दसैं: हराउँदै चंगा संस्कृति

दशैँ भन्नेबित्तिकै चंगाको चित्र मानसपटलमा आइहाल्छ । शरद ऋतुको सफा आकाशमा चंगा उडाउन पाउँदा खुसी नहुने पनि बिरलै हुन्छन् । चंगा उडाउने यो चलन केवल मनोरञ्जन मात्र नभइ संस्कृतिकै अभिन्न अंग बनेको छ ।

इन्द्रलाई सहकालका देउता मानिन्छ । उनै देउतालाई हामीलाई यसपालि वर्षात्‌ले पुग्यो है भनेर सन्देश पठाउन चंगा उडाउनुपर्छ भन्ने लोकपरम्परा छ । त्यो सन्देश सुनेर भगवान् इन्द्रले वर्षाको मुहान रोकिदिन्छन् ।

संस्कृतिविद् डा. चुन्दा वज्राचार्य कृष्ण अष्टिमीदेखि उपत्यकामा चंगा उडाउने परम्परा रहेको बताउँछिन् । ‘भगवान् इन्द्रलाई हामीलाई वर्षात्‌को पानीले पुग्यो रोकिदेऊ भनेर चिठी पठाएको भनेर बुझ्ने गरिन्छ,’ कृष्णाष्टमीदेखि दशमीको टीकाको दिनसम्म उडाउने परम्परा रहेको उल्लेख गर्दै भनिन्, ‘नवमीको दिन कृषिकर्ममा प्रयोग गरिने हँसियालगायत ज्यावल (हातहतियार)हरूको पूजा गरिन्छ । ज्यावलको पूजा गरिसकेपछि त्यही हतियार लिएर धान काटिन्छ ।’ असोज महिना उपत्यकामा धान पाक्ने मौसम हो । उपत्यका वरपरका स्थानीय पाकेको धानबाली काट्न थालेका छन् ।

इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ चंगा संस्कृतिको लिखित अभिलेख नरहेको बताउँछन् । ‘नेवार समुदायमा मौखिक इतिहास, लोकपरम्परामा आधारित चंगा संस्कृति छ,’ वैदिककालसँग यसको सम्बन्ध रहेको उल्लेख गर्दै प्राध्यापक श्रेष्ठले भने, ‘इन्द्र भगवान् चोर थिए भनेर मनाइन्छ, इन्द्रजात्रा । निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्रको उदय भएजस्तै सन्देश बुझ्न सकिन्छ । इन्द्रलाई सजाय दिएर जात्रा मनाएलगत्तै जनताले खुशियालीमा चंगा उडाउने गर्छन् ।’

यसो त, नेवार समुदायमा छोरीचेली बोलाउन सन्देशवाहकका रूपमा चंगा उडाउने गरेको भन्ने गर्दछन् । ‘चेलीलाई बिहे गरेर टाढा कर्मघर पठाइन्छ,’ दिनोज भन्छन्, ‘आकाशमा चंगा उडाएर मोहनी (दसैं) आउन लाग्यो । चेली तिमी माइतघर आऊ भनेर सन्देश दिने काम चंगाले गर्दछ ।’

यही लोकपरम्परा जसरी काठमाडौं उपत्यकाको खुल्ला आकाशमा चंगा उड्न थालेका हुन् ।

विश्वका केही भागमा चंगा महोत्सव हुने गरेको छ । थाइल्यान्डमा व्यावसायिक चंगा प्रतियोगिता नै गरिन्छ । भारतमा पनि चंगा उडाउने प्रतियोगिता नै भएको पाइन्छ । नेपालमा पनि विभिन्न स्थानमा चंगा चेट प्रतियोगिता हुँदै आएका छन्।

भगवान रामले उडाएका थिए चंगा

संसारको पहिलो चंगा तीन हजार वर्ष पहिले पातहरुबाट बनाइएको बताइन्छ । प्रामाणिक रुपमा चाहिँ चंगाको इतिहास दुइ हजार वर्ष पुरानो छ । चंगा कसले बनायो, कहिले बनायो, त्यसबारेमा कुनै इतिहास छैन । कालान्तरमा चंगाको खोजी इशापूर्व तेश्रो शताब्दीमा भयो ।

सबैभन्दा पहिला चंगाको आविष्कार चीनमा भएको मानिन्छ । किंवदन्ती अनुसार दुइ हजार वर्षपहिले एकजना चिनियाँ किसान खेतमा काम गर्दै थिए । हावा बेस्सरी चलेछ ।
किसानले आफ्नो टोपी हावाले उडाउला भनेर धागोले बाँधेर राखे । टोपी मजाले हावामा उड्यो । त्यसपछि नै चंगाको आविष्कार भएको भन्ने चिनियाँ किंवदन्ती छ । कालान्तरमा शैन्य अभियान, हावाको बहाव र सन्देश पठाउन चंगाको उपयोग हुन थाल्यो ।

चंगाको रोचक सन्दर्भ के पनि छ भने, एक जना जर्मनी नागरिकले ११ हजार २ सय ८४ वटा चंगा एउटै धागोबाट उडाएर रेकर्डसमेत राखेका छन् । संसारको सबैभन्दा ठूलो चंगाको आकार ६३० मिटरको छ । पूर्वीय सभ्यतामा चाहिँ चंगाको सन्दर्भ चीनको भन्दा पुरानो छ ।

तुलसीदासकृत रामायणका अनुसार भगवान रामले बाल्यकालमा भाइहरु र हनुमानका साथ चंगा उडाएका थिए । पम्पापुरमा हनुमानलाई बोलाइएको थियो, त्यसबेला हनुमान बालक रुपमा थिए । हनुमान आउँदा मकर संक्रान्तिको पर्व मनाइदैथियो । रामले भाइ र मित्रहरुका साथ चंगा उडाउन थाले ।

चंगा उड्दै उड्दै देवलोकसम्म पुग्यो । त्यो चंगा देखेपछि इन्द्रका पुत्र जयन्तकी पत्नी आकर्षित भइन् । उनले चंगा उडाउनेका बारेमा सोच्न थालिन् । उनलाई लाग्यो, चंगा उडाउने मान्छे पक्कै चंगा लिन आउनेछ । प्रतिक्षा गर्न थालिन् र उडिरहेको चंगा च्याप्प समातिन् ।

धर्तीमा चंगा उडाइरहेका राम र हुनमानले त्यो चंगा देखेनन् । रामले बालक हनुमानलाई चंगा पत्ता लगाउन आग्रह गरे । हनुमान त पवन पुत्र, उड्दै इन्द्रलोक पुगे । उनले कसैले चंगा समातिरहेको देख ।

‘यो त हाम्रो चंगा हो, देउ’, हनुमानले भने ।

जयन्तकी पत्नीले सोधिन्, ‘यो कसको चंगा हो ?’

हनुमानले रामको चंगा भएको बताएपछि जयन्तकी पत्नीले रामको दर्शन गर्ने अभिलाशा राखिन् ।

हनुमानले फर्केर रामलाई त्यो कुरा बताए । रामले हनुमानलाई पठाएर सन्देश दिए, ‘अवश्य, चित्रकुटमा म तिमीलाई दर्शन दिनेछु ।’ हनुमानले रामको सन्देश जयन्तकी पत्नीलाई सुनाइदिए । जयन्तकी स्त्रीले चंगा छाडिदिइन् । र चित्रकुटमा उनले एक दिन रामको दर्शन पनि पाइन् ।

हराउँदै चंगा

कुनै समय चंगा भनेपछि केटाकेटीको मन फुरुङ हुन्थ्यो, तर अहिले केटाकेटीको मन युट्यूब, मोबाइल एप्स र मोबाइलमा राखिने अनेकथरि गेमले तानेको छ । पहिलेपहिले हावामा माथिमाथि चंगा उड्दा दसैँ आयो भन्ने थाहा हुन्थ्यो ! तर अहिले दसैँ लाग्दा समेत चंगा आकाशमा कम देखिँदैछ । दसैँमा चंगा चेटको रमाइलो बेग्लै हुन्थ्यो । दसैँमा एकपटक चंगा त उडाउनै पर्छ भन्ने मान्यता पनि थियो । तर अहिले दसैँमा चंगा उडाउनुपर्छ भन्ने प्रचलन विस्तारै मोबाइलका गेमहरुले खाइदिएको छ ।

सन्दर्भ सामाग्री

सदृश्य
गणेश राई
इकान्तिपुर

नेपालमा रेडियो

केही दशक पहिलेसम्म सामाजिक रूपले सम्पन्नता प्रस्तुत गर्ने रेडियो आज आमरूपमा भनौँ भने हराउँदै गएको छ । अझ मोबाइलको व्यापकताले गर्दा व्यक्तिको साथमा रहने घडी समेत हराएको छ । तथापी नेपालमा अचेल तीव्र रूपले एफएफ स्टेशनहरूको संख्यामा भएको वृद्धिले रेडियोको महत्वलाई कायम राख्न मद्दत गरेको छ ।

अंग्रेज सरकारले इन्डियन ब्रोडकास्टिङ कम्पनीलाई अनुमति दिए पछि १९८४ को साउन ८ मा बम्बैबाट र भदौ १० मा कलकत्ताबाट प्रसारण शुरू भएपछि नै नेपालमा पनि रेडियोको प्रवेशको थालनी भएको देखिन्छ । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा होल्याण्डबाट उत्पादित फिलिप्सको रेडियोहरू बेलायतबाट नेपालमा प्रवेश भयो । त्यसबेला रेडियो हुनु भनेको सम्पन्नताको प्रतिक थियो । अझ रेडियो सेट बजाउन घरमा एन्टेना ठड्याउनु पर्ने हुँदा रेडियो लुकाएर सुन्न मिल्दैनथ्यो । तसर्थ रेडियो सेट राख्न राणा सरकारसँग अनुमति लिनुको विकल्प थिएन् । अनुमति नलिइ रेडियो सुनेमा जेल सजाय समेत हुन्थ्यो । आधिकारिक जानकारीमा मदनमणि दीक्षितका अनुसार १९८६ मा देवमणि दीक्षितले बेलायतबाट मगाएको रेडियो सातौँ थियो । दोश्रो बिश्वयुद्ध ताका बेलायतमा रेडियो कमि भए पछि अमेरिकाबाट उत्पादित फिलिप्सकै Philco ब्रान्डका रेडियोहरू भित्रिन थालेको थियो ।

१९९२-९३ मा जुद्धशम्शेरले इलेक्ट्रिक इञ्जिनियर काशिराज पाण्डेलाई विदेशी रेडियो सुनेर समाचारको संगालो “द न्यूज रिल” तैयार गराई राणा दरबारमा उपलब्ध गराउन लगाएका थिए । यसरी रेडियोका समाचारलाई अप्रत्यक्ष रूपमा प्रसार गर्न थालिएको थियो । यो नै नेपालमा रेडियोको महत्वको शुरूवात थियो । यसरी जनतालाई रेडियो सुन्ने बनाउने राणा सरकार दोश्रो विश्वयुद्धको समयमा अंग्रेज विरूद्धको समाचारले चर्चा पाउँदा जनतालाई रेडियो सुन्न बन्देज लगाउन पुग्यो । १९९८ को दशैँ अगाडी जुद्धशम्शेरले देश (काठमाडौ) मा भएका सम्पूर्ण रेडियो सेट जफत गराउदा यसको संख्या ४०० वटा थियो ।

कमलमणि दीक्षित “बिर्सेको सम्झेको”

कमलमणि दीक्षितले आफ्नो पुस्तक “बिर्सेको सम्झेको” मा रेडियो सम्बन्धी आफ्नो अनुभव नै लेखेका छन् । १९९५ मा ठूलो घर अर्थात ठूलो कान्छा बुबाको मा रेडियो सुन्न उहा पुल्चोक देखि गैरीधारा हिडेर पुग्नु हुन्थ्यो । विश्वयुद्धको समाप्तीपछि सबैले रेडियो फिर्ता पाए । साथमा कमलमणिको बाबाले पनि रेडियो राख्ने अनुमति पाउनुभयो । त्यसपछि घरमै रेडियो सुन्न पाउनुभयो । तर पछि पद्मशम्शेरको समयमा बिजुलीअड्डाबाट प्रसारित रेडियो भने वँहा बनारसमा पढ्न जानुभएकोले सुन्न पाउनु भएन ।

नेपालबाट प्रसारित पहिलो रेडियो कार्यक्रम

जुद्धशम्शेरले जफत गराएका रेडियो सेटलाई विश्वयुद्धको समाप्तीपछि फिर्ता गरिदिए । यसपछि प्रधानमन्त्री बनेका पद्मशम्शेरले रेडियो राख्न फुकुवा गरिदिए । साथै काठमाडौमा नै रेडियो प्रसारणको शुरूवात नै गराए । समाचार संकलनको कार्यमा शुरूमा राखिएका काशिराज पाण्डेले २००३ माघ १४ गते देखी दिउँसो १ बजेबाट १:३० सम्म बागबजार बिजुली अड्डाबाट नेपाल ब्रोडकास्टिङ नामबाट रेडियो प्रसारणको आरम्भ गरेका थिए । दोश्रो विश्वयुद्धबाट फर्केका सैनिकले बोकेर ल्याएका वायरलेस सेटबाट रेडियो प्रसारण गरेका थिए । ठूला ठूला लाउड स्पिकरबाट रामायणका श्लोकहरू बजाएर रेडियो प्रसारणको आरम्भ गरिएको थियो । पछि यो प्रसारण काठमाडौ उपत्यका बाहिर पनि सुनिएको समाचार छापिएको थियो । यो रेडियो प्रसारणको समय बिस्तारै १०:०० देखी ३:०० बजे सम्म बनाइएको थियो ।

पहिलो रेडियो प्रस्तोता

वि.सं. २००३ माघ १४ गते प्रसारण आरम्भ भएको नेपाल ब्रोडकास्टिङमा काशीराज पाण्डेले प्रसारण आरम्भ गरी नेपालको पहिलो रेडियो उद्घोषक बनेका थिए । उनका साथमा अर्का उद्घोषक त्यतिबेलाका गोरखापत्रका सम्पादक प्रेमराज शर्मा थिए । नेपाल ब्रोडकास्टिङबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविता वाचन गरेका थिए ।

पहिलो प्रत्यक्ष प्रसारण

पहिलो पटक राणा प्रधानमन्त्री पद्मशम्शेरको विशालनगर दरबारमा भएको भाषणलाई रेडियोबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । ठूला ठूला स्पिकर जोडिएकाले नजिकका सबैले राम्ररी सुन्न पाए साथमा रेडियोबाट पनि प्रसारण जोडिएकोले चारभञ्ज्याङ भित्र सबैले सो भाषण सुन्ने अवसर पाएका थिए । यसरी शुभारम्भ भएको रेडियो प्रसारण पद्मशम्शेरको पतनसँगै २००४ सालमा बन्द भयो । मोहनशम्शेरले व्यवस्थित रूपमा रेडियो शुभारम्भ गर्ने उद्धेश्यले ट्रान्समिटरहरू झिकाएका थिए तर सो सामग्री २०१३ मा मात्र काठमाडौ आइपुग्यो ।

पोखरामा रेडियो

बडाहाकिम धनशम्शेरले पोखरामा २००४ सालतिर रेडियो ल्याइसके पनि रेडियो सुन्न सक्नुभयो या भएन भन्ने यकिन हुन सकिएन । तर २००५ मंसिर १८ मा कलकत्ताबाट प्रसारण हुने गोर्खाली प्रोग्राममा महात्मा गान्धीको हत्या सम्बन्धि समाचार सुन्न साहु महाजन तथा सर्वसाधारणलाई आफ्नो मोहरीया टोलस्थित सेतो दरबारमा बोलाएका थिए । पोखरेलीले पहिलो पटक रेडियो सुनेको यहि नै हो । यस पछि पोखराका अर्का साहु चन्द्रबहादुर भारीले राणा बडाहाकिम भन्दा म के कम भन्दै कानपुरबाट रेडियो बोकेर आएका थिए । यसरी पोखरामा रेडियोको प्रवेश भयो । यसपछि श्याम साहू (कर्माचार्य) ले पनि रेडियो ल्याए । २००७ सालको आन्दोलनको समयमा पोखरामा रेडियोको संख्या निकै बढी सकेको थियो । क्रान्तीको समाचार सुन्न मानिसहरू रेडियो भएको घरमा जम्मा हुने गर्दथे ।

२००५ को साउन १८ गते मोहनशम्शेरको समयमा पनि मोहन आकाशवाणीबाट केहि सामग्री प्रसारण गरि आकाशवाणीबाट पनि रेडियो प्रसारण गर्न सकिने सफलता हासिल भएको थियो । यसरी नै २००७ मा राणाविरोधी प्रचारको लागी उपयोग गर्दै २००७ मंसिर २५ देखी माघ १९ गते सम्म भोजपुरमा नारदमुनि थुलुङले ग्रीसबाट लिएर आएको आकाशवाणीका सामग्रीबाट जयन्द्रबहादुर थपलियाले रेडियो उद्घोषण गरि थालनी गरेका थिए । यस कार्यका लागी नारदमुनि थुलुङले टेक्निकल सहयोग गरेका थिए । नारदमुनि थुलुङ जो भारतिय सेनाको गोरखा राइफलमा भर्ति भइ दोश्रो विश्वयुद्धमा ग्रीस पुगेका थिए । युद्धको समाप्तीपछि उनले ग्रीस रेडियोबाट विश्वमा शान्तिको आबश्यकता र अपरिहार्यताका बारेमा बोलेका थिए । उनको यहि अनुभवले नै भोजपुरबाट “स्वतन्त्र नेपाल रेडियो” उद्घोषणको शुभारम्भ भएको थियो । बिहान साझ दुईपटक क्रान्तिकारी समाचार प्रसारण गर्ने गरेकोमा एक दिन अचानक समाचारमा जयन्दबहादुर थपलियाले धनकुटा आक्रमण गर्ने समय र स्थान नै समाचारमा पढिदिए पछि राणापक्षीय सैनिकले पाख्रीबासमा सातजना भोजपुरे योद्धालाई हत्या गरेपछि सो ट्रान्समिटरलाई रातारात बिराटनगरस्थित रघुपती जुट मिलमा लगिएको थियो । जहाँबाट तारिणीप्रसाद कोइरालाले नेपाल प्रजातन्त्र रेडियो नामबाट २००७ माघ २० गते दिउसो २ बजे “यो प्रजातन्त्र रेडियो हो, हामी मुक्ति सङ्ग्रामको कुनै अज्ञात मोर्चाबाट बोलिरहेका छौ” भन्ने शव्दबाट उद्घोषण थालेका थिए । विराटनगरबाट नियमित प्रसारण हुन थालेपछि काठमाडौमा समेत यसको प्रभाव पर्न थालेको थियो । जसले गर्दा मोहनशम्शेरले बिजुली अड्डाबाट साँझ सात बजेबाट साढे सात सम्म भजन तथा समाचार प्रसारित गरेका थिए । देशमा प्रजातन्त्रको लहर चलेको समय केही समय जुट मिलबाट पनि प्रसारण बन्द भयो । केही समय अन्यत्रबाट प्रसारण भए पनि नियमित हुन सकेन । प्रजातन्त्र आए पछि पुन नियमित प्रसारणको थालनी भयो । रेडियो स्टेशन राजधानी ल्याउने सहमतीपछि मोहन आकाशवाणी रहेको सिंहदरबारको भवनबाट मोहन आकाशवाणीकै पुरानै ट्रान्समिटरबाट नै ४१ मिटर शर्टवेभमा नेपाल प्रजातन्त्र रेडियो आरम्भ भयो । पछि भारतीय प्रसारण संस्था आकाशवाणी रेडियोको सहयोगले प्रसारण क्षमतामा वृद्धि भयो । २००७ चैत्र २० गते प्रजातन्त्र नेपाल रेडियोको नियमित प्रसारण आरम्भ भयो । पहिलो दिन बिहान ८ बजे “यो प्रजातन्त्र नेपाल रेडियो हो” भन्ने वाक्य सहित रश्मीराज्यलक्ष्मीले कार्यक्रम शुभारम्भ गरे । तारिणीप्रसाद कोइराला रेडियो नेपालको प्रथम कार्यकारी प्रमुख नियुक्त भएका थिए, यसैले बाँकी कार्यक्रम तारिणीप्रसाद कोइरालाले सञ्चालन गरे ।

यसरी शुभारम्भ भएको “प्रजातन्त्र नेपाल रेडियो” को नाम पछि “नेपाल रेडियो” हुदै “रेडियो नेपाल” भयो । जुन नाम हालसम्म नै कायम रहेको छ । पहिलो दिन मात्र एक घण्टा प्रसारण भएको रेडियो प्रसारण समय बढाउँदै लैजाने क्रममा अचेल २४ घण्टा नै प्रसारण हुनुको साथै पाचै विकास क्षेत्रबाट पनि प्रसारणको थालनी भइसकेको छ ।

तारिणीप्रसाद कोइराला केवल ९ महिना स्टेशन डाइरेक्टरको रुपमा सेवा गर्नुभएको थियो । २००८ पुसमा उहाँलाई पदबाट बर्खास्त गरिएको थियो । तर, नेपालमा रेडियोको ईतिहास लेखिँदा तारिणीप्रसादलाई उचाईमा पुर्याईन्छ । जबकि काशिराज पाण्डे तथा नारदमुनि थुलुङको चर्चा नै गरिँदैन ।

एफएम रेडियोको सुरूवात

संसारमा पहिलो एफएम सञ्चालन भएको ४५ वर्ष पछि नेपालमा पहिलो पटक २०५२ कार्तिक ३० मा रेडियो नेपालले एफएम सञ्चालन गरेको थियो भने निजी स्तरमा २०५२ चैत्र २० गते रेडियो सगरमाथाले एफएम प्रसारणको परिक्षण गरेको थियो । त्यसको २ वर्षपछि २०५४ जेठ ९ गते आधिकारिक रूपमा सरकारको अनुमतिमा नेपालको पहिलो एफएम स्टेशनको रूपमा प्रसारणको आरम्भ गर्न थाल्यो । एफएमबाट पहिलोपटक सरकारी एकाधिकार तोड्दै घमराज लुइँटेलको आवाजमा “नमस्कार एफएम ब्याण्डको एक सय दुई थोप्लो चार मेगाहर्जमा यो दक्षिण एशियाकै पहिलो नाफा तथा विज्ञापन रहित स्वतन्त्र सार्वजनिक प्रसारण सेवा हो” भन्दै प्रसारण आरम्भ गरेका थिए । आज सञ्चार मन्त्रालयबाट अनुमति लिएका एफएमको संख्या ९६२ भन्दा बढि पुगिसकेको छ । यीनमा कति सञ्चालित छन् भन्ने यकिन तथ्यांक प्राप्त हुन नसके पनि यसले आमसञ्चारमा रेडियोको भुमिका प्रशस्त बढेको स्पष्ट देख्न सकिन्छ ।

प्रस्तुती सुनिल उलक

सन्दर्भ सामाग्री   

रेडियो नेपालको सामाजिक इतिहास – मार्टिन चाैतारी
बिर्सेको सम्झेको – कमलमणी दीक्षित
आनन्दमय आकाश – मदनमणी दीक्षित
पत्रकारिताको इतिहासमा दोहोरिएको खोट – गणेश राई  (कान्तिपुर)
साथमा विभिन्न व्यक्तिहरूसँगको कुराकानी