मध्यरातमा ‘फेरी’ लगाउने चलन !

चैत र कात्तिक महिनामा घरघरमा गएर फेरी लगाउने परम्परा वर्षाैदेखिको हो । फेरी लगाएमा घरको रक्षा हुने र भूत नआउने जनविश्वास छ । फेरी लगाउने व्यक्तिहरुलाई फेरी लगाउने घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यु लगायत दान दिने परम्परा छ ।

रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जोगीहरुले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । फेरी लगाएर मन्त्रपाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ ।

फेरी लगाउने परम्मपरा धार्मिक विश्वाससँग जोडिएको छ । तर फेरी लगाएर मात्रै यो समुदाय माथि उठ्न सक्ने अवस्था छैन । फेरी लगाउने योगी, जोगी समुदायलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिकस्तरमा सबल बनाउन भने पहल गर्न भने आवश्यक छ ।

धार्मिक आस्थासँगै जोडिएको फेरी लगाउने परम्परा वर्षोदेखि जोगी , योगीहरुले निरन्तरता दिदै आएका छन् । युवा पुस्ताले भने फेरी लगाउन पेशामा त्यति धेरै चासो देखाएका छैनन् । त्यसैले आफूहरु नरहेपछि यो परम्परालाई कस्ले निरन्तरता देला भन्ने चिन्ता जोगीहरुलाई छ ।

फेरीको महत्व

कानफटा जोगी(नाथ)हरु कात्तिक र चैत महिनामा फेरी लगाउने गर्छन् । फेरी लगाएमा घरको रक्षा हुने, भूत पिचाश नआउने जनविश्वास छ । कानफटा जोगीहरुलाई मंगलबार र शनिबार टीका लगाएर दान दिने गर्छन् । चामल, धान, बेसार, तरकारी, नुन, तेल, घिउ, दक्षिणा, कालो कपडा लगायतका वस्तु दान गर्ने चलन छ ।

रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जीविकोपार्जन गर्दै आएका छन् । फेरी लगाएर मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ ।

फेरी लगाउँदा छेद, भेद, मरिद, मसना, डंकिनी, भूत र पिचासले दुःख नदिओस् भनेर मन्त्रोचारण गर्ने गरेको उनीहरुको भनाइ छ । अघिल्लो रात फेरी लगाउने र भोलिपल्ट दान लिँदै हिँड्ने योगीलाई भक्तहरूले पनि अन्नबालीमा ‘सह’ बस्ने, घरमा भूतप्रेत तथा पिचासले बास नगर्ने विश्वासमा अन्न दान गर्दछन ।

मध्यरातमा बजाईने नाद

नादको अर्थ हो आवाज निस्किनु हो । पवित्र काठ र धातुहरुबाट निर्माण गरिएको वस्तुलाई मुखले फुक्दा आवाज आउने हुनाले यसलाई नाद भनिएको हो । नादलाई नाथ योगीहरुले कुनै पनि शुभकार्य गर्नुअघि तीनपटक फुकेर मन्त्र जप गर्ने गरेको बताउँछन् ।

यो तीन पटकदेखि छ पटकसम्म पनि विभिन्न देवीदेवताहरुको स्मरण गर्दा फुक्ने चलन छ । गुरुलाई स्मरण गर्दा तीनपटक र अरु देवीदेवताहरुलाई स्मरण गर्दा छ पटक बजाउने चलन रहेको नाथयोगीहरु बताउँछन् ।

अशंमा समेत नाद

यो समुदायमा विवाहपछि परिवार छुट्टिँदा अंशका रूपमा फेरी लगाउने बराँठको सिङ दिने चलन थियो । अभिभावकले बराँठको सिङ दिँदै पुख्र्यौली पेशा नछाड्न फेरी लगाएर जीविकोपार्जन गर्न आशीर्वाद दिने गरेको उहाँ बताउनुहुन्छ । युवा पुस्ताले लाज मान्नु, पेशाबाट आत्मसम्मान नपाउनु, अन्य समुदायले हेयका दृष्टिले हेर्नु, वर्षभरि काम नपाउनु, आकर्षक कमाई नहुनुलगायत कारणले यो पेसा अँगाल्न नमानेको उहाँले बताउनुभयो ।

सुरक्षा र सम्मान आवश्यक

फेरी लगाउने जोगीहरु रातको समयमा गाउँ डुल्नुपर्ने भएका कारण सुरक्षाको अनुभूति हुनुपर्ने योगी रुद्रनाथले बताउनुभयो । रातको समयमा फेरी लगाउन जाँदा असुरक्षा बढेको कारण समस्या भएको उहाँले बताउनुभयो । संस्कृति र धार्मिक परम्परा धानेका योगीहरुको सम्मान गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । चलिआएको परम्परा र संस्कार संरक्षणका लागि कानफटा योगीहरुको सुरक्षा र सम्मानमा ध्यान दिन सके परम्परा जोगिने उहाँको भनाइ छ ।

सन्दर्भ सामाग्री
उज्यालो अनलाइन
हिमालय टेलिभिजन
विभिन्न अनलाइनहरू
विभिन्न सामाजिक सञ्जाल

नागरिकले रेडियो प्रसारण सुन्न शासकसँग अनुमति लिनु पर्थ्यो

नेपालमा एक समय रेडियो तथा क्यासेट वैभव र सम्पन्नताको प्रतिक थियो । तराई क्षेत्रमामा बिहेबारी हुँदा दाइजोमा नगदसहित रेडियो पनि माग्ने चलन थियो भनिन्छ ।
समाचार सुन्नकै लागि मानिसहरू रेडियो भएको घरमा भेला हुने गरेको, बिहेबारीमा बाजा बजाउन सामर्थ नहुनेहरूले क्यासेट बजाउँदै बेहुली लिन जाने गरेको, विभिन्न उत्सवहरूमा रेडियो तथा क्यासेट बजाइ नाचगान गर्ने गरेको हामीले अनुभव गरेकै विषय हो ।

विश्वमा औपचारिक रूपमा रेडियो प्रसारण अमेरिकाको पेन्सलभेनिया सहरबाट सन् १९२० मा भएको थियो। सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनीको स्थापना भयो जुन सन् १९२७ मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनमा परिणत भयो जसले अहिले २७ भाषामा सेवा दिइरहेको छ ।

विश्वमा रेडियो प्रसारणको ३० वर्षपछि नेपालमा रेडियो प्रसारण सुरु भयो । नेपालमा सन् १९४६ पहिलोपटक रेडियो प्रसारण भएकोमा  औपचारिक रुपमा १९५० बाट (२००७ साल मंसिर २८ गते) प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भयो । यसप्रकार नेपालको रेडियो प्रसारणले सात दशक पूरा गरिसकेको छ । गोरखापत्र प्रकाशन (वि.सं. १९५८ बैशाख २४) को पाँच दशकपछि वि.सं.२००७ सालमा रेडियो प्रसारण आरम्भ भएको थियो ।रेडियो नेपाल प्रसारण हुनुपूर्व राणाकालमा भारतबाट रेडियो सेट किनेर भारतबाटै प्रसारण हुने रेडियो सेवा सुन्नुपर्ने अवस्था थियो ।

वि.संं २०१६ पाैष १३ गतेको नेपाल गजेट भाग ३ मा घरमा रेडियो यन्त्र राख्ने सँग रु. १०, विक्रेतासँग रु. १०० र रेडियो मेकानिक भई काम गर्नेसँग रु. ५० वार्षिक दस्तुर लिने व्यवस्था वि. सं २०१६/९/१३ देखि लागू हुने सूचना जारी गरिएको थियो ।

वि.सं २०३० को दशकसम्म नेपालमा नागरिकले रेडियो प्रसारण सुन्न शासकसँग अनुमति लिनुपर्ने व्यवस्था थियो । सरकारसँग इजाजत लिएर रेडियो सेट किन्नुपर्ने अवस्थाबाट हामी निकै अघि बढिसकेका छौँ । रेडियो प्रसारण प्रविधि एफएम रेडियो हुँदै अनलाइन रेडियोमा प्रवेश गरेसँगै यसमा आएको परिवर्तनको आकलन गर्न सकिन्छ ।

नेपालमा ०५४ देखि सामुदायिक र व्यापारिक रेडियो प्रसारण सुरु भए पनि विशेष गरी लोकतन्त्र स्थापनासँगै ०६३ देखि एफएम रेडियो स्थापनाको लहर चल्यो । हाल देशका ७७ वटै जिल्लामा एफएम रेडियो सञ्चालनमा छन् । जसबाट लेखपढ गर्न नसक्ने नागरिकले समेत स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तु र घटनाको जानकारी प्राप्त गरिरहेका छन् । हिजो सीमित आमसञ्चारमाध्यमको असीमित प्रभाव र पहुँच थियो । आज बहुल सञ्चारमाध्यम सञ्चालनमा छन् । राज्यका साथै, व्यापारिक लगानी र समुदायको स्वामित्वमा सञ्चालनमा रहेका सञ्चारमाध्यमका प्राथमिकताका र विषयवस्तु पनि फरक–फरक छन् । नागरिकको सहज पहुँचमा भएको स्थानीय माध्यम रेडियो प्रसारणमा विविधता छ ।

रेडियो प्रसारणमा पनि सामुदायिक प्रसारणलाई आवाजविहीनहरूको आवाजका रूपमा चित्रित गरिएको छ । समाजको विविधता र बहुलताको आवाजलाई उचित स्थान दिनका निम्ति यस्ता वर्ग र समुदायको प्रतिनिधित्वसमेत रेडियोको संगठनात्मक संरचनामा देख्न सकिन्छ । समाजको विविधता र बहुलतालाई प्रभावकारी रूपमा रेडियोले अभिव्यक्त गर्न सक्छ । रेडियोले सांस्कृतिक विविधतालाई सम्बोधन गर्न र सामाजिक सद्भाव बढाउन सहयोग गर्दै आएको छ ।

रेडियोले समाजको सांस्कृतिक, भाषिक र मौलिककला संस्कृतिको प्रवर्द्धनमा समेत योगदान दिइरहेको छ ।

नेपालमा सञ्चालित सामुदायिक रेडियोले ६० भन्दा धेरै भाषामा समाचार र कार्यक्रम प्रसारण गरिरहेका छन्, जुन आफैँमा अभूतपूर्व हो । सार्वजनिक संवाद र बहसलाई लोकतन्त्रको आधारभूत पक्ष मान्ने हो भने समाजका लागि रेडियो शक्तिशाली माध्यम हो  भन्दा फरक नपर्ला ।

सन्दर्भ सामाग्री

सुभाष खतिवडा
नयाँ पत्रिका
डउग हल
बीबीसी रेडियो
विभिन्न सामाजिक सञ्जाल
विकिपिडिया