हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर

जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरले नेपालका प्रधानमन्त्रीलाई हल्का हरियो रङको १९३६ मोडलको डेमरल बेन्ज कार उपहार पठाएका थिए । उक्त कार नं. ४४ को थियो जुन जुद्धशमशेरको प्रिय गाडी भयो कार मनपर्नुको प्रमुख कारण जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरबाट उपहारमा पाएको हुँदा पनि खास विशेष हुने नै भयो।

चन्द्रशमशेरका छोरा सिंहशमशेर बेलायतका लागी राजदुत रहँदा जुद्धशमशेरले हिटलरलाई भेट्न पठाएका थिए । एक प्रकारले जुद्धशमशेर हिटलरका शुभचिन्तक बनिसकेका थिए । दौत्यसम्बन्धको तयारी हुँदै थियो । हिटलरले यहि भेटपछि खुशी भएर जुद्धशमशेरलाई आफ्नो कार उपहारमा पठाएका थिए । हुन त त्यतिबेला हिटलरले जुद्धशमशेरलाई अन्य वस्तु पनि उपहारमा पठाएको भनिन्छ । जसमध्ये एउटा Astronomical Telescope पठाईएको जानकारी पाउन सकिन्छ । शक्तिशाली Veb Carl Zeiss Jena Telescope भने हाल दार्जिलिङको हिमालयन माउन्टेनरिङ इन्स्टिच्युटको संग्रहालयमा प्रदर्शन गरि राखिएको छ । जुद्धका छोरा बहादुरशमशेरले यस इन्स्टिच्युटलाई उपहारमा दिएका थिए ।

वि.सं. १९९४ मा जर्मनका कन्सुलेट जनरल Count Von Podewils Durnitz नेपालमा तीन दिने भ्रमणमा आँउदा उनको भव्य स्वागत गरिएको थियो । सिंहदरबारमा रहेको ग्यालरी बैठकलाई भव्य सजाइएको थियो । यहि हलमा जर्मन सरकारको रेडक्रसले जुद्धशमशेरलाई ९० सालको महाभुकम्प पछि देशको विषम परिस्थितिमा भुकम्प प्रभावितको राम्रो उद्दार एवं पुनःनिर्माणमा राम्रो काम गरेकोमा अर्डर अफ दि स्टार्ट अफ जर्मन रेडक्रसको सम्मान गरेको थियो । साथै पद्मशमशेरलाई पनि सम्मान गरेको थियो । नेपालको तर्फबाट कन्सुलेट जनरललाई प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु र उनका सहायकलाई प्रबल गोरखा दक्षिण बाहु प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस् जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो

तर यस्तैमा जुद्धशमशेर प्रधानमन्त्री रहँदै जर्मनमाथि बेलायतले युद्धको तैयारी गर्यो । बेलायत सरकारले जुद्धशमशेरलाई निकै फकायो । विदेशमन्त्री लर्ड हालिफेक्स र प्रधानमन्त्री च्याम्बरलिन पनि नेपाली सैनिकलाई आफ्नो तर्फबाट दोस्रो विश्वयुद्धमा सहभागी बनाउन प्रयत्नरत रह्यो । अन्ततः युद्ध शुरु भईसकेपछि नेपालका तर्फबाट जनरल बहादुरशमशेर र बेलायतका तर्फबाट भारत सरकारको जनरल ई.डी बर्घ बीच सम्झौता भयो । नेपाल दोस्रो विश्वयुद्धमा सहभागी भयो ।

जुद्धशमशेर बेलायतलाई पनि दुःखी बनाउन चाहन्नथे भने हिटलरलाई पनि दुःख पाएको देख्न चाहन्नथे । बढी बेलायतको नजिक रहेको हुँदा उनले बेलायतलाई युद्धमा सहयोग गरे । तर नेपाल भित्र जर्मनको हिमायती झैं देखाए । भारतबाट प्रसारण हुने रेडियोमा जर्मनको हारको एकोहोरो समाचार र बेलायतको मात्र प्रशंसा भइरहँदा नेपालमा रेडियो माथि प्रतिबन्ध लगाए । सबै रेडियो सुन्न र बजाउन नपाउने भन्दै मुलुकभरका रेडियो नियन्त्रण गरेर सिंहदरबारमा थुपारे । जुन रेडियो दोश्रो विश्वयुद्धको समाप्ती पछि मात्र फिर्ता भए ।

जुद्धशमशेरले उपहार पाएको दुरबिन ।
जुद्धशमशेरले उपहार पाएको दुरबिन ।

अब ४४ नं.को तस्विरमा देखाईएको कारको ईतिहासमा जाँउ । वि.सं. २००२ को मंसिर १४ मा भतिजा पद्मशमशेरलाई राजकाज सुम्पेर आफू सन्यासी हुने भन्दै राजधानी छाडे । तर काठमाडौंबाट पश्चिम हुँदै रिडी लागेनन् । भिमफेदी हुँदै अमलेखगञ्ज लागे । त्यहाँबाट वीरगञ्ज गए, दुई दिन मुरली दरबारमा बसे । उनको साथ परिवारको सदस्य र सैनिकहरु पनि थिए । कर्णेल गजराज जङ्ग, सुब्बा मणिराम, क्याप्टेन नरबहादुर, क्याप्टेन गुप्तबहादुर तथा केही जवानहरु पनि थिए । यहाँबाट जुद्धशमशेर रेलमा नौतनवा हुदै रिडी तर्फ लागे । तर परिवारको अन्य सदस्य देहरादूनतर्फ लागे । देहरादूनतर्फ लाग्दा यो बेन्ज कार पनि देहरादून पुग्यो । जुद्धशमशेरको छोरी जनक राज्यलक्ष्मी शाहका अनुसार यो कार देहरादून लगिएको थियो । यो कार शुरुमा छोरी जनक राज्यलक्ष्मी र पछि छोरा शशीशमशेरले देहरादूनको सडकमा गुडाएका थिए । पछि मुम्बईका कुनै संग्रहकले आफ्नो संकलनको लागी किनेर लगे । तर अहिले राजा त्रिभुवनको अन्य कारलाई हिटलरले उपहार दिएको कार भन्दै मिथ्या प्रचार गर्ने गरिएको छ ।

प्रस्तुतीः सुनिल उलक 

सन्दर्भ सामाग्री
ब्रिटिश लाइब्रेरी
बेञ्जइनसाइडरडटकम

नेपालकै पहिलो बिजुली बत्ति बलेको घर

झिँगटीको छानो, सेतो रङले पोतिएको भित्ता, पुरानो शैलीको तीनमुखे आँखीझ्यालले त्यो घर बैंशमा झनै सुन्दर थियो भन्ने आभास दिन्छ । ठाउँठाउँमा प्लास्टर उप्किसके पनि त्यसको सौन्दर्यमा कमी आएको छैन । उभिनका लागि भने टेकोको साथ लिइरहेको छ । ढोकाको ठीक माथि झुन्ड्याइएको खुइलिन लागेको बोर्डमा लेखिएको छ, ‘नेपालमा सबैभन्दा पहिला बत्ती बालिएको घर ।’ ललितपुर खोकनामा रहेको यो ऐतिहासिक घरअगाडि दुईचार वटा बूढा काठका पोलहरू ठिंग उभिएका छन् साक्षीका रूपमा । तीनमुखे आँखीझ्यालको ठीक मुनि बनाइएको सिंहको टाउकाको आकृतिमा बल्ब जडान गरिएको छ । यही बल्बले पहिलोपटक उज्यालोको अनुभूति दिएको थियो नेपालीलाई ।

‘त्यो बत्ती जनताको घरमा बाल्नका लागि बनाइएको थिएन’, खोकनाका शिक्षक कृष्णभगत महर्जन भन्छन्, ‘दरबारका लागि थियो ।’ बेलायत घुम्न गएका तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरलाई त्यहाँको झिलिमिलीले लोभ्यायो । त्यहाँ कानुनी रूपमै विद्युत् प्रसारण हुन थालेको तीन दशक पुगिसकेको थियो । बेलायतको झिलिमिलीले लोभिएका चन्द्रशमशेरले बेलायतको सिको गरेर नेपालमा पनि बिजुली उत्पादनको पहल गरे । त्यसको लागि फर्पिङमा पावर हाउस बनाइयो । विसं. १९६८ मा सो पावर हाउसले विद्युत् प्रसारण सरु गर्‍यो । ‘त्यो पावर हाउस दक्षिण एसियाकै पहिलो र एसियाको दोस्रो थियो’, वर्तमान प्रमुख श्यामकृष्ण बस्नेत भन्छन् । उनका अनुसार यस पावरहाउसमा प्रयोग भएको प्रविधि बेलायत र फ्रान्सबाट ल्याइएको थियो जसबाट पाँच सय किलोवाट बिजुली उत्पादन भएको थियो ।

खोकनाबाट करिब चालीस मिनेट पैदल बाटोमा रहेको ‘पावरहाउस’ बनाउन सात लाख पच्चीस हजार रुपैयाँ लागेको बस्नेत बताउँछन् । आवश्यक मानव श्रमका लागि भने देशभरका सैनिक र कैदीको प्रयोग गरिएको रहेछ । त्यतिले मात्र नपुगेर खोकनावासीबाट पनि श्रमदान गराइएको कृष्णभगत बताउँछन् । नेपाली श्रमदान र विदेशी प्रविधि एवं ज्ञान मिलेर पहिलोपटक बिजुलीबत्ती बल्यो । विलासका हरेक सामग्री सुरुमा आफूले उपयोग गर्ने राणाहरूको दरबारमा भने जनताको घरमा बलेपछि मात्रै बिजुली बत्ती बल्यो ।

यो पनि पढ्नुहोस् चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको ‘स्पीच’

त्यसको पछाडि कारण थियो उनीहरूमा रहेको रूढिगत चिन्तन । देशमै नभएको प्रविधि एकैपटक उपयोग गर्दा दरबारमा अनिष्ट हुन्छ भन्ने ठानेर उनीहरूले जनताको घरमा परीक्षण गर्ने सोचे । त्यसका लागि खोकनाका पाँचछवटा घरमा बत्ती जोडिएको बताउँछन् खोकनावासी मदनकृष्ण डंगोल । ‘हजुरबुवा सिद्धिलाल डंगोलको पालामा ती बत्ती बलेका थिए’, डंगोलले भने ।

१९६८ साल जेठ ९ गतेबाट सञ्चालन भएको फर्पिङ जलविद्युत् यही एक सय नाै वर्षको भएको छ । त्यहाँ अझै पनि पुराना दुईवटा मेसिन छन् तर स्थिर र अचल । श्री ३ जुद्धशमशेरको पालामा त्यहाँबाट पिउनका लागि पानी निकाल्न थालेपछि जलस्रोत अभावले विद्युत्गृह विस्तारै बेकामे बन्दै गयो । २०३८ सालमा त पूरै बन्द भएको बस्नेत बताउँछन् । अहिले कुलेखानीबाट ६० मेगावाट बिजुली निकालिएको छ । बिजुली उत्पादन बन्द भए पनि फर्पिङ पावर हाउस भने इतिहासको चिनारी बनेर बसेको छ । ‘यो मुलुकको धरोहर हो, विश्वलाई यसबारे बताउनुपर्छ भनेर जोगाएका छौं । पहिला बन्द थियो अहिले हेर्न आउनेका लागि खोल्ने गरेका छौं’, बस्नेत भन्छन् ।
फर्पिङ पावर हाउस होस् वा खोकनाको बत्ती बलेको पहिलो घर, दुवै हाम्रो पहल र अक्षमताका उदाहरण हुन् । राणा शासकको सोखकै लागि निकालिएको भए पनि शासकवर्गमा निरन्तरता दिने अठोट नहुँदा ती दुवै संरचना उज्यालोतिर पहिलो पाइला हालेर पनि अवरुद्ध हाम्रो यात्राको कथा बनेका छन् ।

सन्दर्भ सामाग्री

अन्नपुर्णपोष्ट
नितु घले
रमेश भुषाल