राजा महेन्द्रका १० दुर्लभ तस्विर

राजा महेन्द्रले लामो समय राज्य चलाउन पाएनन् । वि.सं. २०११ फागुन ३० गते राजा त्रिभुवनको देहावसान पछि युवराज महेन्द्र राजा भएका थिए । राजा महेन्द्रको जन्म आषाढ कृष्ण पक्ष नवमीको दिन वि.सं १९७७ जेठ ३० गते शुक्रबार भएको थियो । त्यो समय राजा को थिए भन्दा पनि श्री ३ महाराजा को थिए भन्ने महत्वपूर्ण हुने समय थियो । तसर्थ महाराजा श्री ३ चन्द्रशम्शेरको प्रभुत्व रहेको समय थियो । त्रिभुवनका दुवै रानीहरु भारत सीतापुरबाट विवाह गरेर ल्याइएको हुँदा राणा परिवारसँग धेरै निकटता थिएन । बाल्यकालमा दरबारमा नै शिक्षा दिक्षाको प्रबन्ध मिलाइएको थियो ।

विस्तारै दरबारिया शिक्षकको रुपमा किर्तिराज दलीले दरबारमै शिक्षा दिन थाले । साथै तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थाले । अंग्रेजीका सुविख्यात कविका कविताहरु पढाउन थालेका थिए । भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यन गराउन लगाइयो । पण्डित दधिराम पनि दरबारमा पढाउन आइपुगे पछि दुवै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाए । विस्तारै संगीततर्फ पनि रुचि देखाउन थाले पछि भुपालमानसिंहलाई शास्त्रिय संगीत सिकाउन लगाए । यसरी दरबार भित्रको सम्पूर्ण शिक्षाले सबै कुरामा पारंगत हुँदै गए ।

घोडचढीमा सिपालु रहेका युवराजको लागी सानो घोडा नै राखिएको थियो । विस्तारै युवराज जवान हुँदै थिए यता दरबारमा धाई तथा अन्य सेवाका लागि रुम्जाटारकी रम्बा गुरुङलाई राखिएको थियो । रम्बासंग भर्खर जवान हुँदै गरेका अल्लारे उमेरका युवराजले गर्भवती बनाइदिए । दरबारले भ्रुण हत्या नगर्ने चलनले गर्दा वि.सं १९९६ मा छोरा जन्मियो । रम्बाको नाम दरबारले गीता राखिदियो र ल्याइते सरहको अधिकार दियो । यसरी आमा छोरालाई सम्पूर्ण खर्चको व्यवस्था दरबारले गराइदियो तर राजपरिवारको सदस्यको अधिकारबाट भने वञ्चित नै राखे । गीताबाट जन्मिएका छोरा रवीन्द्र बाबु जस्तै गीतकार एवं कवि भएर निस्किए । तर उनले आमालाई भने हेरेनन् । दरबारले चार जना नोकर सहित वार्षिक खर्च र बस्नलाई बत्तिसपुतलीमा घर दिएको थियो । तर महेन्द्रको देहावसान पछि यो खर्चमा कटौती गरियो ।

यसरी दरबार भित्रकी सेविकासँग नै लसपस भेटिएपछि युवराजको विवाह ईन्द्रराज्य लक्ष्मीसँग वि.सं.१९९७ बैशाख २६ गते गराइ दिए । विवाहको दश वर्ष पछि दिल्ली पलायन हुनु केवल दुइ महिना अगाडी युवराज धिरेन्द्रको जन्मको समय अत्यधिक रक्तश्रावले गर्दा युवराज्ञी इन्द्रको देहावसान भयो । युवराज्ञी इन्द्रको देहावसान भएको दुइ वर्षपछि वि.सं. २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा (रत्न)संग विवाह गरे । राजा त्रिभुवन यस विवाहको लागी मञ्जुर थिएनन् । जसले गर्दा युवराजले सुटुक्क नागार्जुन दरबारमा गएर रत्नसँग विवाह गरेका थिए । राजा त्रिभुवनको कडा निर्देशन तथा ६ बालबच्चाको भविष्यको लागी पनि विवाह अगाडी नै पाठेघर निकाल्न लगाइएको थियो भनिन्छ । सत्य जे भए पनि सन्तान नपाउने शर्तमा नै रत्नले विवाह गरेको चर्चा त्यति बेला भएको थियो । हुनपनि युवराज्ञी रत्नले सबै सन्तानलाई आफ्नै सन्तान सरह हुर्काएकी थिइन् ।

राजाको रुपमा महेन्द्रले खासै लामो समय शासन गर्न पाएनन् । पुरा १७ वर्ष पनि शासन गर्न पाएका थिएनन् । तर पनि छोटो अवधीमा पनि धेरै काम गरेर देखाएका थिए । शायद यो अवधीमा नेपालमा जुन किसिमको विकासका पूर्वाधारहरु बने यसले पछिसम्म विकासका लहरहरु नै चले ।

गाउँ गाउँमा पुगेर गाउँलेका झुप्रामा पुगेर उनिहरुको दुख सुन्ने परिपाटी उनले शुरु गरेका थिए । जुनपछि राजा वीरेन्द्रले पनि नियमित गरे । राजा महेन्द्रको यदि २०२८ सालको माघमा देहावसान नभएको भए सोही वर्ष फागुन ७ मा बहुदलीय व्यवस्थाको घोषणा गर्दै थिए भन्ने पनि सुनिएको थियो भनिन्छ ।

राजगद्दी सम्हालेको ५ महिनामा नै २०१२ साउन १७ गते चीनसँग दौत्य सम्बन्ध कायम गरेर भारतको प्रभावलाई केही मत्थर गर्ने कोशिस गरेका थिए राजा महेन्द्रले । एक वर्ष नबित्दै असोज २२ मा पहिलो पञ्चवर्षिय योजनाको घोषणा गरेका थिए । तथा केवल नौ महिना पुग्दा मंसिर २९ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । यसरी राजगद्दी सम्हालेको पहिलो साल नै दलहरु बीचको सामंजस्य बढाउने प्रयासको थालनी पनि गरिसकेका थिए । देशमा प्रजातन्त्र आगमन पछिको राजनैतिक घटनाक्रमलाई राम्ररी नियाल्ने हो भने त्यसबेलाका राजनैतिक दलहरु सक्षम भइनसकेको आभास हुन्छ । यस बीच मातृकाप्रसाद कोइराला दुइ पटक प्रधानमन्त्री बने तर अन्य प्रधानमन्त्रीहरु लामो समय टिक्न सकेनन् वा भनौ टिक्न दिएनन् ।

वि.संं २०१३ बैशाख २० गते भएको राजा महेन्द्रको शुभराज्याभिषेक नेपालमा विश्वका प्रमुख कुटनीतिज्ञहरूको पहिलो जमघट थियो । यस शुभराज्याभिषेक समारोहले नेपाललाई विश्वभर चिनाउन मद्दत गरेको थियो । यस समारोहमा पहिलो पटक नेपालले विश्वभरका पाहुनाहरूले विशेष किसिमले स्वागत तथा सत्कार गर्ने अवसर पाएका थिए ।

देशमा प्रजातान्त्रिक सरकार बने पछि राजा लामो विदेश भ्रमणमा निस्केका थिए । विश्व राजनितीलाई नजिकबाट नियालेर फर्केका राजाले राष्ट्रिय आमचुनावबाट बनेको विपी सरकारलाई पनि अपदस्थ गरिदिए । देशमा रहेका राजनैतिक आस्था भएकाहरुको सधै यहि गुनासो रहने गर्दछ, “किन राजाले जननिर्वाचित सरकारलाई अपदस्थ गरिदिए” ।

देशका जनतासँग प्रत्यक्ष सम्वादको थालनी पश्चिम नेपालबाट गर्दा बाटो घाटोको अप्ठ्यारो महसुस गरि २०१८ मा पूर्व पश्चिम राजमार्गको उद्घाटन गर्न पाउँदा राजा सबैभन्दा बढी खुशी भएका थिए । हुनपनि यस राजमार्गको निर्माणले पूर्व देखि पश्चिमसम्मका नेपालीले आफ्नो देश सहजै चिन्न पाएका थिए ।

भनिन्छ, त्रिभुवन विश्वविद्यालय बनाउने समयमा देशको ढुकुटीमा रकम अभाव हुँदा मुमा बडामहारानी कान्ती र इश्वरीको गहना बेचेका थिए । राजकाजको समय कतिपय कठोर निर्णयहरु पनि भए होलान । जसलाई केही वर्गले सहजै स्वीकार गर्न सकेनन् । तर समग्रमा राजा महेन्द्रले चालेका कतिपय कदमहरु राजा वीरेन्द्रले अगाडि बढाउन सकेनन् । राजा वीरेन्द्र धेरै नरमवादी थिए तर राजा महेन्द्र समय अनुकुल बन्थे । कहिले कठोर कहिले नरम भएर आवश्यक कदम चाल्थे ।

धेरैले राजा महेन्द्रको २०१७ सालको कदमको आलोचना गर्दछन् । तर राजाले २-३ दिनको निर्णयले यो कदम चालेका थिएनन् । उनले प्रजातान्त्रिक सरकार बने देखि नै यस माथी गोप्य रुपमा कडा नजर राख्न थालेका थिए । साथै यसको विकल्पको लागी लामो अध्ययन पनि गरिरहेका थिए । पञ्चायत शब्द संस्कृत शब्द हो र यसको व्यवस्थाको शुरुवात धेरै पहिले देखी भारतका ग्रामिण क्षेत्रमा शुरु भएको थियो । गाउँका केही पञ्च भलाद्मीहरुको समुहले गाउँको सम्पूर्ण व्यवस्था गर्दथे । उनीहरुमा आफ्नै कानुनी अधिकार हुने गर्दथ्यो । यसैबाट प्रभावित भएर महेन्द्रले बृहत्तर रुपमा राष्ट्रिय ब्यबस्थाको थालनी गरेका थिए । पञ्चायती व्यवस्था वास्तवमा पूर्ण रुपमा जनतामुखी थियो । तर पछि यो पूर्णरुपमा राजामुखी हुन पुग्यो । जसले गर्दा यसका गुण भन्दा दोषहरु बढी बाहिरिन पुग्यो । पञ्च भलाद्मी भन्ने शब्दमा कति आस्था र श्रद्धा थियो पछि पञ्चेको रुपमा बदनाम भयो ।

राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा सबैभन्दा बढि मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए । देशको विकासको लागी बिभिन्न देशबाट सहयोग पाएका थिए । उद्योग कलकारखानाहरु खुलेका थिए । क्रमश बाटाहरुले पनि एक अर्को शहरलाई जोड्दै थियो । त्यतिबेला ति उद्योग कल कारखानामा रहेका कर्मचारी तथा मजदूरहरु राष्ट्रमुखी सोच राख्ने थिए । तर अहिलेको तुलना गर्यो भने व्यक्तीमुखी तथा दलमुखी हुन पुगे । जसले गर्दा सिमित ब्यक्ति त सम्पन्न भए तर समग्र देश सम्पन्न हुन सकेन ।

राजा महेन्द्रको जन्मजयन्तीमा उनको स्मरण गर्दै हेराैं केही दुर्लभ तस्विरहरूः

मणिविक्रम शाह नेपालका ‘म्याराडोना’

दक्षिण अमेरिकी खेलाडी म्याराडोना सन् १९८० को दशकमा विश्व फुटबलमा ‘बादशाह’ उन्मुख नाम थियो। ठिक त्यहि समयमा मणिविक्रम शाहले नेपाली दर्शक दिर्घाबाट ‘म्याराडोना’ को उपाधि पाइरहेका थिए।

त्यो उपमा पाउनु स्वभाविकै थियो। उनले रंगशालामा म्याराडोनाकै शैलीमा आफुलाई प्रस्तुत गर्थे। सटिक पास निकाल्ने र बललाई गोलपोष्ट चुमाउने उनको विशेष खालको शैली थियो। डेड बल र उनको खुट्टाको गज्जब सम्बन्ध छ। डेड बल उनी कमै मिस गर्थे। अहिले पनि नेपाली फुटबलमा वान स्टेप बल हान्न सक्ने खेलाडी धेरै कम छन्। शाह भने त्यसमा पनि पारङ्गत थिए।

विपक्षीहरु पेनाल्टी बक्स वरिपरि शाहको खुट्टामा बल भए सधै खतरा महशुस गर्थे। अझ त्यो पनि बायाँ खुट्टामा भए झनै खतरा।

बाँया खुट्टे शाह विदेशी क्लबहरुसँग खेल्दा पनि नेपाली मिडफिल्ड र फरवार्ड दुवै खेल्न सक्ने आफ्नो समयमा प्रतिभावान खेलाडी हुन्। विदेशी र घरेलु मैदानमा खेल्दा फरक महशुस गर्ने खेलाडीहरुको बीचमा उनको अलग पहिचान थियो । उनी दुवै ग्राउण्डमा उत्कृष्ट प्रदर्शन गर्न सक्थे ‘नो नर्भस’। ‘हाइ डोमिनेटिङ पावर’ भएका शाह मैदानमा छिरेपछि जित्नैपर्छ र खेल्नैपर्छ भन्ने भावना लिएर खेल्ने खेलाडी थिए । उनी आफ्नो टोलीका सँधै राम्रो खेलाडी त हुँदै हुन् अरुलाई पनि त्यस्तै बनाउने प्रयास गर्थे।
१९९८ मा एसियन खेलकुद उनको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो। राष्ट्रिय टोलीका कप्तान समेत रहेका उनले मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए। घरेलु फुटबलमा मुख्य त उनी मनाङ मर्स्याङ्दीका खेलाडी थिए । यसबाहेक आरसिटी, थ्री स्टार, आरएनएसीबाट पनि उनले थुप्रै पटक खेले। तर, उनको मुख्य क्लब मनाङ नै थियो। शाहले तत्कालिन समयमा फुटवलको सर्वाधिक राशीको रुपक स्मृति पुरस्कार पनि प्राप्त गरे वि.सं. २०५५ मा।

शाहको नाम सँग १९९३ को छैटौं दक्षिण एसियाली खेलकुद (साफ) को फाइनल छुट्दैन। नेपाल र भारतबीच भएको त्यो जीवन मरणको खेलमा नेपाल भारतसँग २–१ ले पछि परिरहेको अन्तिम समयमा जादुयम गोल गर्न सफल भए शाह । खेलको अन्तिम समयतिर फ्रि–किकमा गरेको दुर्लभ गोलले खेल २–२ को बराबरीमा आयो। त्यहि गोलको कारण खेल टाई–ब्रेकरमा पुग्यो र ४–३ को विजय हासिल गर्दै नेपालले दोस्रो पटक स्वर्ण पदक जित्यो। नेपालले अहिलेसम्म फुटबलमा जितेको त्यो पहिलो स्वर्ण पदक थियो जसमा शाहको अतुलनीय योगदान रह्यो ।
शाहलाई ‘गड गिफ्टेड’

खेलाडी भन्दा फरक पर्दैन। उनको पारिवारिक माहोल नै खेलकुदमय थियो। उनका पिता लक्ष्मणविक्रम शाह मनाङका खेलाडी एथलेटिक्स प्रशिक्षक थिए। यहि माहोलले उनलाई खेल जीवनमा प्रवेश गर्न कठिन भएन।
स्टार हुँदा हुँदै पनि कुनै शाह प्रतिबन्धित भए। यो २०३८ तिरको कुरा थियो। थ्री स्टार र ठमेल ११ को झगडा हुँदा प्रतिबन्धित ठमेलका पाँच खेलाडीमध्ये उनी पनि एक थिए। त्यही वर्ष १९८३ मा पहिलो पटक नेपालले उमेर समूहको फुटबल खेल्यो यु–१३ प्रिन्सेस कप थाइल्यान्डमा। त्यहि गेमनै उनको प्रतिबन्ध फुकुवा गर्ने उपयुक्त अवसर बन्यो। त्यहि गेमको लागि शाहको निलम्बन फुकुवा गरेर थाइल्याणको लागि छनोट गरियो। त्यहीबेला विराट शाह, मृगेन्द्र, कुमार कटुवाल लगायतका खेलाडी पनि थिए। १९८४ मा यु–१३ को कप्तान भएर उनि थाइल्याण्ड गए शाह। १९८४ मा चीनमा भएको यु–१६ एसियन कपमा पनि शाह पुगे। विदेशी रंगशालामा नेपाली फुटबललाई पुर्याउन शाहको अमुल्य योगदान रहेको छ।

ठमेल प्रतिबन्धमा परेपछि मनाङ मर्स्याङ्दीको जन्म भयो। मनाङले २०३९ मा डी लिग खेल्यो। ०४० मा सी, ०४१ मा बी र ०४२ मा ए यी सबैमा मनाङ सबै च्याम्पियन भयो। शाह त्यसको एउटा मुख्य हिस्सा थिए। त्यो समयमा एन्फाले एन्फा कप आमन्त्रण फुटबल गर्थ्यो। यसमा नेपाल रातो र नेपाल निलो भन्ने टिम हुन्थे। १९८४ मै राम्रो खेलाडी भएकाले उनी नेपाल निलोमा परे।

५१ वर्षको उमेरमा नेपाली म्याराडोनाको २०७५ बैशाख ३१ गते निधन भयो ।

सन्दर्भ सामाग्री
नगरिकन्यूज
प्रशान्त लामिछाने
मणिविक्रम शाहको फेसबुक