‘कान्छो दरबार’ गोरखा तल्लो दरबारको कथा

वि.संं १८९६ सालमा बनेको गोरखास्थित तल्लो दरबारको मूलढोकामा काठमा कुँदिएको विष्णुको आकृति देख्न सकिन्छ । त्यही तोरणले नै बोलिरहेको छ दरबारको कथा ।

दरबार निर्माणको प्रयोजन राजेन्द्र विक्रम शाहका रानीहरु जेठी राम्राज्यलक्ष्मी र कान्छी लक्ष्मीदेवीको आफ्नै छोरालाई राजा बनाउने ढिपीसँग जोडिएको छ । वि.सं. १८९४ सालमा राजा राजेन्द्र विक्रमले भीमसेन थापालाई अपदस्थ गरेपछि सिर्जना भएको अन्योलको वातावरणले नै राजगद्दीमाथिको चलखेल बढेको थियो ।

रानीहरुबीचको त्यही लडाइँका बीचमा कान्छी महारानीले राजगद्दी उत्तराधिकारीको परम्परागत नियमलाई तोडेर आफ्नो छोरालाई देशको बागडोर दिन प्रपञ्च रच्न थालेकी थिइन् । उनले आफू हाबी भएको अवस्थामा छोरा रणेन्द्रबिक्रम शाहलाई राजा बनाउने र स्वभाविक राजगद्दीको उत्तराधिकार सुरेन्द्रविक्रम शाहलाई व्यवस्थापन गर्नका लागि नै पुर्ख्याैली थलो गोरखामा लगेर राख्ने भन्ने योजनाका साथ यो दरबार बनेको हो ।

कान्छी महारानीको षड्यन्त्र सफल हुन भने सकेन । वि.सं. १९०३ सालमा कोत पर्व भएपछि घटनाक्रम फरक ढंगले विकसित हुने परिस्थिति देखापर्‍यो र सुरेन्द्रविक्रमलाई राजा नबनाउने प्रपञ्च तुहिएसँगै गोरखा तल्लो दरबार निर्माणको प्रयोजन पनि सकियो ।

१९०३ सालमा शक्तिमा आएका जङ्गबहादुर युरोप भ्रमणमा गएर फर्किएपछि उनले युरोपेली शैलीकै दरबारलाई नेपालमा बनाउन प्रोत्साहित गरे । त्यसपछि नै नेपालमा परम्परागत शैलीका दरबार नबनेका कारण गोरखा तल्लो दरबार नै नेपालको वास्तुकलाको इतिहासमा परम्परागत शैलीको सबैभन्दा कान्छो दरबार हो ।

जब सुरेन्द्र विक्रमलाई राख्ने प्रयोजनले बनाइएको दरबारको प्रयोजन सकियो तब राणा कालमा प्रमुख प्रशासनिक अड्डाका रुपमा प्रयोग गरियो । वि.सं. २०४२ सालमा गोरखा दरबार संरक्षण परियोजना सञ्चालन नहुँदासम्म दरबारमा जिल्लाका महत्वपूर्ण सरकारी अड्डाहरु रहेका थिए । त्यसैले कतिपय स्थानीय बासिन्दा अहिलेसम्म पनि तल्लो दरबारलाई अड्डाकै नामले चिन्छन् । अफिसहरु विस्तारै बाहिर सार्दै लगेपछि दरबारको मौलिक स्वरुप बचाइराख्न मद्धत पुगेको थियो ।

त्यसले गर्दा नै दरबारले आफ्नो मौलिकता गुमाउने डर बढिरहेको थियो । गोरखा दरबार संरक्षण परियोजनाको कामपछि दरबारको मौलिकता जोगाउन सहयोग पुग्यो । गोरखा दरबार संरक्षण परियोजनाले माथिल्लो दरबारका साथै तल्लो दरबारसम्मको काम वि.सं. २०५८ सालमा पूरा गर्‍यो । परियोजनाको काम सकिएपछि नै पृथ्वी स्मृति संग्रहालयका रुपमा विकास गर्ने काम अघि बढेको थियो । तर राजनीतिक घटनाक्रमका कारण नाममा उठेका सवालले गोरखा संग्रहालयका नाममा सर्वसाधरणका लागि समेत ०६५ सालमा दरबार खुला भयो ।

यो पनि पढ्नुहोस् केही राणाकालीन दरबारहरू

सन्दर्भ सामाग्री
विकिपिडिया
अनलाइनखबर
ऋग्वेद शर्मा
फोटो म्यूजियम नेपाल

२००७ सालअघि सिंहदरबारको मुलढोका अगाडीबाट हिँड्न पाइन्नथ्यो !

विक्रम संवत् १९६० मा सिंहदरबारको ढोका पनि बनिसकेपछि महाराज (चन्द्रशमशेर) लाई अलि अप्ठेरो परेछ किनभने शहरबाट सिंहदरबार आउने जाने बाटो भद्रकालीबाट बनाउनुपर्ने थियो तर भद्रकाली र सिंहदरबारका बीचमा गहिरो खेत थियो त्यसैले ओरालो र उकालो हुने भयो त्यो बाटो, दरबार सुहाउँदो पटक्कै भएन !

अनि इन्जीनियरहरूले दिमाग खियाए र त्यहाँ यौटा पुलबाटो तयार पार्ने योजना गरे। केही बढी खर्च लाग्ने भए पनि श्री ३ महाराजले त्यो स्वीकार गरे। अनि बन्यो त्यो ‘कजवे’। इन्जीनियरहरूले अर्को जुक्ति पनि निकाले, त्यो पुलबाटो मुन्तिर गोदामहरू बनाइदिने– एक पन्थ दुई काज ! त्यसबाट महाराजलाई अर्को पनि फाइदा भयो, उनको दरबार अगाडिबाट सर्वसाधारण (दुनियाँदारहरू) ले डिल्लीबजार–थापाथली आवतजावत गर्नु परेन, मूलढोका अगाडि त्यो पुल–बाटो मुन्तिर जनताको बाटो बन्यो, जनपथ ! त्यो ‘जनपथ’ कायमै थियो सात सालसम्म, नेपालमा प्रजातन्त्र नआउञ्जेल ! सिंहदरबारभित्र जानेहरू र राणा उच्च पदाधिकारीहरू बाहेकका पैदल यात्रुहरू सबै त्यही पुलमुनिको बाटोबाटै हिंड्नुपर्थो ।

सन्दर्भ सामाग्री
कमल दीक्षित
नेपाल हिमाल
मदन पुरस्कार पुस्तकालय