यसरी भएको थियो नेपालकै पहिलो रक्तदान

आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । सन् १९०१ मा डा.कार्ल लेण्डस्टेनरले रक्त समूह पत्ता लगाए । मानव शरीरमा ए, बी र ओ रक्त समूह हुन्छ भन्ने महत्त्वपूर्ण उपलब्धि हासिल भएकोले सन १९३० मा उनीलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो । डा.कार्ल लेण्डस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व स्वास्थ्य संगठनले विश्व रक्तदाता दिवसको रूपमा मनाउने निर्णय गर्यो।

सन १९३१ मा संसारको पहिलो ब्लड बैंक स्पेनको बार्सिलोना शहरमा स्थापना भएको थियो । सन् १९४० मा बाईनर र लेण्डिस्टेनरले रक्तसमूह अन्तरगत आर.एच.(पोजिटिभ र नेगेटिभ) पत्ता लगाए ।

सन् १९६६ मा नेपालको पहिलो ब्लड बैंक लक्ष्मी ब्लड बैंक काठमाडौंमा स्थापना भयो । नेपालको पहिलो रक्तदाता दयावीरसिंह कंसाकार हुन जसले वि.संं २००० सालमा रक्तदान गरेका थिए ।  त्यस्तै नेपालमा पहिलो पटक रक्तदान गर्ने महिला तारादेवी तुलाधर थिइन् भने पहिलो नेगेटिभ समूहका रक्तदाता रामेश्वर प्रसाद श्रेष्ठ भएको बताइन्छ ।

नेपालमा वि.सं.२०७१ मा रक्तसञ्चार नीति जारी भएको छ । यो नीतिसंगै रगत व्यवस्थापनमा एकल नेतृत्व रहेको नेपाल रेडक्रस सोसाईटी लगायत अन्य संस्थाले समेत निश्चित मापदण्ड पूरा गरी रगत वा रक्ततत्व व्यवस्थापन गर्न सक्छन् । जुन १४ तारिखका दिन रक्तदाताको महत्त्वपूर्ण भूमिकालाई सम्मान व्यक्त गर्दै विविध रचनात्मक कार्यक्रमहरू, रक्तदाता उत्प्रेरणा, अत्याधिक रक्तदान गर्ने रक्तदाता सम्मानलगायत विविध कार्यक्रम आयोजना गर्ने गरिन्छ ।  नियमित रूपमा विश्व रक्तदाता दिवस मनाउने क्रममा प्रत्येक वर्ष रक्तदाता सम्मानको लागि र नयाँ रक्तदाता निर्माण गर्नको लागि विश्व स्वास्थ्य संगठनले नारा निर्धारण गर्दछ

रगतको अभावबाट जीवन मरणको दोसाँधमा रहेका बिरामीलाई दयावीर सिंह कंसाकारले आफ्नो रगत दिएर जीवन बचाएको थाहा पाएका राजा महेन्द्रले वि.सं. २०२१ बैशाख २६ गते विश्व रेडक्रस दिवसका उपलक्ष्यमा रेडक्रस नेपालको कार्यालय त्रिपुरेश्वरमा पुगि रक्तदान गरेका थिए ।

यसरी भएको थियो नेपालकै पहिलो रक्तदान
कुरा वि.सं.२००० सालको हो । राणा प्रधानमन्त्री जुद्धशमसेरको शासनमा थिए । समाजमा जातजाति र छुवाछुतको नाटीकुटी व्याप्त  थियो । कट्टर नियममा बाँधेको समाज त्यसमाथि पनि रगत लिनु र दिनु भनेको निकै डरलाग्दो कुरीति र नीति विपरीत थियो । कामको सिलसिलामा परोपकार संस्थाका संस्थापक दयावीरसिंह कंसाकार आफुले चिनेका सुपरीटेन्डेन्ट डा.देवव्रतदास गुप्तालाई भेट्न वीर अस्पताल गएका रहेछन् । यतिकैमा उनले वीर अस्पतालको प्राङ्गणमा एक अधबैँसे महिला जोड जोडले रोईरहेकी देखे । ती महिला आफ्नो एक्लो छोरा रत्नकाजी तुलाधरको ज्यानको भिख माग्दै बिलौना गर्दै थिईन । त्यहाँ उनको रोदन सुन्ने कोही थिएन । न त उनलाई सहयोग गर्न सक्ने नै कोही थिए । ती महिला त्यसरी ज्यान फालेर रोईरहेको देखेर दयावीरले सोधे, के भयो तपाईँलाई ? किन यसरी रोएको ? ती महिलाले आफ्नो छोरा रगत नभएर मृत्युशैयामा छट्पटाई रहेको व्यथा सुनाईन् । ‘तत्काल रगत दिन सकेन भने मेरो एक्लो छोरो मर्छ’ उनले रुँदै दयावीरलाई भनिन् । यो कुरा सुनिसके पछि तपाई नै हृष्टपुष्ट हुनुहुन्छ किन रगत नदिएको भनि दयावीरले प्रतिप्रश्न गरे । रगत दिएपछि मान्छे मरिन्छ भनि डरले उनले रगत दिन मानिनन् । रगत दिनको लागि दयावीर तयार भए । तत्काल उनको छोराको उपचार गरिरहेका डाक्टरलाई भेटे । आफ्नो रगत झिकी बिरामीलाई दिन डाक्टरलाई दयावीरले आग्रह गरे । यसरी कुनै एक अपरिचित मान्छेले नचिनेको व्यक्तिलाई रगत दिन लागेको कुरा सुनेर रत्नकाजीको उपचारमा संलग्न रहेका डाक्टर स्वंयमले पनि अचम्म माने । संयोगले मृत्युशैयामा छट्पटाई रहेको रत्नकाजी र दयावीरको रगत समुहपनि एउटै रहेछ । डाक्टरले कुनै ढिलाई नगरी दयावीरको शरीरबाट रगत निकाल्न थाले र रगत नभएर छटपटाई रहेका रत्नकाजीको शरीरमा सीधै रगत दिएर उनको ज्यान बचाए ।

त्यतिबेला ब्लडबैंक वा रगत संकलन गर्ने कुनै केन्द्र थिएन् । रगत मान्छेको शरीरबाट सीधा झिकेर बिरामीमा ट्रान्सफर गर्नुपर्थ्यो । वि.सं.२००० सालमा दयावीरले मृत्यु शैयामा रहेका रत्नकाजी तुलाधरलाई दिएको रक्तदान नै नेपालको पहिलो ऐतिहासिक रक्तदानका रुपमा रहन पुग्यो । वि.सं.१९६८ साल बैशाख २२ गते काठमाडौंको केल मासं गल्लीमा जन्मेका समाजसेवाका अग्रणी व्यक्तित्व दयावीरसिंह कंसाकार नेपालका प्रथम रक्तदाता एवं नेपालको जेठो लोककल्याणकारी संस्था परोपकार संस्थाका संस्थापक अध्यक्ष हुन् । उनको समाजसेवाको कदर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । उनको यो योगदानको कदर गर्दै तत्कालिन श्री ५ को सरकारले वि.सं.२०५९ सालमा उनको तस्वीर अंकित हुलाक टिकट समेत प्रकाशित गरेको थियो । उनको मृत्यु वि.सं.२०५७ माघ २३ गते भएको भयो ।

सन्दर्भ सामाग्री
विकिपडिया
हाम्रोडक्टरज्यूज
कमलरत्न तुलाधर

राजा महेन्द्रले प्रशंसा गरेको सुन्दा स्वर्ग नै पुगेजस्तो भयो- भुवन चन्द

वि.सं २०२१ सालमा निर्मित ‘आमा’ चलचित्रमा ‘पहिलोपटक’ अभिनय गरेकी भुवन चन्द नेपालको पहिलो अभिनेत्री हुन् । 

वि. सं. २००६ साल असार १ गते काठमाडौंको धोबीचौरमा जन्मेकी चन्द १५ वर्षकै उमेरमा नेपाली चलचित्रमा पहिलो नायिका बनेकी थिइन्। आमा (चलचित्र)मा नायिकाको भूमिका निभाउँदा उनको उमेर मात्र १५ वर्षको थियो।

वि. सं. २०२२ साल असोज ५ गते काठमाडौंको न्युरोडमा रहेको रञ्जना हलमा चलचित्र आमा सार्वजनिक प्रदर्शन गरिएको थियो। नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द सुरुमा गायिका थिइन्। आफ्ना पिता उस्ताद स्वर्गीय भैरवबहादुर थापाकी छोरी भुवन चन्दले वि. सं. २०१८-२०१९ सालतिर गीत गाउन थालेकी थिइन्। आफ्ना पिता गायक भएका कारण छोरी पनि गायन क्षेत्रमा नै लाग्नुपर्छ भन्ने परिवारको मान्यताविरुद्ध गएर त्यसबेलाको अवस्थामा पनि साहसिक कार्य गर्दै उनी अभिनयतिर लागिन्। त्यसो त बालकृष्ण समको नाटकबाटै वि. सं. २०१० सालबाट उनले बाल कलाकारको रूपमा रंगमञ्चमा देखा परेकी थिइन्।

कत्थक नाचमा म्याट्रिक र डिप्लोमा हासिल गरेकी चन्द सन् १९७६ मा हरिश चन्दसँग वैवाहित सम्बन्धमा गाँसिएकी थिइन्।

नेपाल सरकारले निर्माण गरेको पहिलो फिचर फिल्ममा उनको मुख्य भूमिकाका कारण उनी नेपालको पहिलो अभिनेत्री भनेर चिनिन्छिन्। उनले हिजो आज भोलि(१९७६), मनको बाँध(१९७३), सिन्दुर(१९८०), जीवन रेखा, के घर के डेरा(१९८७), पच्चिस बसन्त (१९८८), शान्तिदीप (१९८९) लगायत कैयन् चलचित्रहरूमा चन्दको कुशल अभिनय देख्न सकिन्छ ।

तर पहिलोपटक आफूले अभिनय गरेको चलचित्रको ‘प्रिमियर सो’ नै चन्दले हेर्न पाइनन्। एउटा कार्यक्रमका लागि चीन जानुपरेकाले ‘प्रिमियर’ मा सहभागी हुन नपाएको उनको भनाइ थियो ।

फिल्मको ‘प्रिमियर’ भने तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए। फिल्म हेरेपछि राजाले आफ्नो अभिनयबारे तारिफ गर्नुभएको भन्दै भुवनले त्यो बेलाको घटना सुनाइन्, ‘राजाबाट धेरै नै मेरो तारिफ भएको थियो रे। हाम्रो भुवनले पनि भारतको कलाकारभन्दा कम त गरेको रैनछ नि भन्ने कुरा गर्नुभयो भन्ने सुनेपछि त स्वर्गमा पुगेजस्तो भयो।

अभिनेत्री भुवन चन्दलाई जन्मदिनको शुभकामना ।

सन्दर्भ सामाग्री
हरिश चन्द
विकिपिडिया
सेतोपाटी