राराको सौन्दर्य पछाडि लुकेको पीडा

वि.संं २०२० फागुन २० गते शुक्रबार राजा महेन्द्र रारा ताल पुगेका थिए । भनिन्छ, त्यतिबेला रारा पुग्ने राजा महेन्द्र नै पहिलो विशिष्ट व्यक्ति थिए । केवल त्यहीँ वरपरकाले देखेको रारा यति सुन्दर छ भन्ने रारा गाँउ बाहिरका कमैलाई मात्र थाहा थियो । रारा देखेर राजा महेन्द्र यति मन्त्रमुग्ध भए कि त्यहीँ ताल किनारमा रहेको धुपीको चौतारामा बसेर कविता कोरेः

सुन्दरताको भण्डार सारा,
के खनाया यसै रारामा
राराकी अप्सरा

रारा क्षेत्रलाई यसरी नै सुन्दर रहिरहन दिनुपर्छ भन्ने सोँचमा राजा महेन्द्रको ध्यान गयो । त्यसबेला पञ्चायतकाल थियो, राजाले बोलिदिए पछि त्यसलाई पूर्ण गर्न पञ्चहरुको दौडधुप शुरु हुने नै भयो । रारा क्षेत्रको बस्तीले राराको सुन्दरता नष्ट हुन सक्ने आँकलन गरेर रारालाई बस्तीरहित बनाउनुपर्ने निधो भयो । सुरूका दिनमा ताललाई रारा दहले परिचित उक्त तालको नाम ०२० सालपछि महेन्द्र तालका नाममा चिनिन थाल्यो ।

राजा पुग्नु केहिको लागी खुशीको कुरा थियो । केहि राजाका कविताले रमाए तर केहीको लागि भने राजाको यो आगमन अभिशाप भएर आयो । राजाको त्यो भ्रमण सम्झनै मन नलाग्ने कथा भएर आयो ।
तालनजिकै तीन बस्तीहरु मुर्मा, रारा र छाप्रु थिए । यी बस्तीमा रारा र छाप्रुमा मात्र करिब २३२ घरधुरी थिए । ती २३२ घरधुरीमा करिब १५०० को संख्यामा बसोबास थियो । अब बस्ती कसरी हटाउने भन्ने विषयमा निकै छलफल भयो । सैपाल हिमालको काखमा रहेको पहाडी भू-भागमा कोणधारी जंगलले भरिएको यो रमणीय ठाँउमा विभिन्न चराचुरुङ्गीको जलक्रिडास्थल पनि भएको हुँदा राष्ट्रिय निकुञ्ज बनाउनु पर्ने  कुरा भयो । ०२८ माघ १७ गते राजा महेन्द्रको स्वर्गारोहण भएपछि रारालाई राष्ट्रिय निकुञ्ज बनाउने योजना केही वर्षलाई रोकियो । अन्ततः ०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको गठन गरियो ।

करिब १०६ वर्ग किमी ओगटेको रारा रा.नि. मा तालको भूभाग मात्र करिब ११ (१०.८) वर्ग किमी छ । साथमा तालको उत्तर पश्चिममा रहेको छाप्रु बस्ती, दक्षिण पश्चिममा रहेको मुर्मा बस्ती तथा दक्षिण पूर्वमा रहेको रारा बस्ती पनि समेटिएको थियो । ०३५ सालमा छाप्रु तथा राराको बस्तीलाई अन्यत्र सार्ने निधो भयो । ती जनताहरुको लागी बाँके बर्दियाको बीच जंगलको भूभाग छुट्याइयो । उच्च पहाडी भूभागमा बसोबास गर्नेहरुको लागी तराईको उखरमाउलो गर्मीको बस्ती रोजियो । त्यो बेला पञ्चायतकालको उर्दीमा अस्वीकार गर्ने वा विरोध गर्न सक्ने कसैको आँट नै हुदैँनथ्यो । केहीले त्यति टाढा तराईमा जानुभन्दा नजिकै कतै ठाँउ दिए हुन्थ्यो भन्ने विचारसम्म गरे । तर ती विचार राराको पानीको आवाजले बिलाएझैं भयो ।

करिब ४५ वर्ष अगाडिको त्यो दिन गाँउलेको लागि पीडादायक दिन भयो । सरकारी कर्मचारी घर घरका ढोका ढकढकाउदै सरकारी निर्णय सुनाउन आए, “बस्ती तुरुन्तै खाली गरि सरकारले दिएको तराईमा गएर बस्नु” यो अनुरोध थिएन्, आदेश थियो । अति मन बिझाउने आदेश, मुटु भित्रसम्म बिझ्ने आदेश । सयौँ वर्षदेखी बाजेबराजु देखि बसिआएको थातथलो सधैँको लागि छोडेर जाने आदेशले मन कटक्क भए पनि छोड्न तयार भए रारा किनारका रैथानेहरू । वस्तुभाउ नजिकैको बस्तीमा गएर जति भेटे उतिमै बेचबिखन गरे । जे सकिन्छ बोकेर भारी कसे र तराई जान तयार भए / तयार गराइए ।

यो बस्तीको कथा उति नयाँ होइन र धेरै पुरानो पनि होइन् । पृथ्वीनारायण शाहको एकिकरण अभियानपछि राजा रणबहादुर शाहको शासनकालमा बहादुर शाहले राज्य विस्तारको क्रममा पश्चिम आक्रमण गर्न थाले । यहि क्रममा काजी शिवनारायण खत्री र सरदार प्रबल रानाको नेतृत्वमा वि.सं १८४६ को असोज १५ गते जुम्ला आक्रमण भएको थियो । बालक राजा चक्रसुदर्शन शाही भए पनि राज्यको रियासत उनका काका शोभन शाहीले गर्ने गरेका थिए । आक्रमणपछि बालक राजाको साथ काका शोभन शाही उत्तर हुम्लातर्फ भागे त्यहाँबाट तिब्बतमा शरण लिन पुगे । राजाले तिब्बतमा शरण लिन पुगे तर नातेदार तथा राज्यका केही जनताहरु जो गोर्खा राज्यको दमनबाट मुक्त हुन उत्तरतर्फ लागेका थिए । तिनै जुम्लेलीहरु नै राराको वरपर मुर्मा, रारा र छाप्रुमा बसेका थिए । यहाँ रहेका शाहीहरु राजाका नातेदारहरु थिए भने अन्य जुम्ला राज्यका जनताहरु थिए । यसरी झण्डै २०० वर्ष देखि बस्ती बसाएर बसेका त्यहाँका जनता एउटै आदेशले बेघर हुन पुगे ।

नयाँ ठाँउमा निकै आश्वासन दिइएको थियो । प्रति परिवार ३४ कट्ठा जमिन तथा बस्नलाई घर पनि बनाइदिने आश्वासन दिइएको थियो । आफ्ना जायजेथा माया मारेर घरको मूलढोकामा बलियो ताला लगाएर उनीहरू नयाँ ठाउँमा पुगेका थिए । यिनीहरुको सोचाइमा सरकारले एकदिन फेरी यहि ठाँउ फर्कन दिनेछन् भन्ने मनमा आशा लिएर निस्केका थिए । करिब १५ दिन हिँडेर सो नयाँ ठाँउमा पुग्दा बस्ने घरको कुरा त टाढै थियो व्यवस्थित बसोबासको लागि पनि कुनै प्रबन्ध मिलाइएको थिएन् । सबैभन्दा समस्या त त्यहि नजिकै बस्ने पुरानो बस्तीका मानिसहरुबाट झेल्न पुगेका थिए । आफ्नो सम्पूर्ण सम्पति त्यागेर सुकुम्बासी झैँ नयाँ बस्तीमा आएकाको समस्यालाई बुझेर सरकारले त्यहाँ पहिलेदेखि बसेका ३८ घरधुरीलाई अन्यत्र व्यवस्थापन गराइएपछि बल्ल यी राराबासीलाई केही सन्तोष भयो ।

४३ वर्ष बित्न लाग्दा रारा वरपर नयाँ बस्तीको शुरुवात भएको र होटलहरु खोल्न दिएको तर आफूहरुलाई फर्कन नदिँदा ती रारा गाउँबासीहरुको मनमा पक्कै पनि अति दुःख लागेको हुनुपर्छ । अहिले रारा ताल घुम्न पुग्नेहरु राराको सौन्दर्यले मन्त्रमुग्ध त हुन्छन् । तर राराको सुन्दरता बचाउन धपाइएकाहरुको पीडाको अनूभूति कसैले पनि गर्न खोज्दैनन् । त्यहाँ अझैपनि पुराना मन्दिरहरु तथा ढुङ्गेधाराहरु संरक्षणको पर्खाइमा छ । मुटूमाथि ढुङ्गा राखेर बस्ती छोडेर गएकाहरुको पुस्ता विस्तारै सकिँदै जाँदा पीडा पोख्नेहरु हराउँदै गए । नयाँ पुस्ता नयाँ ठाँउमा रमाइसकेका छन् ।

प्रस्तुती सुनिल उलक

सन्दर्भ सामाग्री
डउग हल
अनुप विक्रम शाहको “सुन्दर रारामा लोभीपापीको नजर”
कुन्द दिक्षित
हिमाल खबर
नेपाली टाइम्स
Remembering Rara
यन्त्रडटकम
विकिपिडिया

शुक्रराजका बाबुले देवशम्शेरलाई भने, तपाँई तीन वर्ष भित्र प्रधानमन्त्री हुनुहुनेछ तर छिट्टै पदच्युत

माधवराज जोशीको जन्म वि.सं १९१६ को जेठ महिनामा पाटनको बकुंवहालको राजज्योतिषी खलकमा भएको थियो । पुख्र्यौली पेशाका रुपमा ज्योतिषशास्त्रको ज्ञानमा दखलता दिन १९४८ साल ताका बनारसमा गई गणित ज्योतिष अध्ययन गरेका थिए ।
बनारसमा ज्योतिषशास्त्रमा विज्ञता हासिल गरेका माधवराजलाई देवशम्शेरले आफ्नो दरबारमा बोलाए । रानीसाहेब कृष्णकुमारीले देवशम्शेरलाई आफ्ना जेठा छोरा जंगशम्शेरका लागि कुन कन्या विवाह गर्दा शुभ होला भनी कन्याको चिना देखाउन त्यहाँ जम्मा गराइएका करीब १ दर्जन नामी ज्योतिषीहरुमध्ये माधवराजले लेखेको जन्मकुण्डलीको फलमा नै कन्याको स्वभावबारे सबैभन्दा बढी मिल्ने कुरा बताइन् । मावधराजले तीन वर्षभित्र नै देवशम्शेरलाई छत्रप्राप्ति पद हुने र त्यसको केही महिनापछि  छत्रभंग हुने सम्भावना पनि भएको कुरा भने । नभन्दै त्यसो केही वर्षभित्रै (वि.संं १९५७ फाल्गुन) महाराज वीरशम्शेरको कलेजोसम्बन्धी रोगका कारण देहान्त भयो । रोलक्रमअनुसार चीफ साहेब (कमाण्डर इन चीफ) देवशमशेरले प्रधानमन्त्रीको साथै श्री ३ महाराज बने । उनले आफ्नो सिन्दूरजात्रा काठमाण्डौ, ललितपुर, भक्तपुर, नगरकोट लगायत ६ स्थानमा गरे । श्री ३ भएको उपलक्ष्यमा उनले दुई महिनासम्म जुवा फुकाए ।

देवशम्शेरले काठमाण्डौ उपत्यकाभित्र पचास विद्यालय स्थापना गराए जसमध्ये पहिलो विद्यालय पाटनको यट्खाटोलमा महारानी कृष्णकुमारीका हातबाट उद्घाटन गर्न लगाए । उनले स्थापना गराएका धेरै विद्यालयहरु देवशम्शेरको बर्हिगमनसँगै बन्द भए ।

पाटन दरबार क्षेत्रमा श्री ३ देवशम्शेरको सिन्दूरजात्रा ।
पाटन दरबार क्षेत्रमा श्री ३ देवशम्शेरको सिन्दूरजात्रा ।

देवशम्शेरकै पालादेखी टुँडीखेलमा मध्यान्ह तोप पड्काउने चलन सुरु भयो जुन ८८ वर्षपछि (वि.सं.२०४५ बैशाख १) हटाइयो । देवशम्शेरकै पालामा करिया अमलेख (दासता उन्मूलन) को प्रयास थालिएको थियो जसले पछि उनका भाई चन्द्रशम्शेरले मूर्तरुप दिए ।

देवशम्शेर नेपालका श्री ३ भएको बेलामा गरिएको र आजपनि उनको नाम रहने काम गोर्खापत्र (गोरखापत्र) का प्रकाशन सुरु हुुनु हो । वि.सं. १९५८ असार १० गते दरबार हाइस्कूलमा आयोजित वार्षिकोत्सव समारोहपछि सेतो दरबारमा ठूल्दाई वीरशम्शेरका छोराहरुको सम्पत्ती विवाद सल्ट्याउने निहुँमा जबरजस्ती श्री ३ बाट बर्खास्त गरियो । तत्पश्चात उनी धनकुटा धपाइए भने वि.संं १९७० मा भारतको उत्तराखण्डस्थित मसूरी शहरमा निधन भयो ।
निधन भएको एक शताब्दीभन्दा बढी समयपछि पनि नेपालमा उदारवादी प्रधानमन्त्रीका रुपमा देवशम्शेरलाई लिने गरिन्छ । उनले नेपालमा जनताको सहमति लिएर शासन गर्न खोजे जुन उनको इतिहासकै थोरै अवधि प्रधानमन्त्री हुने व्यक्तिको सूचीमा नाम लेख्ने मुख्य कारण बन्यो ।

सन्दर्भ सामाग्री

A Century of Family Autocracy in Nepal, DR Regmi
शहीद के कलम शे, शुक्रराज शास्त्री
महाराज देव शम्शेरको जीवनी, प्रकश ए. राज
जोहान्स बोर्नमेन