रशमशेरले स्थापना गरिदिएको फर्पिङ जलविद्युत गृहले राजधानीबासीलाई लगातार ६० वर्षसम्म उज्याले दियो । तर राजधानीमा खानेपानीको अभावसँगै स्वयं यसको भविष्य अन्धकार भयो ।

वि.संं २०६७ सालबाट नेपाल सरकारले यस विद्युत गृहलाई जीवित संग्राहलयमा रूपान्तरण गरेको छ ।

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू ।
रमेश भुषाल

कोशी नदी, पहिले बिहारको दुःख अहिले पूर्वी नेपालको

बैशाख १३, २०११ आइतबारको दिन भारत सरकार र नेपाल सरकार बीच एक सम्झौता भयो । त्यस सम्झौतामा भारत सरकारका तर्फबाट बिजुली तथा सिँचाइ मन्त्री गुलजारीलाल नन्दा तथा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए । विवादास्पद यो सन्धीलाई “कोशी सम्झौता” को रुपमा लिने गरिन्छ । त्यस बेलाका प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको असक्षमताले यो सम्झौतामा धेरै त्रुटीहरु भएका थिए ।

यसपछि पनि अहिले कोशी उच्च बाँधको लागि भारत लागि परेको छ । साथै यस उच्च बाँधमा पनि नेपाललाई विभिन्न लोभलालच देखाउन थालेको छ । करिब २६९ मीटर अग्लो बनाउने प्रस्ताव गरेको कोशी उच्च बाँधले नेपालले ५.५ लाख हेक्टर जमिनमा सिँचाइ सुबिधा पाउने तथा ३३०० मेगावाट विद्युत उत्पादन हुने भनिएको छ । तर २६९ मीटर अग्लो बाँधले नेपालको कति बस्तीलाई पानी मुनि डुबाइनेछ भन्ने हेक्का भने राख्नसकेका छैनन् ।

हुन त कोशी सम्झौता भन्दा अगाडि राणाकालमा नै भारतले नेपालबाट बाँध सम्बन्धी मौखिक अनुमति लिइसकेको रहेछ । वि.सं. २००२ सालमा नै भारतले चतरामा ७४० फिट अग्लो बाँध बनाउने योजना अगाडि बढाईसकेको रहेछ । कोशीमा ठूलो पोखरी बनाउने र बिहारमा पनि अर्को ठूलो पोखरी बनाएर गंगासम्म डुङ्गा चलाउने योजनाको खाका बुन्दै गरेको रहेछ । तर नेपालको राजनैतिक परिवर्तनको लहरले राणाशासनमा कुनै सम्झौता हुन पाएन ।

सम्झौताको ५ वर्षको विभिन्न अध्ययन र सर्भेपछि २०१६ बैशाख १७ गते राजा महेन्द्र तथा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुबाट संयुक्त रुपमा शिलान्यास भएको ६ वर्ष पछि २०२२ सालको बैशाख १२ गते कोशी बाँध (ब्यारेज) को उद्घाटन भएको थियो । २०११ सालमा भएको सम्झौताको धेरै विरोधहरु हुन थालेपछि सो सम्झौतामा भएका केही त्रुटीहरुलाई सच्याउने भन्दै २०२३ सालको पुस ४ मा अर्को सम्झौतामा भारतका तर्फबाट भारतीय राजदूत श्रीमन नारायण तथा नेपालका तर्फबाट अर्थ सचिव यादवप्रसाद पन्तले हस्ताक्षर गरेका थिए । यहि सम्झौतामा लीज अवधी ९९ वर्ष गर्ने तय गरिएपनि भारतीय पक्षले सम्झौताको कागज टाइपिङ गर्ने समय १९९ नै लेखेर हस्ताक्षर गर्न सफल भएको जीकिर तत्कालिन नहर तथा विद्युत मन्त्रालयका सचिव लक्ष्मण प्रसाद रिमालले धेरैपछि मात्र रहस्योद्घाटन गरेका थिए ।

सन् १७३० देखि १९५० को बीचमा कोशीले आफ्नो बाटो फेर्दै झण्डै ११५ किमी पश्चिम तर्फबाट बहन थालेको थियो । यसरी कोशीले आफ्नो बाटो फेरिरहँदा यसकाे प्रभाव अझ बढि हुन थालेको थियो । कोशी प्रोजेक्ट भारतको पक्षमा गरिएको सम्झौता थियो तर नेपालका राजनैतिक स्वार्थ बोकेकाहरुले सधै नेपाललाई फाइदा भएको भनिरहे । यस बाँधको पूर्ण नियन्त्रण भारतको हुने गर्दछ । यसका ढोकाहरु खोल्ने वा नखोल्ने भन्ने निर्णय बिहार सरकारले गर्ने गर्दछ । यहाँ चौबिसै घण्टा भारतीय केन्द्रीय औद्याैगिक सुरक्षा बलका जवानहरुले सुरक्षा गर्ने गर्दछन् । बाँधको ढोका बन्द भई नेपाल तर्फ क्षति हुँदा समेत भारतीय पक्षले यी ढोका खोल्नमा ढिलाई गर्ने गर्दछ । तर पनि नेपालले चुपचाप सहनु परेको छ । सम्झौता अनुरुप नेपाल सरकारलाई कोशी बाँध सुम्पने समय कोशीले बाटो फेरिसकेको पनि हुन सक्छ । जहाँ बाँध बनाइएको छ त्यहाँ भविष्यमा कोशी नबहन पनि सक्छ ।

५६ वटा ढोका राखिएको ११४९ मीटर लामो तथा १० मीटर चौडाइको यो बाँध बन्नु अगाडि कोशी नदीलाई बिहारको दुःखको रुपमा लिइन्थ्यो भने यो बाँध बनेपछि कोशी नदी पूर्वी नेपालको दुःख बनेको छ । यो बाँध पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्दछ ।

कोशी ब्यारेज निर्माण हुँदै गरेको भिडियो हेर्नुहोस्

प्रस्तुती सुनिल उलक

सन्दर्भ सामाग्री
डउग हल