आहा ! पहिलेको त्यो तीज, कठै ! अहिलेको यो तीज (दुर्लभ भिडिओ सहित)

तीज पर्व विशेष गरेर पूर्वीय पात्रो अनुसार हरेक वर्ष भाद्र महिनाको शुक्लपक्षको तृतीया तिथिमा पर्दछ । देवी पार्वतीले भगवान शिवको आराधना गरेर शिवलाई पतिको रुपमा पाएको पौराणिक कथासंग जोडिएको छ । पार्वतीले लामो समयसम्म कठिन तपस्या गरेर संसारका मालिक भगवान शिव प्राप्त गर्नुभएको थियो । वास्तवमा देवी पार्वतीले शिव भागवानलाई पतिका रुपमा पाउनका लागि कठिन तपस्या गर्नुका साथै पृथ्वीमा १०८ पटकसम्म जन्म लिनुपरेको थियो । १०७ पटकको जन्म लिँदा पनि उहाँको मनोकामना पूरा हुन सकेन् तर १०८ औं पटकको जन्म अवधिको भक्ति र निष्ठाबाट प्रभावित भई भगवान शिवले पार्वतीलाई पत्नीवरण गर्नुभएको भन्ने कुरा धार्मिक ग्रन्थमा पाइन्छ । देवी पार्वतीले आफ्नो तपस्याको उद्देश्य पूरा भएपछि सबै महिला जगतलाई के सम्झाउनु भयो भने यो भाद्र शुक्ल तृतीयाका दिन जो जो शिव पार्वतीको आराधना गर्दछन् उनीहरुले असल जीवनसाथी पाउँदछन् र उनिहरुको वैवाहिक जीवन सुखमय र आनन्ददायी हुनुका साथै चिताएका सबै असल कुराहरु पूरा हुन्छन् ।

नेपाली चाडबाड तथा परम्परामा हुर्केका हामीहरु हरितालिका तीजलाई मात्र तीजका रुपमा मान्ने गरेका छौं तर खास गरी तीज तीन प्रकारका हुने भनेर बताइएको छ ।

क) हरियाली तीज – यो श्रावण महिनाको शुक्ल पक्षमा पर्दछ । यो समय चारैतिर हरियाली छाउने भएर होला महिला दिदीबहिनीहरु हरिया चुरा पोतेका साथै हरियो पहिरन लगाएर शिव पार्वतीको आराधना गर्दछन् । हाम्रो नेपालमा पछिल्लो दशकमा श्रावण महिनामा बोलबम पर्व पनि विशेष रुपमा मनाउन थालिएको छ । महिलाहरुको हरियो रंगको सजावटले भगवान शिवप्रति विशेष भक्तिभाव देखाउँछ भन्ने कथन पनि पाइन्छ ।

ख) कजारी तीज – यो श्रावण कृष्णपक्षको तृतीया तिथिमा पर्दछ । खास गरी आकाशमा छाउने कालो मेघसँग यसलाई दाँजिएको पाइन्छ । यसमा भगवान कृष्णको प्रशंसा गर्दै विभिन्न भजनकीर्तन गर्ने गरिन्छ । मूलतः यो पर्व भारतमा प्रचलन छ । नेपाली समुदायमा भने त्यति प्रचलनमा आएको पाइँदैन ।

ग) हरितालिका तीज – हाल सबैभन्दा बढी प्रचलित हरितालिका तीज पर्व नै हो । हरितालिका दुई शब्दबाट बनेको हो – हरत र आलिका । हरतको अर्थ हरण र आलिकाको अर्थ साथी हो । पौराणिक कालमा भगवान विष्णुले देवी पार्वतीसँग विवाहको लागि प्रस्ताव गर्न नारदलाई पठाएको र पार्वतीका पिता हिमालय पर्वतले पनि स्वीकृति दिएको तर देवी पार्वतीले भने भगवान शिवलाई मन पराएको । यस्तो अवस्थामा पार्वतीका साथीहरुले पार्वतीलाई भगाएर तीन दिनसम्म लुकाएर राखेका थिए रे ।

यिनै तीन दिनमा देवी पार्वतीले भगवान शिवलाई पाउने आशामा कठोर पूजा आराधना तथा तपस्या गरेर सफल भएकोले सबैले त्यही सफलताको कामना र आशा गर्दै यो व्रत तथा पूजा आराधना गर्ने चलन चलिआएको हो भनिन्छ । त्यसैले यो पर्वलाई हरितालिका भनिएको हो भन्ने परम्परा रहि आएको छ । भाद्र शुक्ल तृतीया, चतुर्थी र पञ्चमी तिथिहरु गरेर तीन दिन मनाइने हरितालिका तीजको पहिलो दिनलाई “दरखाने” दिनका रुपमा चिनिन्छ । वास्तवमा नेपालको भौगोलिक परिवेश अनुसार बाटोघाटोको असुविधा, अनि विवाह गरेर दिएकी चेलीलाई विभिन्न खोला जङ्घार, पहाड, घुम्ती पार गर्दै मूलतः बुबा, दाइ वा भाइले लिन जाने र मीठामीठा परिकार पकाएर “दर” खुवाउने चलन छ ।

पहिला पहिला तीजमा माइतीबाट बाबुआमा वा दाजुभाइ आएर चेलीलाई लिएर जाने परम्परा थियो भने अहिले माइतीको अलावा साथीभाइले समेत निम्ता गरी बोलाउने वा संघसंस्थाहरुले पनि तीजको कार्यक्रम राखी दर खुवाउने, गीत गाउने, नाच्ने आदिको व्यवस्था गर्न थालिएको छ भने आजको एकदुई दशकपछि अझ नौला कार्यक्रमहरु बन्नेछन् भन्ने आशा गर्न सकिन्छ । हिजोको दिनमा माइती लिन नआएमा छोरीले निकै ठृ्लो गुनासो गर्ने बेला त्यो थियो भने अब माइती लिन नआए पनि त्यती दुखेसो नगर्ने समय आइसकेको छ । पहिले पहिले एकदिन अगाडि मात्र दर खाने गरिन्थ्यो भने आजभोलि एक दुई महिना अगाडिदेखि नै दरखाने चलन आइरहेको पनि देखिन्छ ।

विभिन्न कारणवश कतिपयका माइती लिन आउन नसक्ता चेलीहरुले यसरी बिलौना गर्ने गरेको सुनिन्थ्योः—

वर्ष दिनको तीजमा बाबा लिन आएनन्
वर्ष दिनको तीजमा बाबा लिन आएनन्
साउने झरी झैं रुन्छ मेरो मन्
साउने झरी झैं रुन्छ मेरो मन्

त्यसपछि दोश्रो दिन अर्थात भाद्र शुक्ल चतुर्थी । दिनभरी श्रद्धालु महिला भक्तजनहरु निराहार निर्जल व्रत बस्ने गर्दछन् । यसको अर्थ आफ्नो र स-परिवारको सुख शान्ति तथा दीर्घायुको कामना गर्दै असल पारिवारिक जीवनको चाहनाको अभिव्यक्ति नै हो । व्रतको दिन विशेष गरेर भक्तिका गीतहरु गाउने गरिन्छ । व्रतको दिन महिलाहरु नजिकको मन्दिरमा गएर नाच्दै गाँउदै रमाइलो गर्ने गर्दछन् ।

तीज पर्वको अन्तिम दिनलाई ऋषिपञ्चमी भनेर भनिन्छ । यो दिनमा सबै व्रतालुहरु विहानै विभिन्न खोला, इनार, नदी किनारमा गई नुहाइधुवाइ गरी एक किसिमको जडिबुटी दतिउनले दाँत माझेर कुल्ला गर्ने चलन पनि छ । तीजको अन्तिम दिन महिलाहरु रातो माटो र दतिउनको टुक्राबाट आफ्नो शरीर र मन शुद्ध गरेर जानी नजानी गरेका पापहरुबाट मुक्ति मिल्ने आशा गर्दै बिर्सजन गर्दछन् । त्यस क्रममा गौरीशङ्कर (शिव पार्वती) को तथा सप्तर्षिको पूजागरी गच्छेअनुसारको दान दक्षिणा उपहार दिने चलन छ ।

पञ्चमी सकिएपछि आ-आफ्नो समय, फुर्सद अनुसार माइत जन्मघर आएका चेलीहरु आफ्ना कर्मघर जान्छन् । कतिपयलाई घरको बुहार्तन खट्न नसकेर जन्मघरमा नै बस्न मन हुन्छ तर माइती पक्षले सम्झाइबुझाइ घर पठाउँछन् । अनि चेलीहरुले यसलाई गीतमा उतार्दै भन्छन् –

फकाई फकाई ल्याउँछन् , कोचाई कोचाई खुवाउँछन्
पञ्चमीका भोलिपल्ट रुवाउँदै पठाउँछन्
पञ्चमीका भोलिपल्ट रुवाउँदै पठाउँछन्

तीज नेपाल लगायत भारतको राजस्थान, उत्तर प्रदेश, विहार, झारखण्ड र हरियाना राज्यहरुमा पनि तीज पर्व मनाइन्छ । खासगरी शुरुमा हिन्दु महिलाहरुले मनाउने चाडपर्व थियो तर विस्तारै चेतनाको विकास र धार्मिक सहिष्णुताका कारणले प्राय नेपाली सबै समुदायका मानिसहरु सहभागी भएर यसलाई मनाउँछन् । राजस्थानका महिलाहरु हरियो रगंको लुगामा सजिएर गाँउदै र नाच्दै पानीका भगवानको प्राथर्ना गर्दै रमाइलो गर्ने गर्दछन् । आजभोलि भारतको हरियाना राज्यमा बाहेक अरु राज्यहरुमा पनि विस्तारै यो पर्व मनाउनेहरुको संख्या कमी हुंदै गएको सुनिन्छ ।

परम्परागत तीजभन्दा आजभोलिको तीजमा बिस्तारै परिवर्तन र परिमार्जन देखिंदै आएको छ । अनिवार्य भन्ने कुरालाई झिकेर मनले मागेको र समाजले चाहेको कुरालाई मात्र अंगिकार गर्न शुरु गरिएको छ । धार्मिक हिसाबले यस प्रकारको सिद्धान्त ठीक हो होइन थाहा भएन तर सामाजिक सुधार भने पक्कै पनि भएको छ । भगवान प्रति मान्छेको आस्था र विश्वास नघटाई समाजमा समय अनुसार सामाजिक परिर्वतन हुनु मानव जगतका लागि ठृ्लो कुरा हो ।

पहिलेका तीजका गीतहरु ईश्वर भक्ति, घर र माइतीको कुरा र माया पिरतीका बारेमा हुन्थे भने आज आएर “हाई मेरो फरिया, हाई मेरो फरिया, झनमाथि सार्यो झन तल झर्छ …., मैना मादल ठोक न मादल ठोक……, चोली छोट्याई देउ तीजमा लाउनु छ ….., आई थी साली, लाई थी नी कुरा…., पोइल जान पाउँ शिव पोइल जान पाउँ… जस्ता गीतहरुले रेडियो घन्किन्छ, एफ एम रन्किन्छ, टेलिभिजन भरिन्छन् ।” आजको समाजले यिनै गीतहरुलाई महत्व र स्थान दिएको छ ।

हरितालिका तीजको एउटा महत्वपूर्ण पाटो भनेको अभिव्यक्ति स्वतन्त्रतालाई गीतका माध्यमबाट उपयोग गर्नु रहेको थियो । आम नेपालीहरुमा राजनीतिक चेतना नआइसकेको र पितृसत्तात्मक नियन्त्रित सामाजिक परिपाटीमा नेपाली चेलीहरुले आफूमाथि श्रीमान र सासू आदिबाट भएका अप्ठ्याराहरुलाई तीजका गीतबाट अभिव्यक्त गरिन्थे । त्यस्तै आफ्ना यौन कुण्ठा र ठट्टाहरु विवाहोत्सवमा गाइने रत्यौली आदिमा अभिव्यक्त हुने गर्दथे । विस्तारै नारी शिक्षा र परिवारमा आफ्नो समान हिस्सा जनाउनका लागि पनि तीजका गीत प्रयोगमा आउँथे –

हातमा घडी, काँधमा रेडियो
उठ सासू दैलो पोत पढ्न हिंडियो

त्यस्तै पढ्न नपाएको र श्रीमान ले भनेको कुरा आफूले नबुझेको सन्दर्भलाई गीतमा यसरी व्यक्त गरिन्थे –

स्वामीज्यूले पानी मागे अंग्रेजीमा वाटर
नबुझेर दिएँ राजै काँचो कटर, नबुझेर दिएँ राजै काँचो कटर

त्यस्तै अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गरिएको, खुम्च्याइएको वा पूर्ण वर्जित गरिएको एक दलीय तानाशाही व्यवस्थामा हरितालिका तीज आफ्ना राजनैतिक आस्था र अभिव्यक्तिलाई पस्किने अवसर पनि बन्ने गर्दथ्यो । तर आज व्यवस्था फेरिएको छ, सूचना र प्रविधिले छलाङ्ग मारेको अवस्थामा यो चाडको व्यापकता निश्चित समुदायमा सीमित नभई एक रार्ष्ट्रिय चाडको रुपमा देश विदेशमा फैलिंदै गएको छ ।

भुगोलको सीमा नाघेर आफन्तहरुबाट टाढिन परेको वेदना तथा उनीहरुसँगको मायामोहको कोसेली सँधै आफ्नो छातिमा लिएर बसेका प्रबासी महिलाहरु वेदना र सम्झनाका गीतहरु लेखेर पनि आफ्नो रहर मेटाउँछन् । प्रवासमा यस्ता सिर्जनहरु प्रशस्तै देखिन थालेकाछन् । जस्तै निम्न पंक्तिहरुलाई हेरौं –

“तीजको सम्झना आयो बरीलै,
यो बर्ष दिनको चाड हाम्रो चेलीलाई रमाइलो,
पठाइदेउ आमा दाजुलाई लिन केही दिन अघि हो,
आउदो रहेछ विदेशमा पनि त्यो दिनको सम्झना,
चेलीको लागि यो ठृ्लो चाड सक्दैनौं विर्सन”

सन् १९९० यता बिदेश पस्ने नेपाली महिलाहरुको संख्या निकै बढी रहेको छ । जो जुन देशमा गएर बसेका भए पनि आफ्नो धर्म संस्कृतिलाई चटक्क बिर्सन सक्दैनन् । समयले भ्याएसम्म आफ्नो धर्म, संस्कृति र आफ्नोपनलाई बचाउने प्रयासमा जुटीरहेकै हुन्छन् । समय र परिस्थितिले गर्दा अनिवार्य रुपमा पालन गर्नु पर्ने नित्य कर्म र पूजापाठ पुरानै परम्परागत रुपमा सम्पन्न गर्न नसके पनि बाचा पुर्याउने काम भने यी विदेशीएका महिला दिदीबहिनीहरुले पुरा गरिरहेकै हुन्छन् । त्यती मात्र नभएर आफ्ना नयाँ सन्तानहरुमा पनि यो परम्परा रही रहोस भन्ने चाहना गर्दै सिकाउने काम पनि गरिरहकै छन् जुन एउटा उत्साहजनक कुरा पनि हो ।

प्रवासमा बसेका हजारौ दिदीबहिनीहरु तीज आयो भन्दै दिदीबहिनीहरुलाई एक ठाउँमा भेला गराई विभिन्न परिकारका खाना खाई, रातो लुगा, रातै चुरापोतेले झपक्क भएर, तीजको गीत गाएर धुमधामसँग नाच्ने र रमाइलो गर्ने प्रचलन बढीरहेको छ । ‘टेक्नोलोजी’ बढेको जमानामा कस्ले कति राम्रो तीजको कार्यक्रम गरेको रहेछ भनेर हेर्न र देख्न युटुबमा डाउनलोड गरिदियो । संसारभरका मान्छेले हेर्न थाल्छन्, कस्को कार्यक्रमले कति नम्बर कमायो पनि थाहा हुने भयो । त्यसमा कतिले राम्रो कमेन्ट गरिदिन्छन्, आयोकजले सुधार गर्ने मौका पनि पाउँछन् । विगत केही वर्षदेखि हरेक देशमा बस्ने नेपालीहरुले तीजको कार्यक्रम गर्दै युटुबमा राख्न थालेका छन् । समय अनुसार परम्परागत विषयमा परिवर्तन आउनु आवश्यक छ तर परिवर्तनको नाँउमा विकृति र अश्लिलतालाई प्रसश कसैले पनि नदिउन भन्ने मेरो सबै आमा दिदिबहिनी र दाजुभाइहरु सबैमा हार्दिक अनुरोध पनि छ ।

यसरी नेपाली नारी जातीको महान चाड हरितालिका तीज धार्मिक रुपमा प्रचलनमा आई यसले विभिन्न सामाजिक प्रयोजनलाई पूरा गर्दै सात समुन्द्र पारी एशियाका विभिन्न खाडी मुलुकहरु, अफ्रिकाका विभिन्न मुलुक केन्या, इथियोपिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, यूरोप हुँदै उत्तर अमेरिकासम्म फैलिएको छ र सबैमा आत्मीयता साटासाट गर्ने एउटा भरपर्दो माध्यम बन्न पुगेको छ भन्नुमा अत्युक्ति नहोला ।

प्रस्तुती -गीता खत्री 

सन्दर्भ सामाग्री
खसोखास अनलाइन

त्यो बेला सिंहदरबार प्रवेश गर्ने ‘गेट पास’

वि सं १९६० मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको सिंहदरबारमा लामो समयसम्म सर्वसाधारणको प्रवेश सहज थिएन। उपत्यका प्रवेशका निम्ति समेत चिसापानी गढीमा प्रवेश पास देखाउनुपर्ने चलनको अन्त्य ००७ सालपछि मात्रै भयो।

विसं १९८९ देखि ००२ सम्म प्रधानमन्त्री रहेका जुद्धशमशेरको पालामा जारी गरिएको नेपाली कागजको प्रवेश पासमा सिंहदरबार छिर्दा पालना गर्नुपर्ने नियमको फेहरिस्त छ। महिनाको दुईवटा शुक्रबार सिंहदरबार छिर्नका निम्ति जारी गरिएको पासमा क-कसलाई भित्र लैजान पाइन्छ र क-कसलाई लैजान पाइँदैन भन्ने उल्लेख छ।

उक्त पासमा ‘प्रवेशबाहकले आफ्ना नातेदारका मानिस र आफ्नै घरका नोकर्नीलाई सिंहदरबार छिराउन सक्ने तर अन्त ढोका चहारेकी नोकर्नीलाई ल्याउन नमिल्ने’ उल्लेख छ। इतिहासकार दिनेशराज पन्त तत्कालीन समाजमा एउटै घरमा लामो समय काम नगरी घर परिवर्तन गर्ने ‘नोकर्नी’लाई सामाजिक रूपमा राम्रो दृष्टिले नहेरिने प्रचलन रहेको बताउँछन्। भन्छन्, “यो पास सामन्ती सामाजिक व्यवस्थाको एउटा प्रमाण हो।”

निश्चित चाडबाड बाहेकका दिनमा सिंहदरबार छिर्न नपाइने र त्यस्तो दिन आवश्यक बिन्ती बिसाउन अनिवार्य भए हजुरयिा जर्नेल (दरबारका सचिव जस्तै पद)लाई पत्र लेखेर उनको अनुमति प्राप्त गरेपछि मात्रै छिर्न सकिने प्रवेश पासमा उल्लेख छ। इतिहासकार पन्त भन्छन्, “यो पत्रले तत्कालीन समाजमा रहेको प्रचलनको प्रमाण दिन्छ।”

पत्रवाहक डुलकुमारी राणाकालका विभिन्न चरणमा प्रधानमन्त्री रहेका चन्द्रशमशेर र भीमशमशेरका मामा केशरसिंहकी नातिनी-बुहारी हुन्। केशर सिंह विसं १९४२ को रणोद्दीप शाह हत्याकाण्डमा पनि मुछिएका थिए। इतिहासकारहरूका अनुसार थीरशमशेर थापा हेमदल थापाका सन्तान हुन्। राणाकालमा र त्यसपछिको लामो समयसम्म पनि शमशेर थापा र जंग थापाहरूको बसोबास कमलपोखरीदेखि नक्सालसम्म फैलिएको थियो।

इतिहासकारहरूले बताए अनुसार राणाकालमा सिंहदरबार छिर्नु सजिलो थिएन्। राणा दरबारका विश्वासपात्रले मात्रै त्यस्तो अवसर पाउँथे। सिंहदरबारको ढोकाको दुई छेउमा रहेको खोपामा पानी परेका बेला वा घाम लागेका बेला मान्छेहरू थुप्रिन्थे। त्यसै गरी दरबारमा बिन्ती बिसाउन जानेहरू पनि त्यहाँ उभिएका हुन्थे। ती मध्ये अधिकांश भने दरबारका चाकडीबाज नै हुन्थे। बफादारी प्रमाणित भएपछि मात्रै तिनीहरू भित्र छिर्न पाउँथे। पहिलो चरणमा तिनीहरूको प्रवेश बगैँचा र हदै भए पटांगिनीसम्म मात्रै हुन्थ्यो र बिस्तारै पहिलो चोक हुँदै उनीहरू दरबारको मूल ढोकासम्म पुग्न पाउँथे। इतिहासकार पन्त भन्छन्, “यो प्रवेश पासले शासकहरू र जनताबीचको सम्बन्ध कसरी सीमित तुल्याइएको थियो भन्ने बुझाउँछ।”

सन्दर्भ सामाग्री
जनकराज सापकोटा
नेपाल साप्ताहिक
वरदान शम्शेर थापा