मलखादका लागि लाम

कृषिप्रधान मुलुक नेपालका किसानहरूले वर्षेनी मलखादको चर्को अभाव झेल्दै आइरहेका छन् । सहज रूपमा रसायनिक मल व्यवस्थापन गर्न नसक्दा किसानहरू मलको आवश्यकता परेका बखत हैरानी खेप्न बाध्य भइरहेका छन् ।

नेपालमा उच्च गुणस्तरको एवं उन्नत कृषि सामग्रीहरु (मल, बीउ, कृषि रसायन र उपकरण) को आयात र सर्वसुलभ मूल्यमा देशभरी बिक्री वितरणको लागि सार्वजनिक क्षेत्रको संस्थाको रुपमा वि.सं. २०२२ मा कृषि सामग्री संस्थानको स्थापना भएको थियो ।

शुरुमा कृषि सप्लाई संस्थानको रुपमा परिचित यस संस्थालाई पछि खाद्य व्यवस्था समितिमा गाभेर कृषि खरिद बिक्री संस्थानको नाम दिइयो । दुई वर्षसम्म यो संस्थाले कृषि सामग्री र खाद्यान्न दुवै वस्तुको कारोबार गर्‍यो । पछि वि.सं. २०३१ मा सरकारले यस संस्थालाई विभाजन गरेर कृषि सामग्रीहरुको व्यवस्थापन गर्न कृषि सामग्री संस्थान र खाद्यान्नको कारोबार गर्न नेपाल खाद्य संस्थान दुई वटा बेग्ला बेग्लै संस्थान खडा गरिए । वि.सं. २०५९ बैशाख २५ मा सरकारले कृषि सामग्री संस्थानलाई कम्पनी ऐन वि.सं. २०५३ अन्तर्गत सरकारको पूर्ण स्वामित्व रहने गरी कृषि सामग्री कम्पनी र राष्ट्रिय बीउ विजन कम्पनीमा रुपान्तरण गर्‍यो । कृषि सामग्री कम्पनीलाई रसायनिक मल खरिद गरी राष्ट्रभर विक्री वितरण गर्ने जिम्मा दिइयो । नेपालमा रासायनिक मलको आफ्नै उत्पादन नभएकोले यसले सम्पूर्ण मल आपूर्ति,आयात गरेरै पूरा गर्ने गरेको छ ।
हाल कृषि सामग्री कम्पनी लि.को पूर्ण स्वामित्व नेपाल सरकारमा रहेको भएतापनि निकट भविष्यमै नीजि तथा सहकारी क्षेत्रलाई समेत सहभागी गराएर यसलाई संचालन गर्ने मनसाय सरकारले राखेको छ ।

कृषि खरिद बिक्री संस्थानको घुम्ती सेवा केन्द्रमा मलखाद खरिद गर्नका लागि लामबद्ध महिला तथा पुरूषहरूको भीड, वि.सं. २०२९, काठमाण्डाै ।

पुस १ गते, राष्ट्रिय झण्डा दिवस

वि.सं. २०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले २०७५ पुष १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ ।

विसं २०१९ पूर्व नेपालको झण्डामा एकरूपता थिएन। झण्डाको स्वरूप भने यस्तै थियो। तर, मानिसहरू मनलाग्दी ढङ्गले झन्डा बनाउँथे। सरकारी कार्यालयमै पनि फरक-फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे। लम्बाइ, चौडाइ र उचाइमा पनि एकरूपता थिएन। त्यतिबेलासम्म यो झण्डालाई संवैधानिक मान्यता थिएन तर व्यवहारमा भने यही झण्डा राष्ट्रिय झण्डाको रूपमा प्रयोग भइरहेको थियो।

वि.सं २०१९ सालमा संविधान मस्यौदा समिति बन्यो। त्यस संविधानको अनुसूचीमा उल्लेख गर्नका लागि यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ।

चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखिएको थियो। त्यसैले पनि नेपालको झण्डा अद्वितीय खालको छ। यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ।

यसको मानक तयार गर्ने क्रममा यी सबै कुरामा ज्यादै सूक्ष्म ढङ्गले विचार पुर्‍याइएको थियो।

नेपालको राष्ट्रिय झण्डामा दुई चुच्चो र तीन कुना हुनुले नेपाल हिमाल, पहाड र तराई भूमीको देश भएको जनाउने संस्कृतिविद् हरिराम जोशी बताउँछन्। जोशीका अनुसार लिच्छविकालीन अंशुवर्माको मुद्रामा पनि दुई पताकासहितको नेपालको झण्डा अंकित छ। यी मुद्रामा सिंहले झण्डा समातेको देखिन्छ। शक्ति र स्वाभिमानको प्रतीक सिंहले झण्डालाई अभिवादन गरेको आकृति मानदेवकालीन मुद्रामा समेत भेटिएको छ। ‘राजनीतिक व्यवस्था परिवर्तन भए तर प्राचीन नेपालको झण्डालाई प्रत्येक शासन व्यवस्थाले अपनाएको छ,’ जोशी भन्छन् ।

नेपाली झण्डामा चन्द्र माथि र सूर्य तल छ। चन्द्रलाई मन र बुद्धिको प्रतीक मानिन्छ भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधिनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने मान्यता बुद्धिजिविहरुले राख्दै आएका छन्। हरिमाम जोशीको यसमा आफ्नै तर्क छ। चन्द्र शान्तिको प्रतीक हो भने सूर्य अर्थ परिवर्तनको सूचक भएको उनी मान्छन्। जोशी भन्छन्, ‘देशमा शान्ति स्थापनापछि नै सामाजिक, राजनीतिक र आर्थिक समृद्धि आउने भएकाले सूर्य तल्लो कोणमा राखिएको हो।’

चन्द्र सूर्य अंकित झण्डा शाहवंशले सुरु गरेको भन्दै यसलाई परिवर्तन गर्ने प्रयास पटक–पटक भए। विभिन्न अभिलेखहरूका आधारमा त्रिकोणात्मक आकारको नेपालको झण्डा १३ सय वर्ष पुरानो हो। नेपालको झण्डा अन्य देशकोभन्दा पृथक छ। विश्वभर चार कुने झण्डा प्रचलनमा छ। नेपालको झण्डामात्र तीन कुने छ।

वि सं. २०१९ मा इन्जिनियर शंकरनाथ रिमालले हालको झण्डा नक्साङ्कन गरेका थिए। झण्डाको स्वरुप उही थियो । ०१९ मा संवैधानिक मास्यौदा समिति बनेपछि झण्डाको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितिय सूत्रको प्रयोग भयो। जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो ३, ४ र ५ को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भन्ने गरिएको इन्जिनियर रिमाल बताउँछन्।