सगरमाथा आरोहण दलको स्वागतार्थ लाखाैं जनता चोकचोकमा भेला भए

वि.सं. २०१० साल जेठ १६ गते शुक्रबार (२९ मे १९५३)का दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको थियो ।

तेन्जिङ नोर्गे र एडमन्ड हिलरीले त्यस दिन सगरमाथा शिखरमा पुगेर नेपाल, बेलायत र संयुक्त राष्ट्र संघका झन्डा फहराएका थिए । यससँगै मानवका लागि अगम्य मानिँदै आएको पृथ्वीको एउटा हिस्सा गम्य हुन पुगेको थियो । त्यसयता करिब ५,८०० मानिसले सगरमाथा आरोहण गरिसके पनि यो हिमाच्छादित भीमकाय चट्टानको आकर्षण अझै रत्तिभर घटेको छैन ।

सर्वोच्च शिखर सगरमाथा उपरको यो विजय सहजै प्राप्त भएको चाहिँ थिएन । सन् १९२१ र २२ मा पहिलोपटक ब्रिटिस आरोहण दलले सगरमाथामा चढ्ने प्रयत्न गरेको थियो । तत्पश्चात् अरू करिब एक दर्जनपटक विभिन्न समूहले सगरमाथाको चुचुरोमा पुग्ने असफल प्रयास गरेका थिए । त्यस क्रममा कतिपय आरोहीले ज्यानसमेत गुमाएका थिए ।

नेपालमा राणा शासन भएकाले र राणा शासकहरूले विदेशीहरूलाई नेपालभित्र घुम्न सहजै अनुमति नदिने हुनाले सन् १९५० अघि सगरमाथा चढ्न गरिएका प्रयास तिब्बततर्फ अर्थात् उत्तरी मोहडाबाट भएको थियो । यसबीच उत्तर र दक्षिण दुवैतर्फ राजनीतिक परिवर्तन भए । चीनले आक्रमण गरी सन् १९५० मा तिब्बतलाई आफूमा गाभ्यो । र, त्यससँगै सगरमाथामा उत्तरी मोहडाबाट चढ्ने ढोका तत्कालका लागि बन्द भयो । अर्कोतर्फ, राणाशाहीको चंगुलबाट नेपाल मुक्त भयो र बाहिरी विश्वतर्फ आफ्नो पँखेटा फिँजाउन थाल्यो । नेपालतर्फबाट सगरमाथा आरोहणका प्रयास सुरु गरिन थालिए । सन् १९५१ र ५२ मा नेपालतर्फबाट गरिएका दुई स्विस आरोहण प्रयासमा तेन्जिङ नोर्गे स्वयं सामेल थिए ।

सन् १९५३ को वसन्त ऋतुमा ब्रिटिस आरोहण दलसँग सामेल भएर तेन्जिङ नोर्गे पुन: सगरमाथा चढ्न हिँडे । कर्नेल जोन हन्टको नेतृत्वमा ३८० भन्दा बढी भरियासहितको सो दल मार्च १० तारिख काठमाडौंबाट प्रस्थान गरेको थियो । उनीहरूले एकैपटकमा सो सफलता हासिल गरेका थिएनन् । २०१० साल जेठ १२ (२५ मे) गतेको ‘गोरखापत्र’ ले बीबीसीको हवाला दिँदै उनीहरूले जेठ ९ (मे २२) गते प्रयास गरेकामा सो असफल भएकाले जेठ १० (मे २३) गते पुन: प्रयास गर्ने भन्ने समाचार छापिएको छ ।

सो समूहले आफ्नो प्रयास जारी राखेर अन्तत: काठमाडौंबाट हिँडेको ८० औं दिनमा (जेठ १६, मे २९) सगरमाथाको चुचुरोमा आफ्ना पाइला टेकाउन सफल भएको थियो । उनीहरू सफल भएको खबर पहिले बेलायत पुगेको थियो । सबभन्दा पहिले महारानी एलिजाबेथलाई उनको राज्याभिषेकको उपहारको रूपमा जेठ २० (जुन २) तारिखको बिहान सो ‘शुभ समाचार’ सुनाइएको थियो । नेपालमा कायम गरिएको सो कीर्तिको समाचार बेलायत पुगेर घुमीवरी बल्ल नेपाल छिरेको थियो ।

‘गोरखापत्र’ त्यतिखेर हप्ताको तीन दिन छापिन्थ्यो । जेठ १९ (१ जुन) गतेको अंकमा नाम्चे बजारको १६ जेठ (मे २९) को डेटलाइनसहितको प्रेस ट्रस्ट (?) को समाचार छापिएको छ, जसमा सगरमाथा चढ्ने प्रयास विफल भएको उल्लेख छ । सो दल २७, ५०० फिटमाथिसम्म पुगेको तर मौसम खराब भएकाले बाध्य भएर फर्कनुपरेको समाचारमा लेखिएको छ । उक्त ब्रिटिस दलले पुन: एकपटक चुचुरोमा पुग्न प्रयास गर्ने र जुनको ७ तारिखका दिन सगरमाथा छाड्ने विचार गरिरहेको पनि सो समाचारमा जनाइएको थियो ।

तेन्जिङ र एडमन्डहरू सगरमाथामा पुगिसकेपछि पनि यो गलत समाचार छापिनुको कारण समाचार ब्रेकका लागि अपनाइएको गोपनीयता थियो । आरोहण दलमा रहेका बेलायतको ‘द टाइम्स’ समाचारपत्रका संवाददाताले सो खबर भोलिपल्ट (१७ जेठ- ३० मेमा) पाएका थिए । नाम्चे बजारबाट काठमाडौंस्थित बेलायती राजदूतावासलाई ‘कोड’ मार्फत उनले सो समाचारको जानकारी दिए, जसमा आरोहण असफल भएको भनिएको थियो, जबकि त्यसको अर्थ सफल भएको भन्ने हुन्थ्यो ।

बेलायतकी महारानीलाई सुनाइसकेपछि सो खबर विश्वभर महामारीसरी फैलियो । त्यतिखेरका सबैजसो चल्तीका पत्रिकामा सो खबर प्रमुखतासाथ छापियो । ‘गोरखापत्र’ को अर्को अंक (२१ जेठ- ३ जुन) मा पनि सगरमाथाको सफल आरोहणको रिपोर्ट पहिलो पृष्ठमा साढे तीन कोलमको मुख्य समाचार बनेर छापियो । ‘गोरखापत्र’ ले यसलाई ‘प्रकृतिमाथि मानव विजय’ संज्ञा दियो ।

यो समाचारबाट नेपालीहरू पनि निकै आह्लादित थिए । यो प्रसन्नता खासमा सो पहिलो सफल आरोहण गर्ने दुई व्यक्तिमध्येका तेन्जिङ नोर्गे ‘नेपाली नागरिक’ भएकाले ज्यादा थियो । भर्खर राणाशाहीबाट मुक्ति पाएर आपसमा विभिन्न दल, समूह, गुटमा बाँडिएर काटाकाट, बाझाबाझ गरिरहेका नेपालीहरूका लागि तेन्जिङ एक हिसाबले ‘साझा नायक’ बनेर देखापरेका थिए । सबैखाले गुट, समूह र दल उनको स्वागत गर्न व्यग्र देखिन्थे ।

काठमाडौंमा तेन्जिङहरूको स्वागतका लागि एक होइन, थुप्रै समिति बनेका थिए । तीमध्येको मुख्य समितिमा मातृकाप्रसाद कोइराला (जो केही दिनपछि प्रधानमन्त्री नियुक्त भए), टंकप्रसाद आचार्य, सुवर्णशमशेर राणा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, डिल्लीरमण रेग्मीलगायत थिए । यसबाहेक महिला, शिक्षक-विद्यार्थीदेखि, टोल रक्षा समूह एवं ड्राइभरहरूले समेत छुट्टाछुट्टै स्वागत समितिहरू बनाएका थिए । महिलाहरूको एउटा समूहले तेन्जिङकी श्रीमती (जो दार्जिलिङबाट नेपाल आउँदै थिइन्) को समेत स्वागतका लागि समिति संघटित गरेको थियो ।

आरोही दललाई सगरमाथाबाट काठमाडौं फर्किंदै गर्दा बाटोमा पर्ने सहरमा पनि भव्य स्वागत गरिएको थियो । उक्त टोली असार ७ गते काठमाडौं आइपुगेको थियो । टोलीलाई लिन बनेपासम्म मिलिटरी जिप पुगेको थियो । सेतो दौरा-सुरुवाल र विभूति रङको कस्मिराको कोट तथा भादगाउँले टोपीमा सजिएका तेन्जिङ तथा एडमन्ड हिलरी एवं जोन हन्टहरू उक्त खुला जिपमा सवार थिए । उनीहरू बनेपा, भक्तपुरलगायतका सहरमा अभिनन्दित हुँदै बडो तामझामका साथ काठमाडौं भित्रिएका थिए ।

भोलिपल्ट असार ८ गते काठमाडौं टुँडिखेल खरिबोटमा सगरमाथा आरोहण दलको भव्य स्वागत गरियो । उनीहरूलाई त्यसअघि बग्गीमा राखेर सहर परिक्रमा गरिएको थियो । यसअघि नै ‘नेपाल प्रतापवर्द्धक’ तक्मा दिइसकेको नेपाल सरकारले तेन्जिङलाई दस हजार रुपैयाँ नगदका अतिरिक्त ‘सुप्रदीप्त मान्यवर नेपालतारा’ पदकले विभूषित गर्‍यो । ‘ओजस्वी राजन्य’ पछिको यो नेपालको दोस्रो ठूलो पदक थियो । आरोही दलको स्वागतका लागि विभिन्न स्थानमा कलात्मक स्वागतद्वारसमेत बनाइएका थिए ।

सहभागीहरूले ‘वीर तेन्जिङ जिन्दावाद : तेन्जिङ नेपाली हुन्’ जस्ता नारा लगाएका थिए । धर्मराज थापाले रचेर गाएको गीत ‘हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा’ पछिसम्म गाइँदै थियो ।

‘गोरखापत्र’ का अनुसार, एक लाख जनता सामेल भएको सो समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, बीपी कोइरालालगायतका नेताहरूको पनि उपस्थिति थियो । समारोहका स्वागताध्यक्ष बाबुराम आचार्य थिए, जसले नै खासमा सो शिखरको ‘नेपाली’ नाम जुराएका थिए । ‘गोरखापत्र’ का १९९५ र ९६ सालका अंकमा सो शिखरको नाउँ ‘एभरेष्ट’ प्रयुक्त भएको देखिन्छ । वास्तवमा २००९ सालको पुसमा समेत ‘गोरखापत्र’ ले सो शिखरलाई ‘एभरेष्ट’ भनिरहेको थियो । २०१० जेठ १२ गतेको अंकदेखि भने उसले ‘सगरमाथा’ नै प्रयोगमा ल्याएको देखिन्छ ।

विश्वको सर्वोच्च शिखरको नाउँको राजनीति पनि रोचक छ र त्यो नेपाली ‘राष्ट्रियता’ सँग गाँसिएको छ । अनि सर्वोच्च शिखरको नाउँ कसरी ‘माउन्ट एभरेष्ट’ रहन गयो, त्यसका पुराना एवं स्थानीय नाउँ के थिए भन्ने विषय पनि महत्त्वपूर्ण छ । स्थानीय र तिब्बतीले ‘चोमोलुङ्मा’ भन्ने यो शिखरलाई अन्य पहाडेले भने ‘देवढुंगा’ र ‘देउढुंगा’ समेत भन्ने गरेको बुझिन्छ । कसैले ‘गौरीशंकर’ समेत भने पनि सोही नाम गरेको छुट्टै चुचुरो अलि पश्चिमपट्टि काठमाडौनजिक छँदै छ ।

त्यतिबेलै तेन्जिङको ‘राष्ट्रियता’ को विषय पनि अलि पेचिलो बनेको थियो । नेपालको सोलुखुम्बुमा जन्मेका तेन्जिङ (काठमाडौंमा दिएको रेडियो वक्तब्य (हेर्नुहोस् बक्स) मा उनी आफैँले सोलुखुम्बुमा जन्मेको भने तापनि धेरैपछि उनका छोराले तेन्जिङ तिब्बतमा जन्मेको भने) केही समयदेखि भारतको दार्जिलिङमा बसेर पर्वतारोहणसम्बन्धी काम गरिरहेका थिए । उनकी श्रीमती पनि दार्जिलिङमै थिइन् र उनका दुई छोरी त्यहीँ पढिरहेका थिए । यसै कारण उनलाई भारतीय समाचारमाध्यमहरूले आफ्नो नागरिक भनेर प्रचारसमेत गरे ।

आफूले बल्लबल्ल पाएको साझा नवनायक कतै खोसिएला कि भनेर चिन्तित नेपालीहरूले त्यही भएर नारा लगाएका थिए- ‘तेन्जिङ नेपाली हुन् ।’ त्यसबाहेक, उनीहरूलाई हिलरीभन्दा तेन्जिङले नै पहिले सगरमाथा टेकेका हुन् भनाउन पनि उत्तिकै रहर थियो र अद्यापि छ । तर, तेन्जिङ नेपाल बसेनन्, दार्जिलिङमै बस्न रुचाए । यसले नेपालीहरूलाई खिन्न बनायो । उहिलेदेखिकै नेपालीहरूको त्यो ‘फ्रजायल राष्ट्रियता’ अझै उस्तै छ । त्यो सहजै कुँडिन्छ, सहजै बहकिन्छ- भर्खरै नेपाल-भारतबीचको सीमा विवाद क्रममा अभिव्यक्त विचार केलाउने हो भने पनि यो प्रस्ट हुन्छ ।

श्री तेन्जिङको रेडियो भाषण

काठमाडौं, आषाढ ८ गते । आज बिहान नेपाल रेडियोबाट भाषण प्रसारित गर्दै सुप्रदीप्त मान्यवर नेपाल तारा श्री तेन्जिङले निम्न लिखित कुरा भन्नुभयो-

जय नेपाल !

रेडियो नेपालद्वारा मेरा नेपाली दाजु भाइहरूलाई केही सुनाउन पाउँदा मलाई साह्रै खुसी लागेको छ । मेरो साथमा मेरी जहान पनि आएकी छन् । उनले पनि तपाईंहरूसँग केही बोल्नेछन् ।

माउण्ट एभरेष्ट जसलाई हामी सगरमाथा भन्दछौं, त्यसको टाकुरामा पुगेर नेपालको राष्ट्रिय झण्डा गाड्न पाउँदा नेपाल आमाको एउटा सेवा गर्न पाएँ भनी मलाई जिन्दगीमा ठूलो खुशी भो । मलाई केटाकेटीदेखि नै पहाड चढ्ने ठूलो सोख थियो । सन् १९३७ देखि जब म विदेशी पहाड चढ्नेहरूको दलसित हिमालयका विभिन्न चुलीहरू चढ्न जान थालें, त्यसै बेलादेखि मेरो मनमा सगरमाथा पुग्ने कुरा सधैं रह्यो । गत महीनाको २९ तारीख (ज्येष्ठ १६ गते) को दिन सगरमाथाको टुप्पोमा पुग्दा मेरो पहिला आशा पूरा भयो ।

म उनंचालीस वर्ष अघि पूर्व ३ नम्बरको सोलो खम्बामा जन्मेको थिएँ । पछि आफ्नो देशमा खाने कमाउने बाटो नपाएर जीविका चलाउन दार्जिलिंगमा गई बसें । दार्जलिंगका दाजुभाइहरूले मलाइ धेरै मद्दत दिएका छन् । मेरा दुई छोरी पम्पेम र नेमा दार्जिलिंगमा पढ्दै छन् । तर, भारतमा बसोबास गर्ने सबै नेपाली सरह म आफूलाई पहिले नेपाली नै ठान्दछु । नेपाल र सोलो खम्बासित मेरो ठूलो प्रेम छ ।

हिजो मलाइ बनेपा, भक्तपुर र काठमाडौंका दाजुभाइहरूले गरेको स्वागतले म सारै खुशी भएको छु । तर, उहाँहरूले मलाइ दर्शाउनु भएको त्यत्रो स्वागतको लायक म छैन भन्ने लाग्दछ । मैले त नेपालआमाको एउटा छोरोले गर्नुपर्ने काम मात्र गरेको हुँ ।

श्री ५ महाराजाधिराजबाट मलाई सुप्रदीप्त मान्यवर नेपाल ताराको तक्मा दिइबक्सिएकोमा मौसूफमा धन्यवाद चढाउँछु ।

नेपाल सरकारले मेरो स्वागत गरेकोमा माननीय प्रधानमन्त्री श्री मातृकाप्रसाद कोइराला तथा बनेपा, भक्तपुर र काठमाडौंका दाजुभाइ, दिदी बहिनीहरूलाई दिलैले धन्यवाद दिन्छु ।

म मेरो दलका नेता सर जोन हण्टको योग्यता र मेरो साथ सगरमाथा टुप्पामा पुग्ने सर एडमण्ड हिलरीको साहसको पनि ठूलो कदर गर्दछु ।

तपाईंहरू सबैलाई मेरो धन्यवाद छ ।

सन्दर्भ सामाग्री

लोकरञ्जन पराजुली
इकान्तिपुर
गोरखापत्र, असार ९, २०१०
पिटर ज्याक्सन
स्टीभ रिचर्ड ड्वेल
लाइभ म्यागेजीन
सामाजिक सञ्जाल

इतिहासः अरनिको राजमार्ग निर्माणका क्रममा १२ चिनियाँ सैनिकले ज्यान गुमाए

तत्कालीन भोट (तिब्बत) का लागि नेपाली वकिल (राजदूत) नयनबहादुर खत्रीले आफ्नो संस्मरणमा लेखेअनुसार उनलाई काठमाडौंबाट कोदारी पुग्न १२ दिन लागेको थियो । २१ जेठ ००६ शुक्रबार काठमाडौंबाट हिँडेका उनी ४ असारमा कोदारी (नेपाल–तिब्बत सीमा) पुगेका थिए । बाटो बिराउँदै, आराम गर्दै उनी तीन महिनापछि अर्थात् २२ भदौमा तिब्बतको राजधानी ल्हासा पुगेका थिए । त्यतिन्जेल तिब्बतमा चीन नियन्त्रित शासन थिएन । त्यसवेला तिब्बत जोड्ने कोदारी राजमार्ग बनेको थिएन । छालाभित्र सामान पोको पारेर घोडा चढेर खत्री ल्हासा गएका थिए । खत्री घोडामा ल्हासा गएको १८ वर्षपछि नेपाल–तिब्बत जोड्ने कोदारी राजमार्ग ०२४ मा निर्माण भयो । तातोपानी नाका खुल्यो ।

चीनले खोजेको करिडोर
सन् १९५९ मा तिब्बत औपचारिक रूपमा चीनमा गाभियो । जानकारहरूका अनुसार सुरुमा चुम्बी भ्यालीको मुख यादोंग बन्दरगाहलाई सिक्किमको नाथुला हुँदै भारतको कोलकातासम्म जोड्ने करिडोर निर्माण गर्ने चिनियाँ योजना थियो । हिमाली अधिराज्य सिक्किम भारतमा नगाभिँदैको यो चिनियाँ योजना अघि बढ्न सकेन । किनभने भारतसँग उसको टक्कर बढिरहेको थियो, जसले सन् १९६२ मा गएर सीमायुद्धको रुप लियो । नेपालले पनि चीनसँग सम्पर्क विस्तार चाहेकै थियो । यही संयोगबीच कोदारी राजमार्गको अवधारणाले गति लियो ।

चीनलाई तिब्बत भएर दक्षिण एसिया जोड्ने च्यानल चाहिएको थियो । आफ्नो भूपरिवेष्ठित अवस्था र सार्वभौम एवं स्वतन्त्र हैसियत बचाउनुपर्ने आवश्यकताका कारण नेपालले चीनसँग सम्बन्ध राख्न चाहेको छ भन्ने चिनियाँ बुझाइ थियो । सुरक्षामा चीन आश्वस्त भएपछि नेपाल र चीनबीच कोदारी राजमार्ग निर्मााण गर्ने सहमति भयो । यही सिलसिलामा आएका बाह्य दबाबबारे राजा महेन्द्रले रोचक कूटनीतिक जवाफ दिएका थिए, ‘नेपालमा कार चढेर साम्यवाद आउँदैन ।’

बेइजिङमा सम्झौता
नेपाल र चीनबीच कोदारी राजमार्ग बनाउने सम्झौता सन् १९६१ अक्टोबर १५ मा भयो । बेइजिङमा परराष्ट्रमन्त्री डा. तुल्सी गिरी र उनका चिनियाँ समकक्षी चेङ यीले राजमार्ग निर्माण गर्ने समझदारी–पत्रमा हस्ताक्षर गरे । १ जुलाई १९६२ देखि निर्माण कार्य सुरु भयो । ३० जुन १९६६ मा सम्पन्न हुनुपर्नेमा नेपालले भनेजस्तो सडक तयार गर्नुपर्ने भएकाले एक वर्ष धकेलियो । चीन सरकारले ३५ लाख पाउन्ड स्टर्लिङमा सडक बनाएको थियो ।

त्यसबेलासम्म चीनले तिब्बतको राजधानी ल्हासाबाट कुती (न्यालम) सम्म ७ सय १४ किलोमिटर सडक विस्तार सम्पन्न गरिसकेको थियो । कुतीबाट ४० किलोमिटर सीमावर्ती कोदारीसम्म बाटो निर्माण गर्नुपर्ने थियो । चिनियाँहरूले कुतीदेखि कोदारी र कोदारीदेखि काठमाडौंसम्म ११४ किलोमिटर सडक निर्माण गर्ने तयारी सुरु भयो । सर्भे डिजाइन र निर्माणका लागि चीनले इन्जिनियरको टोली आफैँ पठायो । प्रशासनको सहयोगमा स्थानीय कामदार भर्ना भए । कोदारीबाट बाह्रबिसेसम्मको १२ किलोमिटर डरलाग्दो भिर छिचोल्न गाह्रो थियो । राजा महेन्द्र र चिनियाँ नेता माओत्से तुङको छलफलपछि चीनले सादा पोसाकमा सैनिक पठाएर बाटो खनेको थियो ।

यसरी आए चिनियाँ सैनिक
चिनियाँ सेना नेपालमा प्रवेश गरे भन्ने विदेशी मिडियाको सम्भावित हल्लाखल्ला र त्यसले बाह्य संसारमा सिर्जना गर्न सक्ने असमझदारीलाई ध्यानमा राख्दै नेपाल र चीनले यो विषय गोप्य राखे । बरु बाटो बनाउने चिनियाँ टोलीको नाम चाइनिज रोड कन्स्ट्रक्सन बटालियन राखियो । सैनिकका लागि सादा कपडा लगाउने व्यवस्था गरियो । कुनै सैन्य फर्मेसन र तहगत व्यवहार नहुने तय भयो । उनीहरूले हातहतियार ल्याएनन्, केवल सडक खन्ने सामग्री मात्रै ल्याए ।

त्यसवेला सडक खन्न खटाइएका चिनियाँ सेनाका कमान्डरका नेपाली अनुवादक रहेका चेङ सुयोंग (पछि नेपालका लागि चिनियाँ राजदूत) ले ‘वी एन्ड अस’ भन्ने किताबमा यो प्रसंग उल्लेख गरेका छन् । कुनै समय नेपाल तिब्बतको व्यापारिक केन्द्र कुती थियो । चार हजार मिट उचाइको हिउँले घेरिएको कुती चिनियाँ सेनाको तिब्बत मिलिटरी एरिया कमान्डमा पर्छ । खासा बजार तयार भएपछि र कोदारी राजमार्ग निर्माण भएपछि कुतीबाट व्यापारिक केन्द्र खासामा सर्‍यो ।

चिनियाँ टोलीले लगेज, टेन्ट, पकाउने भाँडाकुँडा, सडक खन्ने उपकरण ल्याएको थियो । नेपाल–खासा जोड्ने भोटेकोसीमा पहिला काठको पुल थियो । सडक बनाउँदा डाँडामाथिबाट ढुंगा र माटो झरेर भोटेकोसी सेताम्य भएको थियो । चिनियाँ कन्स्ट्रक्सन बटालियनको हेडक्वार्टर कोदारीमा थियो । त्यहाँ नेपाली सेनाले चिनियाँ टिमको सुरक्षा दिएको थियो । चारवटा सेता पालमा सेनाका मुख्य अधिकारीहरू बसेका थिए । पूर्वराजदूत चेनका अनुसार बाँसका खाटमा ओछ्यान लगाइएको थियो ।
चीनबाट कमान्डर लेफ्टिनेन्ट कर्णेल लीको नेतृत्वमा टोली खटिएको थियो । ली चिनियाँ आर्मीको इन्जिनियर्स कप्र्सका राजनीतिक कमिसार पनि थिए । वांग नामका सेक्रेटरी पनि कार्यरत थिए । नेपाल आउनासाथ चिनियाँले चार भागमा विभाजन गरेर काम सुरु गरे । जम्मा पाँच सय व्यक्ति काममा खटिएका थिए । अधिकांश गैरसैनिक थिए । असाधारण भिरमा मोटो डोरीले बाँधेर बाटो खनिएको थियो ।

चार वर्षमा १२ सैनिक मारिए
‘काम कठिन र खतरापूर्ण थियो । माथिबाट ढुंगा उछिट्टिएका थिए । एक वर्षभन्दा कम अवधिमा चारजना सैनिकले ज्यान गुमाए । उनीहरूलाई खासामा गाडिएको थियो,’ चेनले उल्लेख गरेका छन्, ‘सडक निर्माण अवधिभरि १२ जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।’ भोटेकोसी दक्षिण तटमा सडक निर्माण हुँदै थियो । एक टन क्षमताभन्दा ठूला विस्फोटक पदार्थ प्रयोग गरिए । जसले आठ घनमिटर ढुंगा काट्थ्यो । एउटा खण्ड पूर्ण रूपमा चट्टान छेडेर बनाइएको थियो । दरबारको निर्देशनमा कार्की र शाह थरका सेनाका मेजरको कमान्डमा एउटा सैनिक युनिट कोदारी खटाइएको थियो । नेपाली सैनिक चिनियाँ सैनिक क्याम्पबाट १०० मिटको दूरीमा बस्थे । चिनियाँ अनुभवमा नेपाली कमान्डरहरू मित्रवत् र सहयोगी थिए ।

पूर्वराजदूत चेङका अनुसार सडक निर्माणमा आएका चिनियाँ लेफ्टिनेन्ट कर्नेल ली भन्थे, ‘हाम्रा वरिष्ठतम् नेताहरूको निर्देशनमा बाटो बनाउन आएका हौँ । समयमै सम्पन्न गर्न प्रतिबद्ध छौँ । केही गल्ती भयो हाम्रो तर्फबाट भने भन्नुहोला ।’ नेपाली कमान्डर भन्थे : ‘नेपाल गरिब छ । यातायातमा समस्या छ । हामी चीनको सहयोगप्रति आभारी छौँ । कठिन पहाडमा चिनियाँ सैनिकले गरेको काम प्रशंसनीय छ ।’

चिनियाँ अधिकारीका अनुसार नेपालीहरूसँग खाना सँगै खाने, एक अर्काको देशको वस्तुस्थितिबारे एकअर्कालाई जानकारी दिनेलगायतका काम भए । तीन अनुशासन र आठबुँदे ध्यानाकर्षणका आधारमा चिनियाँ सैनिकले काम गरेका थिए । चिनियाँ सरकारको निर्देशन उल्लंघन भएन । उनीहरूले जनतालाई कहिल्यै ‘डिस्टर्ब’ गरेनन् । नेपाली पुरुष र महिला खोलामा नुहाउँथे । तर, चिनियाँ सेना कहिल्यै खोलामा नुहाउन गएनन् । स्थानीय बजारमा पनि गएनन् । बम विस्फोट गर्दा स्थानीय बासिन्दालाई असर होला कि भनेर हमेसा सावधानी अपनाइएको पूर्वराजदूत चेनको अनुभव छ । चिनियाँ सैनिकले स्थानीय आपूर्तिमा समस्या नहोस् भनेर काठमाडौं नजिकबाट तरकारी किने, स्थानीय बजारमा गएनन् ।

चेङ अनुवादक भएका कारण पनि नेपालीमाझ सक्रिय थिए । उनले आफ्नो संस्मरणमा लेखेका छन्, ‘रणनीतिक महत्वको पुलमा काम गर्न पाउनु मेरो अहोभाग्य थियो । निर्माण कार्य सकिएपछि अरनिको राजमार्ग नाम राखियो । १९६७ जुनमा बाटोको उद्घाटन भक्तपुरमा भयो । राजा महेन्द्रले राजमार्ग उद्घाटन गरे ।’

माओत्से तुङले चाहेपछि….
चीनले ३५ लाख पाउन्ड आर्थिक सहायता पहिले नै घोषणा गरे पनि नेपालले विकट भौगोलिक बनावटका कारण राजमार्ग बनाउन सकेको थिएन । विशेषतः २० किलोमिटर बाटो विकट थियो । पहरा फुटाएर बाटो बनाउनु कठिन भयो । राजा महेन्द्रको आग्रहपछि चिनियाँ नेता माओत्से तुङले बाटो निर्माणको पहल लिए । उनले ‘हाइवे बिल्डिंग ब्रिगेड’ पठाउन निर्देशन दिए । त्यही ब्रिगेडअन्तर्गतको चिनियाँ फौजले आएर राजमार्ग निर्माण गरेको थियो । चेङका अनुसार माओत्से तुङले त्यसवेला भनेका रहेछन् : हामी छिंघाई–तिब्बत रेलवे पनि बनाउँछौँ । त्यसपछि नेपाल र चीनको सम्पर्क थप सुविधाजनक हुनेछ ।’ माओले भनेको त्यही रेलमार्ग हो : सिगात्से–केरुङ–काठमाडौं जोड्ने तिब्बत रेलमार्ग ।

सन्दर्भ सामाग्री
पर्शुराम काफ्ले
नयाँ पत्रिका, २०७६ असार ७ शनिबार
डउड हल
विकिपिडिया