युवराज वीरेन्द्रको विवाह, इतिहासकै भव्य हिन्दु वैवाहिक समारोह

वि.सं. २०२६ साल फागुन १६ गते शुक्रबारका दिन तत्कालीन युवराज वीरेन्द्रको ऐश्वर्या राज्यलक्ष्मीदेवी राणाका साथ विवाह सुसम्पन्न भएको थियो । उक्त विवाह उत्सवलाई इतिहासकै सबैभन्दा भव्य हिन्दु वैवाहिक समारोहको रूपमा चित्रण गरिन्छ । जानकारहरूका अनुसार युवराज वीरेन्द्रको विवाहमा ९५ लाख डलर खर्च भएको थियो ।

 

विवाह समारोहको लागि सहभागी हुन ५० देशका राष्ट्र प्रमुखलाई निम्त्याइएको थियो । जसमा भारत, श्रीलंका र लाओसका राष्ट्र प्रमुखमात्र आए भने अन्यले प्रतिनिधी पठाए । ३०० जना विशिष्ट विदेशी पाहुनाको लागी काठमाडौंका ठूला होटल सबै बुकिङ गरिएका थिए । नौ दिन लामो कार्यक्रममा देशैभरबाट पनि पंचायतका अग्रणीहरुलाई निम्त्याइएको थियो ।

काठमाडौं उपत्यकाको सिङ्गार्ने काम ६ महिना अगाडीबाट थालिएको थियो । सडक सुधार देखी लिएर गरिबी देखिने बस्ती छेक्न अग्ला अग्ला इँटाका पर्खालहरु पनि खडा गरिएका थिए । बिजुली बत्तीको व्यवस्थाको लागि पनि ठूलै रकम राज्यबाट खर्चिएको थियो ।

भविष्यका राजको विवाह समारोहमा आउने विशिष्ट पाहुनाको लागि जापानबाट २०० वटा गाडी ल्याइएको थियो भने भारतको दिल्लीबाट दुइवटा जहाज भरि खानेकुरा ल्याइएको थियो । १५० जना वेटरहरु पनि भारतबाट नै आएका थिए भने कोकाकोला पनि भारतबाट नै ल्याइएको थियो । सयौं क्विन्टल बास्नादार फूल नेदरल्याण्डबाट ल्याइएको थियो । विवाह समारोहको विशेष बग्गीको लागि चारवटा विशेष प्रजातीको अरबी घोडा बेलायतबाट ल्याइएको थियो । साथै चितवनबाट नौ वटा तालिम प्राप्त हात्ती पनि राजधानी ल्याइएको थियो । यहि अवसरमा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै दुइ होटल खुलेका थिए ।

विवाह समारोहका अधिकांश कार्यक्रम सिंहदरबारमा नै गरिएको थियो । दुलाहा युवराज वीरेन्द्रको सवारीको लागी चाँदीले ढाकिएको विशेष प्रकारको हौदा बनाइएको थियो । नारायणहिटी देखी सिंहदरबार सम्मको वरियातको कार्यक्रममा हजारौं सहभागी भएका थिए ।

दुइ दिन लामो वैवाहिक कार्यक्रममा सयौं पुरोहितहरु खटिएका थिए । अग्नीमा सात फेरे लिए पछि विवाहको प्रथम चरण समाप्त भएको थियो । दोश्रो दिन करिब २०० जना परिवारका सदस्यले दुलाहा दुहीको पाउको जल खाने कार्यक्रम गरिएको थियो ।

सन्दर्भ सामाग्री

फेब्रुअरी २५, १९७०, न्यूयोर्क टाइम्स
विभिन्न अनलाइनहरू

जंङ्गबहादुर राणाको प्रिय हात्ती जङ्गप्रसाद

नेपालमा जहानियाँ राणा शासन अन्त्य भएको सात दशक पार गरिसकेको छ । यद्यपी राणाकालको चर्चा अहिलेपनि कायमै छ । राणाका दरबार, जीवन शैली, शिकार लगायतका विभिन्न किस्साहरूका कारण । जङ्गबहादुरबाट शुरु भएको राणाका भित्री र बाहिरी कथा र अकथाहरुले अझै पनि ठेलीका ठेली किताबहरु तैयार गर्न सकिन्छ ।

नेपालमा राणा शासनको श्रीगणेश गर्ने जङ्गबहादुर राणाका पनि विभिन्न कथा छन् । कहिले उनको वीरताको कथा गुनगुनाइन्छ भने कहिले उनको विलासिताको कथा पढिन्छ । राणाकालमा उनको हात्तीको पनि निकै चर्चा हुन्थ्यो ।

जंङ्गबहादुरको प्रिय हात्तीको नाम “जङ्गप्रसाद” थियो । जङ्गबहादुरको समयको सबैभन्दा ठूलो हात्ती नै जङ्गबहादुरको प्रिय हात्ती भएको हुँदा नामै जङ्गप्रसाद राखिएको थियो । सन १८७६ को शुरुवातमा प्रिन्स अफ वेल्स (जो पछि राजा एडवर्ड सातौं ) को शिकार भ्रमणमा जङ्गप्रसादको निकै उपयोग गरिएको थियो । हुन त त्यस समयको शिकारमा अर्को हात्ती बिजुलीप्रसाद पनि थियो । प्रिन्स अफ वेल्सले फर्कँदा चारवटा एशियाली हात्ती पनि साथ लगेका थिए । जसमा एक जङ्गप्रसाद पनि थियो ।

जङ्गप्रसाद करिब १० फिट उचाइको थियो भने एउटा दाह्रा थिएन । जङ्गप्रसादको साथ जङ्गबहादुरको विभिन्न किस्साहरु पनि जोडिएको छ । तर बेलायती राजकुमारको शिकार भ्रमण पछि यो हात्ती सन १८७६ मे १७ (वि.सं. १९३३ जेठ ६) मा बेलायत पुगेको देखिन्छ । शायद जङ्गबहादुरले यो हात्तीलाई बेलायती राजकुमारलाई नै उपहारमा दिएको हुनुपर्छ । सोही वर्ष युवराजले आफ्नी पत्नी अलेक्जान्ड्रालाई जङ्गप्रसाद क्रिसमस उपहारका रूपमा दिएका थिए ।

बेलायत पुगेपछि जङ्गप्रसाद त्यहाँको लण्डन चिडियाखानाको आकर्षणको रुपमा रह्यो । लण्डन चिडियाखानामा रहेको यस भाले जङ्गप्रसादको जोडीको रुपमा अर्को हथिनी सुफा कुली (Suffa Kulli) संग राखियो । तर हथिनी गर्भवती हुन सकिनन् । जङ्गप्रसादको नयाँ सन्तानको सपना लण्डन चिडियाखानाले पुरा गर्न सकेन ।

करिब २० वर्ष लण्डन चिडियाखानामा रहेको जङ्गप्रसादको पेरिटोनाइटिसको कारणले सन १८९६ मार्च ८ (१९५२ फागुन २६ )मा मृत्यु भयो । मृत्युपछि जङ्गप्रसादको भित्री अङ्ग निकालेर बाहिरी छालालाई सुरक्षित राख्दै त्यतिबेलाका प्रख्यात taxidermist एडवार्ड गेरार्डले जङ्गप्रसादको प्रतिमुर्ति (taxidermy) बनाएर नेचुरल हिस्ट्री म्यूजियमको सेन्ट्रल हलमा राखेका थिए ।

प्रस्तुती सुनिल उलक

सन्दर्भ सामाग्री

रोयल कलेक्सन ट्रष्ट
विभिन्न अनलाइनहरू