राजा वीरेन्द्रबाट सोधनी भयो: ‘रारा चाउचाउको लगानीकर्ता को हुन् ?’

राजा वीरेन्द्र र रानी ऐश्वर्या औद्योगिक मेला हेर्न काठमाडौंको भृकुटीमण्डप पुगेका थिए । औद्योगिक मेलामा रारा चाउचाउ पनि राखिएको थियो । राजाले चाउचाउ ध्यानपूर्वक हेरे । यो २०४२ को कुरा हो ।
‘रारा चाउचाउको लगानीकर्ता को हुन् भनेर राजा वीरेन्द्रले सोधे,’ रारा चाउचाउ उत्पादन गर्ने गण्डकी नुडल्स प्रालि संस्थापक प्रबन्ध निर्देशक कृष्ण आचार्यले उत्तर दिए, ‘सरकार, गोर्खाली सबै हुन् ।’ गण्डकी नुडल्स प्रालि संस्थापक प्रबन्ध निर्देशक आचार्यको उत्तर सुनेर राजा वीरेन्द्र हाँसे । रानी ऐश्वर्याले कुरा बुझिनन् । राजाले अंग्रेजी भाषामा रानीलाई वास्तविताका सुनाएपछि हाँसो गुञ्जियो ।

राजा वीरेन्द्र फेरि हाँसे ।

‘राजाले उद्योग चलाउन केही समस्या छ कि भनेर मलाई सोधे । नेपाली लगानीकर्ताको प्रयासमा नेपालमै उत्पादित भए पनि रारा चाउचाउमाथि अन्तः शुल्क लगाइएको छ,’ आचार्यले सुनाए, ‘राजाले छुटका लागि हारगुहार मागेनौँ भनेर सोधे । मैले पटक/पटक सरकारसमक्ष निवेदन गरे पनि पशुपतिनाथमा फूल चढाएजस्तो भयो सरकार भन्दा उनी दोस्रोपटक हाँसे ।’


‘आरए आरए रारा, मीठो भन्छन् सारा’

भन्ने विज्ञापन ०४२ देखि रेडियोबाट प्रसारण हुन थाल्यो । त्यतिबेला ३ रुपैयाँ ५० पैसा पर्ने चाउचाउ सबैले नखाए पनि धेरैले विज्ञापन गुनगुनाउँथे । रेडियोबाट दैनिक बिहान पौने आठमा विज्ञापन प्रसारण हुन्थ्यो ।


राजाले औद्योगिक मेलामै आफ्ना निजी सचिवलाई आचार्यको निवेदन दिँदै अन्तःशुल्क हटाउन निर्देशन दिए । राजाको हातमै निवेदन थमाएको भोलिपल्ट ५० प्रतिशत अन्तःशुल्क छुटसहितको पत्र आचार्यको हात पर्यो । रारा चाउचाउको सन्दर्भमा वीरेन्द्रले हाँसेजस्तो आचार्यले हाँस्न नसके पनि राहत महसुस गरे ।

औद्योगिक मेला हेर्न राजा वीरेन्द्र पोखरासमेत पुगे । राजासँग आचार्यको फेरि भेट भयो । राजाले गण्डकी नुडल्स प्रालि अवलोकन गर्दै सोधे, ‘मैले सहयोग गर्नुपर्छ कि ?’ खुसी हुँदै आचार्यले बिन्ति बिसाए, ‘सरकार प्रहरी र सेनालाई सातामा एकपटक चाउचाउको स्वाद चखाउने प्रबन्ध मिलाइए उद्योग सञ्चालनका लागि सघाउन पुग्ने थियो ।’ राजा केही बोलेनन् ।

भारतभन्दा नेपालमा पहिले चाउचाउ

भारतभन्दा नेपालमा पहिले चाउचाउ उत्पादन भएको थियो । गण्डकी नुडल्स प्रालिले रारा चाउचाउ बजारमा ल्याएको ६ महिनापछि मात्रै भारतको पन्जाबबाट म्यागी चाउचाउ उत्पादन भएको हो ।विक्रम संवत् २०३९ माघ २३ गते नेपालमा पहिलोपटक रारा चाउचाउ उत्पादन भएको थियो । बजारमा आएको चाउचाउको स्वाद जति मीठो थियो उत्पादनमा लागिपरेकाको चाउचाउ संघर्ष अत्यन्तै तीतो । तर पनि चाउचाउ उत्पादनमा लागेकाले हरेस खाएनन् । दुःखको पापड बेल्दैबेल्दै चाउचाउ उत्पादन गरिछाडे ।

चाउचाउमा बेलायती सेनाको अत्यधिक रूची

चारजनाको साझेदारीमा थालिएको चाउचाउ उत्पादनमा लगानी धान्न नसक्ने भएपछि इच्छुकलाई लगानी आह्वान गरिएको थियो । १० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म लगानी गर्न मेजर पूर्णबहादुर गुरुङ, विश्वरत्न श्रेष्ठ, जगतमोहन गौचन, सूर्यबहादुर केसी लगायत झन्डै १ सयजना लगानीकर्ता तयार भए ।

गण्डकी नुडल्स प्रालि अध्यक्ष फणीन्द्रमान श्रेष्ठ थिए । श्रेष्ठ अवकाश प्राप्त बेलायती सेना हुन् । उनले विदेशमा रहँदा चाउचाउको स्वाद चाखिसकेका थिए । त्यसैले चाउचाउ उद्योगमा लगानी गर्न राजी भए । लगानी गर्न उनीजस्तै बेलायती सेनाबाट अवकाश प्राप्तको घुइँचो लाग्यो ।

राजा वीरेन्द्रबाटै हुकुम

लगानीकर्ता भेटिए पनि चाउचाउ उद्योग सञ्चालन अनुमतिका लागि सरकार सकारात्मक देखिएन । कृष्ण आचार्यले उद्योग सञ्चालनका लागि औद्योगिक सेवा केन्द्र डिजी अजितनारायणसिंह थापालाई अनुरोध गरे । तर, सकारात्मक देखिएनन् । आचार्यले उदाहरण पेस गर्दै डिजी थापालाई सुझाए, ‘काठमाडौंका कुनै पनि रेष्टुरेन्टमा दैनिक १० प्लेट चाउमिन बिक्री भएन भने म उद्योग चलाउँदिन ।’

त्यति भनेपछि डिजी सकारात्मक देखिए । नभन्दै औद्योगिक सेवा केन्द्रका एक कर्मचारीसँगै आचार्य काठमाडौँको न्युरोडमा रहेको एक रेष्टुरेन्ट पुगे । त्यहाँ एक घन्टामा १४ प्लेट चाउमिन बिक्री भयो । त्यही कुरा सुनाएपछि डिजीले आचार्यलाई महिना दिनपछि उद्योग सञ्चालनका लागि पोखरा होइन काठमाडौँका लागि अनुमति दिए । परेन फसाद । यही समस्या राख्दा राजा वीरेन्द्रले ०३५ मा पोखरामै उद्योग सञ्चालनका लागि अनुमति दिए ।

लगानीकर्ता जम्मा भए । उद्योग सञ्चालनका लागि अनुमति पनि पाइयो । चाउचाउ उत्पादनका लागि उपकरण चाहियो । नेसनल ट्रेडिङले चीनबाट ल्याएको उपकरण खरिद गरियो । १२ हजार रुपैयाँ परेको उपकरण सानो थियो । ‘सानो उपकरणले थोरै चाउचाउ उत्पादन गथ्र्यो,’ आचार्यले अतीत सम्झे, ‘चाउचाउ उत्पादन गर्ने उपकरण जापानमा पाइन्छ भन्ने थाहा पाएँ । ठूलो मात्रामा चाउचाउ उत्पादन गर्ने सोचसहित ३५ लाख रुपैयाँमा जापानबाट उपकरण खरिद गर्यौँ ।’

जापानबाट उपकरण ल्याउन त्यत्तिकै समस्या पर्यो । सो उपकरण भारतको कलकत्तामा महिना दिन रोकियो । उपकरण रोकिएपछि आधाउधी लगानीकर्ताले लगानी फिर्ता लिए भने लगानी गर्न इच्छुक छु भन्नेहरू पनि सकारात्मक देखिएनन् ।

‘नु’ ‘नि’ हुँदा विशेष प्रहरीमा उजुरी

त्यसो भएपछि उद्योग सञ्चालनका लागि उद्योग विभागमा ३५ लाख नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर ऋण सहयोग माग गर्यौँ । ‘महिना दिन बित्दा पनि फाइल अघि बढेन,’ उनले अर्को आपत सुनाए, ‘त्यसपछि विभाग निर्देशक जीवनलाल सत्याल भेट्ने प्रयास गरेँ । विभाग धाउन थालेको १० दिनपछि सत्यालसँग भेट भयो । सत्यालले आश्चर्य मान्दै सोधे– जाबो निडल्स (सियो) उद्योग सञ्चालनका लागि ३५ लाख रुपैयाँ किन चाहियो ?’

अनि थाहा भयो ‘नुडल्स’ हुनुपर्नेमा ‘निडल्स’ उल्लेख भएछ । त्यही शंकामा विशेष प्रहरीले उद्योग विभागबाट गण्डकी नुडल्स प्रालिको सबै फाइल अनुसन्धानका लागि लगेको रहेछ । उद्योग विभाग निर्देशक सत्यालको पहलमा समस्या सल्टियो ।

चाउचाउको विज्ञापन बनाउन भारतकै शरण 

रारा चाउचाउ उत्पादन भएको ६ महिनापछि भारतले म्यागी चाउचाउ बजारमा ल्यायो । उसले नेपालमा समेत बजार विस्तार गर्न म्यागी चाउचाउ पठायो । म्यागीको १० वटा खाली खोल (कभर) संकलन गर्नेलाई एउटा बल उपहारस्वरूप दिने गरिन्थ्यो ।

पूर्वमा पनि सुनसरीका धरानवासीले बढी चाउचाउ खाने गर्थे । त्यतिले मात्रै पुग्दैनथ्यो । चाउचाउ बिक्री बढाउने उपाय खोजियो । गण्डकी नुडल्स प्रालिले ‘चिकेन फ्लेबर’ को रारा चाउचाउको बिक्री बढाउन विज्ञापन बनाउने निष्कर्ष निकाल्यो । आचार्यले त्यतिबेलाको दुःख सुनाए, ‘नेपालमा विज्ञापन बनाउने एजेन्सी नपाएपछि कलकत्ता पुगेँ । भनेजस्तो नभएपछि मुम्बई गएँ । नेपाली चलचित्र माइतीघर सुटिङ गरिएको स्टुडियोमा भिडियोसहितको विज्ञापन तयार भयो ।’

‘आरए आरए रारा, मीठो भन्छन् सारा’

भन्ने विज्ञापन ०४२ देखि रेडियोबाट प्रसारण हुन थाल्यो । त्यतिबेला ३ रुपैयाँ ५० पैसा पर्ने चाउचाउ सबैले नखाए पनि धेरैले विज्ञापन गुनगुनाउँथे । रेडियोबाट दैनिक बिहान पौने आठमा विज्ञापन प्रसारण हुन्थ्यो ।

विना भन्सार भारतमा रारा 

विद्यार्थी हुँदा चिनेको काठमाडौँका एक साथीले उनको पसलमा राख्न नमाने पनि रारा चाउचाउ विना भन्सार भारत पठाइन्थ्यो । आफ्नै साथीले रारा चाउचाउलाई ‘काम नलाग्ने वस्तु’ भने पनि भारतमा बजार विस्तार गर्न सफल भएको आचार्यले बताए ।

भारतमा चाउचाउको बजार विस्तार गर्न साथी कमलसिंह कार्कीले सघाए । कार्कीकै सहयोगमा भारतीय वाणिज्य सचिव आविद हुसेनसँग भेटघाट भयो । वाणिज्य सचिव सकारात्मक देखिएपछि नेपाल सरकारले सो एजेन्डा प्राथमिकतामा मात्रै राखेन पारित नै गर्यो । त्यसपछि झन्डै चार वर्ष रारा चाउचाउ भारतीय बजारमा पठाइएको थियो । तर, नेपाली चाउचाउले बजार लिने डरले भारतीयले विभिन्न किसिमका बखेडा झिकिएको आचार्यले बिर्सेका छैनन् ।

आफ्नै देशमा उद्यम गरेर खानुपर्छ भन्ने मान्यतासहित आचार्यले आफ्नो अंशमा परेको सम्पत्ति रारा चाउचाउमा लगानी गरेका थिए । पसिनाको गीत गाएर खानुको मज्जा अरूसँग तुलना गर्न सकिँदैन । अन्ततः नेपाली उद्योगमा गण्डकी नुडल्स प्रालिद्वारा उत्पादित रारा चाउचाउ कोसेढुंगा साबित भयो । रारा चाउचाउको लोकप्रियता हिजोआज पनि उस्तै छ । रारा उत्पादन भएको दुई वर्षपछि वाइवाइ चाउचाउ बजारमा आएको हो । त्यसपछि अन्य थुप्रै चाउचाउ बजारमा आएका छन् । सबै चाउचाउ माझ राराको स्वाद पृथक छ ।

चाउचाउ उत्पादन उत्कृष्ट रहेकाले रारालाई स्पेनबाट अन्तर्राष्ट्रिय पुरस्कार दिइएको थियो । गण्डकी नुडल्स प्रालिबाट २० वर्षअघि अलगिएका संस्थापक प्रबन्ध निर्देशक कृष्ण आचार्यले हिजोआज पनि त्यत्तिकै स्वाद मानीमानी रारा चाउचाउ खाने गर्छन् । आचार्यलाई दक्षिण एसियामै पहिलोपटक उत्पादित रारा चाउचाउप्रति अगाध प्रेम छ । तर, पछिल्लो समय तयारी चाउचाउ उत्पादन गर्ने हामी पहिलो हौँ भन्दै प्रचार प्रसार गर्नेप्रति आश्चर्य मान्ने आचार्यले भने, ‘रारा चाउचाउको इतिहास मेट्न खोजे पनि मेटिँदैन ।’

सन्दर्भ सामाग्री
दिपेन्द्र राई
रातोपाटी
विकिपिडिया
विभिन्न सामाजिक सञ्जाल

यस्ता छन स्वरसम्राटका नसुनिएका कुरा

नारायण गोपालको जन्म वि सं १९९६ असोज १८ गते र निधन २०४७ मंसिर १९ भएको थियो । काठमाण्डाैको किलागलमा जन्मिएका नारायण गोपालले ३१ वर्षको उमेरमा पेमाला लामाका साथ विवाह गरे तर उनी निःसन्तान रहे।


एकदिन नारायण गोपाललाई कसैले सोधेछ “राम्रो स्वर हुने गायिकालाई कोइली भनिन्छ भने गायक लाई के भनिन्छ?” प्रश्न नसकिंदै नारायण गोपालले जवाफ दिएछन् “कोइला” । साँच्चै नारायण गोपालको मुटु रक्सी र चुरोटले कोइला जस्तै भैसकेको थियो । त्यसैले होला ५१ वर्षको उमेरमै वहाँको निधन भयो र नेपाली संगीतको एउटा अध्याय अन्त्य भयो २०४७ मंसिर १९ गते । मृत्यु सबैको नियती हो तर पनि जस्ले आफु बाँचेको समाज र देशका निम्ती योगदान दिएको छ उ नै सच्चा सपुत कहलाउँछ । नेपाली संगीतमा उनको नाम सदैव श्रद्धापूर्वक लिइनेछ ।

मेरो गीत धेरै नबजादेउ

नारायण गोपाल एकदिन रेडियो नेपाल पुगेछन्, गीत नबजेर हैन बढि बजेर । उनको ‘यो सम्झिने मन छ’ बोलको गीत रेडियोमा बढ़ी बज्न थालेपछि उनले रेडियो मै पुगेर भनेछन् ‘कृपया मेरो एउटै गीतलाई धेरै पटक नबजाइदिनुहोला, यसले गीत लोकप्रियता घट्छ ।’

कुस्ती खेलमा निक्कै खप्पिस नारायण गोपाल शारिरिक रुपमा पहलामनका रुपमा कहलिएका थिए । उहाँका नजिकका साथी नगेन्द्र थापाका अनुसार नारायण गोपालले कुस्ती पनि सिकेका थिए । यदि उनी संगीतमा नलागेको भए ईतिहासविद् हुन्थे कि ! किनकी उनी ईतिहासमा पनि निकै पोख्त थिए ।

माया गर्नेको चोखो माया 

कालीप्रसाद रिजालको शब्दमा स्वरसम्राट नारायण गोपालले त्रिभुवन विश्वविद्यालयको वार्षिकोत्सवमा गाएको गीत हो यो। यो गीत पछि रेकर्ड भने हुन पाएन। यसलाई पछि रामकृष्ण ढकालले रेकर्ड गराए ।

राजमार्ग निर्माणमा खटिएका कुल्ली नारायण गोपाल

नारायणगोपालले पूर्व पश्चिम राजमार्ग बनेका बेला हेटौंडामा कुल्ली काम गरेका थिए । गीतकार भीम बिरागका अनुसार ”म तबला बजाउँथे, वहाँ एक प्याग लगाएर गाउनुहुन्थ्यो, किन कुल्ली काम गर्नु भयो थाहा भएन । तर, लामो समय चाँहि गर्नु भएन । ”

नारायण गोपालले पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई जलभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए। यी गीतले नारायण गोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो।

उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आफ्नो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासी नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो।

उक्त समयमा नेपाली संगीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे।

कुल मिलाएर अठ्ठाईस वर्षको निरन्तर गायनमा नारायण गोपालले डेढ दर्जन चलचित्रमा गाए भने एकसय सन्ताउन्न वटा गीत गाए। उनले आफ्नो संगीतमा चारजना गायक र तीनजना गायिकाको गीत बनाए।

स्वर सम्राट

नेपाली ईतिहासमा नारायण गोपाललाई अहिलेसम्म जनताले नै दिएको विशेषण “स्वरसम्राट” मात्रै हो । पहिलोपल्ट नारायण गोपाललाई “स्वरसम्राट” भन्ने व्यक्ति कवि भुपी शेरचन थिए । २०२८ सालमा पोखराको एक कार्यक्रममा भुपीले नारायणगोपल लाई स्वर सम्राट भनेर सम्बोधन गरेका थिए । पछि गोरखा दक्षिणबाहु दिँदा राजाले पनि स्वरसम्राट नै भनेर सम्बोधन गरेका थिए । यसरी नारायणगोपाल निर्विवाद स्वरसम्राट कहलिए ।

मितज्यूसँग मतभेद्

आफ्ना मितज्यू गोपाल योञ्जनको विवाहपछि उनको नारायण गोपालसितको सम्बन्धमा चिसोपन आयो। नारायण गोपाल एक्कासि परिवर्तनको नयाँ सँघारम पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासँग भेट भयो। त्यसमध्ये दिव्य खालिङसँग उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे। त्यो दोस्रो इनिङमा उनले सँधै नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनर्स्थापित हुने मौका दियो।

विवाहपछि घर नफर्केका नारायण गोपाल
नारायण गोपालले अन्तर जातीय विवाह गरेका थिए । उहाँले दार्जिलिङ निवासी पेमला लामाका साथ २०२७ सालमा विवाह गरेका थिए, विवाहपश्चात नारायण गोपाल घर फर्केनन् कारण उनका बुबा उनको विवाहलाई स्वीकार गर्नेपक्षमा विल्कुलै थिएनन् ।

विवाहपश्चात नारायण गोपाल पत्नीसहित पोखरा स्थित कवि भुपी शेरचनको घर पुगे । पोखरामा बस्दा श्रीमती पेमला लामाले रत्नराज्यलक्ष्मी देवी स्कुलमा पढाउन थालिन भने नारायण गोपाल स्वंय अमरसिंह स्कुलमा शिक्षक भए । पोखरामा नारायण गोपाल दम्पतीले ६ महिना बिताएपश्चात काठमाण्डाै फर्किए तर बा आमासँग भने बसेनन् यो क्रम निकै सालसम्म जारी नै रह्यो । विवाह भएको ३ महिना पश्चात नाारायण गोपालले आफ्ना बुबालाई यस्तो चिठी लेखेर पठाए ।

विवाह पश्चात नारायण गोपालले आफ्ना बा आमालाई चिठ्ठी लेख्दै भने – ”आमा जात नमिलेको बुहारीलाई बुहारी नभनेपनि केही छैन तर म त तिम्रो छोरा हुँ’ ।

सन्दर्भ सामाग्री

मदन पुरस्कार पुस्तकालय
अनलाइनखबर
विभिन्न अनलाइनहरू
सामाजीक सञ्जाल