टुँडिखेल, एसियाकै ठूलो परेड मैदान !

पृथ्वीनारायण शाहले नेपाल (काठमाडाैं उपत्यका) विजय गरेपछि सैनिकहरूको परेड खेल्ने मैदान बन्यो, टुँडिखेल।

त्यही बेलादेखि टुँडिखेल सैनिक प्रयोजनकै लागि प्रयोग भएको मानिन्छ ।

सुरुमा टुँडिखेलको आकार ठूलो थियो। सँस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः त्रिपुरेश्वरको दशरथ रंगशालादेखि जमल, रानीपोखरीसम्मको क्षेत्रलाई टुँडिखेल भनिने गरेको सुनाउनुहुन्छ । पहिलाको समय रानीपोखरीदेखि दशरथ रंगशालामासम्म टुँडिखेलको घेरा करिब ३ देखि ५ किलोमिटर लामो र ३ सय मिटर चौडा थियो। कतिपयले यसलाई एसियाकै ठूलो परेड मैदान समेत भन्थे।

त्यस्तै, त्यसबखतको नेपाल पुस्तकमा सरदार भीम बहादुर पाँडे लेख्नुहुन्छ फराकिलो टुँडिखेलमा खरीको चाैतारो सिवाय अरू कुनै घर र मञ्च बनेका थिएनन् बिहान बेलुका टुँडिखेलको बीचबाट मानिस हिँडे पनि, बिहान १० देखी अपरान्ह ४ बजेसम्म सिपाहीले कसैलाई छिर्न दिंदैनथे तर गाई भने दिनभरि चर्न पाउँदथे ।

रानी पोखरीदेखि त्रिपुरेश्वरसम्म तन्किएको टुँडिखेललाई खाली मोटर चल्ने पूर्व-पश्चिम तन्केका सडकले मात्र काटेका थिए ।

टुँडिखेलको बीच ठिङ्ग फगत खरीको बोट उभिएको थियो । त्रिपुरेश्वरनिरको क्षेत्रलाई सानो टुँडिखेल भनिन्थ्यो त्यहाँ दुई कमलपोखरी थिए ।

साँझतिर काठमाण्डाै निवासी युवाहरू पलेँटी कसेर टुँडिखेलको हरियो चउरमा बस्दथे । जहाँ पनि टुसुक्क अथवा थचक्क बस्ने, पिच्च थुक्ने, बाटोमा कताकति मोटर चढेर आएको मानिसलाई चिनोस्-नचिनोस् अति झुकी चट्ट सलाम, स्वस्ति गर्ने, साथीले चुरोट खाएको देखे दश हात परबाट हान्निएर आई मागेर दम खिंचेर तीन-चार जनाले धीत मर्ने गरेर तान्ने र आपसमा भेट्दा ल्वाङ, सुपारी माग्ने त एकप्रकारले धेरै मानिसमा त्यस बेला आदतै बसेको थियो – पश्चिमी राष्ट्रमा भेट्दा ‘गुड मर्निङ’ भनी हात मिलाएझैं…..”

भौतिक संरचना निर्माणसँगै पछिल्लो समय यसको क्षेत्रफल आधाभन्दा बढी खुम्चिएको छ। अहिले त्रिपुरेश्वर क्षेत्रमा रंगशालापछाडि आर्मी अफिसर्स क्लब छ। उत्तरतिर रत्नपार्क र खुलामञ्च रहेको क्षेत्र पनि टुँडिखेलको हैसियतबाट अलग्गिएको छ। गणतन्त्र प्राप्तिपछि टुँडिखेलको अस्तित्व अझै फेरिएको छ।
सेनाले प्रयोग गर्दै आएको टुँडिखेलको भागमै अहिले विभिन्न जातजाति, धर्म र सँस्कृतिका कार्यक्रम हुन थालेका छन्। दोस्रो जनआन्दोलनपछि राजनीतिक परिवर्तनसँगै टुँडिखेलमा सामान्य नागरिकले पनि प्रवेश पाउन थाले। टुँडिखेलमा नेवार समुदायको देवाली हुने गरेको पनि ग्वंगः सम्झनुहुन्छ ।

रंगशाला, सैनिक मुख्यालय, अफिसर्स क्लब, सैनिक मञ्च, खुल्लामञ्च (पछिल्ला वर्षमा पार्किङ स्थलका रूपमा रूपान्तरित), रत्नपार्क, महानगरीय प्रहरी परिसर आदीको निर्माणले वास्तविक टुँडिखेलको आकार पुराना तस्वीरमा मात्रै सिमित हुन पुगेका छन् ।

सन्दर्भ सामाग्री

नागरिकन्युज
अनलाइनखबर
विभिन्न अनलाइनहरू
मदन पुरस्कार पुस्तकालय
विभिन्न सामाजीक सञ्जाल

जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो

नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने वीरनरसिंह कुँवर (पछि जंग बहादुर कुँवर, जंग बहादुर राणा) को निधन भएको झण्डै १ सय ५० वर्ष भइसकेको छ तथापी उनको चर्चा अहिलेपनि चलिरहन्छ ।

उनको शासन शैली, क्रुरता, शाैख तथा विभिन्न किस्साहरूका कारण ।

युवराज सुरेन्द्र सन्की स्वभावका थिए ।

यस्तैमा वि.सं. १८९९ सालमा युवराजको आदेशमा जंगबहादुर कुँवरले ब्रम्हटोलस्थित बाह्रवर्षे नामको खाल्डो/इनारमा हाम फाल्नुपर्यो । त्यस खाल्डो/इनारमा बाह्र वर्षसम्म काठमाण्डैबासीले राँगो, भैँसी आदिको हाड फाल्ने गरेका थिए ।

त्यस खाल्डो/इनारमा युवराजले अफुलाई भोली फाल हाल्न लगाउँछन् भन्ने कुराको जानकारी भएकोले जंगबहादुरले आफ्ना बाबु काजी बालनरसिंहलाई सो अवगत गराए । बालनरसिंहले ढाकरका ढाकर रूवा खरिद गरि त्यस खाल्डो/इनारमा खसाल्न लगाए ।

युवराजको आज्ञा अनुसार भोलिपल्ट त्यस बाह्रवर्षे खाल्डो/इनारमा फाल् हाल्दा खाल्डो/इनार भित्रको हड्डीले जंगबहादुरको दाँया खुट्टाको कुर्कुच्चामा घोची घाउ भयो जुन कहिल्यै राम्रोसँग निको भएन, जसका कारण जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो ।

सन्दर्भ सामाग्री

श्री ३ को तथ्य वृतान्त
पुरूषोत्तम शमशेर
भाजुमान चित्रकार
ब्रिटिस लाइब्रेरी