आकाशदीपः भगवान विष्णुको नाममा बालिने दीप

सनातन हिन्दु धर्मावलम्बीहरू कार्तिक महिनाभर कार्तिक स्नान गरी विशेष गरी भगवान् नारायणको आराधना गर्दछन्। चन्द्रमानको पात्रो अनुसार आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत) देखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गर्ने परम्परा छ। यो परम्परा विष्णुलाई प्रधान मान्ने वैष्णव परम्पराबाट आएको हो। त्यसो त आषाढ शुक्ल पक्षको एकादशीमा तुलसी रोपी कार्तिक शुक्ल एकादशीसम्म पूजा गर्ने र त्यसदिन विवाह गर्ने चलन छ। यो चार महिनाको अवधिलाई चतुर्मास व्रत पनि भनिन्छ।
यो अवधिभर तुलसीको पूजा गर्ने र भगवान् नारायणको आराधना गर्ने उनको महिमा सुनिन्छ। यो समय श्रीमद्भागवत्, विष्णुलगायतका पुराण लगाउने, नारायणको गुणकीर्तन गाउन काम गरिन्छ। चतुर्मास मध्ये पनि कार्तिक महिना विशेष महत्त्वको भएको पुराणवाचक पं.बालमुकुन्द देवकोटा बताउँछन्। उनका अनुसार कार्तिक महिनाभर बिहान सबेरै उठी स्नान गरी तारा नउदाउँदै तुलसीको पूजा गर्नुपर्ने मान्यता छ। यो महिनाभर सबै देवता तुलसीको मठ वरिपरि बस्छन् भन्ने विश्वास गरिन्छ। तुलसीको मठमा बालिएको दीपलाई बोलीचालीको भाषामा पातालदीप भनिन्छ। नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित संस्कृत नेपाली बृहत् शब्दकोषका अनुसार सात, १४ वा २१ हातको बाँस वा कुनै काठको खम्बा गाडी दीप बाल्ने व्यवस्था गरिएको हुन्छ। यो भगवान विष्णुको नाममा बालिन्छ। पातालदीप बिहान बेलुकी नै बालिन्छ।

आकाशदीप भने साँझको आरतीका बेला बालिन्छ। विधिपूर्व नारायणका नाममा आकाशदीप बाली गरी अन्त्यमा दीपदान गर्नाले यमयातना भोग्नु नपर्ने वैष्णव ग्रन्थहरूमा बताइएको छ। चतुर्मासभरि पूजा गरिएको तुलसीको विवाह भगवान् विष्णुसँग गरिन्छ, कार्तिक शुक्ल(हरिशयनी) एकादशीका दिन। भोलिपल्ट द्वादशीका दिन हवन दान आदि कार्य गरेपछि चतुर्मास पूरा हुन्छ। चार महिना शेषनागलाई शय्या बनाएर सुतेका नारायण यही एकादशीमा उठ्ने मान्यता छ। कार्तिक स्नान भने पूर्णिमाका दिन पूरा हुन्छ। यो एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ। यी पाँच दिनलाई विशेष महत्त्व दिइन्छ। यो अवधिमा नारायण मन्दिरहरूमा विशेष घुइँचो लाग्छ। उपत्यकाका प्रमुख चार नारायण, बूढानीलकण्ठ, चाँगु नारायण, इचंगु नायारण, शेष नारायण, लगायत यो बेलाका गन्तव्य हुन्। पूर्णिमापछि चन्द्रमाको पात्रोअनुसार मार्ग शीर्ष (मंसिर) महिना लाग्छ। चार महिनासम्म रोकिएका शुभकर्महरू गर्ने बाटो खुल्ने पं.देवकोटा बताउँछन्।

[ यो वर्ष कात्तिक ३ गते सुरु सुरू हुने यो क्रम मंसिर ३ गतेसम्म जारी रहनेछ।]

तस्वीरमा, त्रिशुली बजार नजिकै आकाशदीप, वि.संं २०२६ ।

सन्दर्भ सामाग्री
डउ हल
थाहाखबर

भीमफेदीबाट भरियाको काँधमा बसेर ७ दिनमा मोटरकार थानकोट आइपुग्थ्यो (दुर्लभ भिडियो सहित)

विक्रम संवत् १९८० को दशकदेखि काठमाडौंमा मोटरबाटो बन्न सुरु भयो । उपत्यकाको सीमित सडक सञ्जाल थानकोटसम्म मात्र थियो भने वीरगन्ज (अमलेखगञ्ज) देखीको बाटो भीमफेदीसम्म मात्रै थियो ।

काठमाडौंमा सडक बनेपछि शासकहरूमा मोटर चढ्ने मोह बढ्नु स्वभाविक थियो तर समस्या थियो भीमफेदीबाट थानकोटसम्म सडक नै नभएको ठाउँबाट कसरी मोटर ल्याउने ? उनीहरूले उपाय सुझाए मानिसको काँधमा बसाएर मोटर नेपाल उपत्यका ल्याउने ? अनि सुरू गरियो मान्छेको काँध चढाएर उपत्यकामा मोटर गाडी ल्याउन । काठमाडौंमा मोटर ल्याउनका लागि सो समयमा वीरगंजदेखि मकवानपुरको भीमफेदीसम्म सडक खनिएको थियो र त्यहाँबाट भरियाको काँधको यात्रा गरी मोटरहरू शासकहरूको आँगनसम्म पुग्थे । शासकहरू मर्सिडिज र फोर्ड कम्पनीका लग्जरी मोटरकार मात्र बोकाउँदैन् थिए त्यसका लागि चाहिने इन्धनको भारी पनि थोपार्थे।

बेलायत तथा जर्मनीमा बनेका विलासी कारप्रति शासकहरूको राम्रै मोह थियो। सन् १९३९ मा हिटलरले जुद्धशम्शेर राणालाई मर्सिडिज बेञ्ज उपहार नै पठाएका थिए यद्यपी त्यो मोटर राजा त्रिभुवनका लागि दिइएको हो पनि भनिन्छ । दोस्रो विश्वयुद्धमा गोर्खाली फोजलाई टाढै राख्न नेता हिटलरले यस्तो महँगो उपहार पठाएका थिए भन्ने गरिन्छ । साना गाडीमा लामा-लामा नोल (काठ) बाँधेर चार कुनामा ८/८, १६/१६ र २४/२४ जना तन्नेरीहरूले काँधमा बोकेर हिँड्थे । त्यतिबेला भरिया तथा नाइकेहरूले ८/८ जनाले बोक्ने गाडी ३२ मोडेल, १६/१६ जनाले बोक्ने गाडी ६४ मोडेल र २४/२४ जनाले बोक्ने ९६ मोडेलको गाडी भन्ने गर्थे ।

बेलायत तथा जर्मनीबाट आयातित गाडी सुरुमा भारतको कलकत्ता बन्दरगाह हुँदैं रक्सौल सिमासम्म ल्याइन्थ्यो । अनि ती गाडी रक्साैलबाट अमलेखगञ्जसम्म रेलमा र त्यसपछि  भीमफेदीसम्म गुडाएर ल्याइन्थ्यो । बीचमा पर्ने खोलाहरूमा भने गाडीले डुंगामा बसेर यात्रा निरन्तरता दिन्थे ।

मकवानपुरको तत्कालीन मुकाम भीमफेदी आइपुगेका मोटरगाडीमा पांग्रा झिकी नोल लगाइन्थे अनि सुरू हुून्थ्यो ‘नेपाल’ शहर तर्फको यात्रा । गाडीको आकार र भरियाको संख्याका आधारमा मोटरकार छिटोमा एक सातामा चिसापानी, देउराली, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि भञ्ज्याङ हुँदै काठमाडौंको थानकाेट गोदाम–चुनीखेलसम्म पुग्दथ्यो जहाँ आफ्नो मोटरकार लिन शासकहरू तयारी अवस्थामा रहन्थे ।

सानो गाडी सात दिनमा, मझौला दस दिनमा अनि ठूलो गाडी भने बढीमा बाह्र दिनसम्ममा भीमफेदीबाट थानकोट पुग्थ्यो । बीच बाटैमा बास बस्नु पर्ने हुँदा भरियाहरुले सोही ठाउँहरुमा नै खाना पकाएर खाने गर्दथे । थानकोट गोदाम चुनीखेलसम्म ल्याइपुर्याइएको गाडीमा पुनः चक्का हालेर गुडाउँदै काठमाडौं शहरका गन्तव्यसम्म पुर्‍याइन्थ्यो ।

भरियाहरु गाडी बोक्न घरबाट नोल, पराल र लट्ठी लिएर जाने गर्दथे । नोल गाडी बोक्न, पराल चप्पल बनाएर लगाउन र लट्ठी गाडीको भार टेकाउन प्रयोग हुन्थ्यो । गाडी बोक्दा खुट्टा चिप्लिने डरले सबै भरियाले परालको चप्पल लगाउँथे । एक खेप खाडी ओसार्दा ४ जोर चप्पल फाट्ने गरेको भरियाहरूले अनुभव सुन्न पाइन्छ । गाडी बोक्ने भरियाहरू प्राय: मार्खु, कुलेखानी, चित्लाङ, फाखेल र बज्रबाराहीका हुन्थे भने अधिकांश तामाङ समुदायका युवाहरू थिए । गाडी बोक्ने प्रयोजनका लागि नाइकेहरू बलिया बांगा नाैजवान खोज्न ती स्थानका गाउँगाउँमा पुग्दथे । यसरी काँधमा गाडी बोकेर ल्याउने क्रम २०१२-१३ सम्म चल्यो, गाडी बोके बापतप्रति व्यक्तिले बढीमा ५ रूपैंयासम्म ज्याला पाउँथे, राणाजीहरू खुसी भएमा थप बक्सिस स्वभाविक थियो ।

वि.संं २०१३ सालमा राजधानी काठमाडौं जोडिने पहिलो राजमार्ग तयार भएसँगै नेपालमा गाडीले मानिसको काँधमा बोकिन परेन् ।

जीवित छैनन् गाडी बोक्नेहरू

भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउने क्रमको विधिवत अन्त्य भएको ६५ वर्ष बितिसकेको छ । मोटरगाडी बोकेर ल्याउने मध्येका एकमात्र जीवित मानिएका व्यक्ति हिराबहादुर घलानको गत वर्ष पुस निधन भयो । पुरन्डीका मकवानपुरका बासिन्दा घलानको ९१ वर्षको उमेरमा निधन भएको हो ।

घलानले १८ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । उनलाई मार्खुका नाइकेले यो काममा लगाएका थिए । घलानले लगातार २५ वर्ष भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याए । त्यही कमाइले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । ‘अहिले गाडीले मान्छे बोक्छ । त्यति बेला मान्छेले गाडी बोक्थे,’ घलान भन्ने गर्थे । उनका अनुसार आफूहरूले गाडी बोकेर काठमाडौं पुर्‍याएको सुनाउँदा नयाँ पुस्ताले पत्याउँदैनथ्यो । ‘गाडी पनि बोक्न सकिन्छ र भन्दै नातिनातिना उल्टै जिस्क्याउँथे,’ उनी भन्थे ।

मोटर बोक्ने दलमा घलान रातो संकेतमा र गत वर्ष।

घलानले संचारकर्मीहरूलाई बताए अनुसार उनी आफू बलियो र अग्लो भएका कारण नाइकेले उनलाई सधैं अग्रभागमा राखेर गाडी बोकाउँथे । सुरुमा उनले ३२ जनाको टोलीमा साना गाडी बोकेका थिए । सात दिनमै गाडी बोकेर काठमाडौं पुर्‍याएबापत उनको टोलीलाई राणाहरूले २० रुपैयाँ बक्सिस दिएका थिए ।

सन्दर्भ सामाग्री
फ्लड ड्वेल
प्रताप विष्ट
इकान्तिपुर
विभिन्न सामाजीक सञ्जाल