माघ १०, शुक्रराज शास्त्रीलाई फाँसी दिइएको दिन

शुक्रराज शास्त्रीको जन्म १९५० श्रावण पूर्णिमाका दिन भएको थियो।

उनका पिता माधवराज जोशीको राणा परिवार तथा जंगबहादुरसँग राम्रो सम्बन्ध थियो। विक्रम संवत् १९३२ तिर माधवराज तीर्थयात्रामा जगन्नाथ र पछि काशी गए। त्यसबेला उनले आर्य समाजका प्रवर्तक दयानन्द सरस्वतीसँग भेट्ने अवसर पाउँदा वैदिक धर्मको प्रचार, व्याख्या सुनेर प्रभावित भए। त्यो प्रभावले उनले आफ्नो देशमा आर्य समाज स्थापना गरे र वेदका ज्ञानअनुसार समाज सुधार अभियान थाले। माधवराज जोशीले कथित तल्लो जातका मानिसलाई समेत वेदको ज्ञान दिलाउन थालेपछि बाहुनहरूले विरोध गरे।

उनीहरूको विरोध सुनेर वीर शमशेरले भनेका थिए– ‘वेद पढ्ने क्षमता छ भने जुन जातका मानिसले पढे पनि के हुन्छ ?’ यस हिसाबले वीरशमशेर त खुसी नै थए। उता श्री ५ पृथ्वीवीरविक्रम शाहले पनि माधवराजले ठीक भनिरहेका छन् भनेका थिए। माधवराजको भनाई थियो– ‘वेद सत्य विद्याका पुस्तक हुन्, वेद पढ्नु, पढाउनु, सुन्नु र सुनाउनु सबै आर्यको परम धर्म हो।’ पछि चन्द्रशमशेरमा माधवराज जोशी सक्रिय हुँदै गए भने जनताका आँखा खुल्छन् र राणा शासनविरुद्ध जनता जाग्न सक्छन् भन्ने डर पैदा भयो। त्यसपछि माधवराजलाई जेल हालियो।

दुई वर्षको जेल सजाय पूरा गरेपछि उनलाई राणाले जेलमुक्त नगर्लान् जस्तो लागेर १९६४ चैतमा उनी जेलबाटै भागे। त्यसपछि आफ्ना परिवार लिएर गोरखपुर र लखनउ र देहरादुन आर्य समाजमा पुगे। उत्तर प्रदेशको सिकन्दरवादमा अमरराज र शुक्रराज छोरालाई गुरुकुलमा भर्ना गराए। छोरी चन्द्रकान्तालाई कन्या पाठशालामा भर्ना गराए। शुक्रराज शास्त्रीले गुरुकुलमा विदालंकार र पन्जाबबाट शास्त्री गरे। भारतमा रहँदा उनले महात्मा गान्धी, सुवासचन्द्र बोससँग पनि भेटघाट गरी नेपालमा समाजबारे विचार आदानप्रदान गरे। चन्द्रशमशेरपछि भीमशमशेर शासनमा आए र त्यसपछि जुद्ध शमशेर सत्तामा रहेका बेला शुक्रराज काठमाडौं आए।

चन्द्र शमशेरले आफ्नो परिवारलाई साह्रै दुःख दिएको कुराले शुक्रराजको मनमा राणा शासनै उखेल्नुपर्छ भन्ने लागेको हुनुपर्छ। काठमाडौंको भोटाहिटीमा आर्य समाजको कार्यक्रम भइरहेको थियो। शुक्रराजले आर्य समाजको नीतिअन्तर्गत देशभित्र व्याप्त अन्धविश्वास, अशिक्षा, जातपात, छुवाछुत, बालविवाहजस्ता कुसंस्कारको विरोध तथा महिला उत्थान अभियान पनि सुरु गरे।

शुक्रराजको विवाह १९९५ मंसिरमा भयो। उनकी श्रीमती गर्भवती थिइन्। बच्चा भएपछि मात्र सभामा भाषण गर्न जानु राम्रो हुन्छ भनेर उनलाई सल्लाह दिए तापनि शुक्रराजले इन्द्रचोकको डबलीमा विशाल जनभेलामा कडा भाषण गरे– ‘जिन्दगीको बाजी लगाऊँ, के बाँच्नु छिःछिः गुलाम बनेर।’ भाषण सुनेपछि शुक्रराजलाई जनताले फूलमालाले सम्मान गरे। यस घटनाबाट राणा डराए। त्यसपछि उनीविरुद्ध षड्यन्त्र बन्न लाग्यो। यति सानो निहुँमै उलाई भोलिपल्टै पक्राउ गरियो। पद्यशमशेरले प्रश्न गरे– ‘खुलेआम भाषण गर्ने ? नेवार भएर वेदको व्याख्या गर्ने ?’ उत्तरमा शुक्रराजले भने– ‘नेवार परिवारमा जन्मिँदैमा गीता र वेदको प्रवचन दिन नपाइने भनेर कुनै शास्त्रमा लेखेको छैन, यो मेरो अधिकार हो।’ यो सुनेर राणा क्रुद्ध भए। राणा र त्यहाँ भएका अरू मानिसले ‘माफी माग, माफी दिन्छु’ भनेका थिए। तर शुक्रराजले भने– ‘मैले के अपराध गरेको छु र माफी माग्ने ?’

त्यसपछि उनलाई साङ्लो लगाएर ३ वर्षको कैद सजाय तोकियो। साङ्लो नमिलेर लगाउन नसक्दा शुक्रराजले भने, ‘राज्यमा एउटा गतिलो साङ्लो त छैन भने अरू के आशा गर्ने ?’ अन्ततः उनी जेल चलान भए। आम जनताका आँखा रसाए। शुक्रराजलाई जेल चलान गरेको ५ दिनपछि पत्नी मेनका देवीले छोरी जन्माइन्। तर ज्वरो आएर उनले प्राण त्यागिन् भने छोरीको पनि मृत्यु भयो। शुक्रराजलाई जानकारी गराइए पनि अन्तिम भेट गर्न पनि दिइएन।

विक्रम संवत् १९९७ माघ ९ गते राति मोटरमा राखेर उनलाई टेकु वाग्मतीतिर लगियो। र रूखमा झुन्ड्याएर मारियो।

। नेपालमा जहानियाँ राणा शासनको अत्याचारको पराकाष्ठा नाघिसकेको थियो। शुक्रराज शास्त्रीलाई फाँसीमा चढाउन लागेको अवस्थामा वेद र गीता पाठ गरेपछि उनले भने, ‘घाँटीमा फाँसीको फन्दा म आफैं लगाउँछु, तिमीहरूले गल्ती गर्लाऊ। म निरपराधी हुँदा पनि तिमीहरूले मृत्युदण्ड दिदै छौं, अब तिमीहरूले भोग्नुपर्ने हुन्छ, अनेकौं प्रायश्चित गरे पनि शान्ति पाउने छैनौ, तिमीहरूको कुलको सबै नास हुनेछ, अत्याचारी राणालाई सद्बुद्धि देऊ ओम तत्सत्।’ यति भनेपछि उनको खुट्टाले टेकेको इँटा धकेलियो र खुट्टाले भुइँ छाड्यो। अनि उनी सहिद भए।

शुक्रराजको हल्लिरहेको शरीरको छातीमा राणाले लेखेका थिए– ‘गद्दी ताक्नेलाई यस्तै दण्ड हुन्छ।’ शुक्रराज शास्त्री नेपाली जनमानसमा अमर भए।

सन्दर्भ सामाग्री

दीर्घराज प्रसाई, प्रकशित मितिः ९ माघ २०७६
विकिपिडिया

लुक्ला विमानस्थल: २ हजार ६ सय ५० डलरमा किनिएको भिरालो बारी

वि.सं २०२८ सालबाट नियमित उडान हुन थालेको लुक्लाबजारको दायाँपट्टी अवस्थित विमानस्थललाई प्रथमपटक सर्वोच्च शिखरको शिर चुम्न सफल भएका  तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्मानमा वि. सं. २०६४ पुसमा तेन्जिङ हिलारी विमानस्थल नामाकरण गरियो ।

संसारभरका विमानस्थलमध्ये रोमाञ्चक अनुभूति दिने विमानस्थलको सुचीमा यो आठौँ स्थानमा पर्ने बताइन्छ ।

विमान चालकहरूका अनुभवलाई सुन्ने हो भने रन वे सकिना साथ सय मिटर अग्लो ढुंगाको भित्तामा ठोकिनबाट जोगिन विमानस्थल नजिक पुग्दा जहाज सावधानीपूर्वक रोकिनु अत्यन्त जरुरी छ । जहाँ गल्तीका लागि कुनै छुट छैन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर छ जुन अरू विमानस्थल भन्दा छोटो हो ।

छोटो धावनमार्ग भएकाले त्यहाँ ’ओभरशूट’ सम्भव छैन् । एकछेउमा सातसय मिटर अग्लो भीर पनि भएकाले यो विमानस्थललाई संसारकै अति डरलाग्दो विमानस्थलमध्ये एक मानिन्छ ।

वर्षेनी हजारौँ पर्यटकहरू लुक्ला हुँदै सगरमाथाको आधार शिविरतिर जान्छन् । सगरमाथा आरोहण र पदयात्रामा जानेका लागि एकमात्र यातायातको विकल्प भनेको विमान हो । पदयात्रीहरू प्रायः लुक्लाबाट हिँड्न थाल्ने हुँदा वसन्त ऋतुमा त्यहाँ हवाई चाप बढी हुने गर्छ । पछिल्ला वर्षमा त्यहाँ दैनिक एक सयभन्दा बढि उडान हुन थालेका छन् ।

सर्वोच्च शिखर विजयी एडमण्ड हिलारीको अग्रसरतामा सगरमाथा क्षेत्रको सामिप्यतामा विमानस्थल निर्माणका लागि भएका थुप्रै सम्भाव्यता अध्ययनपछि लुक्लामा विमानस्थल बनाउने कार्य वि.सं २०२१ सालमा थालनी भएको हो । विमानस्थल भएको हालको स्थान स्थानीय शेर्पा समुदायको खेती किसानी गर्ने बारी थियो तसर्थ उनीहरू आफ्नो उब्जनीयोग्य जमिन विमानस्थलका लागि दिन तयार भएनन् अन्ततः हिलारीले तत्कालीन समयमा २ हजार ६ सय ५० डलरमा उक्त भिरालो बारी खरिद गरि ती नै जग्गाधनीहरूलाई विमानस्थल बनाउने काममा लगाउने गरि खरिद गरे ।

भिरालो जमिनलाई सम्याउन प्रतिकुल भौगोलिक अवस्थितिका कारण कुनै उपकरण लुक्ला पुर्याउन असम्भव भएको सन्दर्भमा उक्त जमिन सम्याउन हिलारीले नयाँ उपाय फुराए । स्थानीय शेर्पाहरूलाई मदिरा खुवाएर उक्त भिरालो जमिनलाई समतल बनाउने ध्येयले हिलारीले शेर्पाहरूलाई प्रस्तावित विमानस्थलको जमिनमा नचाउन थाले भने कतिपयलाई लठ्ठाहरूको सहयताले तान्न लगाए (तस्वीर हेरौं) । ठुल्ठुला काठका मुढाहरू घिसार्दै मैदान सम्याउने क्रम पछिसम्मै रह्यो ।

देशका अत्यधिक चाप भएका विमानस्थल मध्येको एक यस विमानस्थलको रन वे लामो समय घाँसे मैदान जस्तै थियो भने वि.सं २०५८ सालमा कालोपत्रे गरियो ।

बढ्दो हवाई चापलाई व्यवस्थापन गर्नका लागि नेपाल सरकारले हाल लुक्ला विमानस्थल क्षेत्रमा कम्तीमा ५ वटा नयाँ हेलिप्याड बनाउने तथा रन वे को स्तरोन्नतिको कार्य गरिरहेको छ जुन सन् २०२० को अन्तसम्म लक्ष्य राखिएकोमा उक्त अवधिमा कामले मुर्तरूप लिन सकेको छैन् । यस विमानस्थलमा सन् १९७३ देखि हालसम्म सानाठुला गरि कम्तीमा १ दर्जन दुर्घटना हुँदा थुप्रै स्वदेशी तथा विदेशी नागरिकले अकालमा ज्यान गुमाएका छन कैंयन् अंगभंग भएका छन् ।

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
डउड हल