सिंहदरबार आगलागीका बारेमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टको बयान !

राती त्यस्तै १० बजेको हुँदो हो। एकाएक ‘विद्युत् सर्ट’ भएर आगलागी भएको मलाई बताइयो। म बालुवाटारबाट मोटर टिपेर हिँडिहालेँ। तत्कालीन नाचघर अर्थात् राष्ट्रिय पञ्चायत भवनमा पुगेर आगलागीको त्यो दृश्य हेररिहँदा मेरा आँखा थामिएनन्। सिंहदरबारमा लागेको त्यो आगोको राप पुतलीसडक, थापाथली, बानेश्वर, घट्टेकुलो र भद्रकालीसम्म पुगेको थियो। आफूले केही गर्न नसके पनि त्यहाँ उपस्थित भएर आगलागीलाई काबुमा ल्याउन खटिरहेका तत्कालीन शाही नेपाली सेनालाई हौसला र प्रोत्साहन दिनु मेरो जिम्मेवारी र कर्तव्य थियो। बिहान हुँदा नहुँदै राजा वीरेन्द्र रानी ऐश्वर्यका साथ त्यहाँ पुगेका थिए। नेपाली सेनाको बहादुरी र साहसकै कारण सिंहदरबारको अग्रभाग ध्वस्त हुनबाट जोगाउन सम्भव भएको थियो।

प्रतिकूल मौसम र अन्य कुनै जोखिम नदेखिएको त्यस्तो ठाउँमा एकाएक कसरी आगलागी भयो भन्ने कुराले मलाई पनि ज्यादै चिन्तित तुल्यायो। त्यो एउटा विपत्ति थियो, टार्न नसकिने। कतिपय परराष्ट्र मन्त्रालयसँग सम्बन्धित धेरै महत्त्वपूर्ण कागजपत्र भएकाले साजिस रचेर आगलागी गराइएको आरोप पनि लगाउँछन्। अर्काथरी, कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट निकाल्न त्यस्तो षड्यन्त्र रचिएको पनि भन्छन्। त्यस्ता कुरामा मलाई रत्तिभर विश्वास छैन। कुनै सत्यता पनि देख्दिनँ।

रातभरि त्यहाँ बसेर बिहान बालुवाटार फर्किरहँदा मेरो हालत युद्धमा सबै कुरा हारेर लुरुलुरु घर फर्किएको सिपाहीको जस्तो भएको थियो। बालुवाटार पुगेपछि राजा वीरेन्द्रलाई भेटेर नैतिकताको आधार दर्साउँदै आफ्नो राजीनामा पत्र बुझाएँ। तर, राजा वीरेन्द्रले राजीनामाको त्यो पत्र मलाई नै फर्काउँदै भने, “सिंहदरबारमा तिमीले आगो लगाएको होइन, तिमीले किन राजीनामा दिने ? राजीनामा पत्र आफ्नै खल्तीमा राख। मलाई सघाऊ। बस। राजीनामा दिने कुरा नगर।”

मेरो आत्माले त्यो कुरा मान्दै मानेन। मैले राजासामु ज्यादै विनम्रतापूर्वक भनेँ, “म प्रधानमन्त्री छु। मेरो जिम्मामा भएको राष्ट्रिय सम्पत्ति खरानी भयो। अब एक मिनेट पनि यस पदमा बस्न मेरो मनले दिएन।” राजासँग विवाद नै पर्‍यो। मैले एकोहोरो जिद्दी गरेरै राजीनामा दिएँ। मेरो राजीनामालगत्तै नेपालस्थित तत्कालीन भारतीय राजदूत एलपी सिंहले बालुवाटारमै आएर मलाई भनेका थिए, “त्यति नै घटनाका आधारमा तपाईंले किन राजीनामा दिनुभयो ? राजीनामा नै दिनुपर्ने त जरुरी थिएन।” मैले यसको जवाफ फर्काउनु उचित ठानिनँ। मात्र यति सोधेँ, “एउटा सामान्य रेलवे दुर्घटना हुँदा लालबहादुर शास्त्रीले किन प्रधानमन्त्रीको पदबाट राजीनामा दिए ? मलाई यसको जवाफ दिनूस् त ?” उनी नाजवाफ भए ।

त्यस बेलाको मेरो राजीनामालाई कतिपय अभूतपूर्व ऐतिहासिक घटनाका रूपमा चित्रित गर्छन्। त्यो त आफ्नो कर्तव्यप्रति सावधानी र जिम्मेवारीबोध गराउने खुड्किलो मात्र थियो। मैले त्यस घटनालाई त्यसरी नै बुझेको छु। पदमा पुगेपछि आनन्द लिऔँ, बसिराखौँ भन्ने सोच राख्नु उचित ठान्दिनँ। जिम्मेवारी लिएपछि त्यो पूरा पनि गर्नुपर्छ। एउटा मान्यता स्थापित गर्न पनि त्यसो गर्नु जरुरी थियो।

मैले त्यसरी नैतिकताको प्रश्न तेस्र्याएर राजीनामा दिनुको अर्थ एउटा मान्यता र परम्परा बसोस् भन्ने पनि हो। सार्वजनिक पद भनेको व्यक्तिगत प्रयोजनका निम्ति होइन भन्ने मेरो सुरुदेखिकै मान्यता हो। मुलुकका लागि केही गरौँ भन्ने भावनाले मात्र सरकारको जिम्मेवारी सम्हालेको थिएँ। ममा कुनै सत्तालिप्सा थिएन।

नैतिकताका आधारमा मैले राजीनामा गरेँ भनेर फुर्ती लगाउने कुरा होइन। तर, इतिहासले प्रमाणित गर्छ, कसले कति भ्रष्टाचार गरे र बेइमानी गरे ? कसको बेलामा के के भयो ? कसको पालामा राष्ट्रको ढुकुटी सिध्याउने काम भयो ? यो जान्नु जनताको सरोकारको कुरा हो। नेपाली जनताले अवश्य पनि हिसाबकिताब राखेका छन्। मुलुकमा केही नभएको अवस्थामा भएको त्यही एउटा सिंहदरबार पनि आगलागीमा परेर ध्वस्त भयो। प्रजातन्त्रमा निश्चित मूल्य, मान्यता र पद्धतिहरू हुन्छन्। मैले त्यसैको पालना गरेको हुँ। त्यसमा मलाई गर्व छ।

सिंहदरबारमा आगलागी हुँदाका प्रधानमन्त्री कीर्तिनिधि विष्टसँग नेपाल साप्ताहिकका लागि ईश्वरी ज्ञवालीले तयार पारेको सामाग्रीबाट जुन २०७० फाल्गुन ४ गते भएको थियो ।

रत्नपार्कको सुरूवाती स्वरूप

वि.सं २०२१ सालमा निर्माण सम्पन्न भएको रत्नपार्कमा तत्कालीन राजा महेन्द्रले रानी रत्नराज्यलक्ष्मी शाहको नाममा गर्न लगाएका थिए। वि.संं २०१८ सालमा एक कमिटी गठन गर्दै महेन्द्रले रत्नपार्कको निर्माण गर्न लगाएका थिए।

पञ्चायतकालमा अञ्चलाधीशको कार्यालयले यसको रेखदेख गर्ने गर्दथ्यो। तर वि.संं २०३३ सालमा भने तत्कालिन श्री ५ को सरकारले सार्वजनिक उद्यान तथा सभागृह विकास समिति गठन गर्दै यसको रेखदेखको जिम्मा लगाएको थियो। पञ्चायत अन्त्य भएपछि पनि लामो समयसम्म यहि समितिले नै यसको रेखदेख गर्दै आएको थियो तर वि.सं. २०५८ चैत्र ५ गतेको मन्त्रीपरिषदको निर्णयले सो समितिलाई महानगरपालिकामा गाभ्ने निर्णय गरेपछि यसको स्वामित्व महानगरपालिकालाई आएको थियो। महानगरपालिकामा आएपछि पनि पार्क लामो समय व्यवस्थित हुन सकेन्। पर्खालको मर्मत सम्भार र महानगरपालिकाले उचित चासो नदिँदा पार्क लामो समय अव्यवस्थित रह्यो।

वि.संं २०७१ वैशाखमा महानगरपालिकाले पुनःनिर्माणको लागि रत्नपार्कलाई पूर्ण रुपमा बन्द गरेेको थियो। २०७१ मंसिरमा सम्पन्न भएको सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको थियो। झण्डै १५ महिना बन्द भएपछि खुलेको रत्नपार्क प्रवेशमा वि.संं २०७२ असार १५ गतेदेखि प्रवेश शुल्क लागु गर्न थालियो ।

तस्विरमा वि.संं २०२२ सालको रत्नपार्क