धेरै रुखका काठबाट बन्यो काष्ठमण्डप

एउटै रुखको काठबाट काष्ठमण्डप बनेको किंवदन्ती परिवर्तन गर्दै काष्ठमण्डप फेरि तयार भएको छ । भूकम्पअघिको संरचनामा प्रयोग गरिएका काठ पाँचौँ शताब्दीका थिए तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको हो ।

वि.सं. २०७२ वैशाखको भूकम्पले भत्काइदिएको काष्ठमण्डप पुनर्निर्माणमा देशका विभिन्न जङ्गलबाट ल्याइएका काठ प्रयोग गरिएको छ । त्यसैले गर्दा अब एउटै रुखको काठबाट बनेको भन्न नमिल्ने भएको हो ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्षसमेत रहनुभएका बागमती प्रदेशका सांसद राजेश शाक्यले भन्नुभयो, “ठूला आकारका थाम चाहिने भएकाले महोत्तरीदेखि कञ्चनपुरसम्मका जङ्गलबाट काठ ल्याइएको छ ।” बीचमा रहेका चारवटा बडेमानका थाममध्ये एउटा पुरानो प्रयोगमा ल्याइएको छ भने बाँकी तीनवटा नयाँ बनाइएको छ । चार सय केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा महोत्तरी र रौतहटको जङ्गलमा कटान गरिएका रुख ल्याइएका थिए । त्यस्तै अमलेखगञ्जमा पेट्रोलियम पाइप लाइन विस्तारका क्रममा काटिएका रुख पनि ल्याइएका थिए । कञ्चनपुरको शुक्ला फाँटा राष्ट्रिय निकुञ्जबाट पनि काठ ल्याइएको छ । सालका ती काठ नेपाल वन निगममार्फत खरिद गरिएको हो ।

“पहिलेका काठ मुस्किलले पाँच प्रतिशत मात्र प्रयोगमा आइसके,” उहाँले भन्नुभयो, “पुराना काठ पुरातìव विभागलाई हस्तान्तरण गर्ने छौँ ।” पुराना काठको नमुना परीक्षणका लागि बेलायत पठाइएको थियो । परीक्षणबाट काष्ठमण्डपमा प्रयोग गरिएका काठ एक हजार वर्ष पुराना रहेको प्रमाणित भएको थियो । परीक्षणबाट अन्य काठ सालकै भएको पत्ता लागे पनि मेथ (थामको शिरानमा प्रयोग हुने काठ)को प्रजाति पत्ता लाग्न सकेन ।

पुरातìव विभागका प्रवक्ता रामबहादुर कुँवरले एउटै काठबाट काष्ठमण्डप निर्माण भएको किंवदन्ती मात्र रहेको तर एउटै काठबाट निर्माण सम्भव नभएको तर्क गर्नुभयो । किंवदन्तीअनुसार काष्ठमण्डप निर्माण गर्दा बचेको काठ भेडासिङमा राखिएको र त्यसको टुप्पा असनसम्म थियो भनिन्छ । त्यही बचेको काठको फेदमा दाँत दुःखेकाहरूले किला ठोक्ने गरेका थिए र हाल त्यहाँ किला ठोक्न बन्द गरिएको छ ।

पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटा, तामालगायत सामग्री नयाँ प्रयोग गरिएको छ । काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको छ । चर्किएको मूर्ति प्रयोग गर्न नहुने मान्यताका कारण नयाँ मूर्ति निर्माण गरिएको हो र नयाँ मूर्ति पाटनका कलाकार नरेश महर्जनले निर्माण गर्नुभएको छ । पुरानो मूर्ति हनुमानढोका दरबार हेरचाह अड्डामा सुरक्षित राखिएको छ ।
काष्ठमण्डपभित्र रहेका दुईवटा काठका भ-याङमध्ये एउटा नयाँ निर्माण गरिएको छ भने अर्काे पुरानै प्रयोगमा ल्याइएको छ । धरहरा निर्माणका क्रममा खनेको, कालीमाटी र ताहाचलबाट माटो ल्याइएको छ । पुनर्निर्माणका क्रममा ढुङ्गा, तेलिया इँटा र झिँगटी इँटा भक्तपुरबाट ल्याइएको छ । तेलिया इँटा भुइँमा र झिँगटी इँटा छानामा प्रयोग गरिएको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष शाक्यले काष्ठमण्डप पहिलो पटक २०७२ सालको भूकम्पमा ढलेको बताउँदै थप्नुभयो, “समय समयमा मर्मत सम्भार गरिएको भए भूकम्पमा ढल्ने थिएन । अब बनेको काष्ठमण्डप धेरै गुणा सबल छ । सातौँ शताब्दीको प्रविधि प्रयोग गरिए पनि गारोमा थप थाम राखिएकाले अझ बलियो बनेको छ ।” उहाँले पुनर्निर्माण कार्यमा करिब साढे ११ करोड रुपियाँ खर्च भएको बताउनुभयो ।

सन्दर्भ सामाग्री

प्रकृति अधिकारी
गोरखापत्र अनलाइन
नेपाल भाषा अनलाइन्
टोड र्याग्स्डेल
ABOUT OUTDOORS
Manfred Sommer
Henry Ambrose Oldfield

आज विश्व शौचालय दिवस, शाैचालय नभएको त्यो भव्य सेतो दरबार

उसबेला निकै ठूलो धनराशी खर्चेर निर्माण गरिएको सेतो दरबारमा शौचालय बनाउन भने विर्सिएको तथ्यहरु खुलेका छन् । बैठक कक्षको साजसज्जाका लागी मात्र एक करोड रुपैया खर्चिएको उक्त दरबारमा शौचालय नभएको रहस्य १ सय २५ वर्ष पछि मात्र खुलेको थियो ।
राणा प्रधानमन्त्री वीरशमसेरले बनाउन लगाएको उक्त दरबारलाई महंगो भएका कारण चन्द्रशमशेरले किन्न नसकेको इतिहासमा उल्लेख छ । तत्कालिन अवस्थामा दरबार भित्र शौचालय राख्ने प्रचलन नै नभएकाले नराखिएको बताइन्छ । लाल दरबार र सेतो दरबार किन्न हौसिएका चन्द्रशमशेरले सिंहदरबार बनाएका थिए । ती विशाल दरबारमा पनि शौचालय थिएन ।

त्यतिमात्र नभई राणा शासनका अवधिमा ४० भन्दा बढी दरबार तथा महलहरु बनाइए पनि शौचालय थिएनन भनेर इतिहासमा पढ्न पाइन्छ । विगतमा शौचालय बनाउने प्रचलन नभएकाले दरबार भित्रै छुट्टै कोठा हुने गरेको त्यहीं शौच गर्ने प्रचलन रहेको थियो ।

शौचालय नभएकाले छुट्टै कोठामा राखिएको ढलौटको कोपरामा शौच गर्ने चलन रहेको र त्यसलाई सुसारेहरुले खाल्डोमा लगेर फ्यांक्ने गरेको इतिहासकारहरुले आफ्नो लेखहरुमा उल्लेख गरेका छन् ।

पछि मुख्तियार रुद्रशमशेर बेलायत गएका बेला शौचालय देखेकाले चारबुर्जा दरबार भित्र शौचालय बनाएका थिए । शौचका लागी छुट्टाइएको कोठा भित्र महिलाहरु पनि रहन्थे । उनीहरुले दिसा–पिसाब फयादिने गरेका थिए । वीरशमशेरको निधनपछि उनका जेठा छोरा गेहेन्द्रशमशेर बेलायतबाट फर्केपछि सेतो दरबारमा सेतो दरबारमा शौचालय बनाएका थिए ।

दरबारमा नुहाउनका लागी भने छुट्टै कोठा हुने गरेको र ठूलो गाग्रीमा राखिएको पानीलाई करुवाले उगाएर नुहाउने गरिन्थ्यो । २००७ साल पछि सरकारका स्वामित्वमा आएका दरबारहरुमा पछिमात्र शौचालय निर्माण भएको बताइन्छ ।

सन्दर्भ सामाग्री
इमेजखबरडटकम
मदन पुरस्कार पुस्तकालय