नवयुवराज त्रिभुवन जन्मिँदा एक लाख १० हजार ५३६ रुपियाँको दोसल्ला किनियो…

तत्कालीन युवराज महेन्द्रकी रानी इन्द्रराज्यलक्ष्मीको गर्भमा बच्चा अडिनै सकेन । यस कुराले दरबार तनावमा थियो । एकै लगनमा दुई वटी रानी भित्र्याउने परम्परा राजा त्रिभुवनसम्म कायम थियो । महेन्द्रले पनि त्यो परम्परालाई निरन्तरता दिएको भए अर्की रानीबाट शाहज्यादा पैदा हुन पनि सक्थे– अनुमानको कुरा । ऊबेला नामुद कविराज थिए शिवनाथ रिमाल । शाही वैद्य । राजा त्रिभुवनले आफ्नी बुहारीको समस्या राजवैद्यका सामु राख्न चाहे । कविराजलाई बोलाएर त्रिभुवनले एकान्तमा फेहरिस्त अगाडि सारे– मेरी बुहारीको छोरीपछि बच्चा अडिन गाह्रो भयो । केही उपाय होला ?

इन्जिनियर शङ्करनाथ रिमालका बाजे थिए शिवनाथ । बाजेबाट सुनेका त्यो घटनाका बारेमा शङ्करनाथ स्मरण गर्नुहुन्छ, “बाजेले ‘सरकार, छिप्पिएर गन्ध आउने बोकालाई काटेर एउटा बडेमानको कराहीमा राख्ने र त्यसलाई घ्युमा बेसकन पकाएर सेवनपछि बच्चा नअडिने समस्या रहँदैन’ भन्नुभएछ ।” हर्लिक्सका थुप्रै सिसीमा भरेर दरबारले कविराजका घरमा घ्यु पठायो । कविराज शिवनाथले नै कराहीमा त्यो ओखती पकाए । त्यसको गन्ध निकै फैलियो, जसले गर्दा ओखती पकाइएको कोठामा धेरै दिनसम्म कोही पनि टिक्न सकेनन् । नातिहरूलाई पनि कविराजले पकाएको ओखती एक चम्चा चाख्न दिए । अहँ, कसैले पनि पूरै खान सकेनन् । घ्युका सिसी थुप्रै बचेका थिए । दरबारले ‘फिर्ता ल्याउनुपर्दैन’ भनेपछि कविराजका नातिनातिनाले त्यो घ्यु खाएर सके ।

उता इन्द्रराज्यलक्ष्मीले पनि कहाँ त्यो ओखती खान सक्थिन् र ? महेन्द्रले भातमा मुछेर खान सकिन्छ कि सकिँदैन भनेर जिज्ञाशा राखे । कविराजले सकिने जवाफ दिए । इन्द्रराज्यलक्ष्मीले भातमा मुछेर बल्लतल्ल ओखती खान सकिन् । “बल्ल त्यो औषधिको प्रभावले वीरेन्द्र गर्भमा रहे” शङ्करनाथले त्यो प्रसङ्ग स्मरण गर्नुभयो ।


राजा पृथ्वीवीरविक्रम साँहिली र कान्छी महारानीका साथ 

राजा पृथ्वीवीरविक्रमका रानी थिए– रत्नदिव्यश्वरी र लक्ष्मीदिव्यश्वरी । वीरशमशेर राजनीतिका कुशल खेलाडी थिए । उनी चाहन्थे नेपालको भावी राजा आफ्ना छोरीका सन्तानबाट हुन् । त्यसैले पृथ्वीवीरविक्रमसँग आफ्ना दुई छोरी कीर्तिदिव्यश्वरी र दुर्गादिव्यश्वरीसँग बिहे गराइदिए । कीर्ति र दुर्गा बने पृथ्वीका साहिँली र कान्छी महारानी । आरोप लगाउनेहरूले त वीरशमशेरले पृथ्वीलाई रत्न र लक्ष्मीदिव्यश्वरीबाट टाढा राख्न खोज्थे भनेर भनेका पनि छन् । त्यो आरोपमा त्यति सत्यता देखिँदैन ।

राणाजीका बिहे

वीरशमशेरले सोचेको जस्तो भएन । पृथ्वीकी माहिली रानी लक्ष्मीदिव्यश्वरीबाट शाहज्यादा त्रिभुवन जन्मिए । पुरुषोत्तमशमशेरले पृथ्वीबाट शाहाज्यादा पैदा नभएमा गोर्खाका माहिला साहेबजी नरेन्द्रविक्रमका जेठा छोरा रेतेन्द्रविक्रम (जुनाराजा)लाई राजसिंहासनमा राख्नुपर्छ भनेर श्री ३ महाराज चन्द्रशमशेरले भनेको कुरा लेखेका छन् । युवराज जन्मिँदा देशले हर्षबढाइँ गर्यो तर जुनाराजाका परिवारले शोक मनाए भन्ने पुरुषोत्तमशमशेरको दाबी छ ।

ऊबेला बडामहारानीको गर्भाधानदेखि जन्मिएका सन्तानको न्वारनसम्मका कामका खातिर तहबिलबाट खर्च गरिन्थ्यो । ११५ वर्षअघि अर्थात् १९६३ सालको प्रसङ्ग हो । गर्भाधानका लागि एक हजार रुपियाँ र प्रसूतिका लागि एक हजार रुपियाँ उपलब्ध गराउने कुरा १९५२ साल भाद्र सुदी १२ रोज १ का पूर्जीमै ठेकिएकोले ‘मसला ज्यूनार’ गर्नका लागि शाहज्यादा त्रिभुवन गर्भमा रहेपछि बडामहारानी लक्ष्मीदिव्यश्वरीले दुई हजार रुपियाँ पाइन् । बच्चादानीमा भ्रुण रहेपछि ‘ग्रहको दानके’ भनेर राज्यकोषबाट चार सय रुपियाँ खर्च गरियो । राष्ट्रिय अभिलेखालयमा रहेको ‘श्री ५ शाहज्यादा पैदा भैबक्सदाको किताब’काअनुसार दिव्यश्वरीलक्ष्मी ‘गर्भाधान होइबक्सदा’ बिग्रेका ग्रहको तुलादान गर्न ९९७।७ खर्च गरिएको थियो ।

‘पैदा भयाका दिन’ राज्यबाट पनि ठूलै खर्च गरिए । राजसन्तान जन्मिएपछि राज्यकोषबाटै श्री ३ महाराजका तर्फबाट बाक्ला वा पातला असर्फी चढाइन्थे । त्रिभुवन जन्मिएका बखत ‘मुहार नजर’ हुँदा श्री ३ का तर्फबाट पृथ्वीवीरविक्रम, शाहज्यादा, मुमा बडामहारानी र माहिला मुमाबडामहारानीका ‘हजुरमा’ ११५ रुपियाँको चार थान बाक्ला असर्फी राखिए । स्नान गराएवापत श्री ३ महाराजले श्री ५ महाराजाधिराजलाई एक हजार रुपियाँ बराबरको थप बाक्ला असर्फी दिए । शाहज्यादा जन्मिएपछि राज्यका तर्फबाट ‘प्राइमिनिस्टर याण्ड श्री ३ महाराज’का पत्नीले पनि बाक्ला असर्फी दिने पदीय हैसियत राख्थिन् । उनले २० थान असर्फी दिइन् ।

राजसन्तान जन्मिँदाका बखत विपन्नले पनि दान पाउँथे । गरिबगुरुवाहरूलाई ‘बाड्नाके’ भनेर एक हजार रुपियाँ खर्च गरिन्थे । गुरु पुरोहित, लम्बरी पण्डितलाई, पुरोहितमार्फत हुने जातकर्मको कामलाई, नाल छेदन गर्नलाई रकम दरबारमा जान्थ्यो । प्रसूतिका लागि आवश्यक ओछ्यान र पोसाक राज्यका तर्फबाट ठेकिन्थ्यो ।
‘प्रसुतीको बिछौना पोसाक तयार गर्नाके’ शीर्षकमा माहिली बडामहारानी (त्रिभुवनकी माता)का लागि कम्पनी रुपियाँ १८ र मोहरु एक हजार १२९ रुपियाँ खर्च गरियो । शाहज्यादा त्रिभुवनलाई चदुवासमेतको झुल चार वटा खरिद गरिए र त्यसका लागि ४५८ रुपियाँ ७४ पैसा खर्च भएको थियो । पूर्जीअनुसार छैटीका लागि राजारानीलाई २० हजार रुपियाँ दिइन्थ्यो । राजा, रानी र राजमाताले सो रकम पाउँथे । चौसल्लाका लागि पनि राज्यबाट खर्च गरिन्थ्यो । छैटीमा गुरु पुरोहित र लम्बरी पण्डितबाहेक धाइ, सुढेनी र मुजुरा गर्ने जवानले बकस पाउँथे ।

विशेष अवसरमा भारदारलाई शिरदेखि पाउसम्मको दोसल्ला बाँड्ने चलन हुन्थ्यो । दोसल्लाको दरबन्दी बेलाबखत परिवर्तन भइरहन्थ्यो । त्रिभुवन जन्मिँदाका बखत राज्यले दोसल्लाका लागि एक लाख १० हजार ५३६ रुपियाँ खर्च गर्नुपरेको थियो । कम्यान्डर–इन–चिफलाई छ हजार ९२ रुपियाँको, चार जना जनरल कम्यान्डिङलाई तीन हजार १९० रुपियाँका दरका र बडागुरुज्युलाई दुई हजार ७३ रुपियाँको दोसल्ला बाँडिएको थियो । नायब बडागुरुज्यू तर्कराज, गुरुराज हेमराज, हेरम्बराज, हेमराजकी ब्राह्मणी, गुरु पुरोहित प्रयागराज र खजाञ्ची जनकराजले पनि दोसल्ला पाए । उच्च सैनिक अधिकृतदेखि चौतरिया र साहेबज्यू, जाजरकोटी र सल्यानी राजा, बलेटमहाराज (त्रैलोक्य)का छोराहरू, दरबार स्कुलका प्रिन्सिपल, सरदार, मिरसुब्बा, नाइके, कप्तान, राजवैद्य, संस्कृत पाठशालाका हेडपण्डित, ब्यान्डमास्टर लगायतले दर्जाअनुसार एक सयदेखि पाँच सय रुपियाँसम्मका दोसल्ला पाए । लैन (बृटिस रेसिडेन्ट) का मीरमुन्सीलाई प्रतिजोर एक सय कम्पनी रुपियाँका दरका दुई जोर दोसल्ला पठाइए ।

राजाले बुबुधाइ, छरी, सुवेदार, नाइके, दरोगा, चोपदार, सुजिकार, सुवेदार, कटुवाल आदिलाई तथा राजमाता र रानीले धाइ, छारे, सुसारे, बैठके, भान्सा सुसारे, नैनी, धोबी नाइके आदिलाई भोजभाग दिन्थे । शाहज्यादा जन्मिँदा शाहज्यादी, मैयाँ साहेब, सल्यानी महारानी, बझाङ्गी महारानी, गोरखपुरी महारानी आदि नातेदारलाई पनि भाग पुर्याइन्थ्यो । जङ्गीतर्फ चाँदीका तोडा लगाउने ऐटन सुवेदारदेखि बनादारतक र समरजङ्ग पुलिससमेतले भोजभाग पाउँथे । त्यो बेला २६८ जना सुवेदारले एक रुपियाँका दरले र आठ हजार ७३७ जवानले ७२ पैसाका दरले भोजभाग पाएका थिए । निजामतीतर्फ सुनका तोडा लगाउने १९७ जनाले करिब डेढ रुपियाँका दरले भोजभाग पाए ।

१९६१ सालमा राजसन्तानका लागि भाँडा बनाउन १३ हजार आठ सय चाँदी र ६०६ तोला सुन राज्यले व्यहोर्नुपरेको थियो । शिशुका लागि चम्चा, थाल, कटौरा, गिलास र रिकापी खरिद राज्यले गरेको थियो । रक्षामाला र कडा बनाउन ११ हजार ७८ कम्पनी रुपियाँ खर्चिएको थियो । त्यो साल प्रसवन, ग्रहदान, मसला ज्यूनार, तुलादान, प्रसूति बिछौना शीर्षकमा एक लाख ९१ हजार ६७७ रुपियाँ राज्यकोषबाट खर्च भएको देखिन्छ ।
साहिँला बडामहारानीले शाहज्यादीलाई जन्म दिइन् । ‘जातजातका फलफूल खरिद गरी बाहुलीमा छुवाइ बाँड्नाका लागि’ ४० रुपियाँ खर्च गरियो । गाथमा आराम नहुँदा देवदेवतालाई भेटीवापत १३५ रुपियाँ राज्यले खर्चमात्र गरेन नाल छेदनका लागि १०१ रुपियाँ र घ्युमह ज्युनारका लागि दुई रुपियाँ पनि खर्च गरेकै थियो । उत्तर कमान्डिङ जनरल जीतशमशेर जबराका रानीले शाहज्यादीलाई काखमा लिँदा सुनौला तासका लागि पाँच सय रुपियाँ सरकारी खर्च भएको थियो । कान्छा शाहज्यादीको अन्नप्रासनमा १९५९ साल वैशाख सुदी ७ रोज ४ का पूर्जीबमोजिम ‘गुरुपुरोहितमार्फत काम कामके निजमार्फत खर्च’ भनेर लेखिएको लिखत–

 

“श्री ५ माहिला बडामहारानीका हजुर दाखिल गर्ने सुनका माल चादिका माल तयार गराउनाके हिरामा निक मोति पन्ना जडाउ गहना रक्षामाला छाता लठ्ठी लगन हेराउके फलफूल भेटी घडि पूजाके भेटी पोसाक विछौना कसनतमनका भाडा सगुनका सराजाम लगनको पोशाक सर्कार सर्कारबाट अन्न प्रासन गाइबक्सनाके गुरु प्रोहित ऐनी पण्डित जुवाइ भान्जा भान्जी गैह्रके दक्षिण देवदेवताके भेटी सवारी बताउने बेलामा पालकीमा सायेत गरी बक्तनाके लगन दानके गणेशका पूजा भेटी निम्तो देनाके निम्तोमा सामेल भयाकालाई अक्षर पान देनाके डोलेहरुके भोजके सुढेनीके सिरोपाउ वक्त पात गासनेहरुके दस्तुर बढाइ गर्याको बादसाही बाजा नगरा पन्चबाजा गुजराती बाजा बजाउने हनुमन्ते हुनेके ढोकामा चौकि गन्र्या छाडी अन्न प्रासनका दिन सामेल भयाका भारादार अफिसर पगरीहरुके भाग अन्न प्रासनका दिन सामेल भयाका कथक बाजा समेत गैह्र कामको हजुर दाखिल गर्ने . …………६२३८।–”

शाहज्यादा वा शाहज्यादी जन्मँदा पोत मिन्हा दिने चलन थियो । पाटन, काठमाडौँ वा भादगाँउका पोता तहसिलका हाकिम कारिन्दालाई पूर्जी जान्थ्यो । शाहजादा फलानो पैदा भैबक्सदा उत्सवका दिन फलानो पोता बन्दोबस्त लगत खडा नगरेसम्म साविकबमोजिम फलानो सालसम्म लगत कसियामध्ये बाँकी रह्याका पोताको लगत खडा गरी माफी गरिएको भन्ने जनाउ पूर्जी पोतमा चलान गरिन्थे ।

श्री ३ बाट पकज (भाइ) लाई शाहज्यादीको अन्नप्रासनमा चाहिने घोडा नारायणहिटी दरबारमा छ छैन बुझ्ने र नभएमा सिंहदरबारको अस्तवलखानाबाट घोडा र पाल्की बोक्ने डोलेजी १२ जनालाई लुगा लगाएर खटाउनू भनी २००३ सालमा पूर्जी जारी भएको देखिन्छ । यस्तै व्यहोराको एउटा पत्र– “श्री भाइ पकजके शुभासीष उप्रान्त श्री ५ कान्छा साहज्यादाका श्री ५ साहज्यादीको अन्न प्रासन मार्ग १९ गते ४ का दिन निमन्त्रणा जाने ४ कम्यान्डीङ निमन्त्रणा बमोजिम आउने भयाको हुनाले निमन्त्रणा नजाने १७ भाइमा कर्णेलसम्मलाई आफू खुशी लुगा कल्की पगरी लगाइ र श्री भाइ कज हरि राणा शमशेर श्री नानी मेज सुवर्णशमशेर मेज सत्यशमशेर भाइ कज तेजशमशेरका नातीहरु समेत सामेत गराउनु भन्ने श्री ३ महाराज दाजैज्यूबाट हुकुम बक्सेको हुनाले हुकुम बक्से बमोजिम गर्न लगाउने काम गर । सम्वत् २००३ साल मार्ग १६ गते रोज १ शुभम् ।”

२००० साल असार ९ गते कान्छा शाहज्यादीको अन्नप्रासन थियो । असार ३ गते एक छापे पूर्जी जारी गरियो । ‘पुलिसलाई पनि भोज भाग दिनू’ भन्ने निकासा थियो । अन्नप्रासनका लागि चाहिने माल चार जना महाजन राखी घटाघट गरी सबैभन्दा किफायत दरमा लिने व्यवस्था गरियो । नुनदेखि सुनसम्म घटाघट गरी खरिद गरिएका फेहरिस्तलाई कुमारीचोक अड्डाका मोठमा अहिले पनि पढ्न पाइन्छ ।

छैटीका दिन दण्ड, कैद, वर्ष जरिवाना मिन्हा दिने चलन पनि हुन्थ्यो । त्रिभुवन जन्मिदा ‘पैदा हुने अघिल्ला दिन ५० र छैटीका दिन ६७ कैदीलाई बाँकी कैद माफी गरी छाडेको’ विवरण ‘श्री ५ शाहज्यादा पैदा भैबक्सदाको किताब’मा उल्लेख छ । अदालत तहसिल फौजदारीका हाकिमका नाममा पूर्जी जान्थ्यो । महेन्द्रको छैटी हुँदाको आदेश, “तपसीलका मानिसहरुलाई तपसील बमोजिम लागेको दण्ड जरिवाना कैद समेतमा मानिस फेला नपरी जायेजात भै उपर नभयाको बाँकी जम्मा ६६५३।– कैद वर्ष १५१ श्री ५ युवराजधिराजका छैटी हुनासाथ माफी बक्सेको हुनाले तपसीलका मानिसहरुलाई तपसील बमोजिम लागेको दण्ड जरिवाना कैद समेत जनाइ लगत काटिदिनु । यस बमोजिम लगत काटेमा वही बुझ्दा पक्राउ हुनेछैन ।”

मुल तस्बिरमा राजा पृथ्वीविक्रम को परिवार 

– प्रकृति अधिकारी
सन्दर्भ सामाग्री

गोरखापत्र अनलाइन
मदन पुरस्कार पुस्तकालय
Johannes Bornmann
Photo Museum Nepal

चन्द्रागिरिमा राख्न बनाइएको पृथ्वीनारायण शाहको सालिक सिंहदरबार अगाडि राखियो…

तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय थियो, “चन्द्रागिरिमा राख्ने । ” पछि कसैको आदेशले निर्णय नै परिवर्तन गरियो र सालिकलाई ल्याएर सिंहदरबारको मूल ढोका अघिल्तिर ठड्याइयो ।

पृथ्वी जयन्ती मूल समारोह समितिको कार्यालय थियो– घण्टाघरतर्फको त्रिचन्द्र कलेजमा । समितिका पदाधिकारीमा मुख्य चौतरिया फत्तेजङ्ग पराक्रम शाह, फिल्ड मार्सल केशरशमशेर जबरा, सर्दार नरेन्द्रमणि आदि, साहित्यकार बालकृष्ण समलगायत रहनुभएको थियो । छ दशकअघि समितिको त्यो बैठकको स्मरण गर्दै इन्जिनियर शङ्करनाथ रिमालले भन्नुभयो, “पृथ्वीनारायणको सालिक राख्ने निर्णय भयो । मलाई सालिक राख्नका लागि स्मारकको डिजाइन गर्न जिम्मा दिइयो । ” सालिकको डिजाइन गर्ने जिम्मा बालकृष्ण समले पाउनुभयो भने सालिक निर्माण गर्ने जिम्मेवारी कलाकार अमर चित्रकारलाई दिइयो ।
इन्जिनियर रिमालले सुरुमा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट उपत्यका देखेको र चन्द्रागिरिमा स्मारक राख्दा हिमाल, पहाड र तराई देख्न सकिने सोचले चन्द्रागिरिमा निर्माण गर्नका लागि स्मारकको नमुना तयार गर्नुभयो ।

त्यस स्थानलाई चन्द्रजस्तो आकार भएको पहाड (गिरि) भएकाले परम्परादेखि नै चन्द्रागिरि भनिँदै आएको थियो । स्मारक निर्माण गरी सालिक राखिएको भए त्यो बेला नै चन्द्रागिरिलाई पर्यटकीय स्थलका रूपमा विकास गरिएको हुन्थ्यो । हाल चन्द्रागिरि हिल्सले भालेश्वर नजिक पृथ्वीनारायणको सालिक राखेको छ ।
“स्मारक निर्माण गरी सालिक राख्ने कुरा धेरै वर्षसम्म चलिरह्यो”, उहाँले भन्नुभयो, “त्यसबीचमा राजा महेन्द्रलाई हृदयाघात पनि भयो । पछि पृथ्वी जयन्ती समारोह समितिका पदाधिकारीहरू पनि कताकता पुगे । सालिक बन्यो र खै कसको आदेशमा सिंहदरबारअगाडि राख्ने निर्णय भयो । ”
सालिक राख्नुअघिसम्म सो स्थान खाली थियो । राणाकालसम्म पुतलीसडकतर्फको बाटो होचो थियो । त्यहाँ ‘बाइपास’ थियो । भद्रकालीदेखि सिंहदरबारतर्फ टुकुचामा फलामे पुल थियो । दुवैतर्फ अग्ला इँटका पर्खाल र माथि फलाम राखेर बनाइएको परम्परागत पुल थियो । त्यही पुल तरेर तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबरा ४४ नम्बरको रातो मर्सिडिज कारबाट सहर प्रवेश गर्नुहुन्थ्यो । उहाँको छोरा विजयशमशेरको कार नम्बर ४३ थियो । धेरै पछि मात्रै पुतलीसडकदेखि माइतीघर छिचोल्ने सडक निर्माण गरिएको हो । इन्जिनियर रिमालले २०१३-१४ साल ताक टुकुचामा पुल बनाइएको बताउनुभयो ।

औँलाको मुद्रा
बालकृष्ण समको निर्देशनमा बनेको सालिकमा पृथ्वीनारायण शाहको औँला अवगुण्ठन मुद्रालाई जनाउँछ । शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली कलाका रूपरेखा पुस्तकमा यसरी उल्लेख गर्नुभएको छ, “मूर्तिकारद्वारा यस प्रतिमामा आगम शास्त्रीय लक्षणअनुसार राष्ट्रिय एकता राष्ट्रलक्ष्मी सुरक्षित होस् भन्ने भावनामा जुन अवगुण्ठन मुद्रा प्रदर्शन गराइएको छ, त्यसको साङ्केतिक लक्षण हो– देश सबैको साझा हो । देश बेगर हामी कसैले हामी भन्न पाउने छैनौँ । ”
इन्जिनियर शङ्करनाथ रिमालले भने पृथ्वीनारायण शाहले आफूतर्फ उठाउनुभएको औँलाले अवगुण्ठन मुद्रा नजनाउने दाबी गर्नुभयो । “औँलाको मुख आफूतर्फ उठाउनु अवगुण्ठन मुद्रा हुँदैन”, उहाँले भन्नुभयो । वाल्मीकि क्याम्पसमा योग विषय अध्यापन गर्दै आउनुभएका डा. हरिप्रसाद पोखरेलले पृथ्वीनारायण शाहले ठड्याउनुभएको औँलाको मुद्रा अवगुण्ठन नभएको बताउँदै अवगुण्ठन मुद्रामा दुवै हात जोड्नुपर्दछ भन्नुभयो ।

– प्रकृति अधिकारी

सन्दर्भ सामाग्री
गोरखापत्र अनलाइन
फोटो म्युजियम नेपाल
Laurent Provins