२ बलमा खेल जित्ने विश्वको एकमात्र क्रिकेट टोली, ‘नेपाल’

अगस्ट २०, २००६ का दिन नेपाल क्रिकेट टिमले मलेसियामा भएको एसीसी ट्रफी अन्तर्गत एउटा अविश्वसनीय नजिता आत्मसाथ गर्दै विश्व किर्तीमान कायम गर्यो ।

समुह ‘सी’ अन्तर्गत आफ्नो चाैथो खेलमा म्यान्मार विरूद्ध पहिले बलिङ गरेको नेपालले १२.१ ओभरको अवस्थामा १० रनमा बर्मेली टोलीलाई अलआउट गर्यो । खेलका नायक रहे “म्यान अफ द म्याच’ मेहबुब आलम । ६.१ ओभर बलिङ गर्दै ७ रन दिएका आलमले ७ विकेट चट्काए । बाँकी ३ विकेट कप्तान विनोद दासले आफ्नो खातामा लेखाए ।

बर्माविरूद्ध यी दुई  बलरले ५ रन अतिरिक्त दिए भने पाँच जना बर्मेली ब्याट्सम्यानले समान १-१ रन बनाए ।

जवाफमा नेपालले ११ रनको विजय लक्ष्य २ बलमै पुरा गर्यो । बलिङमा थिए आए मीन थान जसले खेलको पहिलो ओभरको पहिलो बलमा विकेट किपर ब्याट्सम्यान महेश क्षेत्रीले सहजै ३ रन लिन भ्याए । दोश्रो बलमा धीरेन्द्र चन्दले पनि ३ रन लिन भ्याए । ५० ओभरको खेलमा नेपालले २ बल ब्याटिङ गरि ६ रन बनाइसकेको थियो नेपालका लागि जितका लागि चाहिन्थ्यो ५ रन । त्यसपछि बर्मेली बलरले लगातर ५ अतिरिक्त रन दिए । अन्ततः नेपालले खेल जित्यो १० विकेटले अझ रोचक कुरा मात्र २ वैध बलको सामना गर्दै । म्यान्मारले बनाएको १० रन हालसम्म विश्वमै पुरूष टोलीले बनाएको सबैभन्दा कम स्कोर हो । नेपालले चाँही बनायो सबैभन्दा छिटो लक्ष्य भेट्ने टोलीको किर्तीमान ।

प्रतियोगितामा कुल १७ टोली सहभागी थिए, किर्तिमानी जित सहित नेपालले समुहका सबै खेल जित्दै अन्तिम दोश्रो चरणमा स्थान सुरक्षित बनायो । समुह चरणमा नेपालले पहिलो खेलमा कुवेतलाई ६ विकेटले पराजित गर्यो भने दोश्रो खेलमा भुटान विरूद्ध २८१ रनको प्रभावशाली जित निकाल्दा तेश्रो खेलमा हङकङलाई ८७ रनले पराजित गर्यो भने अन्तिम खेलमा म्यान्मार १० विकेटले पराजित भयो ।

दोश्रो चरणमा नेपालले बहराइनलाई २५ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । फाइनलमा स्थान सुरक्षित गर्न यूएइ विरूद्ध मैदान उत्रिएको नेपाली क्रिकेट टिम ३७ ओभरसम्म मैदानमा टिक्दा जम्मा १०३ रन बनाउन सक्यो जसमा शरद भेषवाकरले सर्वाधिक २६ रन बनाएका थिए । उक्त खेल यूएइले ९ विकेटले जित्यो भने फाइनलमा हङकङ ५ विकेटले पराजित भयो । तेश्रो स्थानका लागि भएको खेलमा अफगानिस्तानले नेपाललाई  ६४ रनले पराजित गर्यो ।

नेपाली टोलीमा थिए आकाश गुप्ता, बसन्त रेग्मी, बिनोद दास, शक्ति गैाचन, मनोश वैश्य, परेश लोहनी, धीरेन्द्र चन्द, राज प्रधान, शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, पारस खड्का, राजु बस्न्यात, शक्ति गाैचन र मेहबुब आलम । कोच थिए श्रीलंकाका रोय लुक डायस अनि फिजिओ जंग बहादुर मगर त्यस्तै व्यवस्थापकमा थिए ठाकुर प्रताप थापा ।

सन्दर्भ सामाग्री

एशियन क्रिकेट डट ओआरर्जी
विभिन्न अनलाइनहरू

श्री ३ जङ्गबहादुरको तलब कति थियो होला ? त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो

एक सय चार वर्ष लामो राणा शासनमा जंङ्गबहादुर राणाले मात्र ३० वर्ष लामो शासन चलाए।

सुन्दरी, शिकार र अफिमका साैखिन जङ्गबहादुरका रानी नै करिब ३ दर्जन थिए भनिन्छ । निरंकुशताका प्रतीक जङ्गबहादुरले सैन्य संगठन र युद्धकौशलमा आफ्नो खुबी देखाए, भोट विजय भयो। नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता गराए। देशका लागि यस्ता कतिपय महत्वपूर्ण र राम्रा काम पनि जङ्गबहादुरले गरे ।

श्री ५ लाई खोपाको देवता बनाएर श्री ३ धारण गरी राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका जङ्गबहादुरको तलबचाहिँ कति थियो त?

यस जिज्ञासा समाधान हुने सामग्री नेपाली आर्थिक इतिहासका पायोनियर अन्वेषक महेशचन्द्र रेग्मीको सम्पादनमा रेग्मी रिसर्च सेन्टरले सञ्चालन गरेको रेग्मी रिसर्च सेरिज (वर्ष ८, अंक १:१६-१९)मा ‘दी राणा एलिट’ शीर्षकमा जङ्गबहादुर लगायत उनका भाइहरू, त्यस बेलाका गुरु पुरोहित र सेनाका अधिकारीहरूले पाउने वार्षिक खान्गी (तलब) को विवरण दिइएको छ। यो तलबमान वि.सं. १९१० को हो ।

जङ्गबहादुरलगायत केही राणाको तलब यस्तो छ :

प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणा रु. ८३,६२०/
कमान्डर इन् चिफ बमबहादुर कुँवर राणा रु. ३२,६१३/
जनरल कृष्णबहादुर कुँवर राणा रु. २२,०७२/
जनरल रणोद्वीप सिंह कुँवर राणा रु. २२,४१०
जनरल जगतशमशेर कुँवर राणा- रु. २१,०९७/
जनरल धीरशमशेर कुँवर राणा- रु. २१,८५३/
जनरल (कपर्दार) भक्तवीर कुँवर राणा- रु. १९,००१/

त्यो तलबको वर्तमान मूल्य

रेग्मी रिसर्च सेरिज ( वर्ष ८, अंक १: १९) मा सन् १८५२ (विसं १९०८) को समयको अत्यावश्यक खाद्य वस्तुको मूल्यदर पनि प्रकाशमा ल्याइएको छ। त्यो समयको खाद्यवस्तुको मूल्यदर अनुसार जङ्गबहादुरले पाउने गरेको त्यो तलबमानको वर्तमान मूल्य निकै ठूलो हुन आउँछ।

त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो । यस्तै एक रुपैयाँ मार्सी चामल ३० माना, तौली चामल ३२ माना, रहरको दाल १४ माना, मासको दाल २० माना र मुगी दाल १२ माना किन्न पाइन्थ्यो। एक रुपैयाँको एक धार्नी घ्यू किन्न पाइन्थ्यो।

यहाँ नेर जङ्गबहादुरले पाउने गरेको त्यस बेलाको तलबको अहिलेको घ्यूको मूल्य अनुसार मूल्यांकन गरौं। अहिले डीडीसी घ्यूको मूल्य प्रतिलिटर सात सय २० रुपैयाँ पर्छ। एक लिटर बराबर एक किलोग्राम हुन्छ भने दुई किलो पाँच सय ग्रामको एक धार्नी हुन्छ।

यसअनुसार त्यस बेला एक रुपैयाँमा आउने एक धार्नी घ्यूको मूल्य अहिले एक हजार आठ सय रुपैयाँ हुन्छ। यसअनुसार मूल्यांकन गर्ने हो भने त्यस बेला जङ्गबहादुरले वार्षिक रुपमा बुझ्ने तलब रु. ८३,६२०/- को अहिलेको मूल्य रु. १५,०५,१६०००/ हुन आउँछ। यसअनुसार विसं १९१० मा जङ्गबहादुरको मासिक तलब अहिलेको रु. १,२५,४३०००/ थियो।

भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको विनिमय दरअनुसार जङ्गबहादुरको तलबको वर्तमान मूल्य झन् उच्च हुन आउँछ। २०१७ सालदेखि मात्र भारतीय रुपैयाँ एक सयको नेपाली रुपैयाँ एक सय ६० विनिमय दर स्थीर रूपमा कायम भएको हो।

इतिहासकार प्राध्यापक दिनेशराज पन्तका अनुसार राणाकालमा नेपाली रुपैयाँ र भारतीय रुपैयाँको मूल्य बराबर थियो र कुनै बेला भारतीय रुपैयाँभन्दा नेपाली रुपैयाँ महँगो पनि भएको थियो। त्यस बेलाको रुपैयाँ मोहर चाँदीको हुन्थ्यो।

इतिहास शिरोमणि बाबुराम आचार्यले भीमसेन थापाको तलबको विषयलाई लिएर उनको निकै ठूलो आलोचना गरेका छन्। २०१३ सालको मदन पुरस्कारका लागि छनोटमा परेका कृतिमध्ये एक ‘जनरल भीमसेन थापा’ विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा आचार्यले त्यस बेला भीमसेन थापाले थाप्ने वार्षिक तलबलाई अत्यधिक भनेका छन्।

विसं १८७१ मा भीमसेन थापाले लालमोहर गराई मुख्तियारी खान्गी रु. ६,४०१/ मा रु. ४,०००/ थपेर १०,४०१/ बनाएका थिए (पूर्णिमा पूर्णांक ७७:२३)। भीमसेन थापाको यो खान्गीको विषयमा आचार्यले ‘भीमसेन थापा, यिनलाई मैले जस्तो देखेँ’ मा त्यो बेला एक रुपैयाँको चार पाथी मसिनो चामल आउने र त्यो बेलाको भीमसेन थापाको तलब अत्यधिक भएको उल्लेख गरेका छन्।

त्यो बेला आफूले आफैंलाई त्यति धेरै तलब तोक्ने जङ्गबहादुरका सन्तान वि.सं १९४२ मा उनैका कान्छा भाइ धीरशमशेरका छोराहरूले मच्चाएको पर्वमा कोही सखाप भए त कोही लाखापाखा भए । उनका सन्तान आज सार्वजनिक परिचय विहीन हुन पुगेका छन् । हरेक वर्ष सरकार र उनका सन्तानले छुट्टाछुट्टै त्रिपुरेश्वरको कालमोचन घाटमा जङ्गबहादुरको श्राद्ध गर्ने गर्छन् ।

सन्दर्भ सामाग्री

अन्नपुर्णपोष्ट
विभिन्न अनलाइनहरू